सप्तरी । राजविराजबाट १६ किलोमिटर पश्चिममा पर्छ, गमरिया पट्टी टोल । मुस्लिम, यादव, मण्डल समुदायको मिश्रित बसोबास रहेको यो ठाउँ दूरदराजका अन्य गाउँभन्दा कम विकट छैन । शिक्षा, स्वास्थ्य, सरसफाइ, सिञ्चाइ र विद्युतजस्ता आधारभूत सेवासुविधाबाट कोशौँ टाढा रहेको पट्टी टोलका तीन दृष्टिविहीन परिवारलाई बुधबार ‘भद्रगोल’ टेलिसिरियलका कलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’लगायतले स्थापना गरेको प्रतिष्ठानले घर निर्माण गरी हस्तान्तरण गर्यो ।
२४ मध्ये २२ जना दृष्टिविहीन र दुई जनामात्रै काम गर्न सक्ने त्यस परिवारका बारेमा विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशित भए पनि कसैको आँखा पुगेको थिएन । प्रतिष्ठानले शौचालयसहितको तीन कोठे पक्की घर निर्माण गरी परिवारलाई बुझाएको हो ।
मण्डल परिवारको दृष्टि
जन्मजात दृष्टिविहीन र त्यसमाथि अपांगताबाट गुज्रन अभिशप्त शिवनारायण मण्डलले सपनामा पनि चिताएका थिएनन्, आफ्नो पनि पक्की घर हुन्छ भन्ने । तर, जिग्री पाँडे प्रतिष्ठानले ३१ लाख ७० हजार रुपैयाँ लागतमा तीन घर बनाइदिएपछि मण्डल परिवारको अनुहारमा जुनको चमक छायो । “हामी बाहिरी सन्सार त देख्दैनौँ । घर कस्तो रंगको छ, हामीले ठम्याउन सक्दैनौँ । तर, हामीलाई भगवान आएसरह भयो,” मण्डल परिवारका सदस्य भन्छन् ।
स्कुलको मुख देख्न नपाएका मण्डल परिवारका चार सन्तान शिक्षा–दीक्षाका लागि राजधानी ल्याइएका छन् भने प्रतिष्ठानकै सहयोगमा मण्डल परिवारलाई सीपमूलक तालिमको व्यवस्था गर्न लागिएको कुमार कट्टेलले जानकारी दिए । “घर बनेपछि उनीहरूको ५० प्रतिशत जीवनयापन सहज भयो । उनीहरूको दैनिक जीवन सहज बनाउन र जीवनस्तार थप उकास्न सीपमूलक तालिम र बालबच्चाको शिक्षा–दीक्षामा जोड दिएका छौँ,” उनले भने ।
“जन्मजात दृष्टिविहीन भएर उहाँहरूको संसार अँध्यारो त छँदै थियो । गरिबीले थप अनिश्चितातर्फ धकेलेको थियो,” स्थानीय मखमली मण्डलले भनिन्, “कलाकारहरू पो उहाँहरूको दृष्टि बनेर आउनुभयो ।”
यतिबेला पुस्तौँपुस्तादेखि गरिबीको खाल्डोमा परेका मण्डल परिवारको अनुहारमा मात्र खुसी चम्किएको छैन, गाउँ नै उज्यालो भएको छ । २०–२५ वर्षदेखि छिमेकी गाउँ झलमल्ल हुँदा यो गाउँ अन्धकार बेहोर्न बाध्य थियो । दश वर्षदेखि गाडिएका पोल मक्किएर कुहिने हालतमा पुग्दा पनि प्राधिकरणले ‘यसपाला बजेट छैन’ भन्दै बत्ती दिन आनाकानी गरिरहन्थ्यो । तर, जिग्री पाँडे घर बनाउन पुगेपछि मण्डल परिवारको मात्रै होइन, गाउँकै जुनी फेरिएको छ ।
घर बनाउन पाँच लाख पुगेन
तीनवटा घर बनाउन ३१ लख ७० हजार रुपैयाँ लाग्यो । हालसम्म देशविदेशका सहयोगी हातहरूबाट २६ लाख ५६ हजार ४७० रुपैयाँमात्र सहायता प्राप्त भएकाले पाँच लाख अपुग भएको प्रतिष्ठानका अर्जुन घिमिरेले जानकारी दिए । घर निर्माणका लागि प्राविधिक सहायता भने धुुर्मुस सुन्तली फाउन्डेसनले गरेको थियो । छानोको रूपमा प्रयोग गरिएको ट्रष्ट पनि धुर्मुस सुन्तली फाउन्डेसनले नै उपलब्ध गराएको घिमिरेले जानकारी दिए । घर निर्माणको संयोजन धुर्मुस सुन्तली फाउन्डेसनकै प्रोजेक्ट म्यानेर अर्जुन न्यौपानेले गरेका थिए ।
पटक–पटक आन्दोलन, विकास ठप्प
पट्टी त तराईको एउटा प्रतिनिधि गाउँ हो । बुधबार घर हस्तान्तरणका विशेष अतिथि बनेका सीताराम कट्टेल तराईमा हजारौँ त्यस्ता बस्ती भएको र विकासका लागि सबैले आफ्नो ठाउँबाट सोच्नुपर्ने बताउँछन् ।
