काठमाडौं । नेपाली चलचित्र उद्योगले करिब आधा शताब्दी लामो यात्रा तय गरे पनि उल्लखनीय उपलब्धि हासिल गर्न सकेको छैन । संख्यात्मक रूपमा चलचित्रको संख्या ठूलो भए पनि गुणात्मकतामा फड्को मार्न सकेको छैन । यसको कारणबारे खासै बहससमेत हुने गरेको छैन । एकाध फिल्म फेस्टिभलको डिस्कसन फोरममा यसबारे छलफल चलाए पनि ती कर्मकाण्डीमात्रै हुने गरेको चलचित्रकर्मीहरुले नै बताउँदै आएका छन् ।
नेपाली चलचित्र उद्योगमा के कमजोरी भयो ? जसका कारण अपेक्षित विकास हुन सकेन ? निर्देशक तथा समीक्षक मनोज पण्डित नेपाली चलचित्रको इतिहासमा थुप्रै कमजोरी भएको बताउँछन् । त्यही कमजोरीले चलचित्र क्षेत्रमा गुणात्मक विकास र विस्तार हुन नसकेको उनको ठम्याइ छ ।
पहिलो नेपाली भाषाको चलचित्र नै हिन्दीको ‘सत्यहरिश्चन्द्र’ नेपालीमा रूपान्तरण गरिनुले भारतीय सिनेम्याटिक ल्यांग्वेजको बीजारोपण भएको र त्यही नै नेपाली चलचित्रका लागि ठूलो गल्ती भएको उनी बताउँछन् ।
“त्यहीबेला टिपिकल नेपाली चलचित्र बनेको भए, सायद आजसम्म त्यही अवस्था रहिरहने थिएन । जग बसाल्दै गल्ती भएपछि समस्या पछिसम्म रह्यो,” उनले भने ।
त्यसपछि नेपाली भूमिमा बनेको पहिलो चलचित्र ‘आमा’ भक्तिभावलाई केन्द्रमा राखेर निर्माण गरिएको र त्यसले चलचित्र भनेकै भक्तिप्रधान हुनुपर्छ भन्ने सन्देश दिएको उनको बुझाइ छ । चलचित्र शिक्षा र मनोरञ्जनको माध्यम हो भनेर विश्वभर चलचित्र बनिरहेका बेला नेपालमा भने सुरुदेखि नै पक्षपोषण गर्नुपर्छ भनेर भन्न थाल्नु र चलचित्रले आदर्शलाई ‘गाइडलाइन’ बनाएर अगाडि बढ्नु अर्को गल्ती भएको उनको बुझाइ छ ।
“पछिसम्म पनि चलचित्र बनाउने नै आदर्शका लागि हो भन्ने मानक स्थापित गर्दैगयो,” उनी भन्छन्, “लिट्रेचरमा चलचित्र बन्न थालेपछि यो समस्याको अन्त्य हुन्छ कि भन्ने थियो । तर, आदर्शप्रधान साहित्यमै चलचित्र बनेपछि समस्याको समाधान भएन ।”
‘परालको आगो’, ‘मनको बाँध’, ‘कुमारी’, ‘सन्तान’लगायत चलचित्रले सामाजिक मूल्य–मान्यतालाई आदर्श बनाएर अगाडि बढेको उनको भनाइ छ ।
फिल्ममेकरहरु भारतबाट ल्याएर चलचित्र बनाइनु अर्को कमजोरी भएको मनोजको ठहर छ । नेपाली मूलका तर सिनेम्याटिक ल्यांग्वेज भारतका भएका मेकरलाई ल्याइनु अर्को ठूलो कमजोरी भएको उनी बताउँछन् । मुम्बईमा प्रशिक्षित प्रवासी नेपालीलाई नेपाली चलचित्र बनाउन दिएका कारण उनीहरुले बलिउडका चलचित्रकै जग नेपाली चलचित्रमा बसाउनु नै नेपाली चलचित्र उद्योगका लागि दुर्भाग्य भएको उनको भनाइ छ ।
“हिरासिंह खत्री, प्रकाश थापाजस्ता प्रवासी नेपालीलाई भित्र्यााउनु नै ठूलो कमजोरी थियो,” मनोज भन्छन् ।
सरकारले कोलम्बो प्लानअन्तर्गत प्राविधिक शिक्षाको अध्ययनका लागि विश्वका विभिन्न देशमा आफ्ना नागरिकलाई पठाउने निर्णय गर्यो । तर, चलचित्रको अध्ययनका लागि भने सरकारले भारतको एनएसडीपठायो । “अध्ययनका लागि एफटीआईआई पठाइनु त सकारात्मक हो । किनभने, चलचित्रमा दक्ष जनशक्ति तयार भयो । तर, त्यसले पुनः नेपाली चलचित्रमा भारतकै वर्चश्व स्थापित गर्न मद्दत गर्यो,” मनोज भन्छन्, “राजनीतिमा भारतलाई जसरी बिग ब्रदर मानिन्थ्यो, यसले चलचित्रमा पनि भारतलाई नै बिग ब्रदर मान्ने वातावरण पुनरावृत्त गरिदियो ।”
एफटीआईआईबाट आएका अधिकांशले निर्देशकहरुले भारतीय मनोविज्ञानबाटै नेपाली चलचित्र बनाउँदा नेपाली चलचित्रले आफ्नोपन पाउन नसकेको उनको बुझाइ छ । यसको शृंखला लामो समय चल्दा साँचो अर्थमा नेपाली चलचित्र निर्माण नै नभएको उनी बताउँछन् ।
राजा महेन्द्रको अवधारणामाराजा वीरेन्द्रले शाही नेपाल चलचित्र संस्थानको गठन गरे । तर, त्यसमा चलचित्र विज्ञहरुभन्दा पनि राजसंस्थाको वरपर रहेका व्यक्तिहरु बसे । चलचित्रकर्मीहरुभन्दा पनि यसमा साहित्यकारहरु धेरै बसे । यही कारण संस्थानले पञ्चायतको पक्षपोषणमा आफ्नो समय खर्चिएको मनोज जिकिर गर्छन् ।
प्रजातन्त्र आएपछि यसलाई निजीकरण गर्नु अर्को दुर्भाग्य भएको उनको मूल्यांकन छ । “एनएफडीसीलाई प्रजातान्त्रिकरण गर्दै त्यसलाई स्वतन्त्र रूपमा काम गर्न दिएको भए त्यसले नेपाली चलचित्र क्षेत्रमा ठूलो योगदान गर्नसक्ने सम्भावना रहन्थ्यो,” उनी भन्छन् ।
प्रजातन्त्रको स्थापनापछि गठन भएको चलचित्र विकासबोर्डलाई राज्यको साधनका रूपमा मात्रै राख्ने मनोविज्ञानबाट निर्देशित गएर गठन गरिनु पछिल्लो समयको अर्को कमजोरी भएको र यही गल्तीको परिणाम अहिले नेपाली चलचित्र उद्योगले भोगिरहेको मनोज बताउँछन् । राज्यको भूमिका चलचित्रलाई नियन्त्रण गर्ने र त्यो निकाय विकास बोर्ड हुने भन्ने मनोविज्ञानबाट निर्देशित हुनु नै गलत निर्णय थियो भन्ने उनको बुझाइ छ ।
“यसले चलचित्रलाई कला र सिर्जनाभन्दा पनि वस्तुका रुपमा हेर्ने र त्यहीअनुसारको व्यवहार गर्ने दर्शनबाट अभिप्रेरित हुनु नै कमजोरी थियो,” उनी भन्छन्, “सरकारले चलचित्रलाई प्राज्ञिक तथा कला–साहित्यको बहस र विकास गर्ने संस्थाको रुपमा बोर्डलाई अधिकारसम्पन्न बनाउनुपथ्र्यो, जुन गरेन ।”
५० को दशकमा असिस्टेन्ट डाइरेक्टरहरु निर्देशकमा रूपान्तरण हुुनु नेपाली चलचित्रले फड्को मार्न नसक्नुको अर्को कारण भएको मनोजको जिकिर छ । भारतबाट पढेर आएका निर्देशकहरुको असिस्टेन्ट गरेका व्यक्तिहरु नै ५० को दशकमा निर्देशक हुने लहर चलेको र त्यसले नेपाली चलचित्रलाई थप धराशायी बनाएको उनको बुझाइ छ । “कम्तीमा भारतबाट पढेर आएकासँग चलचित्रको ज्ञान त थियो । तर, उनीहरुका असिस्टेन्टहरु, जो सुटिङ देखेकै भरमा र निर्देशकलाई सहयोग गरेकै भरमा निर्देशक बने, त्यसले नेपाली चलचित्रको स्तरमात्रै खस्किएन, बलिउडको सिनेम्याटिक ल्यांग्वेजलाई निरन्तरता पनि दिइरह्यो,” उनी भन्छन् ।
निर्देशक दीपक रौनियार नेपाली चलचित्र उद्योग विनायोजना अगाडि बढिरहेको बताउँछन् । “न यो पहिला थियो, न अहिले नै छ,” उनी भन्छन्, “लाजमर्दो कुरा त के छ भने पञ्चायत ढलेको तीन दशक नाघ्यो । तर, हामी पञ्चायतले बनाइदिएको कानुन र ऐनमा बसेर काम गरिरहेका छौँ ।”
महेन्द्रले सोचेको विचारमा अहिले पनि हिँड्नु नेपाली चलचित्रकै लागि विडम्बना भएको उनको बुझाइ छ । “अहिले पनि हामीले सोचे र खोजेअनुसारको कानुन बनाउन सकेका छैनौँ । अहिलेको ग्लोबल एजमा छिमेकी भारत र चीनसँग को–प्रोडक्सन टीटी छैन,” उनी प्रतिप्रश्न गर्छन्, “पोलेसी नै छैन भने योभन्दा ठूलो कमजोरी के हुन्छ ?”
अहिलेसम्म जेजति विकास भएको छ, त्यो व्यक्तिगत प्रयासमा भएको उनी बताउँछन् । सरकारी तवरबाट सहयोग नै नभएको उनको गुनासो छ ।
“निश्चल बस्नेतले लुट बनाएपछि नेपाली चलचित्रले कोल्टे फेर्यो । हामी केही मेकरले बनाएका चलचित्रले बाहिर एक्स्पोजर पाए । यसले विदेशी फिल्म कम्पनीको ध्यानाकर्षण गर्यो । तर, यसमा पोलेसी लेवलमा काम भएको खोइ ?,” दीपक भन्छन्, “हामी नकमाउनुपर्ने चलचित्रले पैसा कमायो भनिरहेका छौं । तर, दर्शकको टेस्ट परिवर्तन गर्न पोलेसीको तहमा के काम गर्यौँ? हाम्रो न सिनेमा म्युजियम छ, न आर्ट सिनेमा थिएटर छ ।”
चलचित्रदेखि वितरण र सिनेमा घरसम्ममा भएको परिवर्तन व्यक्तिगत तहमा मात्रै भएको भन्दै दीपक यसमा सरकारी नीति नहुनु नै सबैभन्दा ठूलो कमजोरी भएको बताउँछन् । अझै पनि चाहेको अवस्थामा यसमा काम गर्न सकिने उनको धारणा छ ।
चलचित्र विकास बोर्डलाई अधिकारसम्पन्न स्वायत्त संस्था बनाउनुपर्नेमा त्यसो नगरिनु अर्को गल्ती भएको उनी बताउँछन् । बोर्डले बनाएको ऐन पास नगरेर सरकारले चलचित्र क्षेत्रको विकास र विस्तार रोकेको उनको बुझाइ छ ।
राजनीतिक हस्तक्षेबाट मुक्त गर्दै बोर्डमा राजनीतिक पहुँचभन्दा पनि दक्षताका आधारमा अध्यक्ष चयन नगरिनु सरकारको कमजोरी रहेको दीपकको भनाइ छ ।
“एक्पेरिमेन्ट गर्ने मेकरलाई संस्थागत सहयोगको नीति नहुँदा यस्ता निर्देशकहरु बजेटको अभावमा पटक–पटक काम देखाउने अवसर पाइरहेका छैनन्,” दीपक नेपाली चलचित्र उद्योगका समस्या पर्गेल्छन्, “नवीन सुब्बाले बनाएको चलचित्रले नयाँ आयाम दियो । तर, त्यसपछि अर्को चलचित्रलाई फाइनान्सरका लागि कति समस्या छ । निश्चलको दोस्रो चलचित्र नचल्दा उसलाई के समस्या छ, उसैलाई थाहा होला । रामबाबु गुरुङलाई पनि एकपछि अर्को फिल्म फाइनान्स गर्न कति गाह्रो छ, थाहा छ । निश्चल र रामबाबुले नेपाली फिल्मको ट्रयाक चेन्ज गराए । तर, उनीहरुको व्यक्तिगत प्रयासले गरे ।”
