पोखरा । फेवातालका स्रोत खोलाबाट सिधै तालमा पानी आउँदा पानीसँगै ढुङ्गा , गिट्टी, माटो, गेग्रान, बालुवा बगेर आउँदा ताल पुरिन्छ भनेर पोखरा महानगरपालिका र प्रदेश सरकार मिलेर ड्याम बनाउने निर्णय गरे । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा चारवटा स्रोत खोला हर्पन, बेतिनी, अँधेरी र लौरुक खोलामा सिल्टेसन ड्याम बनाउन प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा २८ करोड १६ लाख रुपैयाँ खर्च गरेका छन् ।
यी ड्याम बनेपछि फेवातालमा ढुंगा, गिट्टी, माटो, बालुवा ड्याममा नै थुप्रिने र फेवातालको सतह नपुरिने सरकारको विश्वास थियो ।
अर्कातर्फ, ड्याममा थुप्रिएका गिट्टी बालुवा बेचेर करोडौँ राजस्व संकलन गर्ने उद्देश्य पनि थियो । सरकारी अध्ययन अनुसार फेवातालका चार स्रोत खोला भरिँदा मात्रै वर्षेनी २० करोड ७१ लाख रुपैयाँ दहत्तर बहत्तरबाट आम्दानी गर्न सकिन्छ ।
तर, ड्याम बनेको केही महिनामा मात्रै गतसाल असारमा खहरे र हर्पन खोलाको बाँधमा बाढीले क्षति पुर्यायो । यी दुई ड्यामको लागत झण्डै १६ करोड रुपैयाँ थियो ।
त्यसलाई टालटुले मर्मत गरेतापनि फेरि हर्पन खोलामा बाढी आएको छ भने बाँध बगेको छ । प्रदेश र महानगरले बनाएको यो बाँध वर्षेनी भत्किँदै गएपछि गुणस्तरलाई लिएर पुनः सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइरहेको छ ।
२८ करोडको बाँध भत्कने चेतावनी पहिल्यै दिइएको थियो
ड्याम बनेको केही महिनामा नै क्षति पुगेपछि त्यसको गुणस्तरलाई लिएर ब्यापक आलोचना पनि भयो । प्रदेश र महाानगरको ५०/५० प्रतिशतका योजनामा क्षति पुगेपछि गतसाल नै तत्कालीन प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. विष्णुराज बरालको संयोजकत्वमा ६ सदस्यीय अध्ययन कार्यदल बनाइएको थियो ।
यो कार्यदलमा ताल संरक्षण प्राधिकरणका कार्यकारी निर्देशक डा. अनुप गुरुङ, पोखरा महानगरपालिकाका प्रमुख इन्जिनियर शारदामोहन काफ्ले, विज्ञ इ. मणिराज दाहाल, घन बहादुर श्रेष्ठ र भूसंरक्षण कार्यालय तनहुँका प्रमुख कृष्ण घिमिरे सदस्य सचिव थिए ।
यो समितिले झन्डै ६ महिना लगाएर गरेको अध्ययन अनुसार २८ करोडमा बनेको ड्यामको मर्मतमा मात्रै २६ करोड रुपैयाँ लाग्ने उल्लेख गरिएको छ ।
संयुक्त लगानीमा बनेका चारवटै ड्याम ढुंगाको पर्खाल लगाएर बनाइएका छन् । यो पर्खाल नै उच्च जोखिममा रहेको भन्दै कार्यदलले तत्कालै मर्मतसम्भार गर्नुपर्ने सुझाव दिएको थियो । तर, सुझाव कार्यान्वयन हुन सकेन । जसका कारण बाढी आयो र पोखरा महानगरका वडा नं. २३ का ६ घरमा क्षति पुग्यो भने खेत डुबानमा परेको छ ।
कार्यदलले हर्पन खोलाका दुवैतिरको स्लापमा क्रंक्रिट ज्याकेटिङ, स्लोपको अन्तिम भागमा कट अफ वाल लगाउनुपर्ने सुझाव दिएको थियो । यस्तै, क्रंक्रिटको पोखरी निर्माण गर्न पनि कार्यदलको सुझाव थियो ।
तर, सुझाव अनुसार बाँध मर्मत गर्न नभ्याइएको पोखरा महानगरपालिकाका इ. विमल आचार्यले बताए ।
फेवातालका चारवटै स्रोत खोला नीजि कम्पनीलाई २४ वर्षसम्म ठेक्का
अध्ययन कार्यदलका अनुसार हर्पन खोलाको ड्यामको बारेमा मात्रै ८ बुँदे सुझाव दिइएको छ । त्यसमा पर्खालको आकार, डिजाइन, संरचना लगायतका कुराहरू छन् । उक्त कार्यदलको अध्ययन प्रतिवेदन अनुसार ड्यामको मर्मत चाहिँ हुन सकेको छैन ।
तर, पोखरा महानगरले भने यी चारवटै ड्याममा जम्मा हुने दहत्तर बहत्तर एक निजी कम्पनीलाई जिम्मा दिएर राजस्व उठाउन खोजेको छ । अध्ययनका अनुसार यी चारवटा ड्याम एकैपटकमा भरिएको खण्डमा २० करोड ७१ लाख रूपैयाँ वर्षेनी आम्दानी हुन्छ । तर, पोखरा महानगरपालिकाले भने २३ करोड रुपैयाँमा फेवाताल सिल्टेसन ड्याम प्रालिलाई २४ वर्षका लागि ठेक्का दिएको छ ।
गत जेठ १७ गते भएको सम्झौता अनुसार यी चारवटै ड्याममा जम्मा हुने दहत्तर बहत्तर २४ वर्षसम्म यो कम्पनीले प्रयोग गर्न पाउँछ । सार्वजनिक, निजी, साझेदारी अवधारणा अनुसार यो योजना सम्झौता भएको हो ।