पोखरा । गएको बिहीबार ट्रमा सेन्टरका निमित्त निर्देशक सन्तोष पाण्डेले सामाजिक सञ्जालमा लेखे, “म अत्यन्तै मर्माहत छु, ट्रमा सेन्टरका लागि आउनुपर्ने अक्सिजन प्रहरीका ठूला अधिकारी आएर लिएर गए ।”
कोरोना महामारी, अक्सिजनको चरम अभावबीच प्रहरी अधिकारीले पहुँचका आधारमा अस्पतालको लागि छुट्टयाइएको अक्सिजन लिएर गएपछि उनी विचलित भएर सामाजिक सञ्जालमा लेख्न पुगेका थिए ।
अहिले देशैभरि अक्सिजन अभाव छ । अक्सिजन र बेड नपाएकै कारण राजधानीलगायत अस्पतालमा दिनहुँ संक्रमितको ज्यान गइरहेको छ । कतिले बेड नै पाउँदैनन्, बेड पाउनेले आफैँ अक्सिजन खोज्नुपर्ने बाध्यता समेत छ । बेड र अक्सिजन खोज्दा खोज्दै मृत्यु हुनेको संख्या बढ्दो छ ।
गण्डकी प्रदेशको दोस्रो ठूलो बागलुङको धौलागिरि उपप्रादेशिक (सरकारले सिफारिस गरेको) अस्पतालमा शनिबारदेखि अक्सिजन पुगेको छैन । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएता पनि बाहिरबाट सिलिन्डरमा अक्सिजन ल्याएर उपचार गर्नुपर्ने अवस्था छ ।
शनिबारदेखि अक्सिजन आपूर्तिमा ढिलाइ हुँदा अस्पतालका प्रमुख डा. शैलेन्द्र बी पोखरेलको मनमा पनि चिसो पस्यो । काठमाडौँमा झैँ पहुँचका आधारमा कसैले अस्पताल ल्याउनुपर्ने अक्सिजन त लगेनन् भन्ने उनले शंका गरे । यद्यपि, गण्डकीमा हालसम्म अक्सिजन अभावकै कारण कसैको मृत्यु भएको रेकर्ड छैन ।
नेपाली कांग्रेस संसदीय दल गण्डकीका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले राजनीतिक शक्तिको आधारमा अक्सिजन काठमाडौं लगिएको हुन सक्ने आशंका गरे ।
उक्त अस्पतालमा अहिले ३५ जना बिरामी उपचाररत छन् । तीमध्ये आईसीयूमा तीन र भेन्टिलेटरमा चारजना छन् । अस्पतालले अक्सिजन प्लान्ट भएता पनि सिलिन्डरमा भर्ने मेसिन नहुँदा सिधै पाइपबाट बिरामीलाई अक्सिजन दिने गरेको छ ।
सिलिन्डर फिलिङको लागि पोखरा पठाउनुपर्ने बाध्यता अस्पताललाई छ । त्यही फिलिङ गर्न अस्पतालले पोखराको औद्योगिक क्षेत्रस्थित कालीगण्डकी अक्सिजन प्रालिसँग समन्वय गरेको छ ।
तर, समन्वयानुसार अक्सिजन नआएपछि उपचाररत बिरामी गम्भीर जोखिममा परेको पोखरेलले बताए । “अस्तिसम्मचाहिँ निरन्तर अक्सिजन आइरहेको थियो, हिजोबाट निरन्तर आएको छैन । हामलीले चार–पाँचवटा गाडी पनि परिचालन गरेका छौँ । तर, गाडी क्युमा छन् रे । त्यसकारण यहाँ समयमा अक्सिजन पाउन सक्ने स्थिति छैन । अस्पतालको अक्सिजन पनि चलिरहेको छ । तर, पुगेको छैन । त्यसकारण बाहिरबाट मगाउनुपरेको हो,” उनले भने ।
यो अस्पतालमा अहिले अक्सिजन प्लान्टबाहेक पनि दैनिक १०० सिलिन्डर खपत हुने गरेको छ । तर, आपूर्तिमा ढिलाइ हुँदा अप्रिय घटना हुन सक्ने उनी बताउँछन् ।
“हिजोबाटचाहिँ यहाँ एकदम गाह्रो भइरहेको छ । दैनिक १०० वटा सिलिन्डर खपत हुने गरेको छ । समयमा नआउँदाचाहिँ बिरामी सबै जोखिममा परेका छन् ।”
यता, कालीगण्डकी अक्सिजन प्रालिका निर्देशक प्रेम गिरी माग बढी भएका कारण आपूर्तिमा ढिलाइ भएको बताउँछन् । “हाम्रो प्राथमिकता नै गण्डकी प्रदेश हो, अन्त कहीँ पठाएका छैनौँ,” उनले भने ।
आज बिहान मात्रै ४५ सिलिन्डर पठाएको र अहिले फिलिङमा रहेको उनले बताए । “माग थेग्नै नसक्ने छ, १५ वटा गाडी क्युमा छन् । यहाँका अस्पताल लाइनमा छन् । हामीसँग फिलिङ आएको, बाँकी रहेको सिलिन्डर हुनुपर्यो नि,” गिरीले भने ।
यो उद्योगले अहिले दैनिक ५०० सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको छ । माग धान्न नसक्ने स्थितिभन्दा पनि समयमा नै आपूर्ति गर्न नसकिएको उनी बताउँछन् । बागलुङको हकमा पनि समयमा आपूर्ति गर्न नसकिएको उनले स्वीकार गरे ।