“कस्तो बेकुफ मान्छे रे छ...!”
झ्यालको पर्दा सर्रर तानेर युवतीले मनमनै भनी । त्यो नौलो मान्छे हेर्दा ज्यादै सोझो र सरल प्रकृतिको देखिन्छ र जसको लवाइमा पनि भलादमीपना टप्केको छ, त्यस्तोले उसलाई पुलुक्क–पुलुक्क आँखा उचाली हेर्न सक्छ भन्ने कुरा त्यस युवतीको मनमा थिएन ।
तर, जब केही बेरअघि मात्र युवतीले झ्यालबाट हेर्दा त्यस नौलो मान्छेले यस्ता लक्षणहरू देखायो, जसबाट ऊ गुन्डो रहेछ भन्ने कुरा साबित हुन सक्थ्यो । त्यस थोरै समयमा नौलो मान्छेले चुरोट सल्कायो, खल्तीबाट रंगीन रुमाल झिकेर नाक–मुख पुछ्यो, रुमाललाई हावामा अलि माथि फुत्त फ्याँकेर फेरि हातले समात्यो ।
यति मात्र होइन, त्यसपछि उसले दाहिने हातको कुमलाई भित्तामा अडेस दिएर देब्रे हात खल्तीभित्र राखी खुट्टालाई कृष्णको मूर्तिमा देखिने बान्कीझैँ पारेर पुलुक्क माथि युवतीलाई हेरेको थियो ।
पर्दा लगाएको झ्यालभित्र बसेर युवती कपडामा बुट्टा भर्न थाली । उसको अनुहारबाट तल्लीनता बराबर टुक्रिँदै गएको प्रतीत हुन थाल्छ । किनभने, त्यस नौलो मान्छेले देखाएको बेसोमतीपना उसको लागि मन नपर्ने हुन गएको थियो । जसको असर खासगरी युवती आँखीभौँ र नाकमा आएर तानिएको थियो ।
जुन कोठामा युवती बसेकी थिई, त्यहाँ उबाहेक अरू कोही पनि थिएन । कोठाको त्यस सुनसान वातावरणमा युवती कहिलेकाहीँ आफैँ बडबडाउन थाल्छे । उसको बडबडाइमा प्रायः यही भाव र ध्वनि पाइन्थ्यो कि उसलाई त्यो सडकको छेउमा उभिरहेको मान्छे पटक्कै मन परेको छैन ।
युवती झ्यालबाट पर सरेर भित्ताको कुनामा बस्छे । उसको यो ठाउँ सराइमा प्रत्यक्ष कुनै कारण थिएन । तर, उसको अनुमान छ, झ्यालमा भन्दा उसलाई यस ठाउँमा सुविस्ता मिल्न सक्ला ।
त्यसो त झ्यालको पर्दा लगाएको लगायै छ । बाहिर ठिटो छ वा छैन भन्ने कुराको सुइँको पाइने कुनै ठावैँ छैन । निश्चिन्त हुन खोजेझँै गरी युवतीले आफ्नो बुन्ने काममा मानसिक शक्ति लगाउन खोजी ।
झुकेर काम गरिरहँदा गर्दनको भागमा बल पर्दै जान्छ । त्यसैले युवती छिन–छिनमा घाँटी तानी माथि हेर्ने गर्छे । यस्तो क्रममा उसका आँखा प्रायः अगाडिको भित्तामा टाँगेको ऐनामा पर्छ । उसको मुख देखिँदैन ।
तर, ऐनाको स्वाभाविक गुण र आकर्षणले उसलाई खिच्तै लान्छ । फलतः उसलाई आफ्नो अनुहार हेर्ने सकसक पैदा हुन्छ । मनको असन्तुलित स्थितिबाट उसलाई यो लागिरहेछ कि अवश्य उसको अनुहार किचिमिची परेको होला ।
नभन्दै युवती जुरुक्क उठेर ऐना भएको भित्तातिर गई । हिँड्दाखेरि अनायास उसको आँखा झ्यालको पर्दामा गएर अल्झिन्छ, जो केही बेरदेखि साँझको हावामा फर्फराइरहेको थियो र जसको छिद्रबाट उसले फेरि त्यो नौलो मान्छेलाई देख्न पुगी ।
उसको मनमा थिएन कि त्यो अझै पनि त्यहाँ उभिरहेको होला । तर, त्यो नौलो मान्छे उही चालमा जहाँको तहीँ उभिरहेको छ । उसले अझै पनि पट्यार मानेको थिएन । मानौँ, ऊ युवतीकै लागि पर्खिरहेको छ ।
“ऊ...मुख हेर न, गति न पतिको...एउटा यस्सो राम्रो भन्ने कुरो त हुनुपर्छ.. उडिल्लो निधार...।”
युवती ऐनाको अगाडि नै पुगी, त्यहाँ उसले आफूलाई नियालेर हेरी, हेर्दै गई । साक्षात् आफूलाई अगाडि पाउँदा उसको मनमा अनौठो खालको तरङ छुट्न थाल्छ । समुद्र किनारमा उठ्ने फिँजको लहरतुल्य उसको मानसिकताको कुना–काप बुद्बुदाउन थाल्छ ।
ढक्क फुलेको त्यस युवतीको छातीले ऐनाको जम्मै भागलाई ढाकिरहेछ । युवतीको आँखा झांगिएर आउँछ । ओठ गुचुमुचुक्क पर्छ । जसका ससाना ससाना कोणहरूबाट हाँसो पिच्च निस्कन खोजेको प्रतीत हुन्छ र यस्तो बखत उसको चेहरामा रगत यति सारो थुप्रिँदै आउँछ कि मानौँ, उसलाई बेसरी कसैले अबिर दलिदिएको छ ।
युवती कुनै हालतमा पनि आफूलाई नराम्रो मान्न सक्तिन । ऐनाबाट फरक्क फर्केर युवती उही ठाउँमा आएर बसी र बुट्टा भर्ने काममा लाग्न खोजी । ऊ कुनै तकियाको खोलमा बुट्टा भरिरहेकी थिई । बुट्टामा ऊ फूलको भाग सिध्याई ‘प्रेमोपहार’ शब्दलाई भर्न लागेकी थिई ।
बुट्टा भराइमा उसको मन धेरै बेर लाग्न सकेन । न त उसलाई त्यस ठाउँमा यसै चुप लागेर बस्न नै मन लाग्यो । उसले आफ्नो दुवै हातलाई उचालेर तनक्क तानी, औँलाहरू पटापट भाँच्तै गई र त्यसपछि थकाइ मारेको एउटा लामो श्वास फेरी । दुवै हत्केला काखमा फ्यात्त राखेर युवतीले कोठाको चारैतिर हेरी । मानौँ, ऊ त्यसको निरीक्षण गर्न चाहिरहेकी छ ।
भित्ताको कुनापट्टि यौटा ठूलो दराज छ, जसभित्र अरू थोकका साथै युवतीको किमती ब्लाउज र सारीहरू पनि रहेको देखिन्छ, जुन दराजको माथिल्लो भागमा ऐनाबाट स्पष्ट देखिन्छ । दराजनिरै एउटा टेबुल छ, सफा टेबुलपोस, फूलदान जसबाट ताजा फूलहरूको सुगन्ध उठिरहेछ ।
त्यहीँ केही हिन्दी उपन्यासका किताबहरू, मासिक पत्रिका इत्यादि छन् । त्यसपछि युवतीको आँखा क्रमशः सुकिलो तन्ना कसेको ओछ्यान, तकिया र तख्तामाथि राखेको सानो घडीमा सर्दै जान्छ, जसको टिकटिक आवाज युवतीको कानमा सन्तुलित ढंगले आइरहेछ । कोठाको दलिन र भित्ताहरूमा पोतिएको आस्मानी रङ आँखालाई हल्का–हल्का आनन्द दिने खालको छ ।
वारिपट्टिको झ्यालबाट साँझको मधुरो घाम कोठाभित्र छिरी भुइँको पर भागसम्म पुगिरहेछ । रूखको छहारीबाट आएको हुनाले कोठाभित्र बिछिएको त्यो लामो घाममा पातका बुट्टेदार छायाहरू टलपल–टलपल चलिरहेका देखिन्छन् ।
युवती मनमनै झस्केर फेरि भर्ने रिङ हातमा लिन्छे । प्रेमोपहार शब्दलाई ऊ भर्दै जान थाल्छे । तर, सिलाइ शब्दको रेखामा नमिली बराबर भद्दा हुँदै गएजस्तो उसलाई लागिरहेछ ।
युवतीको मनको आधा अंश नजिकै झ्यालमा गएर अल्झिरहेछ । झ्यालको पर्दा अघि फरफर फर्फराइ नै रहेको छ । युवतीको आँखा अनायास पुलुक्क–पुलुक्क त्यतातिर जान्छ । यस्तो लाग्छ, मानौँ त्यो झ्यालबाट कोही आउन खोजिरहेछ ।
युवतीको मानसिक अस्थिरता फेरि सुरू हुन थाल्छ । त्यहाँबाट जुरुक्क उठी झ्यालमा गई बस्छे । पर्दाको कापबाट जब उसले उही नौलो मान्छेलाई जहाँको तहीँ नै उभिरहेको देखी, तब उसको आश्चर्यको सीमा रहेन । अब त उसलाई पक्कै भयो, त्यो मान्छे उसकै लागि पर्खिरहेको छ, उसलाई फकाउन खोजिरहेछ ।
“कस्तो गुन्डो मान्छे रे’छ... लाज–सरम भन्या पटक्कै नभा’को...।”
युवतीले झ्यालमा बस्याबस्यै मनमनै भनी, “टोपी ढल्काको हेरन...कति न राम्रो छु भनिठान्या होला... राम्रो भन्नुमा यौटा च्यूँडो त हो नि... अरू के छ... खाली मुख अलिकति हिस्सी परेको हो... अरू...अरू...।”
क्रमशः युवतीको आँखाले त्यस नौलो मान्छेलाई राम्रो–राम्रो देख्दै जान्छ । उसको लोभ्याउने गुन्डो अनुहारले युवतीको मनलाई कता–कताबाट खिच्न थाल्छ । युवती उसै गरी पर्दाको कापबाट हेरिरहेकी छ । नौलो मान्छे जहाँको तहाँ छ, चुरोट खाइरहेछ ।
उसको रूपलाई केही बेरअगाडि युवतीले जुन प्रकारको बनाएकी थिई, त्यसलाई ऊ अहिले मनमनै मेट्तै गइरहेकी छ । ऊ आफ्नो मनको ज्यादै भित्री तहमा यो सोचिरहेको छे कि उसको अनुहारको अंग–अंग छुट्याएर हेर्दा कुनै सानो अर्थात् नमिलेको जस्तो देखिन्छ ।
तर, त्यसो भए पनि कता–कताबाट त्यो नौलो मान्छेको अनुहारमा यौटा यस्तो सौन्दर्यले च्याएको थियो, जुन निश्चय उसको मनबाट छरिएको हुनुपर्छ । अब त्यो मान्छे उसलाई बदमासजस्तो लागेन । साथै, यो कुरो पनि उसको मनमा झन्–झन् पक्का हुँदै गयो कि त्यो मान्छे उसैलाई पर्खिरहेको छ ।
त्यस नौलो मान्छेको मानसिक संगठनबाट निस्केको सौन्दर्यले युवती पराजित हुन्छे ।
झ्यालबाट उठेर ऊ दराजनिर पुगी । एक छिन ठिङ उभिरही । उसको छातीभित्र चलिरहेको मुटुको गति छिटो–छिटो दगुर्न थाल्छ । जाडोको टाइम तर हिटरको नजिक बस्ताखेरि उठ्ने न्यानोपनाझैँ उसको शरीरभर खास गरी आङ, गर्दन र कानमा फिँजिएर आउँछ ।
