
पसलको अगाडि उभिएर सोधेँ, ‘साउजी, शुभकामनाको कार्ड छ ?’
आजै त हो नववर्ष । नेताहरूले सरकारी खर्चमा सुख–समृद्धि र उन्नति–प्रगतिको शुभकामना प्रसारण गरिरहेका छन् । यस्तोमा एउटा वातावरण निर्मित हुने गर्छ, शुभकामनामय उत्साह ।
शुभ त भइरहेको कमै छ । खोजीखोजी एक/दुई शुभकामनाका घटना के सम्झिरहनु ! पूरै वर्ष त दुःखमय वातावरणमा बितिरहन्छ । तैपनि, मानिस उत्साहित हुन्छ भन्न— नववर्षको शुभकामना ।
केटाकेटीले शुभकामनाको कार्ड ल्याउन भनेका छन् । म खासै उत्साहित छैन । क्यालेन्डर बदल्नुबाहेक अरू खासै हुनेवाला छैन भन्ने नकारात्मक भावना मभित्र छ ।
उनै मिति, उनै तारिख, उही कार्यशैली । उही सोच, उस्तै काण्ड र घोटाला । तर, मैले अगाडि सोचिनँ, अति हुने डर भयो ।
आज जे भए पनि नयाँ वर्षको पहिलो दिन, वैशाख १ गते । कममा पनि केही शुभ सोच् भनेर आफूलाई हप्काएँ र सकारात्मक हुन प्रेरित गरेँ ।
यसलाई थिचेरै भए पनि म नयाँ वर्षको शुभकामनाको कार्ड खोज्दै हिँडिरहेछु । अनि, मैले यो पसलमा पनि सोधेँ, ‘साउजी, ह्याप्पी न्यु इयरको शुभकामनाको कार्ड छ ?’
साहु हाँस्यो र जवाफमा भन्यो, ‘मोबाइलको जमानामा केको कार्ड हुनु नि ! चल्नै छाड्यो ।’
उसको जवाफ सुनेपछि म निराश हुँदै बाटो लाग्न थालेको थिएँ । यो नै अन्तिम पसल हो योभन्दा अघि अर्को पसल भेट्न गारो छ झैँ लाग्यो ।
सहरलाई के भयो ? व्यापार छैन भन्छन् । तर, उसले म विमुख नहुँदै भन्यो, ‘नववर्षको शुभकामना !’
बिहानदेखि मैले यही एउटा वाक्य सुन्दै आएको छु, ‘नववर्षको शुभकामना !’
कसैले मलाई भनेको पनि हुन्छ र कसैले अरू कसैलाई भनेको पनि सुन्न पाएको छु । तर, मैले नै पहल गरेर अर्कालाई वा परिचितलाई नववर्षको शुभकमना भनेको छैन । मैले मेरो शुभकामना घरकी बुढीमाउलाई नै भन्छु भन्ने मनमनै अठोट गरेको छु ।
मैले साहुको नववर्षको शुभकामनाको जवाफमा जाँदाजाँदै अन्यमनस्क भावमा भनेँ, ‘तपाईंलाई पनि !’
मलाई साहुको शुभकामनाले प्रफुल्ल बनाएन । मानौँ, म कुनै युद्धक्षेत्रमा फसेको परिवार मारिएको र घरबास भुटिएको आमनागरिक हुँ । त्यसैले मन रोइरहेछ । रुनु त थिएन, तर उदास छ मन ।
मुलुकमा यस्तो दिनदिनै बढेको महँगी छ । ढाड कुप्रिएको छ । त्यस्तोमा केका लागि शुभकामना ? नेताहरूले भनून्— नववर्षको शुभकामना ।
तिनीहरू नै समृद्ध छन् र तिनीहरू नै सुखी छन् । भइरहून् । म निराशाको अन्धकारमा छु । तैपनि, निराशालाई चिर्ने एउटा किरण थियो – मानिसहरू अझै पनि शुभकामना आदानप्रदान गरिरहेछन् ।
बस चढेर डेरातिर लागेँ । बस हिँड्यो । सास फेर्नै नसक्ने गरी घच्चाघच्ची थियो । चालकले सबै यात्रीलाई पुग्ने गरी चिच्याएर भन्यो, ‘लौ है, सबैलाई नयाँ वर्षको शुभकामना ।’
वर्षौंदेखि मर्मत नगरिएको सडकमा बस खोच्याउँदै ढल्किँदै हिँडिरहेको थियो । यो सडकबाट कुनै भीआईपी हिँड्दैनथ्यो र हिँड्ने सम्भावना पनि थिएन । सडक मर्मत गर्ने ठेक्का लिएको ठेकेदार पनि रकम बुझेर बेपत्ता थियो ।
बसको चालकले बस हाँकिरहेको थियो र आगामी स्टपमा मान्छे चढाउने कोसिसमा थियो कन्डक्टर । भनिरहेको थियो, ‘हल्काहल्का सरिदिनोस् ।’
एउटी अधबैँसे महिला हल्काहल्का सरिदिनोस् भन्नेमा चित्त नबुझेर टाठो स्वरमा प्रतिवाद गर्न तत्पर भई, ‘ठाँवै छैन । केको हल्काहल्का नि !’
अर्को यात्री जसले माथि डन्डी समातेर आफूलाई अडाइराखेको थियो, उसले भन्यो, ‘यसो सरेझैँ गरिदिनोस् न । हल्काहल्का त भनिरहेकै छ । सरेझैँ गरिदिने हो । बहस ठिक छैन ।’
कोचाकोचमा बहस सुन्न कोही तयार छैन । सबैलाई जसरीतसरी गन्तव्यमा पुग्न पाए भयो ।
उसले भनेका मलाई ठिक लाग्यो । यसो सरेझैँ गरिदिने हो । केके असंगत र भ्रष्ट भइरहेछ, ती सबैलाई आँखा चिम्लेर नदेखेझैँ, अलिअलि देखेझैँ गरिदिने त हो । बाँकी उही दोहोरिरहने हो ।
पूर्वाभास भइसक्छ सबैलाई नेताहरूको कार्यशैली के हो, मुलुक कता गइरहेछ भन्ने । तैपनि, नववर्षमा आशा जागिहाल्छ— परिवर्तन आइहाल्छ कि, फेरिइहाल्छन् कि ?
बस ढल्कीमल्की गर्दै यात्रीहरूलाई खाँदेर हिँडिरहेथ्यो । यात्रीहरू डिब्बाबन्द माछाझैँ आफसे आफ तह मिलेर टम्म उभिने भइरहेका थिए । यस्तो सडक हेर्न कोही नेता आउँथ्यो त सडक हेरेर उल्टै भन्थ्यो, ‘मुलुक नै यस्तो थोत्रो भएर गइसक्यो ।’
उसले अर्काको टाउकोमा जिम्मेवारी पन्छाउने कुरा गर्थ्यो । तर, त्यहाँ त्यस्तो टाउको उपस्थित देखिँदैनथ्यो ।
पछि बसबाट ओर्लेर डेरामा पुग्दासम्म बाटामा स्कुले केटाकेटीको जुलुस नववर्षको शुभकाममना भन्ने प्लेकार्ड उचालेर हिँडिरहेको देखियो । मलाई लाग्यो, ‘स्कुलहरूले शिक्षा महँगो बनाइराखेको बेला केको शुभकामना ?’ तैपनि, शुभकामना व्यक्त गर्ने संस्कार केटाकेटीमा बसालिरहेका छन्, फेसन नै भए पनि ।
घर पुगेपछि बुढीलाई सामानको झोला सुम्पिँदै भनेँ, ‘प्यारी बुढी, नववर्षको शुभकामना !’
मैले बुढीका लागि नववर्षको शुभकामना सञ्चित गरेर राखेकै थिएँ, वर्षभरिदेखि । त्यही एकैचोटि दर्के पानीझैँ उल्लासित हुँदै पोखेँ ।
बुढीको अनुहार उज्यालो भएन । अनुहार अँध्यारो नै रह्यो । म तर्सें । मेरो नववर्षको शुभकामना बालुवामा पानी खन्याएझैँ हुने भो ? म त किनमेल गरेर ठिक टाइममा फर्केकै छु ! अनि, यो अनुहार किन अँध्यारो ? मेरो नववर्षको शुभकामना सुनेर ऊ पनि प्रफुल्ल हुनुपर्ने हो ।
‘किन बुढी, अनुहार किन मलिन ? आज नववर्षको पहिलो दिन दुःखै भए पनि हाँस्नु जरुरी छ । तिमी किन दुःख मनाइरहेजस्तो देखिएकी छौ ? सालको पहिलो दिनमै कतैबाट दुःखको सम्चार त आएन हँ ?’
बुढी गम्भीर भई । केही बेर सोचेर फेरि खिसिक्क हाँसी । मेरा कुराले मन बुझाइ होला । कुरा लुकाउन नसकेपछि ऊ यसरी हाँस्थी । तैपनि, झन्डै आँसु चुहाइन, बुढीको आत्मा दुःखी थियो । सधैँ पुगेस पुगेस भइरहन्थ्यो ।
बुढीले भनी, ‘बिहानै घरबेटीले ढोका ढकढकाउन आएको थियो ।’
म आशंकित भएँ । अनुमान पनि गरेँ, तर कटुसत्यको सामना गर्ने साहस आइरहेको थिएन । के डेरा छाड्न भन्यो कि ? कि तीन महिनाको भाडा पेस्की दिनुस् ?
त्यो नभए अरू एउटा तितो सत्य पनि बाँकी थियो । मेरो त सोच्ने हिम्मत नै भएन ।
‘के भन्यो त्यस्तो बुढी ?’ म उभिएको उभियै सोधेँ, ढोकाको आड लिएर ।
‘के हुनु, उही त हो ! भाडा बढाएर गएको छ । अर्को महिनादेखि भाडा बढाएको छु, कोठा छाड्ने भए यही महिनाको पन्ध्रभित्र छाड्ने, बस्ने भए बढेको भाडा खुरुक्क तिर्ने रे ! अहिलेसम्म तिर्दै आएकै त छ ।’
‘फेरि उसमाथि यसो भनेर पनि गयो...’
म उत्सुक भएँ । म उत्सुकताको चरममा पुगेँ भन्नु उपयुक्त थिएन, अवसरअनुसार । कुरा बुढीलाई खराब लाग्ने गरी जिस्काएर गएको हो कि ? घरबेटी हेर्नमा रसिकजस्तो लाग्छ । उसले भनेको कुरो भयानक पनि हुनसक्छ, तर स्वर दबाएर सोधेँ, ‘के भन्यो ?’
बुढी हाँस्नु न रुनुको भावभित्र चुर्लुम्म भएकी थिई र भनी अशुभ नहोस् भन्ने सतर्क स्वरमा, ‘नववर्षको शुभकामना रे !’