काठमाडौं । नेपाली अधिकांश फिल्ममेकरको सधैँ एउटै गुनासो छ– बजेट अभावले सोचेजस्तो चलचित्र बनाउन सकिएन । यो खेमाका मेकरको एउटै दाबी छ– पर्याप्त बजेट भएको खण्डमा भनेजस्तो चलचित्र बनाउन सकिन्छ । बजेट अभावकै कारण राजनीतिक तथा ऐतिहासिक चलचित्र बनाउन नसकिएको र त्यसकै परिणाम हो, नेपाली चलचित्रले विदेशी बजारको स्वाद चाख्न नपाएको ।
यो तर्कलाई चुनौती दिएका छन्, भारतीय फिल्ममेकर अनुराग कश्यपले । उनको तर्क छ– राम्रो स्क्रिप्ट लेख्न सके प्रोड्युसर खोज्दै आउँछन् । पैसाका लागि होइन, राम्रो कथाका लागि भौँतारिन उनको सुझाव छ । कथा पहिलो सर्त भएको अनुराग बताउँछन् ।
चलचित्र आर्टको फर्म हो भनेर बुझेर मोटो रकम खर्चिने लगानीर्ताको खडेरी रहेको नेपाली चलचित्र निर्देशकहरु बताउँछन् । लगानी गर्न सक्ने व्यापारिक घरानाले पनि चलचित्रमा लगानी नगरेको उनीहरुको गुनासो छ । नेपाली मेकरहरुले यो गुनासो गरिरहँदा राम्रो कथा भए कुन कथामा लगानी गरौँ भन्दै प्रोडुसर नै पछि लाग्ने उनको भनाइले नेपाली फिल्म लेखकको क्षमतालाई गिज्याइरहेझैँ लाग्छ ।
उनी भन्छन्, “म त भन्छु, लगानीको हिसाबमा भन्दा पनि राम्रो कथा लेख्छु र प्रस्तुत गर्छु भनेर अघि बढ्नुहोस्, विश्व बजारबाट लगानी आफैँ तपाईंसम्म हिँडेर आउँछ ।”
नेपालमा मात्रै होइन, नेपालबाहिर पनि थुप्रै लगानीकर्ता रहेको उनको भनाइ छ । उनी नेपाली मेकरहरुलाई बाटो देखाउँदै भन्छन्, “प्रोडुसर खोज्न तपाईं विश्व बजारमा भएका स्क्रिप्ट ल्याबहरुमार्फत जानुहोस् । जस्तै, बुसान स्क्रिप्ट ल्याब, बर्लिन स्क्रिप्ट ल्याब, एसिया पेसिफिक र भारतमै पनि छन् ।”
नेपाली मेकरहरु लगानीका लागि ढोका–ढोका चाहरिरहेका बेला अनुराग फिल्ममेकरको काम लगानी खोज्ने होइन, त्यस्तो स्क्रिप्ट लेख्ने हो, जसले लेखक तथा निर्देशकको दैलो ढक्ढक्याउन प्रोडुसर स्वयं आओस् भन्छन् ।
“म यो चलचित्र उद्योगमा सन् १९९३ मा आएको थिएँ । तर, मेरो पहिलो चलचित्र २००७ मा मात्रै आयो । त्यो १४ वर्षको संघर्षपूर्ण यात्रा पनि मलाई त्यस्तो पीडादायी महसुस भएन,” आफ्नै उदाहरण दिँदै अनुराग चलचित्रकर्मीलाई धैर्य हुन सुझाउँछन्, “मैले लेखेका कति चलचित्रहरु वर्षौँपछि मात्रै बनेका छन् । मैले चलचित्र ‘अग्ली’ लेखेको ७ वर्षपछि बल्ल निर्माण भयो । कतिले मलाई तिम्रो यो स्क्रिप्ट बन्दैन भन्थे । तर पनि म लेखिरहन्थेँ ।”
उनी भारतमा भन्दा नेपाली चलचित्र उद्योगमा काम गर्न र सफलता हात पार्न सहज रहेको दाबी गर्छन् । भारतमा चर्को प्रतिस्पर्धा रहेको तर नेपालमा चलचित्रको नापतौल धेरै नहुने उनको भनाइ छ । “म त्यस्तो देशको चलचित्र उद्योगमा छु, जहाँ नापतौल धेरै हुन्छ । तर, तपाईं (नेपाली चलचित्र निर्माता) त्यस्तो देशमा हुनुहुन्छ, जहाँ तपाईंले कुनै राम्रो चलचित्र बनाउनुभयो भने पूरा देशले नै गर्व महसुस गर्छ ।”
उनले विदेशी बजार कसरी निर्माण गर्ने र त्यसका लागि कन्टेन्ट कस्तो खोज्ने त्यो पनि सुझाएका छन् । चलचित्रमा जति स्थानीय कथा खोज्यो, त्यति नै त्यो अन्तर्राष्ट्रियकरण हुने उनको भनाइ छ । “तपाईं जति आफ्नो स्थानीय कथा भन्नुहुन्छ, त्यति नै त्यो चलचित्र युनिक हुन्छ । त्यसैले तपाईंले आफूलाई र आफ्नो क्षेत्रलाई प्रस्तुत गर्ने विषयमा जोड दिनुपर्छ,” नेपाली मेकर तथा चलचित्र लेखकलाई उनको सुझाव छ ।
यता, नेपाली फिल्ममेकरहरु भने समग्रमा अनुरागले भनेजस्तो लगानी जुटाउन सहज नरहेको बताउँछन् । निर्देशक हेमराज बिसी समग्रमा अनुरागले भनेजस्तो नेपाली चलचित्रका लागि लगानी जुटाउन सहज नरहेको बताउँछन् । त्यसमा पनि नयाँ निर्देशकका लागि झन् कठिन रहेको उनको दाबी छ । “समग्रमा अनुरागले भनेजस्तो सहज छैन । त्यसमा पनि नयाँ निर्देशकका लागि झन् कठिन छ । आफूलाई प्रमाणित नगरिसकेका निर्देशकलाई निर्माताले कसरी विश्वास गर्न सक्छन्,” हेमराज भन्छन् ।
अन्तर्राष्ट्रिय ग्रान्ट जुटाउन झन् कठिन रहेको उनी सुनाउँछन् । उनी भन्छन्, “अन्तर्राष्ट्रिय ग्रान्ट पाउन त झन् कठिन छ । हामीलाई ग्रान्ट जुटाउन त पहिला हाम्रा चलचित्र विदेशी बजारमा जानुपर्यो । इन्टरनेसनल फिल्म फेष्टिभलमा जानुपर्छ, त्यसै कसले विश्वास गर्छ,” हेमराज भन्छन्, “विदेशी बजारमा झन् चर्को प्रतिस्पर्धा छ । मलाई लाग्छ, राम्रो चलचित्र बनाएर मात्रै पुग्दैन, एक्स्ट्रा अर्डिनरी नै हुुनुपर्छ । अन्यथा, समग्रमा भनिएजस्तो सहज अवस्था छैन ।”
कलाकार तथा निर्माता रवीन्द्रसिंह बानियाँ नेपालमा राम्रो स्क्रिप्ट लेखकका रुपमा आजसम्म कसैले आफूलाई प्रमाणित गर्न नसेकेको बताउँछन् । जस्तो भन्यो त्यस्तै लेख्न सक्ने चलचित्र लेखक नेपालमा नरहेको वा सक्नेहरुले पनि नलेखेको उनको भनाइ छ ।
“अनुराग जस्तो भन्यो त्यस्तै स्टोरी लेख्न सक्छन् र उनले भनेको पनि त्यही हो । तर, नेपालमा त्यस्तो स्टोरी लेख्न सक्ने खोइ को छ ?,” रवीन्द्र भन्छन्, “हामीले आफूलाई प्रमाणित गरिनसकेका नयाँ व्यक्तिलाई एड्भान्स दिएर लेखाइरहनुपरेको अवस्था छ ।”
एउटा स्टोरी लेखेर त्यो बिक्री भएपछि अर्को लेख्छु भनेर बस्नेहरु रहेको भन्दै उनी वर्षौँसम्म दर्जनौँ स्टोरी लेखेर बस्ने लेखक नरहेको बताउँछन् ।