काठमाडौं । हलमा नचल्दैमा, बक्स अफिसमा ठूलो कमाइ नगर्दैमा र सञ्चारमाध्यमले चर्चा नगर्दैमा सबै चलचित्र नराम्रा हुँदैनन् । बक्स अफिसमा नयाँ–नयाँ रेकर्ड बनाएका सबै चलचित्र पनि राम्रा हुँदैनन् ।
केही चलचित्र यस्ता हुन्छन्, जो राम्रो कमाइ गर्छन् । तर, इतिहासमा नामोनिसान हुँदैन । तर, केही चलचित्र यस्ता हुन्छन्, जो हलमा चल्दैनन्, सञ्चारमाध्यममा ठाउँ पाउँदैनन् । तर, इतिहासमा सुनौलो अक्षरले लेखिन्छन् । यस्ता चलचित्र समकालीन समाज, सञ्चारमाध्यम र व्यक्तिले चिन्न सक्दैनन् । यद्यपि, समयकालमा चर्चा हुन्छ र तीनलाई तत्कालीन समयले त्यसको महत्व खुट्टयाउन नसकेको निष्कर्ष निस्किन्छ । नेपालमा पनि यस्ता चलचित्र छन् ?
आमा
समय, समाज, बुझाइ र स्रोत–साधनको अभावका बाबजुद निर्माण भएको चलचित्र ‘आमा’लाई नेपाली चलचित्रको माइलस्टोन चलचित्र मान्न सकिन्छ । यो चलचित्रले उठान गरेको विषय, यसको प्राविधिक पक्षलगायत विषयलाई लिएर यो चलचित्रका बारेमा पर्याप्त बहस तथा छलफल हुनुपर्ने भए पनि आजसम्म यसलाई यो दृष्टिकोणबाट हेरिएको पाइएको छैन । पहिलो नेपाली चलचित्र हो कि दोस्रो भन्ने तर्क/वितर्कका लागि मात्रै ‘आमा’लाई सम्झिने गरेको पाइन्छ ।
परालको आगो
नेपाली मौलिक चलचित्रका रुपमा प्रताप सुब्बा निर्देशित चलचित्र ‘परालको आगो’ निर्माण भयो । आफ्नै मौलिक कथामा बनेको यो चलचित्रले नेपाली साहित्यमाथि पनि चलचित्र बनाउन सकिन्छ भन्ने दृष्टान्त प्रस्तुत गरेको थियो । यो चलचित्रका विषयमा पनि नेपाली चलचित्र उद्योगमा खासै चर्चा तथा बहस भएको पाइँदैन । यो चलचित्रमा पहिलो महिला संगीतकार शान्ति ठटालले संगीत भरेकी थिइन् ।
‘परालको आगो’लाई समीक्षक तथा निर्देशक मनोज पण्डित ‘ए ग्रेड’को उत्कृष्ट यथार्थपरक चलचित्र भएको बताउँछन् । “साहित्यको एडप्टेसनमा यो उत्कृष्ट सिनेमा हो । तर, सिनेमाहरुको भिडमा यो हरायो,” उनी भन्छन् ।
कुमारी
चलचित्र ‘कुमारी’ नेपाली चलचित्र उद्योगको पहिलो रंगिन सिनेमा मात्रै होइन, उच्च क्वालिटी र सिनेमेटोग्राफीको मूल्यांकनका हिसाबले पनि अब्बल चलचित्र हो । कथा केही बिगारिए पनि यो नेपाली चलचित्र उद्योगले पहिलो रंगिन चलचित्रभन्दा पनि यसको मेकिङका हिसाबले बहसमा ल्याउनुपर्ने चलचित्र हो ।
देउमाइको किनारमा
देउमाइको किनारमा नेपाली चलचित्र उद्योगको अर्को अन्डररेटेड चलचित्र हो । सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित यो चलचित्रलाई प्रेम सेर्माले निर्देशन गरेका थिए । यो चलचित्रको कथा राजनीतिज्ञ तथा साहित्यकार प्रदीप नेपालले लेखेका थिए । राजनीतिक चेत बोकेको यो चलचित्रले नेपालको कम्युनिस्ट आन्दोलनमा लागेका एक व्यक्तिलाई केन्द्रमा राखेर डिक्टेरसिपविरुद्ध आवाज बुलन्द गरेको छ । मंगोलियन फेसलाई मुख्य भूमिकामा उभ्याउन हम्मेसी आँट नगर्ने समयमा यो चलचित्रले आँट गरेको थियो ।
मुकुण्डो
