site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा कांग्रेसको प्रदेश समिति र शेखर पक्षको समानान्तर कार्यक्रम

विराटनगर । कोसी प्रदेशमा नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षले प्रदेशभरका १३७ पालिका सभापतिको भेला बोलाएको छ । मंसिर १८ गते गर्ने घोषणा गरिएको भेलाको तयारी सुरु भइसकेको नेताहरूले बताएका छन् । भेलाको नारा दिइएको छ– ‘संगठनभित्र सक्रियतासहितको हार्दिकता, एकता र पहिचान : लोकतान्त्रिक पद्धतिमा विधि र विधानको कार्यान्वयन ।’

प्रथम प्रदेशस्तरीय पालिका सभापति भेलाको खुला सत्र विराटनगरको जैन भवनमा मंसिर १८ गते दिउँसो १ बजेदेखि सुरु हुने तय गरिएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता कोइराला प्रमुख अतिथि छन् । आयोजक मोरङका सत्र पालिका उल्लेख गरिएको प्रचार सामग्री सामाजिक सञ्जालहरूमा देख्न सकिन्छ ।

कार्यक्रमको स्थानीय संयोजक नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंले कार्यक्रम नगर्न दबाब आएको तर कार्यक्रम तय भइसकेकाले नरोकिने बताए ।

Dabur Nepal
NIC Asia

“पार्टीको सुदृढीकरणका लागि नै कार्यक्रम गर्ने हो । यस्ता कार्यक्रम नगर्नू भनेर विधानले रोकेको छैन । विधानले रोक्न मिल्ने ठाउँ छैन । पार्टी संगठनकै काम हो । पार्टी र कार्यकर्तालाई जागरुक गराउने उद्देश्यका साथ पार्टीले गर्नुपर्ने काम पालिकाहरूले गरेको हो,” उनले भने ।

पूर्वानिर्धारित कार्यक्रम रोक्न कांग्रेसको केन्द्रीयस्तरका नेताबाट दबाब आएको सभापति चापागाईंले सुनाए ।

“केन्द्रीय सभापतिज्यूको कार्यक्रमलाई असर गर्ला कि भन्ने पिर हुन सक्छ । केन्द्रबाट टेलिफोन पनि आयो । तर, यो कार्यक्रमले पार्टीलाई के घाटा भएको छ र ? भनेर मैले प्रश्न सोधेँ,” चापागाईंले बाह्रखरीसँग भने ।

नेपाली कांग्रेस प्रदेश समितिले बुधबार मंसिर २१ गते पार्टी सभपाति शेरबहादुर देउवाको प्रमुख अतिथ्यमा प्रदेश भेला आयोजना गर्ने घोषणा गरेको छ । नेपाली कांग्रेसको प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ ।

विराटनगरस्थित कांग्रेसको प्रदेश समिति कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको प्रदेश समिति सभापति उद्धव थापाले कार्यक्रमको तयारीस्वरूप आठवटा उपसमिति गठन भइसकेको जानकारी दिए ।

अर्को पक्षले पनि त्यस्तै प्रकृतिको कार्यक्रम विराटनगरमै गर्न लागेको विषयमा सोधिएको प्रश्नमा थापाले कांग्रेसको प्रदेशस्तरीय संगठनलाई क्रियाशील, सुदृढ, चलायमान र थप जिम्मेवार बनाउनका भेला आयोजना गरिएको बताए ।

“पार्टीको गतिविधि प्रदेशस्तरमा प्रदेश समितिले गर्ने हो । तर, अरू ढंगले पनि पार्टीसँग सम्बन्धित गतिविधि गर्न नपाइने भन्ने छैन,” थापाले भने ।

प्रदेशको भेलामा राजनीतिका, आर्थिक र सांगठनिक प्रतिवेदन पेस हुने र पारित भई त्यसकै कार्यदिशाअनुरूप प्रदेश समिति अघि बढ्ने उनको भनाइ थियो । प्रदेश समितिले पुस १६ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर नेपालकै होचो भाग झापाको केचनाकवलबाट सबैभन्दा अग्लो सगरमाथासम्म 'जनजागरण अभियान' सञ्चालन गर्ने घोषणा समेत गरेको छ ।

सभापति थापाले भने, “रोजगारी उद्यम, कृषि, रहनसहन आदि र पार्टी जीवनसँग जोडिएका विविध पक्षलाई अध्ययन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो ।”

यो अभियान सोलुखुम्बुमा पुगेर समापन हुने उनले बताए । नेपाली कांग्रेस प्रदेश समितिमा महामन्त्री भुपेन्द्र राईले पार्टीको नियमिति गतिविधिको रूपमा भेला आयोजना गरिएको भन्दै जनगागरण अभियानलाई विशेष महत्त्व दिइएको बताए ।

उनले भने, “तल पार्टीका कार्यकर्ता र संगठनको अवस्था बुझ्न यो अभियान सहयोगी हुने छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  २०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro