site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौं महानगरमा ‘ठुलाबडा’का लागि छुट्टै लिफ्ट !

काठमाडौं । बुधबार २ बजे कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारी सर्वसाधारणले प्रयोग गर्ने लिफ्ट लाइनमा भेटिए ।  छेउकै ‘क्यूआर कोर्ड’जडित लिफ्टमा कोही थिएन । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष तिवारी सर्वसाधारणले प्रयोग गर्ने लिफ्ट चढेर प्रशासन शाखा पुगे ।

तिवारीसँग बाह्रखरीकर्मीले प्रश्न गर्‍यो, ‘‘क्यूआर’ जडित लिफ्टमा नचढी किन सर्वसाधारणकै ‘लिफ्ट’ चढ्नुभयो ?’’

तिवारीले जवाफमा भने, “आफू त सर्वसाधारण परियो, त्यो लिफ्ट महानगरका ठूलाबडाका लागि हो । मसँग ‘क्यूआर’ पनि छैन । अनि कार्ड पनि छैन । लिफ्ट चढ्ने ‘एक्सेस’मा म छैन ।’’

Argakhachi Cement Island Ad

केही दिनअघि मात्रै महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धरले मेयर बालेन शाहले आफू आफ्नो कार्यकक्षमा जान उक्त ‘डेडिकेटेड लिफ्ट’ जडान गरेको बताएका थिए ।

एक टेलिभिजन अन्तर्वार्तामा मानन्धरले भनेका थिए, “मेयरको कार्यालयमा आफू मात्र चढ्न एक करोड खर्चेर लिफ्ट जडान भएको छ । जसको निमित्त कुनै बोलपत्र आह्वान समेत गरिएन । कोटेसनका आधारमा टुक्रा पारेर ठूलो रकम खर्च भएको छ ।”

बालेनको सरकारी कार्यालयमा एक करोड रुपैयाँ खर्चेर कार्यालय र लिफ्ट जडान गरिएको सार्वजनिक रुपमा खरिद प्रक्रिया पूरा नगरिएको दाबी मानन्धरले गरेका हुन् । 

मेयरको कार्यालयमासमेत अनावश्यक खर्च गरिएको र कार्यकक्षमा कसैको पहुँच नभएको बताएका थिए । मानन्धरका अनुसार, नक्सापास नभएको भवनमा बालेनले आफ्ना लागि बेग्लै लिफ्ट बनाएका छन् । यसरी तयार पारिएको लिफ्टमा सर्वसाधारणको कुनै पहुँच छैन । मानन्धरका अनुसार, बालेन शाहको शैली ‘राजाको जस्तै’ छ । 

सो लिफ्ट किन ? कसका लागि बनाइयो ? क–कसले चढ्न पाउँछन् ? यसको वैधानिकता के हो ? भन्ने प्रश्न खडा भएको छ ।  पछिल्लो समय महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं प्रकरणले महानगरभित्रै प्रतिष्ठाको लडाइँ सुरु भएको छ । 

तीन महिनापछि ताला फोडेर गुरागाईं कार्यालय पुग्दा ‘फ्रन्टलाइन’मा मानन्धर नै थिए । उनले गुरागाईंको हात समाएरै महानगर प्रवेश गराएका थिए । त्यतिबेला बालेन भने कार्यालयमा थिएनन् । तर, उनले नगरप्रहरी परिचालन गरेका थिए । 

उक्त घटनापछि बालेनको स्वकीय सचिव भुपदेव शाहले गुरागाईंलाई कार्यालय प्रवेश गराउन ज–जसले सहयोग गरे सबै कारबाहीको भागीदार हुनुपर्ने बताएका थिए ।  महानगरका कर्मचारीले बालेनका उनै स्वकीय सचिव शाहमाथि कारबाही हुनुपर्ने माग राखिसकेका छन् । यद्यपी उनीमाथि कारबाही भएको छैन ।

गुरागाईं हाजिर भएयता बालेन मौन छन् । प्रमुख प्रशासकीय अधिकृत सरुवाको पर्खाइमा छन् । 

मानन्धरले कसैले पनि लिफ्ट चढ्ने नपाउने बताएका थिए । 

“त्यो लिफ्टमा मेयर आफैँ चढ्छन् । विभागीय प्रमुख नै चढ्दैनन् । लिफ्टबारे अख्तियारमा उजुरी पर्ने कुरा होइन । जनतामा मूल्याङ्कन गर्ने कुरा हो,” उनले भने, “यो कुरा मैले कसैको खुट्टा तान्न भनेको होइन । जे तथ्य हो त्यो भनेको हो ।” 

बालेनसँग फोटो खिच्न र अनावश्यक भिडभाड हुने हुँदा मेयरले छुट्टै लिफ्टबाट आवतजावत गर्न खोजेको बालेनको सचिवालयको दाबी छ । 

“मेयर आवतजावत गर्दा फोटो खिच्ने अनावश्यक भिडभाड गर्ने धेरै हुन्छन् । त्यसैले छुट्टै लिफ्टबाट मेयरले आवतजावत गर्नुहुन्छ । यो सामान्य कुरा हो । यति धेरै आलोचना हुनुपर्ने होइन । अनावश्यक हल्लाका पछि लाग्नु भएन,” सचिवालय स्रोतले भन्यो । 

महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेका अनुसार, बालेन शाहले प्रयोग गर्ने लिफ्ट अधिकतम चारजना क्षमताको हो । महानगर कार्यालय जम्मा तीनवटा लिफ्ट छन् ।

“महानगरको कार्यालयमा जम्मा लिफ्टको संख्या तीनवटा हो । भवन लामो छ । सम्पर्क बढी हुने विभागहरु दक्षिणतर्फ (मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यालय, खरिद इकाइ, वातावरण विभाग) छन् । त्यस्तै उत्तरतर्फ सम्पर्क कम हुने कार्यालयहरु छन् । अन्य दुईवटा लिफ्टले नपुग्ने भएपछि अर्को लिफ्ट थपिएको हो । हामीलाई अझै अर्को लिफ्ट पनि आवश्यक छ,” उनले भने । 

उक्त लिफ्ट बालेनले मात्रै नभई विशिष्ट पाहुना, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीहरुले पनि प्रयोग गर्न पाउने उनले बताए । 

“क्याआरकोर्ड र कार्ड उपलब्ध गराइएको छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र ‘इन्टे«ेष्टेड’ कर्मचारीहरुले पनि चढ्न पाउँछन् । यसका लागि क्युआर स्क्यान, कार्ड पनि उपलब्ध गरिएको छ । बाहिर हल्ला गरिएजस्तो होइन,” काफ्लेले बाह्रखरीसित भने ।  

काफ्लेले सर्वसाधारणले कुन प्रयोग गर्न हुने र कुन नहुने भनी लिफ्ट नछुट्याइएको दाबी गरे । 

“महानगरमा कुन लिफ्ट कसका लागि भन्ने छैन । मैले त्यही क्युआरकोड जडित लिफ्ट नै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । म त भर्‍याङबाट हिँडेरै तल–माथि गर्छु । सेवाग्राहीको चाप र आवश्यकता हेरेर उतिबेलै बनाइएको हो,” उनले भने । 

महानगरको सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार, महानगरको कार्यालय सर्ने बेलामा कार्यालय मर्मत–सम्भारअन्तर्गत उक्त लिफ्ट पनि जडान गरिएको हो । त्यस निम्ति २५ लाख १५ हजार अनुमानित लागतमध्ये ३६ लाख ६७ हजार रुपैयाँ महानगरको खर्च भएको छ । 

“सबै प्रक्रिया पूरा गरेर टेण्डर आह्वान प्रक्रियाबाटै कार्यालय मर्मत–सम्भारको काम भएको हो । त्यो लिफ्टपछि छुट्टै बनाइएको होइन । कार्यालय मर्मत सम्भारअनुसार नै एकमुष्ट बनाइएको हो,” उनले भने । 

०७९ चैत ९ बुधबार गते सबै सेवा एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यअनुसार महानगर काठमाडौं प्लाजामा सर्न महानगर र नेपाल ट्रस्टबीच सहमति भएको थियो । प्रत्येक पाँच वर्षमा १० प्रतिशतले बहाल वृद्धि गर्ने गरी १० वर्षका लागि सम्झौता भएको थियो ।

सम्झौताबमोजिम झ्याल, ढोका र लिफ्टसहित बिग्रिएका र भत्किएका संरचना बहाल रकमबाट कटाउने गरी महानगरले मर्मत गर्नुपर्ने थियो ।  ०७२ सालको भूकम्पअघि महानगरको कार्यालय बागदरबारमा थियो । भूकम्पपछि केही समय राष्ट्रियसभा गृहबाट सेवा सञ्चालन गरिएको थियो ।

त्यसपछि जेडिए कम्प्लेक्ससहित महानगरअन्तर्गतका १६ वटा विभागले फरक–फरक ९ स्थानबाट सेवा दिँदै आएका थिए । 

बागबजारको जडिए कम्प्लेक्सबाट ६० लाख भाडा बुझाउने गरी महानगरको कार्यालय कमलादी सरेको थियो । सहप्रवक्ता काफ्लेका अनुसार, हाल मासिक ६० लाख ५० हजार भाडा बुझाउँदै आएको छ । 

“मासिक ६० लाख ५० हजार भाडा बुझाउँदै आएको छ । त्यतिबेला छरिएर रहेका कार्यालयहरुबाट सेवा लिँदा सेवाग्राहीलाई दुःख थियो । अब त्यो समस्या छैन,” काफ्लेले भने ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्