पोखरा । गण्डकीमा सरकार विरुद्ध अविश्वासको प्रस्तावमाथि मतदानका दिन अचानक सम्पर्कविहिन भई चरक अस्पतालमा भेटिएका राष्ट्रिय जनमोर्चाका सांसदलाई आफन्तले नै ‘चलखेल’ गर्न खोजेको निष्कर्ष जनमोर्चाले निकालेको छ ।
जनमोर्चाका सांसद सम्पर्कविहीन, मोबाइल अफ, अविश्वास प्रस्ताव फेल हुने संकेत
वैशाख १५ गते सांसद शाही प्रदेशसभा बैठकमा गएका थिएनन । दिउँसो २ बजेतिर उनको मोबाइल अचानक अफ भएपछि जनमोर्चाकै सांसदको निवेदनको आधारमा संसद् अनिश्चितकालको लागि स्थगित गरिएको छ ।
पछि सम्पर्कमा आएका शाहीले बिहीबार एक विज्ञप्ति जारी गर्दै आफू अचानक बेहोस भएको र पार्टीको केन्द्रिय निर्णयप्रति प्रतिवद्ध रहेको जनाएका थिए ।
आईसीयूमा उपचाररत भनिएका सांसद शाही ह्विलचियरमा देखिएपछि...
शाहीको प्रकरण बुझ्न बिहीबार जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्ट नै पोखरा आइपुगेका छन् । उनीसहित प्रदेशका नेता र अन्य सांसदहरुसँग अहिले भने शाही सम्पर्कमै छन् ।
शाहीले बिहीबार जारी गरेको विज्ञप्तिलाई विश्वास मानेर अगाडि बढ्ने निर्णयमा जनमोर्चा पुगेको हो ।
यसको बारेमा अविश्वास प्रस्तावको पक्षधर तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई बिहीबार बिहान संयुक्त बैठकमा जनमोर्चाले जानकारी समेत गराएको छ ।
तीन दलको संयुक्त विज्ञप्ति : ठूलो संख्यामा सादा पोसाकमा सुरक्षाकर्मी परिचालित हुनुकाे कारण रहस्यमय छ
जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले भने, “चारदलको बैठक बसेको थियो बिहान । हाम्रा माननीयको विज्ञप्ति पनि आएको छ । टिकाटिप्पणी त आइहाल्छन नि । उहाँले पार्टीको निर्णयानुसार नै मत हाल्नुहुन्छ ।”
बरालको बुझाइअनुसार सांसद शाहीलाई पार्टीमा नलागेका तर उनकै आफन्तले ‘चलखेल’ गर्न खोजेका थिए । सांसद शाही चाहिँ बिरामी भएर नै अस्पताल पुगेको उनको भनाइ छ ।
‘अचानक बिरामी’ सांसदको विज्ञप्ति : म बेहोस भएँछु, पार्टी निर्णयप्रति प्रतिबद्ध छु
“उहाँ बिरामी नै भएर बस्नुभएको हो । उहाँको फोनलाई भित्र जाँदा राखिदिए । मोबाइल स्विच अफ भयो । अनि सारा बबण्डर भयो । आफन्तले फोन मिस्प्लेस गरिदिए । फोन स्विच अफ गरिदिए । हामीबीचमा कम्युनिकेसन हुन सकेन । अहिले सम्पर्कमै हुनुहुन्छ,” बरालले बाह्रखरीसँग भने ।
अहिले पनि चरक अस्पतालमा सादा पोशाक र बर्दीधारी सुरक्षाकर्मीको उपस्थिति छ । राजनीतिक मुद्दा भएका कारण नै सुरक्षाकर्मी त्यहाँ भएको हुनसक्ने उनी बताउँछन् ।
“राजनीतिक मुद्दा पनि भयो, प्रहरी पनि छन् । उनीहरु पनि डराए होलान् । जो आफन्त हुन, जो हाम्रो पार्टीका छैनन्, उनीहरुले चलखेल गर्न खोजेका हुन् । हामीलाई बदनाम गर्न खोजेको हुन्,” उनले भने ।
सांसद शाही पछिल्लो समय निरन्तर सम्पर्क र संवादमा रहेको बरालले बताए ।
“टाढाबाट उहाँको अवस्था हेरेँ, फोनमा कुराकानी गरेँ, उहाँले आफ्ना कुरा स्पष्ट राख्नुभएको छ,” उनले भने ।
बिहीबारको बैठकमा जनमोर्चाबाट केन्द्रीय महासचिव मनोज भट्ट, शंकर बराल र सांसद पियारी थापा सहभागी थिइन् । दलका नेता कृष्ण थापा भने बैठकमा अझै उपस्थित भएका छैनन् ।
वैशाख २ मा तीन दलको लिखित हस्ताक्षर र जनमोर्चाको अलिखित समर्थनमा सरकार विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।
यसमाथि १३ गतेदेखि विशेष अधिवेशनमा छलफल सुरु भएको थियो । अन्तिममा जनमोर्चाका सांसद खिमविक्रम शाही तत्कालका लागि सम्पर्कविहीन भएपछि सदन अनिश्चितकालका लागि स्थगित छ ।
अब प्रदेशसभा बैठक कहिले हुन्छ त ?
मंगलबार शाही हराएको निवेदनको आधारमा प्रदेशसभा अन्त्य गरेर निस्केका सभामुख नेत्रनाथ अधिकारीको मोबाइल भने अफ छ ।