site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाली चलचित्रका सीमितता
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्रका सीमितता के–केमा कति छ ? प्रश्न खस्न नपाउँदै चलचित्रकर्मीहरुबाट यसको लामो जवाफ आउँछ । र, करिब–करिब अधिकांशको जवाफ एउटै हुन्छ ।

बर्सेनि ठूलो संख्यामा निर्माण हुने नेपाली चलचित्र उद्योगमा जति फिल्म सफल हुनुपर्ने हो, त्यति भने सफल हुँदैनन् । कारण, चलचित्र क्षेत्रका सीमितता नै रहेको चलचित्रकर्मीहरुको भनाइ छ । कोरोना संक्रमणको समयभन्दा अगाडिका वर्षमा वार्षिक करिब एक सयको संख्यामा चलचित्र रिलिज हुन थालेका थिए । तर, तीमध्ये मुस्किलले १० वटा चलचित्र पनि सफल हुन सक्दैनन् ।

यसको कारण प्यासनेट व्यक्तिको अभाव हुनु, दक्ष जनशक्ति नहुनु, पारदर्शिता नहुनु, डिजिटल प्लेटफर्म नहुनु, बजेट अभाव हुनु, प्रोमोसनको तौरतरिका नहुुनु तथा व्यावसायिकतामा सीमितता हुनु, नेपाली चलचित्रलाई हर्ने दृष्टिकोण नै नकारात्मक हुनु, फिल्म कल्चरको विकास हुन नसक्नु, सरकारले सहयोग गर्न नसक्नु रहेको चलचित्रकर्मीहरु बताउँछन् ।

KFC Island Ad
NIC Asia

१. प्यासनेट व्यक्तिको अभाव 
नेपाली चलचित्र क्षेत्रमा प्यासनेट व्यक्तिको अभाव छ । म यही चलचित्र क्षेत्रमा रहेर केही गर्छु भन्ने प्यासनेट व्यक्तिको अभाव रहेको निर्देशक तथा निर्माता दिनेश राउत बताउँछन् ।

“म यही क्षेत्रमा काम गर्छु र जसरी पनि चलचित्र राम्रो बनाउँछु भनेर चलचित्रकै सपना देख्ने व्यक्तिको यो क्षेत्रमा कमी छ,” उनी भन्छन्, “चलचित्रमा प्यासनेट व्यक्तिको कमी हुनु भनेको समग्र यो क्षेत्रकै लागि घाटा हो । जति धेरै प्यासनेट व्यक्तिको संख्या बढ्छ, त्यति नै यो क्षेत्र समृद्ध बन्दै जाने हो । तर, यसकै कमी रहेको छ ।”

Royal Enfield Island Ad

२. दक्ष जनशक्तिको अभाव
चलचित्रमा वान लाइन स्टोरीदेखि वितरण तथा प्रदर्शनसम्मको टिम फर्म गर्दा दक्ष जनशक्तिको अभाव खड्किने गरेको छ । चलचित्रको कथा लेख्नेदेखि प्रदर्शन गर्दा समेत दक्ष जनशक्तिको अभाव महसुस हुने गरेको दिनेश बताउँछन् ।

“कथा लेख्ने, प्राविधिक, सिनेमेटोग्राफर, निर्देशक, कलाकार, वितरक तथा प्रदर्शकसम्म अपेक्षित दक्ष छैनन्,” उनी भन्छन्, “टिम फर्म गर्दा हरेक पाइलामा हरेक विधामा विशेषज्ञ व्यक्तिको खाँचो हुन्छ, तर अभाव छ,” उनी भन्छन् । विशेषज्ञ व्यक्तिको अभावमा कामचलाउ काम भइरहेको छ । उपलब्ध व्यक्तिहरुको निर्माण टिम बनाएर चलचित्र बनाउने काम भइरहेको छ ।

प्राविधिक र कलाकारमा पनि प्यासन र दक्षता अभाव रहेको निर्देशक दिनेश बताउँछन् । “कलाकारलाई आफ्नो रोल र पारिश्रमिक भए पुग्छ । उसमा त्यसलाई कसरी सकेसम्म राम्रो बनाउने भन्ने प्रयास देखिँदैन,” उनी भन्छन्, “आफूले पाएको रोल कसरी जीवन्त बनाउने भन्ने प्यासन नै रहेको पाइँदैन ।”

३. पारदर्शिताको अभाव 
नेपाली चलचित्रको अर्को समस्या हो– कमजोर पारदर्शिता । वितरक र प्रदर्शकमा पारदर्शिता न्यून छ । नेपाली चलचित्र उद्योगको सुरुदेखि नै रहेको यो समस्या अहिलेसम्म समाधान नभएको दिनेश बताउँछ ।

“बक्स अफिस लागु भएको छ भनिए पनि यो हालसम्म पूर्ण रुपमा छैन । न देशभरका हलमा लागु भएको छ, न यसले जसरी काम गर्नुपर्ने हो गरेको नै छ,” उनी भन्छन्, “बक्स अफिसको जुन सिस्टम हुन्छ, त्यो सिस्टमअनुसार काम भएको छैन ।” टिकट बिक्री भएको आधा घण्टाभित्र मेकरको इमेलमा टिकट बिक्रीको डाटा आउनुपर्ने हो । तर, त्यसो हुन नसकेको गुनासो चलचित्रकर्मीले गर्दै आएका छन् । सिंगल थिएटरहरुमा शो नै गायब हुने गरेको निर्देशक तथा निर्माताहरुको लामो समयदेखिको गुनासो हो ।

प्रदर्शक तथा वितरकहरुले टिकट बिक्रीको पैसा लामो समयसम्म नदिने गरेको गुनासो निर्माताहरुले गर्दै आएका छन् । “मेरो चलचित्र आमाको पैसा अझै मैले पाएको छैन,” निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “अघिल्लोपटकको कोरोना संक्रमणको त्रासले हलमा चल्दाचल्दै उत्रिएको चलचित्रको पैसा मैले आजसम्म पाएको छैन ।” यो पारदर्शिता र व्यावसायिकताको अभावको उदाहरण भएको निर्देशक दीपेन्द्र बताउँछन् ।

“दर्शकले पैसा तिरेर टिकट किनेर हेरेको चलचित्रको पैसा वर्षौँसम्म किन दिँदैनन् प्रदर्शक तथा वितरक ?,” उनी प्रश्न गर्छन् । “दर्शकले हाताहाती पैसा तिरेर हेरेको चलचित्रको पैसा दिन वर्षौँ कसरी लाग्छ,” उनी भन्छन्, “निर्माताले बैैंकबाट लोन लिएर बनाएको चलचित्रको पैसा प्रदर्शक र वितरकले दिन वर्षौँ लाग्छ भने कसरी ऊ चलचित्रमा निरन्तरता दिन सक्छ ?”

४. आक्रामक पब्लिसिटीको अभाव 
नेपालमा सुरुका दिनदेखि हालसम्म चलचित्र प्रचार–प्रसारको शैलीमा ठूलो भिन्नता आउन सकेको छैन । उही पोस्टर, उही रेडियो, टेलिभिजनमा प्रोमो प्रसारण, ट्रेलर र अन्तर्वार्ताबाहेक प्रचारको तौरतरिकामा फरकपन आउन सकेको छैन ।

“नेपालमा प्रोमोसन पनि प्रभावकारी छैन । जुन चलचित्र आए पनि उस्तै तरिकाको प्रोमोसन छ,” निर्देशक दिनेश भन्छन्, “कन्टेन्टअनुसारको प्रचार हुनुपर्छ । लक्षित समूहअनुसार प्रचारको शैली र क्षेत्रमा पनि परिवर्तन हुनुपर्छ । तर, त्यसो हुनसकेको छैन ।” चलचित्रले उठान गरेको विषयका आधारमा पब्लिसिटी डिजाइन गरिनुपर्नेमा नेपालमा हरेक चलचित्रले प्रचारको शैली एउटै छ ।

५. डिजिटल प्लेटफर्मको अभाव
नेपाली चलचित्र अझै पनि हल रिलिजमै सीमित छन् । हलमा रिलिज नभए करिब–करिब चलचित्र डम्प हुने अवस्था छ । विश्व बजारमा चलचित्रले हलको विकल्प भेटिसके । डिजिटल प्लेटफर्म सिनेमा हलको विकल्पका रूपमा आइसके । तर, नेपालमा अझै पनि ठूला डिजिटल प्लेटफर्म छैनन् ।

“नेपालमा अझै पनि पर्याप्त मात्रामा डिजिटल प्लेटफर्मको विकास हुनसकेको छैन । जति पनि आएका छन्, सानो स्केलमा छन् । हलकै विकल्पका रुपमा डिजिटल प्लेटर्म अझै आएका छैनन्,” निर्देशक दिनेश भन्छन्, “जबसम्म निर्माताले हलबाट पाउनेजतिकै रिटन्र्स डिजिटल प्लेटफर्मबाट पाउँदैनन् र हलमा रिलिज नभइ डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज हुँदैनन्, तबसम्म डिजिटल प्लेटफर्मको विकास भएको मानिँदैन । मेकरलाई फाइदा हुँदैन ।”

पछिल्लो समय नेपालमा केही डिजिटल प्लेटफर्म आए पनि तिनले पनि कन्टेन्टमा ठूलो परिमाणमा लगानी गर्न सकेका छैनन् । पेमेन्ट गेटवेको अभावका कारण पनि डिजिटल प्लेटफर्मको विकास र विस्तारमा नेपालमा समस्या रहेको छ ।

६. इन्टरनेसनल डिजिटल प्लेटफर्मबाट टाढै रहनु 
विश्वका ठूला डिजिटल प्लेटफर्ममा अझै पनि नेपाली चलचित्र पुग्न नसक्नु अर्को कारण रहेको हो । अमेजोन प्राइम भिडियो, नेटफ्लििक्सजस्ता ठूला डिजिटल प्लेटफर्ममा जान सकेको भए अहिलेको महामारीमा पनि नेपाली चलचित्र क्षेत्र शून्य अवस्थामा बस्नुपर्ने अवस्थाको विकास नहुने निर्देशक हेमराज बिसी बताउँछन् ।

“हामीले विश्वका केही डिजिटल प्लेटफर्ममा मात्रै जान सकेको भए अहिले कहिले हल खुल्लान् र चलचित्र रिलिज गरौँला भनेर बस्नुपर्ने अवस्था आउने थिएन,” हेमराज भन्छन्, “कहिले महामारी सकिएला र चलचित्र बनाउँला भनेर बस्नुपर्ने थिएन । डिजिटल प्लेटफर्मको सपोर्ट भएको हुन्थ्यो भने अहिले चलचित्र बनिरहेका हुन्थे ।” डिजिटल प्लेटफर्ममा जानेबित्तिकै मेकरलाई ठूलो ऊर्जा प्राप्त हुने र त्यसले समग्र चलचित्र उद्योगलाई नै माथि उठाउने उनी बताउँछन् ।

७. बजेट अभाव 
बजेट अभाव पनि नेपाली चलचित्रको अर्को समस्या हो । आफूले चाहेको विषयमा चलचित्र बनाउन ठूलो बजेट लागे त्यसबाट पछि हट्नुपर्ने अवस्था रहेको छ । जति धेरै बजेट बढ्यो, त्यति नै लगानी गुम्ने रिस्क बढ्दै जाने अवस्था रहेको मेकरहरुले बताउँदै आएका छन् ।

“राम्रो चलचित्र बनाउन सधैँ पैसाकै अभाव रहन्छ भन्ने त हुँदैन । तर, कतिपय अवस्थामा बजेट अभाव पनि बाधक बनिदिन्छ,” दिनेश भन्छन्, “यदि, आफूसँग पर्याप्त पैसा छ भने टिम फर्म गर्दादेखि नै आफूले चाहेका व्यक्ति उसको डिमान्डअनुसार सम्झौता गरेर अनुबन्द गर्न सकिन्छ ।”

फिल्म स्कुल पढेका कतिपय क्षमतावान् व्यक्ति लगानीकर्ताको अभावमा चलचित्रमा प्रवेश नै गर्न नपाइरहेको अवस्था रहेको दिनेश बताउँछन् । कतिपय क्षमतावान् व्यक्ति लगानी गर्ने व्यक्ति नपाउँदा प्रवेश नै नगरी अन्यत्रै क्षेत्रतर्फ डाइभर्ट हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

८. व्यावसायिकताको अभाव
नेपाली चलचित्र क्षेत्रको अर्को समस्या हो, व्यावसायिकताको अभाव । यसैलाई व्यवसाय बनाउँछु भनेर दरो इक्षाशक्ति लिएर आउने व्यक्तिको टड्कारो अभाव रहेको क्षेत्र हो यो । अन्य क्षेत्रमा रहेका व्यक्ति एकपटक चलचित्रमा पनि आउन त भन्नेको संख्या धेरै रहेको दिनेश बताउँछन् ।

“चलचित्र क्षेत्रलाई नै कर्मक्षेत्र बनाउनेको संख्या यो उद्योगमा निकै न्यून छ । अन्य क्षेत्रबाट कमाएको पैसा एउटा चलचित्रमा लगानी गरेर हेरौँ न त भनेर आउनेहरु धेरै छन्,” दिनेश भन्छन्, “विशेषगरी विदेशमा बसेर केही पैसा कमाइसकेपछि नामका लागि एउटा चलचित्रमा लगानी गरौँ न त भन्ने आउनेहरु धेरै छन् । यसले चलचित्र क्षेत्रको विकास हुँदैन ।”

चलचित्र नै मेरो व्यवसाय हो भनेर आउनेहरुको ठूलो संख्या नभएसम्म र यसमा ठूला व्यापारिक घरानाको लगानी नभएसम्म उच्च व्यावसायिकता नहुने र चलचित्र उद्योगको अपेक्षित विकास नहुने उनको तर्क छ ।

९. फिल्म कल्चरको अभाव  
नेपाली चलचित्र क्षेत्र नफस्टाउनुको अर्को मुख्य कारण हो, सिनेमा कल्चरको अभाव । मेकरका लागि चलचित्र व्यवसाय हो र यसमा उसको ठूलो लगानी छ भन्ने सोच नेपालमा छैन । फिल्म हेर्न हलमा जानुपर्छ भन्ने मानसिकता नेपालमा अझै विकास भइसकेको छैन ।

चलचित्रप्रति चासो राख्नेहरु पनि युट्युबमा चलचित्र कुर्नेहरुको जमात ठूलो छ । हलमा टिकट काटेर चलचित्र हेर्न जाने संस्कारको विकास नभएसम्म यो क्षेत्रको विकास छोटो समयमा सम्भव नरहेको निर्देशक हेमराज बिसी बताउँछन् ।

१०. नकारात्मक दृष्टिकोण
“डिमान्ट एन्ड सप्लाइले ठूलो अर्थ राख्छ । नेपाली फिल्मलाई हेर्ने दृष्टिकोणले ठूलो भूमिका निर्वाह गरिरहेको छ । नेपाली चलचित्रप्रति दर्शक एक खालको धारणा बनाएर बसेको अवस्था छ,” हेमराज भन्छन्, “आम नेपाली दर्शकको कुरा गर्दा एक्सपेरिमेन्टल कन्टेन्टहरु हेर्न खोजेको देखिँदैन । केही हेर्ने पनि हुनुहुन्छ, तर यो संख्या निकै सानो छ ।”

आम दर्शकले नयाँ प्रयोग गरिएका चलचित्र हेर्न नखोज्दा नयाँ कथा र नयाँ शैलीमा चलचित्र बनाउन मेकरहरु हतोत्साही हुने गरेको उनी बताउँछन् । यसले नयाँ चलचित्रमा रिस्क लिन मेकहरु तयार नहुने उनको अनुभव छ ।

“हुन त यो दर्शकलाई मात्रै भन्ने कि मेकरलाई पनि भन्ने ? म कसैलाई दोषी देखाउन चाहन्नँ । तर, यो आइसब्रेक गर्नलाई मेकर बोल्ड डिसिजन लिएरै आउनुपर्छ,” उनी भन्छन्, “यो लेखक, निर्देशक अथवा कलाकारले मात्रै सोचेर पुग्दैन । निर्माताले रिजल्ट जेसुकै होस् आर्थिक पाटो म हेर्छु भन्न सक्नुपर्छ ।”

११. उदासीन सरकार 
चलचित्रलाई फगत मनोरञ्जन मात्रै सोच्ने सरकार नेपाली चलचित्रको अर्को अवरोधक हो । कलात्मक क्षेत्रलाई मनोरञ्जन उद्योगमा परिणत गर्ने सरकारका कारण पनि चलचित्र क्षेत्रको अपेक्षित विकास हुन नसकेको हेमराज बताउँछन् ।

“आर्ट इन्डस्ट्रीलाई इन्टरटेन्मेन्ट इन्डस्ट्री बनाउने सरकारले के सहयोग गर्छ भन्ने अपेक्षा गर्नु,” उनी भन्छन्, “जसले चलचित्रलाई लक्जरी ठान्छ भने उसले सहयोग गरेन भन्नु पनि बेकार हो ।” जोसँग अपेक्षा हुँदैन ऊसँग सहयोग, सहकार्य र समन्वयको आश पनि नहुने उनी बताउँछन् ।

सरकारले नेपाली चलचित्रको विदेशमा बजार खोज्न सहयोग नगरेको, मौलिक कलात्मक चलचित्रलाई सहयोग नगरेको चलचित्रकर्मीको लामो समयदेखिको गुनासो हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ५, २०७८  १०:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro