site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युरोप–अमेरिका होइन, पहिला भारतमा बजार खोज
SkywellSkywell

काठमाडौं । नेपाली चलचित्रको जब गुणस्तरमा प्रश्नचिह्न उठ्छ अनि मेकरले प्रतिप्रश्न गर्छन्– हाम्रो बजार कत्रो छ र ? उनीहरु भन्ने गर्छन्, बजार सानो भएकाले जति धेरै लगानी गर्यो त्यति धेरै रिक्स हुन्छ । त्यसैले सानो लगानीमा बनाउनुपर्ने बाध्यताका कारण नेपाली चलचित्र अपेक्षित राम्रो बनाउन सकिँदैन ।

नेपाली चलचित्रले बजार खोज्न सकेको छैन । व्यक्तिगत सम्बन्ध र सम्पर्कका आधारमा केही मेकरले युरोप तथा अमेरिकामा रहेको नेपाली डायस्पोरामा चलचित्र लगे पनि त्यहाँबाट ठूलो रकम आउँदैन । यसमा पनि पहुँच भएका मेकरले मात्रै यसको फाइदा लिइरहेका छन् ।

युरोप र अमेरिका होइन, सुरुमा सीमा जोडिएको भारतमा नेपाली चलचित्रको बजार खोज्नुपर्ने निर्देशक मनोज पण्डित बताउँछन् । रोटीबेटीको सम्बन्ध भएको र धेरै हदसम्म नेपालको तराईसँग संस्कार, संस्कृति तथा वेशभूषासमेत मिल्ने भारतमा बजार खोज्नुपर्नेमा उनको जोड छ ।

KFC Island Ad
NIC Asia

नेपाली चलचित्रले भारतमा बजार खोज्ने प्रयास नै नगरेको निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ बताउँछन् । इमानदार भएर भारतमा नेपाली चलचित्र वितरणको प्रयास आजसम्म नभएको उनको भनाइ छ ।

नेपालमै बजार विस्तार हुन नसकेको अवस्थामा नेपालबाहिरको कुरा गर्नु बेकार हुने उनी बताउँछन् । “पहिला त नेपालमै चलचित्रको बजार खोज्नुपर्यो । त्यसपछि मेरिटका आधारमा विस्तारै चलचित्रले बजार आफैँ खोज्छ,” प्रचण्डमान भन्छन्, “ठूलो संख्या नेपाली भाषीको बसोबास रहेको दार्जिलिङ, सिक्किम, पुणे, डुवर्सलगायत थुप्रै क्षेत्रमा चलचित्र जान सक्छन् ।”

Royal Enfield Island Ad

दार्जिलिङ, सिक्किम, पुणे, डुवर्सलगायत नेपाली भाषी रहेका क्षेत्रमा केही चलचित्र चलेको र राम्रो व्यापार पनि गरेको उनी बताउँछन् । “म विदेशी चलचित्र पनि वितरण गर्ने भएकाले मुम्बईमा एउटा फिल्म एक्जिबिसन भइरहेका बेला पुगेको थिएँ । त्यहाँ मलाई आइरक्सको मान्छे भनेर चिनाइँदा मलाई कबड्डीले दार्जिलिङ, सिक्किम, डुर्वसलगायत क्षेत्रमा गरेको राम्रो व्यापारका लागि राम्रो रेस्पोन्स गरिएको थियो,” प्रचण्डमान भन्छन्, “हामीले नेपाली चलचित्र यसरी चल्न सक्छ भनेर सोचेका पनि थिएनौँ । एकदम भयानक चल्यो । अब तपाईंहरु भारतीय वितरकहरुसँग नेपाली चलचित्र भारतमा प्रदर्शनका लागि डाइरेक्ट प्रस्ताव गर्नुस् भनेर मलाई भनिएको थियो ।”