युवती धमाधम वस्त्र फुकाल्दै जान्छे । छिटो–छिटो गरी दराजबाट एउटा किमती ब्लाउज र हरियो रङको सारी झिक्छे र लगाउन थाल्छे । हतार–हतारमा यसो हेर्दा एक÷दुईबाजि उसको भरिएको ज्यू झ्वाट्ट खुल्छ । जसले गर्दा उसको चेहराको रङ नै फेरिन्छ ।
युवती बिस्तारै झ्यालतिर पाइला बढाउँदै जान्छे । उसलाई अलि–अलि सरम लागेजस्तो भइरहेछ । रातो हुँदै आएको उसको अनुहारमा आशंका र आकर्षण एकैबाजि खेलिरहेछ ।
औँला किचिमिची टोक्तै युवती झ्यालबाट पुलुक्क हेर्छे । उसलाई यस्तो लाग्छ कि त्यो नौलो मान्छेले उसका जम्मै क्रियाहरू थाहा पाइसकेको छ । युवती मनमनै खिस्स हाँस्छे । पर्दाको त्यस सानो कापबाट ऊ नौलो मान्छेको अनुहारलाई नजिक–नजिक तान्दै ल्याइरहेकी छ ।
एक्कासि त्यो उभिरहेको मान्छेमा परिवर्तन आउँछ । ऊ एकबाजि रुमालले मुख पुच्छ अनि आफ्नो शरीरलाई छिटो–छरितो बनाउने चेष्टा गर्छ । ऊ उभिएको ठाउँनिर यौटा ढोका थियो र जसभित्रबाट अहिले कुनै चप्पलको आवाज चटाक्–चटाक् आएझैँ प्रतीत हुन्छ ।
“ओह ! माफ गर्नुस् है...धेरै बेर भो... के गर्नु हेर्नुस् न, भर्याङमा ओर्लिसकेपछि पनि... फेरि दिदीले बोलाएर...।” चस्मा लगाएकी यौटी छरिती खालकी आइमाई ढोकाबाहिर आई र त्यो नौलो मान्छेलाई सम्बोधन गर्दै भनी । उसको हातमा केही किताब र कापी थिए । भर्खर लगाएको सारीलाई यताउति मिलाउँदै ऊ एक छिन ढोकामै उभी ।
नौलो मान्छेले नाडीको घडी हेर्दै भन्यो, “के भो र, धेरै बेर भा’छैन...जाऊँ त अब...।”
“जाऊँ...।”
झ्यालकी युवती जो अघिसम्म पर्दाको सानो भागबाट हेरिरहेकी थिई र जसले त्यो आइमाईको बोली पनि स्पष्ट सुनेकी थिई, अचानक पर्दा झ्वाट्ट खोलेर आफ्नो टाउको बाहिर निकाली । नौलो मान्छे र आइमाई उसकै झ्यालमुनिबाट बिस्तारै बिस्तार जाँदै थिए ।
दुइटै हातले झ्यालबाट डन्डी समातेर, युवतीले आफ्नो छातीसम्मको भागलाई बाहिर तानी, टाउको फर्काउँदै हेर्न थाली । ऊ जति–जति हेर्दै जान्थी, उति–उति उसको अनुहार फिक्का–फिक्का हुँदै जान्थ्यो ।
हुँदा हुँदा यहाँसम्म कि ऊ एकदम कालीजस्ती देखिई । उसको साधारण गोलाइभन्दा बढ्ता फुलेको गर्दनमा पसिनाको बुँद उम्रन थाल्छ ।
आखिर केही नलागेर युवती ‘अँ, अँ’ को आवाज निकाल्छे । सायद उसलाई घाँटीमा अप्ठ्यारो भइरहेछ । खोक्छे, खोक्तै जान्छे, जोर–जोरसँग खोक्तै जान्छे । यहाँसम्म कि खोक्ता उसको छातीको भार थाकिन्छ ।
तर, त्यो नौलो मान्छेले उसलाई एकपटक पनि फर्केर हेरेन ।
(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि/कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको तेस्रो कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)