पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले कोरोना नियन्त्रणबाहिर गएको भन्दै प्रदेशदेखि संघ सरकार गुहारेको छ । स्थानीय तहले कोरोना नियन्त्रणको लािग प्रदेश र संघीय सरकार गुहारेको सम्भवतः यो नै पहिलो घटना हो ।
२०७२ को विनाशकारी महाभूकम्पको इपिसेन्टर रहेको बारपाक कोरोनाको पनि इपिसेन्टर बन्ने खतरा रहेको आकलन गाउँपालिकाले गरेको छ । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टका अनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ७ जनाभन्दा बढिको एक हप्तामा निधन भएको छ ।
१३ सय गुजमुज्ज घर रहेको बारपाक गाउँका बासिन्दा कोरोना परीक्षण गर्नै मान्दैनन् । यही न्यून चेतना तथा सामाजिक मनोरोगका कारण बारपाकमा कोरोना संक्रमण भुसको आगो झैँ फैलिएको उनको अनुमान छ ।
गाउँपालिकाको स्वास्थ्य शाखा कोरोना परीक्षणको लागि नमुना लिन नगएको होइन । तर, त्यहाँका स्थानीयले परीक्षण गराउनै मान्दैनन् । एक त परीक्षण गराउन नमान्ने, अर्कातर्फ संक्रमित पनि आइसोलेसन बस्न मान्दैनन् । यही कारण बारपाक सुलिकोट गाउँपालिका सहयोग गुहार्न बाध्य भएको छ ।
गाउँपालिका अध्यक्ष भट्टले एक विज्ञप्ति जारी गर्दै प्रदेश तथा संघीय सरकार र राजनीतिकर्मी, आमा समूह, युवा क्लबसँग सहयोगको अपिल गरेका छन् ।
उनले विज्ञप्ति जारी गर्दै भनेका छन, “बारपाक क्षेत्रको पछिल्लो स्थितिको अनुमानका आधारमा गाउँपालिकाको मात्र एकल पहलका आधारमा यसको नियन्त्रण, रोकथाम एवम् व्यवस्थापनमा चुनौती देखा परेको कारण संवैधानिक रूपमा उल्लेख गरिए अनुरूप महामारी नियन्त्रणका लागि जिम्मेवारी तोकिएका संघीय सरकार एवम् प्रदेश सरकार समक्ष सहयोग एमव् समन्वयका लागि गाउँपालिका कार्यालय अनुरोध गर्दछ ।”
उनले प्रदेश तथा संघीय सांसदहरूलाई आवश्यक सहजीकरण गरिदिन समेत अनुरोध गरेका छन् ।
विज्ञप्तिअनुसार साविकाको बारपाक गाविसमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको संख्या बढ्दो छ । गाउँपालिकाले तीन पटकसम्म बारपाकमा मात्रै एन्टिजेन किट र पीसीआरमार्फत परीक्षण गर्दापनि सम्भावित संक्रमितहरूको संख्या भने कम देखिएको छ । सम्भावित संक्रमितहरूको परीक्षण नै हुन नसकेका कारण जोखिम बढ्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१३ सय घर र पाँचहजार बढी जनसंख्या रहेको बारपाक गाउँमा आखिर परीक्षण किन न्यून भएको छ त ? गाउँपालिका अध्यक्ष भट्ट भन्छन, “स्थिति अप्ठ्यारै छ । बाक्लो गाउँ, विकट ठाउँ, सामाजिक मनोविज्ञान पनि फरक छ । मान्छेहरू आउन नमान्ने, व्यथा लुकाउने घरभित्रै बस्ने गर्दा समस्या भएको छ ।”
उनकाअनुसार कोभिड संक्रमित ३ जना र कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका ५ जनाले यही साता ज्यान गुमाएका छन् ।
यता प्रदेशको स्वास्थ्य निर्देशनालयले पनि एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीको टिम पठाइएको जनाएको छ ।
निकै अगाडिदेखि अनुरोध गर्दापनि प्रदेशले सुरुमा वास्ता नगरेको अध्यक्ष भट्टको आरोप छ । “प्रदेशले पहिले टोली पठाएकै होइन । हामीले अनुराधे गरेको चाहिँ धेरै नै भयो ।” उनले भने ।
शुक्रबारदेखि बारपाकमा तीन सय जनाको परीक्षण गर्ने तयारी गरिएको उनले बताए । तर, चेतनाको कमीका कारण स्थानीयहरू नै नआउने गरेको उनको भनाइ छ ।
“भोलि प्रदेश, जिल्लाबाट स्वाब लिने भनेका छौँ । पानी परेर अप्ठ्यारो पनि परेको छ । सुरुमा त मान्छेलाई कन्भिन्स् नै गर्ने हो । गाह्रो भएकालाई स्वास्थ्य संस्थामा लैजाने हो । पाँच बेडको आइसोलन छ । त्यसबाहेक चार ठाउँमा पनि आइसोलेसन बनाएका छौँ । तर, मान्छेहरू भ्रमका कारण आउनै मान्दैनन,” भट्टले भने ।
स्थानीयहरू किन परीक्षण गर्न मान्दैनन त ? उनी भन्छन, “मर्यो भने सामाजिक मनोविज्ञानका कारण अन्त्येष्टि पनि हुँदैन । सामाजिक बहिष्कारमा परिन्छ भन्ने मनोविज्ञान छ । जे होस, दायरा बढाएर परीक्षण गर्ने भनेका छौँ ।”
वडा नम्बर २ का वडाध्यक्ष लालबहादुर गुरुङ भन्छन, “जनचेतना अलिक नपुगेको हो, परीक्षण नै नभएको त होइन, ६० जनामा पोजेटिभ देखिएको छ, भोलिदेखि चाहिँ परीक्षणको दायरा बढाउँछौँ । अधिकांश मान्छे बिरामी छन भन्ने जानकारी छ ।”
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले ठूलो गाउँ भएका कारण परीक्षण सोचेजति हुन नसकेको बताए ।
उक्त क्षेत्रबाट प्रदेशमामा प्रतिनिधित्व गर्ने सांसद प्रकाशचन्द्र दवाडीले गाउँपालिकाले बेलैमा समन्वय नगरेका कारण पनि यो अवस्था आएको जिकिर गर्छन् । पर्याप्त मात्रामा आइसोलेसन बेड नभएका कारण नै संक्रमितहरू कहाँ बस्ने भन्ने चिन्ताका कारण परीक्षण नगरेको हुनसक्ने उनी बताउँछन ।
बिहीबार मात्रै उनले उक्त क्षेत्रमा औषधि र सुरक्षा सामग्री पठाएका छन् ।
प्रतिनिधिसभा सदस्य तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइले पनि कोरोना प्रकोपले बारपाक संक्रमित भएको खबरले मर्माहत रहेको बताएका छन । उनले बारपाकमा परीक्षण र स्वास्थ्य सामग्री लिएर सम्बन्धित निकायलाई पुग्न पनि आग्रह गरेका छन् ।