काठमाडौं । जसो–जसो पण्डित बाजे उसै–उसै स्वाहा ! भन्ने नेपाली आहान नेपाली चलचित्रमा पनि लागु हुन्छ । जस्तो नेपाली राजनीति छ, त्यस्तै नेपाली चलचित्रको मनोविज्ञान पनि ।
नेपाली राजनीति लुट, छलकपट, सत्तास्वार्थको वरिपरि घुमिरहेको छ । यसको छाया नेपाली चलचित्रमा पनि प्रष्टै प्रतिविम्बित छ । हुन त चलचित्र समाजको ऐना अर्थात् जे छ, त्यसैको प्रतिविम्ब हो भनिन्छ । तर, यो परिभाषा र बुझाइमा परिवर्तन आएको पनि धेरै वर्ष भइसक्यो । तर, हाम्रा चलचित्रले सिनेमा भनेको समाजको ऐना मात्रै होइन, समाज रूपान्तरणको माध्यम पनि हो भन्ने तथ्यलाई अनरअन्दाज प्रायः गरिरहेका छन् ।
समाजमा लुट छ, चलचित्रले त्यसैलाई प्रश्रय दिइरहेका छन् । राजनीतिक बेइमानी छ, त्यसैलाई चलचित्रले अंगालिरहेका छन् । राजनीतिमा छलकपट र धोकाधडी छ, चलचित्रले त्यसैलाई अवलम्बन गरिरहेका छन् । तर, रूपान्तरणको बाटोमा हिँड्ने आँट नेपाली मेकरले गर्न सकेका छैनन् ।
नेपाली चलचित्रमा सफल सिरिज हो, ‘कबड्डी’ । ‘कबड्डी’मा आफ्नो सत्तास्वार्थ र पदका लागि बुवाले छोरी प्रयोग गर्छन् ।
“नेपाली राजनीतिज्ञको चरित्र हो सत्ताका लागि साम, दाम, दण्ड, भेद जुनसुकै अस्त्र प्रयोग गर्न तयार हुने । यही चरित्र हाम्रा चलचित्रमा प्रष्टै देखिन्छ,” निर्देशक मनोज पण्डित भन्छन्, “चलचित्रले समाज देखाउनु राम्रो पक्ष हो । तर, यति मात्रै यसको दायित्व होइन । समाजमा रुमलिनु र त्यसैलाई प्रश्रय दिनु मात्रै चलचित्रको काम होइन ।”
मानवअधिकार, समानता, स्वतन्त्रताजस्ता विषय नेपाली चलचित्रले उठाउन नसकेको उनको गुनासो छ ।
लुटमाथि लुट गर्यो भने सफल भइन्छ भन्ने राजनीतिक मनोविज्ञानले चलचित्रमा पनि काम गरेको उनको ठम्याइ छ । “चलचित्र ‘लुट’मा जसरी एउटाले अर्कोलाई र अर्कोले अर्कोलाई लुटेर ऐस–आरामको जिन्दगी जिइरहेको देखाइएको छ,” मनोज भन्छन्, “यो नेपाली राजनीतिको प्रतिविम्ब हो । तर, यसमै रुमलिएर त्यसलाई प्रश्रयचाहिँ दिनु हुँदैन ।”
नेपाली चलचित्र उद्योगको अर्को सफल चलचित्र हो, ‘छक्कापञ्जा’ र ‘चपली हाइट’ । यी दुवै चलचित्रमा नेपाली राजनीतिमा जस्तै छलकपट र धोकाधडी छ ।
जसरी नेपाली राजनीतिले निकास दिन सकेको छैन, त्यस्तै चलचित्र पनि अन्धकारमा रुमलिरहेका छन् । न स्पष्ट सन्देश नै दिन सक्छन् न समाज रूपान्तरणमा अहम् भूमिका नै निभाउन सक्छन् ।
रानीतिक विश्लेषक सोमत घिमिरे वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि चलचित्रमा केही परिवर्तन आउँदा यसले राजनीतिको तुलनामा एक कदम अगाडि फड्को मारे पनि त्यहाँबाट भने अगाडि बढ्न नसकेको बताउँछन् ।
“पहिलाको ट्रेन्डभन्दा नेपाली चलचित्र केही अगाडि बढेको हो । एक कदम मौलिक पनि हो । तर, यसले नेपाली समाज, नेपाली परम्परा, विविधता र नेपाली यर्थाथतालाई भने अहिले पनि धेरै समेट्न सकेको छैन,” सोमत भन्छन्, “एक कदम अगाडि जहाँ आइपुग्यो, त्यहाँ लामो समय अडियो ।”
समाजका अरु पक्ष राजनीति बिग्रिँदा त्योसँगै बिग्रिए पनि कला–साहित्य, संस्कृति र सिनेमाको वैकल्पिक धार सशक्त हुनुपर्ने उनको भनाइ छ ।
राजनीतिक व्यवस्था परिवर्तनसँगै कला–साहित्यको एउटा पक्ष सत्ता र शासकको भजन गाउने तर वैकल्पिक समूह र धार पनि हुनुपर्ने र यसले समाजलाई कला–साहित्य र संस्कृतिलाई ‘लिड’ गर्नुपर्ने सोमत बताउँछन् ।
नेपाली चलचित्रमा अनुसन्धान नै नभएको र यसकै परिणाम एकै ठाउँमा चलचित्र स्थिर रहेको उनको बुझाइ छ । “यसमा मेकर, राइटर, प्रोडुसरको कमजोरी रह्यो,” शासकीय धारभन्दा बाहिर रहेर काम गर्ने समूह प्रभावशाली भएन,” सोमत भन्छन् ।