
काठमाडौं । जुम्ला सिंजा गाउँपालिका–२ का ३० वर्षीय युवा हरिशंकार शर्माको परिवार पछिल्लो समय काठमाडौं नरदेवी बस्छन् । जुम्लामा विभिन्न पेशा व्यवसायी गर्र्दै आएका कर्णराज शर्मामा तीन छोरामध्ये माहिला छोरा हुन् हरिशंकर ।
कर्णराजका जेठा छोरा डाक्टर र कान्छा छोरा इन्जिनियर छन् । हरिशंकर पनि हेर्दा बौद्धिक र स्मार्ट नै देखिन्छन् । तर, हरिशंकरको पेशा दाइ र भाइको जस्तो भने छैन । अर्थात् हरिशंकर उपत्यकाका विभिन्न ठाउँमा लोड गरिएका गाडीमा गुड्दा गुड्दै चढेर चोरी गर्दै हिँड्छन् ।
त्यो बाहेक अन्य पसल–पसलमा छिरेर चोरी गर्नु त हरिशंकरका लागि सामान्यजस्तै भएको पक्राउपछि प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार उनी १० वर्षभन्दा बढी समयदेखि चोरी गर्दै हिँडिरहेका छन् ।
उनका लागि कुनै एक ठाउँमात्रै विशेष छैन । उपत्यका र उपत्यका बाहिरसमेत पुगेर चोरी गर्छन् ।
पछिल्लो समय उनी कलंकीबाट सुन्धारातर्फ आउँदै गरेको विभिन्न सामान लोड गरिएको पिकअप भ्यानभित्रको सामान चोरी गरेको अभियोगमा पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय कालिमाटीको टोलीले हरिशंकरलाई पक्राउ गरेर अनुुसन्धान थालेको छ । उनीसँगै प्रहरीले नरवेदीकै २३ वर्षीय रोहित शाहीलाई पनि पक्राउ गरेको छ ।
उनीहरुमाथि प्रहरी वृत्त कालिमाटीको टोलीले अनुसन्धान जारी राखेको छ । प्रहरीको अनुुसन्धानका क्रममा हरिशंकर र रोहितको समूहले काठमाडौंका विभिन्न १२ ठाउँमा चोरी गरेको खुलाएको छ ।
प्रहरीका अनुसार २०८१ असार ४ गते कलंकीको एक पसलबाट सामान खरिद गर्ने भन्दै विभिन्न कम्पनीको १७ हजार ८ सय रुपैँया मूल्य बराबरको सिगरेट खरिद गर्ने भन्दै पैसा नतिरी सामान लिएर भागेका थिए ।
त्यसरी नै २०८१ मंसिर १४ गते कालिमाटीबाट बालाजु जाँदै गरेको बा १५ च ८७३ नम्बरको पिकअप जिपभित्र गुड्दा गुड्दै पसेर ३ बोरा बासमती चामल र एक बोरा राजमा दाल चोरी गरेको खुलेको छ ।
यसरी नै २०८१ माघ २३ गते काठमाडौं टंकेश्वर मन्दिर नजिकबाट वाग्मती प्रदेश ०१–०२५च ९२५७ नम्बरको हात्ती गाडीबाट बदाम, तेल र लसुन चोरी गरेका थिए ।
यसरी नै गएको फागुन ७ गते कालिमाटी प्लाजाबाट बा१२च ६९०७ नम्बरको बलेरोबाट पाँच कार्टुन बिस्कुट, १५ गते स्याउको कार्टुन, चैत ६ गते पार्किङ गरिएको पिकअप भ्यानबाट पाँचपेटी चुरोट, चैत २९ मा कालिमाटी हुँदै एकान्तकुना जाँदै गरेको बा १९ प २१६६ पिकअप भ्यानमा चढी दुई बोरा चामल चोरी गरेको खुलेको छ ।
यसरी नै २७ गते नै बा१६च ५४६२ नम्बरको बलेरो गाडीबाट २० किलो ल्वाङ र १० किलोको सुकमेलको बोरा चोरी गरेका थिए ।
त्यहीदिन कुलेश्वरको एक पसलबाट समेत विभिन्न २५ हजारभन्दा बढीको सामान चोरी गरेको खुलेको छ । यसरी हरिशंकरको समूहले विभिन्न ठाउँमा चोरी गर्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले हरिशंकरलाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि नै खुकुरी प्रहार गर्न खोजेका थिए ।
प्रहरीले तीनदिन अघि हरिशंकर र रोहितलाई खुकुरीसहित पक्राउ गरेको हो । प्रहरीको लामो समयको अनुसन्धान र विभिन्न ठाउँको सीसीटीभी क्यामेराको आधारमा पक्राउ गरेको हो । उनीहरु चोरी गर्न हिँड्दा मोटरसाइकल र स्कुटर प्रयोग गर्ने र नम्बर प्लेटसमेत परिवर्तन गर्ने गरेको खुलेको छ ।
अनुसन्धानमा खटिएका प्रहरीका अनुसार उनीहरु सामान लोड भएको गाडीहरु र पछाडिबाट चढ्न मिल्ने पिकअप भ्यानहरुलाई टार्गेट गर्ने र ट्राफिक लाइटमा रोकिँदा चढेर चोरी गर्ने गरेको खुलेको हो ।
उनीहरुले त्यसरी चोरी गर्दै गरेको सीसीटीभी फुटेजहरुसमेत फेला पारेको छ । प्रहरीले उनीहरुले चढ्ने स्कुटर र बाइकसमेत चोरीको भएको जनाएको छ ।
त्यसरी चोरी गरेका सामानहरु उनीहरुले विभिन्न पसलमा बिक्री गर्ने समेत खुलाएको छ । पक्राउ परेका हरिशंकर र रोहित लागूऔषध समेत प्रयोग गर्ने गरेको खुलेको छ ।
साला भिनाजु नै चोरीमा
हाल कालिमाटी प्रहरीको थुनामा रहेका हरिशंकर र रोहित साला भिनाजु समेत भएको खुलेको छ । रोहितका दुई जना दिदीहरु छन् । कान्छी दिदीका श्रीमान् हरिशंकर हुन् । चोरी गर्न उनीहरु दुवै सालाभिनाजु हिँड्ने गरेको प्रहरीले जनाएको छ ।
जेठी दिदीका श्रीमान् समेत चोरी मुद्दामै जेल पुगेका छन् । यो समूहले काठमाडौंमा दश वर्षअघिदेखि चोरी गर्दै आएको प्रहरीले जनाएको छ । हरिशंकर यसअघि चोरी मुद्दामै पक्राउ गर्न पुग्दा प्रहरीमाथि नै चक्कु प्रहार गरेर जेलसमेत पुगेको खुलेको छ । उनी दुई वर्षअघिमात्रै थुनामुक्त भएको देखिएको छ ।
अहिले पक्राउ गर्दा समेत प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेका थिए । यही समूहका केही आरोपी भने अझै फरार छन् । प्रहरीले उनीहरुको समेत खोजी थालेको छ । यो समूहले काठमाडौंदेखि ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट र काभ्रेसम्म चोरी गर्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ ।