कुनै रात यस्तो थिएन जसमा खँड्काले स्वास्नीलाई नपिटेको होस्, अनि कुनै मध्यरात पनि यस्तो थिएन जसमा उसले कान्छीलाई अँगालो मारी प्यार र माया नगरेको होस् ।
खँड्काको यो प्रेम र घृणा एउटै खोरमा पालिएका दुई विरोधी जन्तुजस्ता देखिन्छन्, जो समान रूपले हुर्कंदै गएका छन्, बढ्दै गएका छन् । यस विरोध–क्रममा पनि ती जोईपोइको जीवनधाराले कसरी संगमको रूप ली बगिरहेछ, हेर्ने मानिस तथा सुन्नेहरूलाई अचम्म नलागी छोड्दैन । यता, उनीहरूको यस किसिमको क्रियाकलाप दिन–प्रतिदिन प्राकृत सत्यझैँ स्वाभाविक हुँदै गइरहेको थियो, मानौँ दिन र रातको नचुँड्ने घुमाइझैँ ।
झगडा हुनलाई कुनै खास निहुँ चाहिँदैन । कान्छीको नाङ्लोजस्तो आङको पाटोमा खँड्का कुट्तै जान्छ । चुट्तै जान्छ । कान्छी डेग पनि यताउति नसरी केवल भन्दै जान्छे– कुटन, मारन, मारि नै द्यौन...
जब मध्यरात हुन्थ्यो, ती दुई परस्परमा अँगालो हालाहाल गरी प्रेम र मायाको हिक्का छोड्दै भन्थे,
“कान्छी, तँलाई मैले पिटेको हैन...”
कान्छी भन्थी, “मैले कहाँ पिटेको भनेँ र...” बाँकी रात साबिकको जस्तै आनन्दमा बित्थ्यो । फेरि शान्ति हुन्थ्यो ।
ठमेलको एक मध्यमवर्गीय परिवारको घरमा खँड्का डेरा ली बसेको थियो । उसको यो छैटौँपटकको सराइ थियो र यसमा उसकी कान्छीले कबुल गराएकी थिई कि यहाँबाट पनि ऊ डेरा सर्याे भने उसलाई कान्छीको मासु खाएको बराबर पाप लाग्नेछ ।
लोग्नेको यसरी धमाधम डेरा सर्दै जानुबाट कान्छीको मनमा मानिसहरूले के भन्ठान्लान् भन्ने कुरोको आशंका खेल्दै गइरहेको थियो । मनमा धेरै दिन आशंका राख्न नसकी एक दिन उसले भनि पनि हाली, “यसरी एक ठाउँबाट अर्को ठाउँ, अर्कोबाट अर्को गर्दै डेरा सर्न थाल्यो भने के भन्लान् मानिसले, बात लागेको मान्छे पो रहेछ कि अथवा चोर पो हो कि, शंका गर्न बाटो खुल्दैन ?”
यो कुरा भन्दा उसले पोइलाई नरिसाउने किरिया ख्वाएकी थिई । तर, खँड्का मनमनै पनि रिसाएन । उसलाई साँच्चि नै चित्त बुझ्यो कान्छीले भनेको कुरा । हुन पनि हो नि, मान्छे त बकुल्लाजस्तै हुन्छन्, ढुकिरहन्छन् भन्ने मौकालाई ! र, खँड्काले आफ्नी कान्छीको कुरालाई मनमनै निश्चित गरी आफैँलाई भन्यो– अब ऊ यहाँबाट अर्को ठाउँमा सर्दैन ।
डेरा के थियो यौटा छिँडी, जसभित्र सुत्ने खाट, पकाउने चुलो, भाँडाकुँडा, लत्ताकपडा, सन्दुक–बाकस, ती जोईपोइको सम्पूर्ण वस्तु त्यही थियो । कान्छीको माल रखाइको कुशल तरिकाले गर्दा त्यत्ति सानो छिँडीमा पनि स्वस्थ गृहस्थीको उज्यालो छाएको देखिन्थ्यो । भित्तानिर जोडिएको खँड्काको सुत्ने खाट, त्यसमाथि ओछ्याएको ठिक्क हुन सक्नेजतिको सुकिलो तन्ना, बाहिरबाट झट्ट भित्र छिर्दा जसलाई पनि त्यहीँ गएर लेटूँ–लेटूँजस्तो लाग्ने ।
ढोकातिरको दुइमुखे चुलो दिनहुँ लिपपोत गरिएको देखिन्थ्यो । त्यसमाथि घोप्टो पारी राखिएका ढल्किने कसौँडी र ताप्के देख्ता खड्का र कान्छीको दैनिक–जीवन पानीको निर्विकार गतिझैँ प्रतीत हुन्थ्यो ।
हिजो राति पनि खड्काले स्वास्नीलाई पिट्यो । प्रायः सधैँको अपेक्षा हिजोको पिटाइमा दुई कुराको भिन्नता थियो । एउटा हो, खँड्काले रक्सी नपिईकन पिटेको पहिलोपटक र अर्को, पिट्नाको कारण अर्थात् निहुँ, जो अत्यन्त तेज जहरतुल्य कीटाणुझैँ खँड्काको नसाभित्र बग्ने रगतसम्म छिरी उसलाई उत्ताल बनाउनामा नियुक्त भएको थियो ।
अरू दिन खँड्का प्रायः रक्सीको नशामा नै स्वास्नीलाई पिट्ने गथ्र्यो । त्यसो त हिजो मात्र उसले होसैहोसमा पिटेको कहाँ हो र । हिजो ऊ बेग्लै खालको नशाको पराकाष्टामा पुगेको थियो । खँड्का पिट्तै गएको थियो । कान्छी डेग पनि चलेकी थिइन । साबिकबमोजिम एकै थलोमा बसी लोग्नेको पिटाइ खाँदै गई, मानौँ यो पिटाइबाट उसको जिउको जोर्नीजोर्नीमा घुसेको थकाइ मेटिँदै गइरहेछ ।
तर, यति निश्चय थियो कि खँड्काको पिटाइ अरू केही बेरसम्म चलिरहेको भए कान्छी पनि घुप्लुक्क हुन बेर लाउने थिइन । जस्तो कि माथि भनियो–हिजो खँड्काले स्वास्नीलाई पिट्नाको कारण अरू दिनको भन्दा बिलकुल भिन्न प्रकारको थियो । यस सूक्ष्म घटनालाई सिलसिलेबार ढंगले भन्ने हो भने यस प्रकारको हुन आउँछ ः
हिजो शनिबार,
खँड्कालाई अड्डामा जानुपरेको थिएन । त्यसैले दिउँसो ऊ बजार डुल्न गएको थियो । त्यतिखेर उसको साथमा केही रुपियाँ बाँकी नै थियो, जुन उसले आफ्नो तलबबाट बचाएर राखेको थियो । सामान्य घरायसी वस्तुहरूका अतिरिक्त आफ्नी कान्छीको लागि भनेर हिजो ऊ यौटा चिज किन्न चाहिरहेको थियो । त्यसो त खँड्काको यो कुनै नयाँ, बिलकुल नयाँ अर्थात् भर्खरको चाहना हैन, पुरानै हो । प्रायः ऊ त्यस दिन कान्छीको लागि भनेर केही न केही वस्तु चाहे त्यो थोरै पैसाको किन नहोस्, ल्याउने गथ्र्यो, जुन दिनको अघिल्लो रात उसले स्वास्नीलाई खुब पिटेको हुन्थ्यो ।
यही क्रममा यता केही दिनदेखि ऊ कान्छीको आङमा बुट्टैबुट्टा भएको बाँकटे चोलो देख्न चाहिरहेको थियो, ठिक त्यस्तै जस्तो कि माथि घरपट्टिनी माइली बज्यै लगाउँछिन् ।
यस प्रकारको माथिल्लो खालको चाहनाले खँड्काको मनमा प्रवेश पाउनुको पनि खास कारण थियो । एक दिन माइली बज्यैले खँड्कालाई बोलाएर बडो तुजुकका साथ भनेकी थिइन्, “लौ यो भएन, राति–राति जहिले भो तिमीहरूको महाभारत सुरु हुन्छ, म यो सुनिरहन सक्तिनँ । वरिपरिका छिमेकीहरूले पनि के भन्लान्, कस्तो मान्छेलाई ल्याएर राखेछन् । स्वास्नी भन्दैमा दया माया नै बिर्सेर त कोही पनि नपिटोस् । फेरि, कुट्नुको पनि त यौटा कुरो हुनुपर्छ, कायदा हुनुपर्छ । राति भो कि यौटा नियमैजस्तो, यस्तो हो भने डेरा छोडिदेऊ ।”
मनोद्वेगमा खँड्काको मुखबाट बोली फुत्त निस्कन खोजेको थियो, ‘ल अहिल्यै छोडिदिएँ ।’ तर, उत्ति नै खेर उसले कान्छीको हात समाती खाएको किरिया सम्झ्यो । खँड्का केही बोलेन । त्यसबखत माइली बज्यैको बोलीको ढाँचा र उनको आङमा टन्न कसिएको बुट्टैबुट्टा भएको चोलोको पहिरनबाट यही थाहा हुन्थ्यो कि उनलाई पोइले असाद्धै माया गर्छन् ।
खँड्काले मनमनै भन्यो– माइली बज्यैको पोइलाई के थाहा स्वास्नीलाई पिटिसकेपछिको आनन्द कस्तो हुन्छ, अनि स्वयं माइली बज्यैलाई के थाहा पोइको पिटाइ खाइसक्ता जिउ कति सन्चो हुन्छ ! खँड्काले खालि जाने बेलामा भर्याङ ओर्लंदै भन्यो, “माइली बज्यै, मैले भनेको कुरा बढ़्ता नहोस् । यौटा कुरा भन्छु– कसैको पोइले स्वास्नीलाई माया गर्या–नगर्या थाहा पाउन त्यति सजिलो छैन ।”
खँड्का तल छिँडीमा गएर धेरै बेरसम्म घोरिइरह्यो । उसको मनलाई माइली बज्यैको वचनले क्षुब्ध पारेको थियो । उसको आँखाअगाडि बारबार माइली बज्यै र उनको आङमा कस्सिएको चोलोमात्र आइरहेको थियो ।
उसले विचार गर्याे– माइली बज्यैलाई उनको पोइले दिएको चोलो–फरियाको घमन्ड छ, के खँड्का कान्छीको आङमा त्यस्तै चोलो पहिराउन सक्दैन ? ऊ गरिब छ, खँड्का सोच्छ– तर उसलाई कान्छीको लागि माइली बज्यैको पोइभन्दा धनी छु जस्तो लाग्छ । खँड्काले मनमनै सोच्यो– ऊ कान्छीलाई पनि त्यस्तै चोलो नल्याइदिई छोड्दैन । माइली बज्यैले के ठानेकी छिन् उसलाई !
त... यही सिलसिलामा हिजो खँड्का बजारबाट फर्किरहेको थियो । त्यस बेला उसको हातमा अरू सामानका अतिरिक्त कान्छीका लागि चोलो हाल्ने कपडा पनि थियो । त्यो ठिक माइली बज्यैले लगाएको जस्तै, चिप्लो, सिल्केनको बुट्टैबुट्टा भएको । डेरामा पुग्नासाथ खँड्काले कपडा खोलेर देखायो र भन्यो, “कान्छी, हेर कस्तो छ ? राम्रो छ ! तँलाई ल्याइदिएको चोलो हाल्न, हुँदैन ?”
कान्छीले फर्केर हेरी । ऊ प्याज काट्न लागेकी थिई । मुसुक्क हाँसी । खँड्कालाई कान्छी अप्सराजस्ती लाग्यो । दुवै हातले फैलाइरहेको कपडा कान्छीको आङमा जोरेर उसले फेरि सोध्यो, “भन् न, कस्तो छ, राम्रो छैन ?”
“राम्रो छ, असाद्धै राम्रो छ”— कान्छीले गद्गद भएर भनी । खँड्काले फेरि केही सोधेन । यद्यपि, ऊ यस्तै अरू पनि धेरै कुराहरू सोध्न चाहन्थ्यो । तर, उसको मन एउटा अर्कै कुरोमा गएर अल्झ्यो ।
खँड्काको आँखा त्यस बेला कान्छीले लगाएको चोलोमाथि परेको थियो । त्यो चोलो र भर्खरै उसले ल्याएको कपडाको जात र रङ दुवै करिब मिल्दोजुल्दो देखियो । धेरै बेरसम्म कान्छीको आङमा कस्सिएको चोलो हेरिरहदा खँड्कालाई त्यस बेला कान्छी छिन–छिनमा माइली बज्यैजस्तीे लाग्न थाली ।
कान्छी आफ्नो सुरमा तरकारी काट्दै गइरहेकी थिई । खँड्का उसको पछाडि सोचिरहेको थियो– के कान्छीले... खँड्काको मनलाई अनिष्ट आशंकाले घेर्दै ल्यायो । ऊ त्यस स्थितिमा धेरै बेर रहन सकेन र उसले आफूलाई दृढ गरी मनमनै भन्यो– कान्छीमाथि त्यस्तो सोच्न पाप हो ।
रात पर्यो, खँड्का भात खाईवरी तमाखु तानिरहेको थियो । उसको मन बिनसित्ति गह्रौँ हुँदै गइरहेको थियो । जतिसुकै निश्चिन्त हुन चाहे तापनि उसको मनमा यौटा कुरा चल्न छोडेको थिएन । ऊ सोचिरहेको थियो– कान्छीले यो चोलो कहाँबाट पाई !
कान्छी चुलो लिपपोत गरिरहेकी थिई । टुकीको बत्तीलाई छिन–छिनमा बाहिरबाट हावा आएर हल्लाउने गरिरहेको थियो । खँड्का बिस्तारै बोल्यो, “कान्छी !”
“हँ” कान्छीले जवाफ दिई ।
“एउटा कुरा सोधूँ है ?”
“के ?”
“नढाँटीकन भन्ने भए मात्रै ।”
“ऊँ” कान्छीले अनौठो आवाजमा सुर दिई । बत्तीको उज्यालोमा उसको अनुहार तिखो, एकदम तिखो देखियो ।
“होइन, मैले ठट्टा गर्या होइन । साँच्ची भन्, तैँले दिउँसो लगाएको चोलो कुनचाहिँ हो ?” खँड्काले बिलकुलै नहाँसिकन सोध्यो, साँच्चि नै उसको अनुहार ठट्टा गरेको जस्तो थिँदै थिएन ।
“ऊँ ! हात्ती आयो हात्ती आयो फुस्सा, मैले त के–के न सोध्लान् भन्ठान्या ।”
“त्यसो भए नभन्ने त ?”
“के भन्ने ?” कान्छीले मानौँ कुरै नबुझेजस्तो गरी सोधी ।
“त्यो चोलो तंँले कहाँ पाइस् भनेको, कसले दियो ?”
“कल्ले दिन्थ्यो, अरू को छ, आफैँले दिया पनि नसम्झिने ।” कान्छीले खँड्कालाई होस दिलाउँदै भनी ।
“अस्ति नै दसैँमा किन्द्या हैन !” दसैँमा कान्छीलाई चोलो किनिदिएको खँड्कालाई सम्झना भयो । उसले विचार गर्यो— तर के त्यो यही रङको हो, यही जातको हो ? ठिक–ठिक सम्झना त उसलाई ज्यान जाला आएन ।
कान्छीले चुलो पोतिसिध्याई । भर्खर माझेका भाँडाहरू त्यसमाथि थन्क्याएर ऊ जुरुक्क उठी । आङलाई एक फेरा तनक्क तानी । अनि, फरियाको सप्को यस्सो फर्काउँदा खोपाभित्र बलेको टुकी झ्याप्पै निभ्यो । अन्धकारमा छामछुम छामछुम गर्दै कान्छी सलाई लिन भनेर खाटनिर गएकी थिई, अचानक हुक्कामा उसको ठक्कर लाग्यो । फलतः चिलिम घोप्टियो र आगो जताततै छरियो ।
खँड्का अकस्मात् आगोजस्तै तात्यो । पोलेको ठाउँमा छिटो–छिटो सुम्सुम्याउँदै ऊ कान्छीलाई गाली गर्न थाल्यो । कान्छी अँध्यारोमा धमाधम हातैले आगो उठाउन थाली । खँड्का गाली गर्दै गयो । पोलेको पीडा अब असह्य भो अनि उसले हात पनि उठाउन थाल्यो ।
“आँखा पनि फुट्यो कि क्या हो...?”
“के गरूँ अब, नदेखेपछि ।”
छिँडीमा अन्धकार उस्तै थियो । खँड्काको गाली र साथै पिटाइ पनि झन्–झन् वेगले बढ्न थाल्यो । त्यो बेला दुवैलाई बत्ती बाल्नुपर्छ भन्ने होसै भएन ।
खँड्का उत्तेजित हुँदै बोलिरहेको थियो । उसको उत्तेजना रक्सी खाएको मान्छेको भन्दा कम थिएन । हुँदाहुँदै उसको मुखबाट त्यस्ता कुराहरू पनि निस्कन थाले, जसको त्यस अँध्यारो छिँडीभित्र घटेको भर्खरको घटनासँग कुनै प्रकारको सम्बन्धै थिएन ।
खँड्का भनिरहेको थियो, “मेरो नाक काट्न खोजिरहेकी छस् तैँले । मैले जिन्दगीभर बचाइराखेको इमानलाई तँ यौटा चोलोले मेट्न खोज्छेस्, होइन ?”
साथै, खँड्का कुट्तै पनि गइरहेको थियो, “तँ बेईमानी होस्” खँड्काको स्वर सुक्तै गो । उसको पिटाइको वेग मन्द हुँदै गो । कान्छी त्यस अँध्यारो ठाउँमा कुटाइ खाएको खायै थिई । उसले एक शब्द पनि बोलेकी थिइन ।
एक छिनपछि खँड्काले ग्लानिको स्वरमा भन्यो, “तँलाई मैले के पुर्याएको थिइनँ, ल भन त, एउटा जाबो चोलोको लागि तैँले मेरो नाक काट्न खोजेकी ? तँलाई चोर्नै किन पथ्र्यो ! यस्तो काममा साहस कसले दियो तँलाई ?”
“मैले कहाँ चोरेँ र !” कान्छी बीचैमा बोली ।
खँड्काको जोस फेरि चढ्यो । उसको हात फेरि काँप्न थाल्यो, “नभए कहाँबाट आयो त यो, ल भन्, कहाँबाट आयो ? मलाई ढाँट्न खोज्छेस् !” र, खँड्काको पिटाइ अघिको भन्दा पनि कठोर रूपले चल्न थाल्यो ।
यसरी, हिजो स्वास्नीलाई कुट्ता खँड्काले आँखै देखेको थिएन । उसले आजसम्ममा स्वास्नीलाई बढ्ता पिटेको दिन हिजैको थियो ।
त्यसो त फेरि साबिकबमोजिम रात धेरै गइसकेपछि दुवैजनामा मेलमिलाप, अँगालो हालाहाल पनि भयो । कान्छीले चोरेको हैन भन्ने कुरामा कुनै खास कारण दिन सकिन । तथापि, लोग्नेको पिटाइ खाँदा–खाँदा उसले आफूलाई यति दयनीय तुल्याई कि आखिर खँड्काको माया उम्लेर उसमाथि छत्ल्याङ–छुत्लुङ भइछोड्यो । हेर्दा कान्छी जिती, खड्का हार्यो ।
थोरै दिनपछि एक दिन साँझ खँड्का अड्डाबाट फर्किरहेको थियो । जब उसले आफ्नो डेरामा जाने गल्लीभित्र प्रवेश गरेथ्यो, उसलाई अचम्म लाग्यो । अलि पर ढोकामा मानिसहरू झुम्म झुम्मिएका थिए । आजसम्म उसले आफ्नो डेरामा यतिका मानिसहरू भेला भएको देखेको थिएन । हठात् मनमा अनौठो शंका उब्ज्यो, कान्छीलाई त केही भएन !
खँड्का छिटो–छिटो पाइला बढाउँदै गयो । त्यस दुई–चार क्षणमा ऊ यति थाक्यो कि उसको खुट्टा एकदम लुलो भयो, शरीरभर पसिना उमे्रर आयो । तर, डेरामा पुग्दा उसले घटनाको जुन दृश्य देख्यो, त्यसले गर्दा खँड्का साँपले टोकेको मानिसझैँ छटपटाउन थाल्यो । केही दिनअघि मात्र उसको हृदयमा जुन आशंका र सन्देहले शिर उठाएका थिए र जसलाई उसले आखिरमा असत्य–आफ्नो पापी मनको उपज मात्र भन्ठानेको थियो, उही आज उसको अगाडि प्रत्यक्ष भएर नाचिरहेको उसले देख्यो ।
घटनास्थलमा घरबेटीनी माइली बज्यै ठूलो–ठूलो स्वरले कराइरहेकी थिइन्, “ल हेर, कस्ती नकच्चरी त, अब त चोर्नै पनि लागिछ ए । माथि त्यत्रो खलबल चल्दा पनि नथा’पाएझैँ गरिरहेकी ए । आमै कस्तो मसूर त हँ, चोरेपछि त यस्सो डर–भर त मान्नुपर्छ । छिः अझ हेर, हेर न टुलुटुलु हेर्दि पो रैछ, के तेरो खसमले दिएको हो त्यो ? ए, अझ फुकाल्दिनस् ?”
वरिपरि झुम्मिएका मानिसहरूमा आइमाईकै संख्या ज्यादा थियो । तिनमा केही केटाकेटीहरू पनि थिए, जो छिन–छिनमा खिल्ल–खिल्ल हाँस्ने गर्थे । तिनै झुम्मिएका आइमाईहरूमध्येकी एउटी अधबैँसे खालकी आइमाईले बिस्तारै कान्छीतिर सरेर भनी, “अब द्यौन त, बिनसित्ति तिमीलाई पनि नराम्रो, बज्यैलाई पनि नराम्रो । कि चोर्या हैन भन्न सक्नुपर्याे, होइन भने यो जात्रा के लाई ?”
कान्छी ढोकाको संघारमा बसेकी थिई । अहिलेसम्म उसले एक शब्द पनि बोलेकी थिइन । तर, त्यो नौलो आइमाईको कुरालाई उसले जवाफ नदिई रहन सकिन, “के कुरा गर्नु’भा तपाईंले । अर्कालाई यसै पनि चोर दोष लगाउन त पाइँदैन । मैले चोरेको भन्ने परमान के छ ?”
नौली आइमाई केही वर सरेर माइली बज्यैको मुख हेर्न थाली । माइली बज्यैले तुरुन्तै भनिन्, “त्यसो भए कल्ले दियो त तँलाई, कहाँ पाइस् ?” माइली बज्यैको बोली–वचनले प्रताडित हुँदै गएको कान्छीको दुर्दशा देखेर खड्काको यत्तिका बेरसम्म रहेको धैर्य टुट्यो ।
“के कुरा गर्नु’भा बज्यै, अर्कालाई भन्न पाएँ भन्दैमा यसरी मुख नछोड्नुस्..., तपार्इंलाई के मतलब जसले दिए पनि... तपार्इंको हो भने सबुत देखाएर लैजानुस्, होइन भने यो बाह्र–सत्ताइस कुरा किन... मैले दिएको हूँ उसलाई... भन्नुस् अब, केही भन्नुछ तपाईंको ?” खँड्काले मनमनै भन्यो । चाहेर पनि उसले मनमा उब्जेका कुराहरू माइली बज्यैका अगाडि भन्न सकेन !
माइली बज्यैको डाँको झन्–झन् चर्को हुँदै गइरहेको थियो । कान्छी, मुढोझँै एउटै थलोमा बसि नै रहेकी थिई । ऊ छिन–छिनमा ‘मैले चोरेको होइन’ मात्र भन्थी । यद्यपि, खँड्काको अगाडि त उसले भनेकी थिई उसैले (खँड्काले) दिएको, दसैँमा किन्दिएको । तर, अहिले ऊ निर्भीक भएर पोइले दिएको भन्न सक्तिन । साँच्चि नै ऊ एक दोषीजस्तो देखिएकी थिई । खँड्कालाई अब माइली बज्यैभन्दा पनि उसकी कान्छीमाथि रिस उठ्दै जान थाल्यो । उसले सोच्यो– किन उसकी कान्छी चोरेको होइन मात्र भन्छे ? के ऊ भन्न सक्तिन उसको पोइले दिएको भनेर ? तत्काल खँड्काले सम्झ्यो र थाहा पायो, उसले दिएको पनि त कहाँ हो र ? कान्छीले भनेकी थिई, उसले दसैँमा दिएको रे । तर, खँड्काले यतिका दिनसम्म सम्झिने कोसिस गर्यो, त्यस्तै चोलो दिएको सम्झना उसलाई पटक्कै भएन ।
खँड्का फेरि आफ्नै विचारले भयभीत भएर झस्क्यो, त्यसो भए के उसकी कान्छीले चोरेकी नै हो त ? आत्मघातले बेचैन भएर खँड्काले अकस्मात् त्यतिका मानिसहरूको बीच स्वास्नीको पाखुरा चपक्क समात्यो र तानेर भन्यो, “त्यसो भए कल्ले दियो त तँलाई, कहाँ पाइस्, ल भन् ?”
घटनास्थलको वातावरण एकदम बद्लियो । चारैतिर झुम्मिएका आइमाईहरू जिल्ल परे, परस्पर कानेखुसी गर्न थाले । माइली बज्यैको चेहरा धप्प बल्यो । उनी आत्मबलले फुल्न थालिन् । ओठ तन्काई चारैतिर हेरिन्, मानौँ उनी आफ्नो कुरामा आएको सत्यताप्रति सबैको आँखा खिच्न चाहन्थिन् ।
ठिक त्यतिखेर घटनास्थलमा माइला बाजे पनि आइपुगे । आउनासाथ उनले भने, “क्या हो, केको रङ्लो हो यो ?”
घटनाको मूलरूप देख्नासाथ माइला बाजे चुप्प लागे । उनले फेरि रवाफका साथ कुनै शब्द बोलेनन् अथवा बोल्न चाहेनन् । हुललाई उछिनेर उनी माथि जान चाहिरहेका थिए । तर, अगाडि नै माइली बज्यैको विराट रूप नाचिरहेको उनले देखे । त्यस रूपलाई उछिनेर जाने हिम्मत उनमा कत्ति पनि आएन ।
माइली बज्यैले लोग्नेको मुखतिर हेरेर भनिन्, “लौ हेर्नुस्, कत्रो साहस । अब त चोर्न पनि थालिछ, चोलो हरायो–हरायो भनेको त उसको आङमा पो फेला पर्यो । ल भन्नुस्, अब राख्न भो यिनीहरूलाई ठाडै यस्तो काम गर्न थालेपछि ?”
माइला बाजेका आँखा घुम्दै–घुम्दै कान्छीकहाँ पुगे । कान्छीले पनि माइला बाजेलाई पुलुक्क हेरी । आफूलाई ट्वाल्ल हेरिरहेकी कान्छीलाई देख्ता माइला बाजेले असजिलो माने । उनको मानसिक स्थिति अनौठो रूपले बटारिँदै जान थाल्यो । माइला बाजे लुसुक्क अगाडि बढ्न खोजे ।
“के चुप लागि’रा, त्यो चोरेपछि पनि यस्सो हप्काउनुसम्म त पर्छ । लोग्नेमान्छे भएर पनि छिः ।” माइली बज्यैले ठाडठाडै पोइतिर फर्केर भनिन् । चारैतिर झुम्मिएका आइमाईहरू मुख लुकाई हाँस्न थाले ।
“हप्काएर मात्रै कोही मान्छे सोझो बाटोमा आउँछ र ?” माइला बाजेले भित्ताबाट आँखा हटाएर घाँटी खोल्दै भने ।
“मैले चोरेको मात्रै भए जे पनि किरिया खान सक्छु, त्यसै अर्कालाई चोर दोष लगाउन पाइँदैन के ।”
“ए ! अझ उसकै डाँको ठूलो, यो खास मेरै चोलो हो, नचोरेको भए कल्ले दियो तँलाई ? ल भन्, किन बोल्न सक्तिनस् ?”
कान्छीको निधार खुम्च्यो । मुटुमा परिरहेको गाँठोलाई उसले एकदमै चुडालेर भनी, “तपार्इंलाई के मतलब, तर जान्न चाहनुहुन्छ भने लौ सुन्नुस्, तपाईंको पोइले दिएको, भो अब !” आँखाको संकेतद्वारा कान्छीले माइला बाजेतिर देखाई ।
हुन त कान्छीले भनेको कुरा एकदम ठट्टा गरेको जस्तै थियो । तर, माइला बाजेको अनुहारमा झ्वास्स आएको कालो छाया कसैको आँखाबाट छिप्न सकेन ।
खँड्काले तुरुन्तै कान्छीलाई छिँडीभित्र लग्यो । एक छिनपछि हातमा चोलो लिएर ऊ बाहिर निस्कयो । चोलो माइली बज्यैको हातमा दिँदै उसले भन्यो, “लिनुस्, सम्हालेर राख्नुस् । भोलि बिहान सबेरै तपार्इंको डेरा छाडिदिनेछु, आज एक रातलाई माफ गर्नुहोला ।”
त्यस दिन पनि साबिकबमोजिम रात पर्यो । कान्छी भात पकाइरहेकी थिई । खँड्काले भन्यो, “कान्छी !” फेरि आफैँ भन्न थाल्यो, “तर तँलाई के भन्नु, मेरो तकदिरै यस्तो छ । म जति सोझो गर्न खोज्छु उति मलाई बांगो फल मिल्छ, के गर्नु मेरो तकदिरै खोटो छ !”
“के ?” आँखामा परेको धुवाँको पिरोलाई हातले मिच्तै कान्छीले सोधी ।
“केही होइन, केही होइन ।”
“के यस्सै पनि बड्बडाइरा !” कान्छी फेरि आगो फुक्न थाली । काँचो दाउरा परेर हो कि आगो ज्यान जाला बलेको थिएन । फुक्ता–फुक्ता उसको घाँटी पनि सुकिसक्यो । आखिर केही सीप नलागेर उसले दुई–चार छेस्का मट्टितेलमा डुबाई चुलोभित्र हाली । एक्कै छिनमा दाउरा हप्प बल्यो ।
खँड्का चुलोतिर हेरिरहेको थियो । उसको मुखको आकृति कहिले बढ्ने र कहिले घट्ने भइरहेको थियो, ठिक चुलोमा बलेको आगोको आँचजस्तै ।
केही समयपछि कसौँडीबाट चामल गजगज छड्केको आवाज आयो । त्यो आवाज पहिलेभन्दा चालले, त्यसपछि केही छिटो–छिटो र अनि मोटो अर्थात् बाक्लो सुरमा निस्कन थाल्यो । कसौँडीको मुखबाट माड बाहिर फाटिरहेको थियो ।
खँड्काको भोकलाई त्यस आवाजले जागरूक गर्नुको अपेक्षा घाँटीसम्म अमिलो–अमिलो पानी बोकेर ल्यायो । उसलाई हिक्क–हिक्क बान्ता पो आउलाजस्तो हुन थाल्यो । त्यसो त उसलाई दिउँसैदेखि अलि सन्चो पनि थिएन । भात पकाउनुअघि नै उसले कान्छीलाई भनेको थियो, ‘ऊ आज भात खाँदैन, खान मन छैन’ । तर, कान्छी नातागत हुन्छ भन्दै बल गरेर उसको लागि भात पकाइरहेकी थिई ।
अकस्मात् खँड्का छिँडी बाहिर निस्क्यो । साँच्चि नै उसलाई बान्तै आउलाजस्तो भएको थियो । बाहिर आइसकेपछि उसको वेग अलि कम भो । बान्ता आएन र ऊ एक छिन बाहिरै बसिरह्यो ।
यस्तैमा माथिका घरबेटी माइला बाजे ऊ नजिकै भएर बाहिर निस्के । माइला बाजेले हिँड्दै पुलुक्क खड्कालाई हेरे, खड्काले पनि माइला बाजेलाई हेर्याे । ज्यादै सानो क्षणको त्यस हेराहेरमा एकले अर्कालाई चिन्न खोजेको जस्तो देखिन्थ्यो । खँड्काले आफूलाई हेरिरहेको देख्दा माइला बाजे आँखा हटाएर अगाडि बढे, बढ्दै गए ।
माइला बाजे लम्केको देख्ता खँड्कालाई यसै पनि चप्प उनको पाखुरा समातूँ–समातू जस्तो लाग्यो । मानौँ, ऊ माइला बाजेसँग कुस्ती खेल्न चाहिरहेको थियो । खँड्का हातले आफ्नै गर्दनपछाडि मल्न थाल्यो र हातको अलिकता मैल पनि निखार्याे । माइला बाजे छेडो सिद्धयाएर पर सडकमा पुगिसकेका थिए ।
खँड्का छिँडीभित्र पस्यो । फेरि, उसलाई अघिकै जस्तो हिक्क–हिक्क आउन थाल्यो । कान्छीले थालभरि भात पस्की तात्तातो भातको बाफ थालबाट उठ्न थाल्यो । तैपनि, खड्कालाई खाऊँ–खाऊँजस्तो लागेन । भोकले उसलाई पटक्कै छोएन । छिँडीको त्यस वातावरणमा उसको घाँटी च्याप्प समातिएको थियो ।
“लौन,” कान्छीले बिन्तीको स्वरमा भनी, “सेलाउँछ फेरि, तातो भात अलिकति खाँदैमा के बिग्रिन्छ र, नखाए झन् आँतमात्र छिन्न हुन्छ, नातागत हुन्छ ।”
“खान्न भन्या, खान मन छैन भनेपछि पनि...” खँड्काले झर्को मानी जवाफ दियो ।
“अलिकति त नखाई हुँदैन” थालको भात फर्काउँदै कान्छीले जिद्दी गरी ।
“होइन, किन मलाई जिस्क्याइरा हँ, लाखचोटि भनिसकेँ खान्नँ खान्नँ भनेर, अब फेरि...” खँड्कालाई पनि होस भएन । उसले कान्छीको आङमा एक लात जमायो । कान्छी चुलोतिर हुत्तिएकी थिई, कसो–कसो उसले भित्तामा दुवै हातले थिच्न पुगी ।
