निरञ्जनलाई निद्रा लाग्न–लाग्न आँटेको बेला थियो । उनको आँखालाई निद्राको नशाले लट्ठ्याउँदै लग्यो । मनका सूक्ष्म स्नायुहरूमा उनका अधुरा कुराहरू अल्झिरहेका थिए । निरञ्जन कहिले आँखा बन्द गर्दथे, कहिले आधा खोल्दथे ।
कसैले बिस्तारै ढोका खोलेको जस्तो आवाज आयो । निरञ्जन झस्के । तीव्र दृष्टिले ढोकातिर हेरे । यौटा हरियो पछ्यौरा ओढेको छाया ढोकाबाहिर सुट्ट गयो । ढोका फेरि बिस्तारै बन्द भयो ।
निरञ्जनले दोलार्इं पन्छाए । खुट्टाको पाँच औँलाले मात्र भुइँमा टेकेर पाइलो चाल्न थाले । छाया अघि–अघि बढ्दै गयो, निरञ्जन पनि पछि लाग्दै गए । तेस्रो भर्याङको आखिरी सिँढीमा पुग्दा उनले छायालाई देखेनन् ।
दलानको कुना–कुनालाई अन्धकारले अँगालेको छ । निरञ्जनलाई पूर्ण विश्वास भयो कि छाया उनैकी पत्नीको हो । उनी सोच्न थाले– को होला त्यो ?
बाहिर मध्यरात निस्लोट भएर सुतिरहेछ । यति सन्नाटा छ कि विचार गर्न सकिँदैन । छिनछिनमा टाढाबाट कुकुर भुकेको आवाज अनौठो ढंगले सुनिन्छ । पातपतिङ्रसम्म पनि निश्चल छन् । हावा लंगडो भएर लडिरहेको छ । कसैले वातावरणलाई मादकपदार्थ ख्वाएर विचेत पारी निरञ्जनउपर षड्यन्त्र रच्न आँटेको जस्तो भान पर्दछ ।
निरञ्जनले सोचे– को होला त त्यो ? अचानक उनको कानमा चुरा छिन्द्रिङ बजेको आवाज आयो । उनलाई कसैले करेन्ट लगाइदिएको जस्तो भयो । आङ जिरिङ गर्यो । वातावरण फेरि शान्त भयो । निरञ्जन सोच्दै गए– को बदमास आएर लुकेको छ त्यहाँ ?
धेरै दिनदेखि पत्नीले निरञ्जनलाई सिनेमा हेर्ने आग्रह गरिरहेकी थिइन् । अस्तिको पटक निरञ्जनले टाल्न सकेनन् । फलस्वरूप, दुवै सिनेमा हेर्न गए ।
त्यो दिन निरञ्जनकी पत्नीले धीत मर्ने गरी ठाँट पारेकी थिइन् । बाटोमा कतिले देखे होलान्, के्–के गुने होलान् । ओठमा रातो लाली लाएको त निरञ्जनलाई कत्ति मन परेको थिएन । निरञ्जन के गरून् ! सौभाग्यवती नारीलाई शृंगार अवैध गर्नु पनि त मनासिब भएन । अस्तु ।
हलभित्र उनको ठिक पछाडि एउटा तीस–पैतीस वर्षको अधेड युवक बसेको थियो । उसको आँखा एकदम धस्सिएर इनारजस्तो देखिएको थियो । चाउरी परेको मुखमा रगत भनेको पटक्कै थिएन । त्यसमाथि पनि गालामा क्रिम दल्दा–दल्दा हाडै टल्केको । आँखामुनि कोरिएको कालो रेखामा उसको तमाम इतिहास छर्लंग देखिन्थ्यो ।
यसो हेर्दामा थाहा हुन्थ्यो, कुनै लोफरमण्डलीको सरदार नभए पनि प्रमुख कार्यकर्ता त अवश्य हो । किनभने, उसको घाँटीमा रातो रुमाल टनक्क बेरिएको थियो ।
छिन–छिनमा उनकी पत्नी बसेको मेचपछाडि खुट्टाले ट्याक्क–ट्याक्क हान्ने गर्दथ्यो । यति मात्र होइन, फोटोग्राफरले फोकस मिलाउनको लागि यताउता मुख गरेझैँ ऊ पनि उनको पत्नीलाई कहिले यो कुनाबाट कहिले ऊ कुनाबाट हेर्ने गर्दथ्यो ।
उसको आँखामा बदमासी गर्ने नियत साफसाफ झल्किरहेको थियो । उसको हँसाइ पनि विचित्र किसिमको थियो । कहिले हाहाहा गर्ने, कहिले खिस्खिस् ।
सिनेमामा जब नायक–नायिका प्रेम–संगीत गाउँदथे, त्यस बेला ऊ पनि गुनगुनाउँदथ्यो । गुनगुनाउँदै ऊ यहाँसम्म गथ्र्यो कि उनकी पत्नीको कुमनिर मुख ल्याएर कानमा जोर्ला–जोर्लाजस्तै गर्न खोज्दथ्यो ।
उनकी पत्नीले पनि धेरैपटक पछ्यौरा पछिल्तिर फर्काएकी थिइन् । यसमा निरञ्जनलाई हिजोसम्म विशेष चाख थिएन । तर, आज उनलाई पत्नीको यो क्रियामा सन्देह प्रकट हुन थाल्यो ।
निरञ्जनले एउटा लामो सास फेरे । उनको शरीरमा तापक्रम क्रमशः चढ्दै गयो । भित्रभित्रै उनी उत्तेजित हुँदै गए । जोसमा आएर अगाडि बढेका थिए, फेरि पछि हटे । टर्चलाइट लिन भनेर माथि उक्ले । दोस्रो भर्याङ पुग्दा नपुग्दै उनको गति मन्द हुँदै गयो र आखिर स्थिर भयो ।
हुन त त्यही बदमास हो, तर त्यसलाई घर यही हो भन्ने कुरा कसरी थाहा भयो ! फेरि, अस्ति सिनेमा हेरेदेखि उनकी पत्नी बाहिर पनि गएकी छैनन् ।
उनले पत्नीलाई पहिले नै भनिदिएका थिए, “खबरदार ! मलाई नसोधी बाहिर कतै जाने नगर्नू ।”
निरञ्जन पुरानै ठाउँमा आएर झोक्राउन थाले । उही सन्नाटा छ, उही अन्धकार । निरञ्जन गहिरो सोचाइमा डुब्दै गए । बाहिर पहाडको पिठिउँमा लुकेका बादलका दलहरू आकाशमा फिँजिन थाले ।
सम्पूर्ण वातावरणलाई रहस्यपूर्ण आवरणले ढाक्यो । अनि, कता–कताबाट खिस्स हासेको हल्का आवाज निरञ्जनको कानभित्र पस्यो ।
उनको सम्पूर्ण ध्यानले एउटा संयुक्त मोर्चा कस्यो । निश्चल खम्बाझैँ उनी उभिरहे । सास पनि यति विस्तारै फेर्न थाले कि उनलाई थाहै भएन, उनी सास फेरिरहेका छन् अथवा...।
यो के फेरि, खस्याकखुसुक कुरा गरेको जस्तो आवाज ! कति अस्पष्ट, निरञ्जनले बुझ्न सकेनन् । तमाम इन्द्रियका शक्तिहरू कानमा लगेर थुपार्दा पनि उनले त्यस आवाजको अर्थ सम्झन सकेनन् ।
निरञ्जनको निधारमा चिटचिट पसिना आयो । मनमा अनेक किसिमका तरंगहरू आन्दोलित हुन थाले । उनको सामुन्ने यही एक प्रश्न खडा थियो–को होला त्यो ?
एक्कासि उनको स्मृतिपटमा हरिगोपाल आइपुग्यो ।
हरिगोपाल सधैँ निरञ्जनकहाँ दूध ल्याउने गर्छ । दुई हातमा दूध राख्ने भाँडो झुन्ड्याउँदै बिहान–बेलुका ठिक टायममा ऊ आइपुग्छ ।
दलानदेखि नै ‘दुलही बज्यै, दुलही बज्यै’ भनेर माथि चोटासम्म पुग्छ । खुब हडबडमा भएजस्तो देखाउँछ । दूध कराहीमा खन्याउँदा पुलुक्क–पुलुक्क उनकी पत्नीतिर हेर्ने गर्छ ।
निरञ्जनले खास आफ्नै आँखाले कतिचोटि देखेका छन् । उनकी पत्नीले दूधको विषयमा कुनै प्रकारको खोट लगाएकी थिइनन् । फेरि, उसलाई यसो भन्नु के मतलब, ‘दूध कस्तो छ ? दुलही बज्यै !’
धेरै दिनदेखि निरञ्जनलाई उसको छाँटकाँट निको लागेको थिएन । एकपटक त उनले यस्तो पनि देखेका थिए कि हरिगोपाल विचित्र मुद्र्राबाट कुन्नि के भनिरहेको, उनकी पत्नी बडो चाख मानेर सुनिरहेकी !
हेर्दा सुधो भएर के गर्नु ? भित्रभित्र आगो सल्काउँछ । मौकामौकामा कस्तो आँखा घुमाउँछ । निरञ्जनलाई थाहा नभएको हो र ? निधारमा रातो टीका कहिल्यै छुट्तैन उसको । बाँकटे भोटोमाथि कश्मीराको इस्टकोट लगाउँछ । खाकीको मैलो कट्टु लगाएर आफ्नो कस्सिएको तिघ्रा देखाउन खोज्छ । पाजी, बदमास !
निरञ्जनको नसामा रगत छिटो–छिटो बग्न थाल्यो । अन्धकारमा यसै त मस्तिष्क गोलमाल हुन्छ, उसमा पनि हरिगोपाल दुई–तीन हात पर, उनकी पत्नीसित... उफ् ! उनले सोच्नै सकेनन् ।
निरञ्जनले बिस्तारै एक भर्याङ पार गरे । बाहिर उत्तिकै सुनसान थियो, जत्तिको पहिले । उनलाई झस्स एउटा विचार सुझ्यो– हरिगोपाल एउटा तल्लो खालको मान्छे, जे भए पनि त्यत्तिको ह्याउ पुग्दैन । साहस पनि मानिसले आफूसरहको सम्ममा गर्न सक्छ । हो, ऊ बिहान–बेलुका उनीकहाँ दूध ल्याउने गर्छ । त्यो भिन्नै कुरा । तर, समयमा यस किसिमले उनकी पत्नीसित...असम्भव...!
हातमा हात मल्दै निरञ्जन फेरि तल ओर्ले । उनको सम्मुख उही प्रश्न थियो, को होला त त्यो ? प्रश्न कुनै शताब्दीदेखिको निश्चल र निस्पन्द ऐतिहासिक स्मारककै खडा थियो ।
प्रश्नको मुखमा मूच्र्छित हास्यको छाप विद्यमान थियो । अगाडि निरञ्जन पनि स्वयम् एक प्रश्नझैँ स्तम्भित थिए । उनको मानसिक स्थिति त्यस बेला घडीको ठिक पेन्डुलमजस्तो थियो । उनलाई रिँगटा लाग्लाजस्तो हुन थाल्यो ।
आकाशलाई बादलले टम्म ढाक्यो । एकबाजि बिजुली चम्क्यो, बादल गज्र्यो । हावा लङ्गडाउँदै बहन थाल्यो ।
हिस्स ! दुइटा सास आफूमा ठक्कर खाँदा निस्केको आवाज जस्तै ! अझ कतैबाट कुनै प्रकारको आवाज सुनिँदैन । टाढाबाट आउने कुकुरको भुकाइ पनि सुनिन बन्द भयो । केवल उही हिस्स, हिस्स...।
निरञ्जनलाई यो आवाज यति नमिठो लाग्यो कि उनले पचाउनै सकेनन् । असजिलो मानेर दुइटै कान औँलाले टम्म थुने । सन्नाटाको सीमा रहेन । तैपनि, उनले सोच्ने क्रम जारी राखे ।
किरण । किरण उनकै घरअगाडिका एक छिमेकी हुन् । उनको झ्यालबाट किरणको कोठा र त्यसमा किरणको गतिविधि जम्मै छर्लंग देखिन्छ । किरण एक सुन्दर र सुरक्षित व्यक्ति हुन् । उनको गोल आकृतिभित्र कुनै आकर्षण अवश्य छ । नभए निरञ्जनकी पत्नी कोठा बढ़ार्दा छिन–छिनमा किन उता हेर्ने गर्दथिन् । निरञ्जनले यो कुरो धेरैपटकको चियोबाट थाहा पाएका थिए ।
किरण उनीकहाँ आउँछन्, गफ गर्छन्, जान्छन् । यद्यपि, निरञ्जन उनको प्रभावशाली गफ सुनिरहन सक्तैनथे । किरण जब उनीकहाँ गफ गरिरहेका हुन्थे, उनकी पत्नी दुई हातमा चिया लिएर यसरी आइपुग्थिन् कि निरञ्जन कहिले किरणको मुखमा, कहिले आफ्नी पत्नीको चालतिर आँखा घुमाउँथे ।
यसो हेर्दा राम्रै हो, घर आएकालाई सक्दो स्वागत सत्कार गर्नु, तर उनको मनले कहाँ मान्दथ्यो र ! नगर् भन्नु पनि भएन ।
हिजै त हो नि, किरण आएका थिए । चियाको सुर्को लगाउँदै गफ गरिरहेका थिए । गफको विषय थियो कसैलाई हिस्टेरिया भएको ।
नाटकीय ढंगले किरण हिस्टेरियाको विचित्र कहानी सुनाइरहेका थिए । बीच–बीचमा निरञ्जनले कतिबाजि हाई गरे, आङ ताने, तैपनि किरणले गफ छाडेनन्, आखिर नौ बजे राति किरण उठेर गए ।
उनकी पत्नी त्यस बेला कोठाबाहिर किरणको मनमोहक गफ सुनिरहेको हुँदिहुन् ।
निरञ्जनको अन्तस्थलमा लुकेको ईष्र्या भड्क्यो । शरीरभर रगत भकभक छड्किन लाग्यो । उनी बौलाहजस्तै भए । बल्ल–बल्ल एक भर्याङ उक्ले ।
त्यसपछि उनको उत्तेजनाले धैर्यको बाँध फोर्यो । दोस्रो भर्याङ चढ्दा आवाज कडा निस्क्यो । जोडसित ढोका खोले । यद्यपि, त्यति शक्ति लगाउनपर्ने आवश्यकता थिएन । सन्सनाउँदो हावा हुत्तिएझैँ टेबिलमा हात बढाउन पुगे ।
कोठामा बिजुलीको प्रकाश तेज थियो । नजिकै ओछयानमा सुतेकी उनकी कमनीय पत्नी निद्राबाट ब्युँझिन् । आँखा मल्दै अकमकाएर सोधिन्, “अँ...किन ? के भो ?”
बाहिर मध्यरातअघिको भन्दा पनि जोरसित ‘स्याँ–स्याँ’ गरिरहेको थियो ।
०००
(पोषण पाण्डे–तीर्थ सदनको स्वीकृतिमा प्रसिद्ध कवि÷कथाकार पोषण पाण्डेको ‘आँखीझ्याल’ कथासंग्रहको दोस्रो कथा । यस कथासंग्रहका सम्पूर्ण कथाहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)