“पटकपटकका संघर्षले बदल्न नसकेको विद्रूप पाटो हो यो,” उनले बाह्रखरीसँग भने, “हामीले सोच र शैली बदलेर विकासमा होमिनुपर्छ । वास्तवमा भन्ने हो भने तराईमा विकासको बाधक कोही पनि छैन ।” उनले तराई–मधेसमा हुने आन्दोलन उल्टै तराई विकासमा बाधा पुगेको र तराईको मुख्य सत्रु त्यहाँको गरिबी, अशिक्षा, जनचेतनाको कमी भएको औँल्याए पनि ।
“हामी सबैमा सकारात्मक सोचको भावना जागृत हुनुपर्छ । सबै एक हुने हो भने तराईको गरिबी अन्त्य गर्न सकिन्छ । साथसाथै शिक्षा र स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्छ,” उनको जोड थियो ।
युवा अभियन्ता रमेशप्रसाद साह (वीरगन्ज), जसले मण्डल परिवारको घर बनाउन एक्लै सात लाख जुटाए, उनले पनि तराई आन्दोलन तराईकै लागि प्रत्युत्पादक भएको टिप्पणी गरे । राज्यले शिक्षा, स्वास्थ्यमा विशेष लगानी गर्ने हो भने तराईबाट गरिबी अन्त्य हुने उनी बताउँछन् । “भित्रि तराईको गरिबी, विपन्नताको जड अशिक्षा, स्वास्थ्य सुविधाको कमी हो, यसमा राज्यले विशेष ध्यान दिनुपर्छ,” उनले भने ।
सप्तरी युथका कोषाध्यक्ष विष्णु यादव पनि तराईको विकास नहुनुमा राजनीतिक दाउपेच नै भएको औँल्याउँछन् । “आन्दोलनमा हजारौँ जनता उराल्छन्, त्यसको लाभ सीमित नेताले उपभोक्ता समितिदेखि राजनीतिक तह र तप्कामा बसेर उपभोग गर्छन् । विपन्न जनताको तहसम्म आइपुग्दै आइपुग्दैन,” उनले भने । टाठाबाठा दुई प्रतिशतले तराईलाई विकासका बन्धक बनाएको उनको आरोप छ ।
बढ्दो सामाजिक सद्भाव
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल सप्तरीमा पछिल्लो समय सामाजिक सद्भावको भावनामा बढोत्तरी आएको भन्दै खुसी प्रकट गर्छन् । उनले केही दिनअघिको बाढीमा हिमालदेखिका मानिस राहत बोकेर पुग्नु र कलाकारितामा आवद्ध युवाहरू सीमावर्ती गाउँ पुगेर सहयोगको हात फैलाउनु सामाजिक सद्भाव वृद्धिकै कडी भएको उनको टिप्पणी छ ।
त्यस्तै, उनले राजनीतिक दल समाजको पुल बन्नुपर्ने र धमिलिएको सद्भावलाई संग्ल्याउन लाग्नुपर्ने तर्फ ध्यानाकर्षण गराए ।
कतै बाढी, कतै खडेरी
भारतीय सीमावर्ती क्षेत्र तिलाठीलगायत थुप्रै ठाउँ दुई हप्ताअघि भीषण बाढीको चपेटामा पर्यो । कैयौँ हेक्टर जमिनमात्र होइन, १५ सय बढी घर जलमग्न बने । तर, पट्टी प्रवाहमा भने खडेरी छ यतिबेला । रोपाइँ गर्न नसकेको स्थानीयको गुनासो छ । त्यसो त पट्टी गाउँ नहरको छेवैमा छ । भारतले आफ्नो प्रयोजनका लागि ३७ किलोमिटर लामो नहर खनेर कोसी व्यारेजबाट पश्चिमतर्फ छड्क्याएको त छ तर स्थानीयले त्यो नहरको पानी प्रयोग गर्न सक्दैनन् । एक त नहर जमिनको सतह भन्दा निकै मुनी छ, अर्कोतिर नहरको पानी खेतमा पुर्याउन पम्पलगायत उपकरण विपन्न किसानसँग छैन । त्यसकारण उनीहरूका जमिन बाँझै छन् । दुई सातादेखि नियमित वर्षा नहुँदा जमिन पटपटि फुटेको छ गमरियाका गाउँबस्तीका । आधाजसो खेतहरूमा पनि रोपाइँ नभएको स्थानीय बताउँछन् ।
“नेपाली भू–भाग सिञ्चाइ गर्न बनाइएका कुलामा सानो पानीमात्रै भारतीय पक्षले छाड्छ, त्यो पानीले सिञ्चाइ गर्न पुग्दैन । मूल नहर गहिरो भएकाले पम्पले तानेर खेतमा पुर्याउन पाइँदैन,” स्थानीय शिक्षक राजेश ठाकुरले दुखेसो पोखे ।
पट्टी टोलका उब्जनियुक्त सयौँ हेक्टर जमिन बाँझै भएको र आकाशे पानीको निर्भर रहनुपरेको उनको भनाइ थियो । त्यस्तै, पट्टी गाउँ जाने नहरको ९ किलोमिटर बाटो ग्राबेलसम्म नभएकाले वर्षातको बेलामा सदरमुकामसँग सम्बन्ध विच्छेदजस्तै हुन्छ । नहरको बाटो भारतको स्वामित्वमा भएकाले प्रशासनले सामान्य मर्मतसम्म गर्न अटेर गर्ने गरेको प्रतिष्ठानका प्रोजेक्ट म्यानेर विकासराज पाण्डे बताउँछन् । एकल पहलमा पट्टीटोलमा बत्ती पुर्याउन लागिपरेका उनी स्थानीय प्रशासनले भारत सरकारसँग समन्वय गरेर नहरको बाटो स्तरोन्नति गर्नुपर्ने आग्रह गर्छन् ।