“यस्सै पनि रिसाइरहने !” कान्छी पुर्पुरो भित्तामा टेकाएर सुँक्क–सुँक्क गर्न थाली । ऊ भन्दै गई, “चाहिने कुराचाहिँ सुन्दै नसुन्ने, नचाहिने कुरामा हजार बाजि खोतलखातल, यसै पनि पिर लिएर बस्ने...” खँड्का ढ्याम्म खाटमा बस्या–बस्यै थियो । कान्छीमाथिको माया उसको मनमा भरिँदै आए तापनि उसले माया गर्न सकेको थिएन । उसको मनको यौटा कुनामा कोक्याउँदो कुरा खेलिरहेको थियो ।
“माइला बाजेले तँलाई किन दिएका ?” खँड्काको सोधाइ अनौठा तालमा निस्क्यो । उसको लागि यो प्रश्न एकदम सिलसिला मिलेर आएको भए तापनि कान्छीले बुझ्नै सकिन । उसले सोधी, “के ?”
“चोलो के, तैँले मागेकी होस् उनीसँग ?” कान्छी बोलिन । खँड्काले फेरि सोध्यो, “के तँलाई म दिन सक्ने थिइन र ?”
“मैले कहाँ मागेकी हुँ र, उनैले दिएका ।”
“किन दिएका ?” कुनै प्रकारको बिराम नलिएर खड्काले तुरुन्तै सोध्यो । कान्छी चुप लागी । कति बेर त चुप नै रही । उसको यस चुपले खड्काको आवेश घट्नुको अपेक्षा बढ्न थाल्यो, “के तैँले उसै बेला च्यातेर मिल्काइदिन सकिनस् ? के त्यसलाई सिङान पुछ्ने टालो बनाउन सकिनस् ? लोभ छिः तँलाई कसको लोभले छोएको यस्तो !”
खँड्का अनायास ओछ्यानलाई हातले किचिमिची पारिरहेको थियो । कुनै विशाल नदीमा उठ्ने भेलझैँ उसको मुटुको ढुकढुक बढिरहेको थियो । यसै क्रममा उसको हात तकियामुनि सलाईको बट्टामा पर्याे । सल्काउनु, जलाउनु यस्तै उत्ताप भावनाले पीडित भएको खँड्काले सलाईको छेस्का क्वार्र कोरेर भन्यो, “सल्काइदिन सकिनस् उसै बेला यी यसरी...”
नभन्दै खड्काले बलेको सलाईमा आफू नगिचैको यौटा कपडालाई सल्काइदियो । झ्वाट्ट आगोले त्यस कपडालाई टिप्यो । खँड्का उत्ताल भएर भन्दै’गो, “देखिस् यी यसरी...”
त्यस बेला छिँडी नै उज्यालो, एकदम आगलागी हुँदाको उज्यालोजस्तो देखियो । जब खँड्काको हात पोल्यो अनि मात्र उसले थाहा पायो, उसले त उही कपडा जलाएछ, जुन उसले केही बेरअघि कान्छीलाई चोलो हाल्न भनी ल्याएको थियो । कपडाको शेष भाग भुइँमा जल्दै’गो । साथै, आगोको ज्वाला पनि सुक्तै–सुक्तै निःशेष भो ।
खँड्कालाई आफ्नो हात–खुट्टा फतक्क गलेको अनुभव भयो । धेरै टाढाबाट दगुर्दै आएर सुस्काएको मान्छेझैँ ऊ खाटमुनि ड्याम्म बस्यो र दुवै हातले टाउकोलाई थिचिरह्यो । धेरै बेरसम्म छिँडीमा कुनै आवाज निस्केन । रात चकमन्न भइसकेपछि खँड्काले बिस्तारै कान्छीको हात समाती भन्यो, “ढोका किन नलाएको ?”
बीच–बीचमा निस्कने कान्छीको सुँक्क–सुँक्क त्यति बेर पनि थामिएको थिएन । तैपनि, जुरुक्क उठेर उसले ढोका उगाई र साथै खोपामा बलिरहेको टुकीलाई पनि झ्याप्प निभाएर ऊ ओछ्यानतिर गई ।
भोलिपल्ट साँझ खँड्काले डेरा सार्यो । यो उसको सातौँपटकको डेरा सराई थियो । साबिकबमोजिम यसपटक पनि उसले कान्छीको हात समाती किरिया खायो, अब ऊ डेरा सर्दैन ।
(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि/कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको तेस्रो कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)