छिरिङ रितार शेर्पाको चलचित्र ‘मुकुण्डो’ पनि अन्डररेटेड चलचित्र हो । यसको सौन्दर्य चेतलाई लिएर तत्कालीन समयमा जति व्याख्या र विश्लेषण हुनुपर्ने हो, त्यति नभएको चलचित्र हो यो । नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ’ले सञ्चारमाध्यम तथा चलचित्रकर्मीहरुबीच माइलेज पाए पनि ‘मुकुण्डो’ भने वञ्चित प्रायः रह्यो । भलै, निर्माणको करिब दशकपछि भने यो चलचित्रको चर्चा तथा बहसहरु भए । समयले नबुझेको चलचित्र हो यो ।
बधशाला
मनोज पण्डितको चलचित्र ‘बधशाला’ निर्मम समयको छायामा परेको चलचित्र हो । यो चलचित्रले दर्शक त पाएन नै समीक्षकको पनि साथ पाएन । दीपेन्द्र लामाले यसको सौन्दर्य चेतबारे केही लेखे पनि त्यो र त्यति नै पर्याप्त थिएन । समयको चेपुवामा परेको यो चलचित्रले तत्कालीन शाही सेनाले निहत्था नागरिकलाई विद्रोहीको आरोपमा कसरी यातना दिएर जीवन समाप्त पारिदियो देखाइएको थियो ।
दासढुङ्गा
तत्कालीन एमाले महासचिवको दासढुङ्गा दुर्घटनाको विषयलाई लिएर ठूलो जोखिम मोलेर मानोज पण्डितले नै चलचित्र ‘दासढुङ्गा’ बनाए । यो चलचित्रले ठूलो हाइप पायो । अवार्ड पनि पायो । तर, दर्शक पाएन । देशको ठूलो राजनीतिक दलमध्येको एउटा दलको सर्वोच्च नेता, त्यसमा पनि देश बदल्ने ल्याकत भएको व्यक्तिको हत्या कि दुर्घटना ? मात्रै होइन, विभिन्न व्यक्ति र संस्थाप्रति आंशका उठिरहेका बेला दर्शकको भिड हलमा लाग्नुपर्ने थियो । तर, दर्शकले हेर्न आँट नगरेको निर्देशक नरेशकुमार केसी बताउँछन् ।
साँघुरो
यौन मनोविज्ञानमा केन्द्रित रहेर बनाइएको चलचित्र ‘साँघुरो’ पनि आवश्यक व्याख्या–विश्लेषण नगरिएको चलचित्र हो । जोयश पाण्डे निर्देशित चलचित्रले निम्नवर्गीय परिवारले आर्थिक अभावमा आफ्नो यौन चाहनालाई कसरी दबाएर बसिरहनुपरेको छ भन्ने तथ्यलाई उजागर गरेको छ । तर, यो चलचित्रबारे न कतै व्याख्या–विश्लेषण भयो न त तारिफ नै ।
श्रीमान्
नवल नेपालको चलचित्र ‘श्रीमान्’ बाल मनोविज्ञानमा बनेको सशक्त चलचित्र हो । अक्सर युगल जोडीको प्रेमकथा र त्यसको सेरोफेरोमा घुम्ने नेपाली चलचित्रको भिडमा बनेको चलचित्र हो, ‘श्रीमान्’ । तर, यो चलचित्रहरुको भिडमा छायामा पयो । समयले चिन्न नसकेको मध्येको एक चलचित्र यो पनि हो ।
हरि
दर्शकदेखि मेकरसम्म कमेडीमा भुलिएका बेला आएको चलचित्र ‘हरि’ले दर्शक तान्न सकेन । व्यापारको फर्मुलाबाट टाढै रहेको ‘हरि’ले समीक्षा भने राम्रो पाएको थियो । तर, दर्शकले रुचाएनन् । अति यथार्थवादी ‘हरि’लाई धेरैले समयभन्दा अगाडि नै बनेको चलचित्र भने ।
नेपाली चलचित्र उद्योगमा थुप्रै चलचित्र बने पनि गुणस्तरको तुलोमा भने कमै मात्रै वजनदार छन् । केही मध्यम चलचित्र तथा अनपेक्षित चलचित्रले राम्रो हाइप बनाएर व्यापार गरे पनि अपेक्षा गरेका चलचित्र भने अझै गुमनाम प्रायः छन् ।
फिल्म लिट्रेसी, पब्लिसिटीको तौरतरिका र बजेट, दक्ष समीक्षक, निष्पक्ष सञ्चारमाध्यम र पत्रकार तथा इमानदार मेकरको अभाव खड्किँदा केही वजनदार चलचित्र दशकौँदेखि अन्डररेटेड हुन बाध्य छन् ।