तर, भारतमा चलचित्र चलाउन त्यहाँको क्यालेन्डर हेर्नुपर्ने उनी बताउँछन् । त्यहाँका ठूला चलचित्र रिलिज नभएको समयमा नेपाली चलचित्र चलाउन सकिने उनको भनाइ छ । पुँजीवादी समाजमा राम्रो चलचित्र बनेको अवस्थामा इच्छुक व्यक्ति तथा संस्था आफैँले चासो देखाउने उनको विश्वास छ ।

अवसर देखेपछि विस्तारै सबैले चलचित्र आफ्नो बजारका लागि खोज्न थाल्ने तर यसका लागि मेकर र वितरक दुवैले पहल गर्नुपर्नेमा उनको जोड छ । “सक्यो भने राज्यले पनि यो–यो ठाउँमा यस्तो छ भनेर सहयोग गर्नुपर्छ,” उनी भन्छन्, “तर, सरकारले केही सहयोग गरेकै छैन । एडिस्नल सेन्सर सर्टिफिकेट देऊ त्यसो भए विदेशमा चलचित्र चलाउन सहज हुन्छ भनेर आग्रह गर्दा पनि दिएको छैन ।”

नेपाली वितरकले विदेशी बजारमा चलचित्र वितरणमा चासो देखाएनन् भन्ने मेकरको गुनासोको जवाफ दिँदै प्रचण्डमान भन्छन्, “वितरणको मेरो टेरोटोरी नेपाल हो भने मबाट आफ्नो चलचित्र विदेशमा पनि वितरण होस् भनेर किन अपेक्षा गर्नु ? यसमा वितरकको भूमिका नै छैन ।”

नयाँ ठाउँमा नयाँ वितरक खोज्नुपर्ने उनी बताउँछन् । हरेक देशमा फरक–फरक वितरक हुने गरेको भन्दै उनी बलिउडको चलचित्र भारतीयहरुले संसारभर आफैँ गएर वितरण नगर्ने बताउँछन् । सिनेमाको मेरिटअनुसार बजार विस्तार हुँदै जाँदा नयाँ–नयाँ ठाउँमा नयाँ–नयाँ वितरकहरु आएको उनको भनाइ छ ।

प्रोडक्सन कम्पनी र निर्माताले आफैँ चलचित्रको बजार खोज्ने प्रचलन रहेको उनी बताउँछन् । व्यावसायिक सम्भावना बोकेको चलचित्रको वितरक हरेक क्षेत्र र देशमा भेटिने भन्दै उनी भन्छन्, “राम्रो चलचित्र हुँदा हामीले चिनेजानेको साथीभाइको सम्बन्धका आधारमा नेपालबाहिरका वितरकलाई पुस गर्नु अलग कुरा हो । तर, यो विशुद्ध व्यवसाय भएकाले सधैँ यो सम्भव छैन ।”

नेपाली चलचित्र भारतमा नजानुको कारण प्रोडक्सन कम्पनी र मेकरले पहल नगर्नु एउटा कारण रहेको उनको बुझाइ छ । नेपाली मेकरले वर्षमा एउटा चलचित्र बनाउने भएकाले भारतमा हरेक वर्ष वितरक र हल खोज्दै हिँड्न सम्भव नरहेको प्रचण्डमान बताउँछन् ।

भारतका ठूला कम्पनी तथा वितरकहरुले वर्षमा ८/१० वटा चलचित्र बनाउने भएकाले विदेशी वितरकलाई पनि सहज हुने गरेको भन्दै वर्षमा एउटा चलचित्रका लागि रिस्क मोल्न भारतीय वितरकहरु तयार नहुने उनी बताउँछन् । प्रोडक्सन कम्पनी बलियो भएर वर्षमा कम्तीमा ५/७ वटा चलचित्र बनेपछि लोकल वितरकहरुले विदेशको राइट्स लिन सक्ने अन्यथा त्यो सम्भव नहुने प्रचण्डमान बताउँछन् ।