विकेन्द्रीकरणको अवधारणामा गएपछि हरेक प्रदेशले आ–आफ्नो तरिकाले चलचित्रलाई सहयोग गर्नसक्ने तर त्यो नीति नै नरहनु अहिले भइरहेको अर्को कमजोरी औँल्याउँछन् दीपक ।
कलाकार दीपकराज गिरी कथावाचनको आफ्नै शैली विकास गर्न नसक्नु नै नेपाली चलचित्रको गुणात्मक विकास हुन नसक्नुको मुख्य कारण भएको जिकिर गर्छन् । “नेपाली चलचित्रको पुरानो मात्रै होइन, अहिलेको समस्या पनि यही नै हो,” दीपक भन्छन्, “कथा भन्ने हाम्रो कथ्य शैली हामीले सधैँ अरुबाट ग्रहण गरिरहेका छौँ । अरुको शैली लियौँ, यो नै गलत भयो ।”
नेपाली चलचित्रको कथा हलिउड र बलिउड शैलीमा भन्न आवश्यक नरहेको उनको भनाइ छ । आफ्नै मौलिक शैली निर्माण गर्न नसक्नु नै नेपाली चलचित्रको कमजोरी रहेको बताउँदै उनी भन्छन्, “नेपालमा लामो समय बलिउडका फोटोकपी चलचित्र बने । अहिले पनि हामी कहीँकतैबाट प्रभावित चलचित्र बनाइहेका छौँ ।”आफ्नो कथा आफ्नै शैलीमा भन्न नसक्दासम्म नेपाली चलचित्रले गुणात्मक रूपमा फड्को मार्न नसक्ने उनको बुझाइ छ ।
कम बजेटमा चलचित्र निर्माण हुँदा, जोकसैले पनि चलचित्र बनाउँदा यसको स्तर खस्किएको उनको ठम्याइ छ ।व्यावसायिकभन्दा पनि गैरव्यावसायिक व्यक्ति मेकरका रूपमा सहजै प्रवेश पाउने अवस्था रहनु पनि चलचित्रको गुणात्मक विकास नहुनुको कारण रहेको उनी खुट्ट्याउँछन् ।
राम्रा भनिएका मेकहरुका चलचित्र नै भारतीय चलचित्रबाट कपी हुनु र उनीहरुका चलचित्र क्रमशः अब्बल हुँदै जानुपर्नेमा उल्टो कमजोर हुँदै गएको निर्देशक सम्झना रौनियार सुनाउँछिन् । “भारत नजिक भएर अरु कुरामा जस्तै चलचित्रमा पनि बलिउडबाटै हामी प्रभावित भएका हौँला । हामीले हाम्रा भनेर निर्माण गरिएका चलचित्रमा पनि हाम्रो मौलिक पन दिएकै छैनौँ,” सम्झना भन्छिन्, “डाइङ क्यान्डललगायत केही चलचित्र नबनेका होइनन् । तर, तिनले बजार पाउन सकेका छैनन् । यस्ता चलचित्रका लागि संस्थागत सहयोगको अवधारणा पनि आएको छैन ।”
आफ्नै देशको कथावस्तु नेपाली मेकरले खोज्न नसकेको र नेपाली चलचित्र अपेक्षित बलियो हुन नसक्नुको कारण पनि यही नै रहेको उनको बुझाइ छ । अहिले पनि हलिउडका थुप्रै चलचित्रको काम नेपालमै भइरहेको भन्दै नेपालमा योजना र नीतिगत अभावको खडेरी हुनु नै नेपाली चलचित्र दशकौँसम्म यथास्थितिमा रहनुको मुख्य कारण भएको सम्झनाको ठम्याइ छ ।
एफटीआईआई हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ ।