
गाउँबाट गाउँ नै सहर पस्न थालेपछि बुझ्नुस् गाउँ रित्तो हुन्छ । सहरबाट सहर क्रमैसँग उड्न थालेपछि सहर रित्तो हुन्छ । हृदयबाट प्रेम सकिन थालेपछि सम्बन्ध रित्तो हुन्छ । राष्ट्रवासीबाट राष्ट्रप्रेम हट्न थालेपछि पाटीपौवा रित्तो हुन्छ, मन्दिर रित्तो हुन्छ । संस्कार, संस्कृति र सभ्यता रित्तो हुन्छ । देशको पहिचान बोकेर हिँडेको रथ जब रित्तो हुन्छ, सम्झनुस् सबैसबै रित्तोरित्तो हुन्छ ।
यसै सन्दर्भमा आज चर्चा गर्दै छु, रत्न प्रजापतिको कथासंग्र्रह ‘रित्तो रथ’को । २०७९ सालमा शिखा बुक्सले प्रकाशनमा ल्याएको यो कथाकृति २८२ पृष्ठको आकारमा फैलिएको छ । रत्न प्रजापति चालिसको दशकदेखि लेखनमा सक्रिय हुँदै आएका कथाकार हुन् । योभन्दा अगाडि उनका बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४) कथासंग्र्रह प्रकाशित छन् । यसमा ३२ वटा कथा आएका छन् ।
उनका कथाहरूमा सामाजिक यथार्थ अनुगुञ्जित भएका पाइन्छन् । स्थानीय परिवेशमा कथा बेरिएका छन् । आफ्नै माटोको सुगन्धमा रत्न प्रजापतिका कथाहरू फस्टाएका छन् । आफूले देखेको भोगेको समाजबाट कथाका विषयहरू टपक्क टिपेका छन् । परम्परा, रीतिरिवाज, समाज, संस्कार र संस्कृतिको खड्कुँलोमा सुस्वादु कथा पकाउने प्रजापतिको कलमले मानवीय सम्बन्ध र संवेदनालाई मनोवैज्ञानिक तवरले उठाएका छन् ।
साँच्चै यथार्थको धरातलबाट जुरुक्क उठेर आएका घटनाहरू र पात्रहरू भएर होला, कथामा सजीवता भेटिन्छ । दृश्यात्मक शैली र शब्दको प्रभावले कथाहरू स्मरणीय बनेका छन् । कथाहरूमा वर्तमान समाज, राजनीति, आर्थिक, यौनिक र पारम्परिक क्षेत्रका बेथिति र विसंगतिहरूलाई सरल किसिमले उठान गरिएको छ । कथाहरू माटो सुहाउँदो भएर होला, कथा पढ्दा पाठकहरू सजिलै घटना घटेको तत् तत् स्थानमा पुग्न सक्छन् । कथाकार आफैँ भिजेको ठाउँबाट आएका कथा अझ उत्कृष्ट बनेका छन् । प्रजापतिका कथाहरूमा कृत्रिमता छैन ।
यी कथाहरू पढ्दै जाँदा पृथक्पृथक् समाज, सम्बन्ध र मनोविज्ञान पढ्न सकिन्छ । बेग्लाबेग्लै समाज र संस्कार हेरिन्छ । विकृति, मनोदशा र मनोविज्ञानलाई बुझिन्छ । कुण्ठा, अतृप्ति, माया, प्रेम, प्रतीक्षा र बाध्यता पनि अध्ययन गर्न सकिन्छ । कथाको पृष्ठभूमि पढ्दा हाम्रै घरआँगनमा घटेका दिनानुदिनका घटना हुन् भन्ने अवश्य लाग्छ ।
कस्तो कथा लेख्ने, कुन विषयमा कथा लेख्ने भन्ने कुरा कुनै कथाकारको मनमा उब्जियो भने एकपटक पढ्नुपर्ने रहेछ, रत्न प्रजापतिको ‘रित्तो रथ’ । प्रजापति जतासुकै कथा देख्छन् र कथा उन्छन् । कथाकार कथा लेख्न माहिर छन् । म दंग परेँ यहाँ आएका विषयहरूलाई देखेर । कथा मञ्चन गरिएको भूगोल देखेर । पात्रहरूको संवेदना, संवेग र संवाद सुनेर । विषयवस्तुको उठान, बैठान, गति र लयलाई कति मज्जाले प्रस्तुत गरेका छन् कथाकारले । घटनाहरूलाई पात्रहरूमार्फत बडो सजीव किसिमले उतारेका छन् ।
काठमाडौंमा जन्मिएर हुर्किएका प्रजापति नेवारी भाषामा मात्र होइन, अवधी भाषामा पनि पात्रहरूमार्फत बोलेका छन् । मुख्यतः काठमाडौं उपत्यका वरिवरिकै भूगोलमा कथा उनिएको छ । ‘रित्तो रथ’मा उपत्यकादेखि काँठ र तराईसम्मका कथाले पाठकलाई डोर्याउँछ ।
कथामा घटना र विचार मात्र सुन्नु पर्दैन, यहाँ त स्थानविशेषका भूस्वरूप, वेशभूषा, रहनसहन आदि अक्षरचित्रबाट मज्जाले हेर्न सकिन्छ । कथाले निर्माण गरेको वातावरण, परिवेश पनि कथामा राम्रोसँग देख्न सकिन्छ । कथामा आएका घटनाहरूबाट घर, खेत, कान्ला, बालुवा, बारी, बाटो, पाटी, खर्पन, कुखुरा, डोजर, साग, भाले मात्र होइन, किसानका हातमा फेसबुक थमाएर बडो प्रेरणादायी स्ट्याटस पनि लेखाउन पछि पर्दैनन् कथाकार ।
‘रित्तो रथ’ पढ्दा यस्तो लाग्यो, लेख्ने विषयले हामीलाई पुरेको पो हुनेरहेछ ! भनिन्छ– जहाँ पुग्दैन रवि त्यहाँ पुग्छन् कवि । यी कथा पढ्दा मलाई यो भनाइ शतप्रतिशत रत्न प्रजापतिलाई भनेको हो झैँ लाग्यो । जुनसुकै विषयमा कथा लेख्न सक्छन् प्रजापति । भाषामा पनि बलियो दक्षता राख्छन् । विषयलाई पिउरीबाट बत्ती कातेझैँ सरर कात्छन् । कथा लेख्न यिनलाई कुनै कसरत नै गर्नु पर्दैन झैँ लाग्छ । कति सरल किसिमले गहन विषयलाई गम्भीरताका साथ पस्कन सकेका !
३२ वटा कथा विभिन्न विषयका आएका छन् । राजनीतिक विषयका केही कथाले वर्तमान देशको अवस्थालाई चित्रित गरेको छ । जसमा ‘गन्ध’ कथा निकै स्तरीय लाग्यो । टिपर आतंक । मान्छेको मूल्यहीन जीवन । मान्छेलाई मार्दा पनि मूकदर्शक भएर बस्ने समाज, समाजसेवी, असंवेदनशील र अराजक राजनीतिक दल, पुलिस, प्रशासन सबैको मिलीभगतमा हुँदै गरेको बेथिति र विसंगतिलाई निकै मार्मिक किसिमले कथामा ल्याएका छन् ।
सामाजिक न्यायमा देखिएको फोहोरी खेल कति दिक्कलाग्दो छ । क्रसर उद्योगले निम्त्याएको वातावरणीय क्षति बडो विकराल छ । जुल्फे, मुन्द्रे, जगल्टेको शक्तिमा आश्रित हुँदै गएको पुलिस प्रशासनको यथार्थ चित्रण यसरी गरेका छन्, ‘निर्दोष जीवन सडकमा अस्पतालमा प्राणविहीन भएर बस्छ । बूढो बाउ भन्छ,’... लास लिन अस्पतालको मुर्दाघर पुग्दा त्यहाँबाट चर्को गन्ध आइरहेको थियो । सबैले नाक मुख थुने । मुर्दाघरबाट पुलिस, प्रशासन र न्याय कुहिएको गन्ध आइरहेको थियो ... ।’ (पृष्ठ १६)
चोटिलो किसिमले व्यंग्य प्रहार गरेर लेखिएका कथाहरू उस्तै सशक्त छन् । देश हाँक्नेहरू कुन दिशातिर जाँदै छन्, समाज, सम्बन्ध र दलहरू कस्ताकस्ता विषयमा कसरी अल्झिँदै छन्, कस्तो विषयमा झगडा गर्दै छन्, प्रतिपक्षमा बसेर के कस्ता तिकडम गर्दै छन् भन्ने विषयलाई निकै सरल किसिमले ‘साइँलीको कुखुरी’मार्फत देखाएका छन् कथाकारले ।
‘सपनाको अवसान’ निकै मार्मिक लाग्यो । यो कथा अरू कथाभन्दा पृथक् पनि छ । कथा पस्कने तरिका पनि लोभलाग्दो छ । यो कथामा भ्रान्तिको प्रयोग पनि गरिएकोले कथा निकै रोचक बनेको छ ।
कतै यौन कुण्ठाका कथा आएका छन् त कतै शंकाले उत्पन्न गरेको गम्भीर मानसिक उथलपुथल । ‘रङ्गीन बाफ’ पढ्दा कताकता मस्तिष्क हल्लियो । घरमा श्रीमती हुँदाहुँदै एउटा जिम्मेवार पुरुष कुन प्यासले जान्छ अरू आइमाईको पछि लागेर ? त्यो पनि तरकारी किन्न जाँदा ।
यो कथामा नारी पात्रको अवस्थाभन्दा घातक छ तरकारी किन्न जाने पुरुष पात्रको यौनतृष्णा ।
प्रजापतिका कथाहरूमा समयको आवाज बुलन्दी भएर आएको छ । ‘मान्छेको स्वाद’ बडो वजनदार कथा लाग्यो । कथाले वैदेशिक रोजगारले निम्त्याएको सामाजिक, आर्थिक, मनोवैज्ञानिक, जातीय भेदभाव र छुवाछूतको विषयलाई उठान गरे पनि कथाको अन्त्यले ठूलो प्रश्न छोडेको छ हाम्रो समाजलाई । मान्छेको स्वादमा आखिर किन मान्छेले आफ्नो नैतिकता गुमाउँदै छ ?
बाघले मान्छेको रगत खान थालेपछि बाघ अझ खुंखार हुन्छ भनेझैँ जब सम्बन्ध बाहिरिएर मान्छेको स्वादमा मोहित हुन्छ, तब सम्बन्ध भत्किन्छ । समाजमा अराजकता बढ्दै जान्छ । पैसाको स्वादभन्दा डरलाग्दो त मान्छेको स्वाद पो रहेछ ! वर्तमान समाज कति पक्षपाती छ भन्ने विषयलाई यो कथाले देखाएको छ ।
‘भालेको रस’ कथा निकै उम्दा छ । यो कथामा आएको पात्रको मनोदशा पढ्दा मान्छेभित्र हिंसाको पहाड रहेछ जस्तो लाग्यो । आफ्नो अहम् चोट पुग्दा निर्दोष जन्तुको हत्या कति सजिलै गर्छ मान्छे !
शंका कति डरलाग्दो मानसिक रोग हो भन्ने कुरालाई यो कथाले छर्लंग देखाएको छ । एउटा सुन्दर सम्बन्ध र घर शंका, उपशंकाको घेरामा कसरी फस्छ यहाँ स्पष्ट पारिएको छ ।
परिवर्तित समयको आवाज हो, ‘तेबाचाको फेसबुक स्ट्याटस’ । खर्पनमा तरकारी हालेर तरकारी बेच्ने काठमाडौंको रैथाने किसान हो, तेबाचा । छोराले मोबाइल किनेर ल्याइदिएपछि फेसबुक एकाउन्ट खोलिदिन्छ । ऊ छोराछोरीसँग सधैँ कुराकानी गर्छ । घरीघरी त स्वास्नीसँग ‘बाउबाजेले गर्दै आएको खेतीपाती छोड्ने पो हो कि ?’ भनेर पनि ऊ सल्लाह गर्छ । उसको एकनासको दैनिकी छ । बिहान तरकारी लिएर सहरतिर बेच्न जाने, फर्केर दिनभरि बारीमा काम गर्ने, साँझ घर फर्किने । तेबाचालाई कथाकारले एउटा राम्रो कवि बनाएका छन् । तेबाचाको फेसबुक स्ट्याटस कति गम्भीर साहित्यकारको कलमबाट निस्किएका जस्ता छन् ।
आफ्नो परम्परा, संस्कृति र पहिचान कति गौरवपूर्ण हुन्छ भन्ने विषयमा यो कथा आएको छ । अन्तिममा तेबाचा आफ्नो फेसबुक स्ट्याटसमा लेख्छ, ‘काम गर्नेलाई पो सबैले मान गर्छन् । काम नगर्नेलाई कसले मान गर्छ र ! त्यही भएर ज्यानले सकुन्जेल त काम गर्नैपर्छ ।’ (पृष्ठ ८७)
‘उपदेश’ कथा अर्को शक्तिशाली कथा हो । रक्सी, जुवा, केटीको संगत र बाउबाजेले दुःखले जोडिदिएको सम्पत्तिको गलत प्रयोगको सिकार भएको पात्र यो कथाको मुख्य आकर्षण हो । यो कथाको पात्रमार्फत हाम्रो समाज कसरी एउटा असल मान्छेबाट गलत आचरण अवलम्बन गर्दा सर्वनाशको गर्तमा जाकिन पुग्छ भन्ने सन्देश दिएको छ ।
समग्रमा, रत्न प्रजापतिका कथाहरू पठनीय छन् । ‘भाग्यमानी’, ‘सबिरा’, ‘खर्पन’, ‘नागरिकता’, ‘रित्तो रथ’, ‘घुँक्क घुँक्क’, ‘भुँला’, ‘सजाय’ सबै कथा राम्रा छन् । ‘मनःताप’, ‘जाडो’, ‘जिजीविषा’, ‘टाँक’ कथामा आएको यौन मनोविज्ञान गजब छ ।
मौन मनोविज्ञानका विषयमा लेखिएका कथाहरू उत्तिकै सशक्त भएर आएका छन् । ‘रंगीन बाफ’, ‘रित्तो रथ’, ‘अन्तिम काम’ आदि कथाले मान्छेको मनस्थितिले कस्तोकस्तो अवस्था सिर्जना गर्छ भन्ने देखाउँछ । सामाजिक यथार्थवादी कथाहरू आएका छन् । नवीन विषयवस्तुलाई अझ स्थान दिए प्रजापतिका कथामा सुनमा सुगन्ध थपिने थियो ।