मुम्बई, दिल्ली, सुरत, बैंगलोरलगायत ठाउँमा मेकरले निरन्तर इमानदार प्रयास गरे अहिले पनि नेपाली चलचित्र केही हदसम्म चल्ने एक नेपाली वितरक बताउँछन् । यी ठाउँमा सानो स्केलमा तुलसी घिमिरेको पुस्तामा केही चलचित्र चलेका थिए ।

“म पनि नेपाली चलचित्र भारतमा ५/७ लाखमा मात्रै किन नहोस् बेच्नुपर्यो भनेर प्रस्ताव गरेको, त्यहाँका हलहरुले मेरिटका आधारमा लगाउँछौँ भनेर उत्साहित भएका थिए,” ती वितरक भन्छन्, “नेपाली चलचित्र भारतमा मुख्य सिटीहरुमा नै चलाउन थिएटर खोज्न कठिन हुँदैन । तर, राम्रोसँग चल्न थाल्नचाहिँ केही समय लाग्छ । त्यसैले निर्माताहरुले आजै यही चलचित्रबाट पैसा आउँछ भन्ने सोचेरभन्दा पनि आगामी दिनका लागि भारतमा पनि नेपाली चलचित्रको बजार खोज्न यसले सहयोग गर्छ भनेर अहिलेदेखि नै त्यहाँ चलचित्र चलाउने हो भने भोलिका दिनमा भारतमा नेपाली चलचित्रको बजार बन्छ ।”

नेपालमा मल्टिप्लेक्स हल सुरु हुँदा हलिउड चलचित्रले नेपाल आफ्नो राइट्स हजार/१५ सय डलरमा बेच्थे । अहिले एक लाख डलरभन्दा माथि लिन थालिसकेका छन् । उनीहरुले हजार डलरमा नेपालमा चलचित्र बेच्नुको कारण थियो, नेपालमा हलिउड फिल्मको कल्चर विकास गर्नु ।

यस्तै सोच नेपाली मेकरमा भएको खण्डमा भारतमा नेपाली चलचित्रको बजार विस्तार र स्थापित गर्न सकिने ती वितरक बताउँछन् । तर, त्यो दीर्घकालीन उपलब्धिका मेकर तयार नहुनु भनेको अझै दशकपछिसम्म पनि नेपाली चलचित्र भारतमा नपुग्नु हो भन्ने उनको निष्कर्ष छ ।

भारतमा चेन थिएटरहरुमा एउटै मप्टिप्लेक्सहरुमा ७/८ वटा स्क्रिन हुने भएकाले २५/३० प्रतिशत अकुपेन्सीमा चलचित्र चलाउनुु सामान्य मानिन्छ । त्यसैले मर्निङ शोमा मात्रै भए पनि नेपाली चलचित्र चलाउन सकिने र यसले नेपाली चलचित्रको कल्चर बसाउन मद्दत गर्ने ती वितरक बताउँछन् ।

निर्देशक तथा समीक्षक मनोज पण्डित भने भारतमा बजार खोज्न वितरक र मेकर दुवै इमानदार नभएको बताउँछन् । “नेपाली चलचित्र मेकरले भारतबाट नेपाली चलचित्र किनेर नेपाल ल्याउने मात्रै काम गरे । तर, नेपालका चलचित्र भारतमा वितरणको प्रयास नै गरेनन्,” उनी भन्छन्, “मिल्दोजुल्दो भाषा, रोटीबेटीको सम्बन्ध र संस्कृतिसमेत मिल्ने भारतमा इमानदार भएर प्रयास गरेको खण्डमा नेपाली चलचित्र भारतमा चलाउन सकिने थियो ।”

बलिउडले जसरी भारतमा क्षेत्रीय चलचित्रलाई अनुशरण गरेको छ, त्यसरी नै नेपाली चलचित्रलाई पनि आत्मसात् गर्ने ठूलो सम्भावना रहेको तर त्यसका लागि निरन्तरको प्रयास सबै पक्षबाट हुनुपर्नेमा उनी जोड दिन्छन् ।

केही पहिला नेपाली चलचित्र भारतका ठूला सहरमा समेत चलेको स्मरण गर्दै उनी नेपाली मेकर र वितरकमा यसका लागि दह्रो इच्छाशक्तिको आवश्यकता औँल्याउँछन् ।

आफ्नो चलचित्र भारतीय बजारमा कसरी चलाउने भन्ने तीव्र चाह निर्मातामा हुनुपर्ने र यसका लागि ठोष पहलकदमी नभएको मनोजको निष्कर्ष छ ।

निर्माता सन्तोष सेन नेपाली चलचित्रकर्मीले भारतमा आफ्नो चलचित्रको बजार खोज्ने प्रयास नै नगरेको बताउँछन् । उनी अहिले आफ्नो चलचित्र ‘प्रेम गीत–३’ भारतका सिनेमा हलमा चलाउन हिन्दीमा डब गराएर बसेका छन् । वितरकले कम्तीमा ५०० देखि एक हजार हलमा रिलिज गर्ने वचन दिएको उनी बताउँछन् ।

“हाम्रो चलचित्र हेरेका केही वितरकले अन्य भाषामा पनि डबिङ गर, डिजिटल प्लेटफर्ममा राख्छौँ भनेका छन्,” सन्तोष भन्छन्, “भारतका ठूलो ब्यानरका चलचित्रमा डबिङ गरेका आर्टिस्टले प्रेम गीत–३ को खुलेर प्रशंसा गरेका छन् । भारतीय दर्शकले यो चलचित्र मन पराउने उनीहरुले बताएका छन् ।”

आफ्नो चलचित्रले बलिउडमा नेपाली फिल्मको ढोका खोल्ने उनको विश्वास छ । “बलिउडमा साउथ, केरलालगायत थुप्रै क्षेत्रका चलचित्र हिन्दीमा डब भएर  ५००, हजार करोड व्यापार गरिरहेका छन् । तर, हाम्रा चलचित्र किन भारतमा आफ्नो उपस्थिति जनाउन सकिरहेका छैनन् भन्ने प्रश्नले मलाई सताइरहेको थियो,” सन्तोष भन्छन्, “हामीले आजसम्म प्रयास नै गरेनौँ । कसै न कसैले प्रयास नगरेसम्म हाम्रा चलचित्र भारतीय दर्शकले रुचाउँछन् अथवा रुचाउँदैनन् कसरी थाहा हुन्छ ? त्यसैले म यो प्रयास गर्दै छु ।”

थुप्रै नेपाली मेकरहरु लगानी डुब्ने भयले राम्रो चलचित्र बनाउन हच्किरहेको अवस्थामा १०–१५ करोडको बजार खोज्न सके नेपालमा राम्रा चलचित्र बन्न सुरु हुने सन्तोष बताउँछन् ।

निर्देशक तथा निर्माता दिनेश राउत भारतमा भन्दा पनि पहिला नेपालमै बजार खोज्नुपर्नेमा जोड दिन्छन् । नेपालको तराईलगायत थुप्रै भू–भागमा चलचित्रको बजार विस्तार हुन नसकेको उनी बताउँछन् ।

“नेपालको तराई क्षेत्रको ठूलो हिस्साले अहिले पनि नेपाली चलचित्र हेर्न पाइरहेको छैन । पहिला त्यहाँको जनसंख्यामा आफ्नो बजार विस्तार गर्नुपर्यो,” दिनेश भन्छन्, “त्यसपछि विस्तारै भारतमा पनि नेपाली बजार विस्तार हुँदै जानेछ ।” नेपालकै सबै ठाउँमा नेपाली चलचित्र नपुगेको अवस्थामा भारतमा बजार विस्तार गर्न त्यति सहज नरहेको उनी बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ०८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro