काठमाडौं । नेपालको पहाडि भेगमा पाइने हरियो मकै काठमाडौंका ‘डिमान्डेड स्ट्रिट’ फुडमध्ये एक बनिसकेको छ । विशेषगरि काठमाडौंका व्यस्त सहरका सडकपेटिमा आगो र धुवाँको रापमा पोलेको मकै खानेको लर्को नै लाग्छ ।
चैत वैशाखको चर्को घाम होस वा असार साउनको झमझम पानी परिरहेको मौसम सडकपेटिमा पोलिएको मकै खानेहरु सधैं उत्तिकै हुन्छन् ।
पोलेको मकैको रुपमा काठमाडौंका सडकपेटिमा भित्रिएको त्यही हरियो मकैलाई पछिल्लो समय काठमाडौं सहरले नयाँ स्वाद र भेराइटीमा अझै व्यवस्थित तरिकाले पस्किन थालेको छ ।
तपाईंले मकैको चिया, मकैको मम, पिज्जा, पकौडा खानुभएको छ ? यदि छैन र खान चाहनु हुन्छ भने हामी तपाईंलाई यी परिकार पाइने काठमाडौंका दुई मकै घरमा लैजादै छौं ।
पश्चिमी परिकारको स्वादको बानी जिब्रोमा बसाइसकेका काठमाडौंबासीलाई नेपालको लोकल हरियो मकैको स्वादको बानी बसाउने यात्रामा ‘ठेट्नो मकैघर’ र ‘मकै घर’ लागि रहेका छन् ।
ठेट्नो मकैघर
वर्षातको महिना थियो । बिपिन कँडेल आफ्ना इन्जिनियर साथीहरुसँग बसेर चिया पसलमा चियाको चुस्किसँगै गफिरहेका थिए ।
बाहिर पानी सिमसिम परिरहेको थियो । पसलकै अगाडि बाटोको छेउमा एकजना आमा छाता ओढेर मकै पोलिरहेकी थिइन् ।
त्यसकै छेउमा छाता ओडेर मकै लिन कुरिरहेकाहरु पनि थिए ।
त्यस्तो पानी परिरहँदा पनि मकै पारखीहरुको संख्या उत्तिकै थियो । साथै ती आमाको मेहेनत पनि । सिमसिम परेको पानीसँग चिसो हावाले ती आमालाई जिस्काइरहेको थियो । तर पनि उनी धुवाँ, हावा, पानीको पर्वाह नगरि छाता ओढ्दै ग्राहकको चाहना पूरा गरिदिन तल्लिन थिइन् । ग्राहकको चाहनाका साथै ती आमाको आफ्नै र परिवारको चाहना अनि कति सपना पनि जोडिएको होला ।
त्यो दृश्यले चिया पिउँदै गरेका ती इन्जिनियर समूहको ध्यान तानिरहेको थियो । उनीहरु मकै पोल्ने मेसिन भए कति सजिलो हुन्थ्यो भन्दै एकआपसमा कुराकानी गर्न थाले । चिया पसलमा भएको त्यो कुराकानी साथीहरुले त बिर्से होलान् तर बिपिनको मानसपटलमा त्यो कुरा घुमिरहयो ।
“सायद साथीहरुले त्यो बेलाको हाम्रो कुराकानी बिर्से होलान् । तर मेरो दिमागमा भने त्यो कुरा घुमिरहयो । नयाँ बानेश्वरस्थित संगमचोकमा अवस्थित ‘ठेट्नो मकैघर’को पहिलो आउटलेटमा बसेर उनी यसको जन्मको बेलिबिस्तार यसरी लगाइरहेका थिए “त्यसपछि मैले युट्युबमा मकै पोल्ने मेसिनबारे सर्च गर्न थालेँ । तर मैले हाम्रो नेपाली शैली (आगो) मा पोल्ने मेसिन देखिन ।”
त्यसपछि जन्मियो मकै पोल्ने मेसिन । बिपिनले सधैं गरिरहेको काम भन्दा किन केही फरक नगर्ने त भन्ने सोचसहित आफ्नो अध्ययनलाई प्राक्टिकल रुपमा परिणत गर्दै आफै बनाए मकै पोल्ने मेसिन । जसमा उनले अन्य केही इन्जिनियर साथीहरुको सहयोग पनि लिए । नेपाली स्वाद र स्मोकी फ्लेवर दिने कोइलाबाट चल्ने यो मेसिनको क्षमता एकपटकमा १० वटा मकै पोल्न सकिन्छ । भने मेसिनको सबै सिस्टम बिजुलीबाट चल्छ ।
सुरुमा बनाउँदा त्यसको कन्सेप्ट त्यति ठूलो थिएन । भोलिको दिनमा मकै बिक्री पनि होला अथवा एउटा पूर्ण रेस्टुरेन्ट बनाउँला वा मकै पोलेर डेलिभरी मात्रै गरौंला भन्ने सोचले बनाएको थिएँ । यसैक्रममा अनुसन्धान गरिरहँदा उनले ठूलो लगानीमा मकैको पूर्ण रेस्टुरेन्ट भेटेनन् । त्यसपछि उनले आँटेर मकैको मात्रै परिकार पाइने ‘ठेट्नो मकैघर’ सञ्चालनमा ल्याए ।
नेपाली फुड र प्रविधिको मिश्रण यहाँ पोलेको मकैको ४,५ वटा भेराइटी पाइन्छ ।
जसमा सडक छेउछेउमा पाइने नेपाली स्वादमा आगोमा पोलेको मकैमा नुन र हरियो खुर्सानीको पेस्ट, मोही, कागती, मह र चिज अनि बटरसँग सर्भ गरिन्छ । त्यस्तै नेपाली टिपिकल स्वाद उसिनेको मकैमा, मकै चटपटे, मकै साँदेको, मकै सलादलगायतका भेराइटि चाख्न सकिन्छ । यस्तै नेपाली स्वादकै कुरा गर्नुपर्दा मकै पकौडा, मकै खीर, मकैको रोटि र आलुतामा पनि यहाँ चाख्न सकिन्छ । नेपाली मकैमा पश्चिमी स्वादको फ्युजनमा यहाँ क्रिस्पी कर्न, पोटेटो कर्न ब्रेड, कर्न कवाब आदि पाइन्छ ।
एकजना व्यक्ति आफ्नो गोजीमा सय रुपैयाँ बोकेर गयो भने उसले पेय पदार्थको स्वाद लिएर मकैको कुनै एउटा परिकार पेटभरि चाख्न सकिने बिपिन बताउँछन् । नेपाली स्वादलाई प्रमोट गर्ने उद्देश्यका साथ अघि बढिरहेको ‘ठेट्नो मकैघर’ मा ड्रिक्समा कोकाकोला जस्ता बाहिरी पेय पदार्थ नभइ दही, मोहीलाई प्रमोट गरिएको छ ।
यहाँ ७० रुपैयाँदेखि तीन सयरुपैयाँसम्मको मकैको थरिथरिको परिकार चाख्न सकिन्छ । विश्वभरी नै पाइने र चाखिने मकै स्वाथ्यको हिसाबमा पनि फाइदाजनक छ । त्यसैले पनि यहाँको रेगुलर ग्राहकमा हेल्थ कन्सियसहरू पर्दछन् । तर केही नयाँ स्वाद चाख्नेहरु पनि यहाँका ग्राहक हुन् ।
ग्राहकको धेरै रोजाईमा पर्ने यहाँको परिकारमा मकै मम र मकै घर स्पेसल कम्बो हो । मकै मम भित्र पनि तीन थरी भेराइटी पाइन्छ । जसमा स्टिमको १०० र कोथे अनि साँदेको भने १५० रुपैयाँ पर्दछ ।
त्यस्तै यहाँको कम्बो सेट भने २,३ जनाको समूहमा आउनेको रोजाइमा पर्दछ । जसमा तीनसय रुपैयाँमा मम, मकै कबाब, पपकर्न ब्रेड, मकै पकौडा र मम साँदेको स्वाद यो सेटमा चाख्न सकिन्छ । यहाँ पाइने मकैको स्वाद मकैको खोस्टाले नै बुनेका चकटिमा बसेर लिन सकिन्छ ।
वर्ष २०७८ को जेठ महिना आएपछि उनको यो नयाँ कन्सेप्टले दुईवर्ष प्रवेश गर्छ । तर यो छोटो समयमै उनले काठमाडौंमै सिभिल मलमा एउटा नयाँ आउटलेट खोलिसकेका छन् । भने भैरहवाको बुद्ध चोकमा फ्रेन्चाइज सुरु गरिसकेका छन् । बिपिन एक्लैले सुरु गरेको यो व्यवसायमा अहिले अरु २,३ जना साथीहरुको हात पनि जोडिएको छ ।
मकै घर
बानेश्वरस्थित बागमती करिडोरमा अवस्थित सिम्रिक एयरको रोड पारि सानो चिटिक्क परेको गाँउले झल्को दिने दुईतले घर छ । रातो माटो जस्तै देखिने गरि पोतेको आँगनमा ढिकी, ठेकी, जाँतो, हलो अनि बार्दलीमाथि मकैका झुत्ताहरु झुन्ड्याइएका छन् । भने बत्तीलाई स–साना डोको अनि मकैका झुत्ताहरुले सजाइएको देख्न सकिन्छ ।
त्यसकै बाहिरपट्टि मकैको चित्रमाथि ‘मकै घर’ भनेर लेखिएको छ । यो यहि कात्तिकदेखि सञ्चालनमा आएको निर्माता थम्मन कुमार भण्डारीको ‘मकै घर’ हो । प्युठानका भण्डारीले आफ्नो जन्मघरलाई काठमाडौंमा ल्याउने जमर्को गरेका छन् ।
उनी भन्छन्, “मैले मेरो प्युठानको घरलाई ठ्याक्कै सार्न त सकिन । तर त्यही स्वरुपमा बनाउन खोजियो । फिल्मसँग जोडिएको भएर होला सायद । ठ्याक्कै त्यस्तै छैन । प्युठानको बनावटि घर हो यो । आफ्नै घर त ल्याउन सकिन ।”
औपचारिक रुपमा सञ्चालनमा आएको पाँचमहिना मात्रै भए पनि भण्डारीले यसलाई गत वर्षको फागुनमा नै ल्याउने सोचेका थिए । तर कोरोनाले करिब ८ महिना पछि धकेलिदियो ।
प्युठानको घर मात्रै होइन उनले प्युठानको सेतो मकैलाई पनि यहाँ ल्याएर मकैका विभिन्न परिकारहरु पस्किरहेका छन् ।
यहाँ मकै साँदेको, भुटेको मकै, बेबी कर्न, चिल्लीलगायतका मकैका परिकार चाख्न पाइन्छ । यसका साथै ‘मकै घर’ को स्पेशल भनेको मकैको रोटी सेट, मकैको आटो सेट (लन्च, डिनर र ब्रेकफास्ट) तीन समयमै पाइने हो ।
जसमा तपाईंले थकाली खाना सेट जस्तै टिपिकल स्वादको यो सेट चिकेन, लोकल चिकेन, मटन, भेजमध्ये आफ्नो रोजाईमा चाख्न सक्नुहुन्छ ।
फरक भनेको यसमा भातको साटो मकैको रोटी दिइन्छ । ‘मकैको रोटी सेट’ १८० देखि ३९० रुपैयाँसम्म पर्छ भने ‘मकैको आटो सेट’ २५० देखि ४०० पर्दछ ।
‘मकै घर’ को स्पेशलका साथै यहाँ नेपाली र ईटाली स्वादको फ्युजनको मकै पिज्जा पनि ग्राहकको रोजाइमा पर्ने परिकार भएको भण्डारी बताउँछन् । मकै पिज्जामा पनि चिकेन र भेज पाइन्छ । यो पिज्जामा मैदाको नभइ मकैको पिठोको प्रयोग गरिएको हुन्छ । चार सय रुपैयाँमा यहाँको स्वादिष्ट मकै पिज्जाको मजा लिन सकिन्छ ।
हुन त यहाँ मैदाका अन्य परिकार मम, चाउमिन, रोललगायतका परिकारहरु पनि छन् । तर यी परिकारहरु मकै घर आइसकेका ग्राहकलाई रित्तो नफर्काउने उद्देश्यले मात्रै राखिएको भण्डारी बताउँछन् । “हामीले सकेसम्म लोकल स्वाद नै दिन खोजौं भन्ने थियो । तर कोही कोही ग्राहक मम, चाउमिन नै माग्नु हुन्छ । त्यसैले उहाँहरुलाई रित्तो नफर्काउँ भनेर हामीले यी परिकारहरु पनि राखेका छौँ ।”
मकैको अझै अरु परिकार ल्याउने तयारी गरिरहेको ‘मकै घर’ टिमले हालै ‘मकैको चिया’ पनि सर्भ गर्न थालेका छन् । अहिले मकै घरको स्पेशलको रुपमा सर्भ गरिरहेको मकै चिया छिट्टै नै मेनुमै समावेश हुँदैछ ।
मकै घरका संस्थापक भण्डारी भन्छन्, “यहाँ ८० रुपैयाँदेखिको मकैको परिकार चाख्न सकिन्छ । जसमा मकैको चिया, भुटेको मकैलगायत पर्दछन् । हाम्रो अलिकति महंगो भनेको मकैको पिज्जा हो । यसको कारण भनेको मैदालेभन्दा मकैको आटामा चिज धेरै सोस्छ । त्यसैले यो केही महंगो लाग्न सक्छ । तर तपाईंले चाख्नुभयो भने स्वादअनुसार महंगो भयो जस्तो लाग्दैन । सबैभन्दा महंगो भए पनि यसमा हामीले नाफा एकदमै कम राखेका छौँ ।”
उनी मकै घर छिर्नेहरुलाई मकैको पिज्जा भने एकपटक चाख्नै पर्ने परिकार भएको बताउँछन् ।
यसरी जन्मियो काठमाडौंमा प्युठानको ‘मकै घर’
आफूलाई फ्ल्प चलचित्र निर्माताको ‘ट्याग’ दिने निर्माता–व्यवसायी थम्मनको ‘मकै घर’ कुनै पूर्वनियोजित भेन्चर होइन । वैदेशिक रोजगारीदेखि नेपालमै अन्य एक, दुईवटा व्यवसायपछि अन्ततः केही फरक गरौं भन्ने योजनाले चुनेको व्यवसाय हो ‘मकै घर’ ।
उनी बेलिविस्तार लगाउँछन्, “मैले यो मकै घर खोल्छु भनेर खोलेको होइन । सुरुमा सामान्य खाजाघर खोल्ने योजना थियो । विदेशमा १० वर्षजति बसेर नेपालमा चलचित्रमा केही गर्छु भनेर आएको मलाई आफ्नो पहिलो एकल लगानीको चलचित्र ‘पण्डित बाजेको लौरी’ ले मज्जाले होइन, नमज्जाले डुबाएपछि जन्मेको हो । सायदै ‘मकै घर’ नखोलेको भए म आज काठमाडौंमा हुन्न थिएँ ।”
उनी पुनः वैदेशिक रोजगारीकै बाटो पछ्याउँथे । किनभने यसअघि पनि उनले सानो खाजा घरदेखि अलि विस्तारित व्यवसाय अनि अरु व्यवसाय पनि नगरेका होइनन् । तर तिनीहरुले आजको जस्तो छोटो समयमै सफलता त परको कुरा छोटो समयमै बन्द गर्नुपर्ने अवस्था आएका थिए ।
केही फरक गर्ने सोच उनलाई छेवैमा रहेको निर्देशक गणेशदेव पाण्डे र अन्य केही यस्तै फरक गरिरहेका साथीहरुबाट मिलेको हो ।
चियावालामा चियाको चुस्की लगाउँदै सोचिरहेको उनको दिमागमा फुर्यो ।
“गणेश दाइले आफ्नो बाजेको व्यवसायलाई ल्याउनुभयो, छेवैमा कामेश्वर दाइ (कामेश्वर चौरसिया) ले बारा, वीरगन्जतिरको परिकार रोटीलाई ल्याउनु भयो । अनि अरु केही साथीहरुले पनि फरक गरिरहेका थिए,” भण्डारी सुनाउँछन्, “मैले के ल्याउन सक्छु त भनेर यसो सोच्दा ठ्याक्कै दिमागमा क्लिक भैहाल्यो । मेरो घरमा र मैले सानैदेखि खाइरहेको र देखिरहेको मकै छ । रातो विकासे मकैभन्दा मिठो पनि हुने सेतो मकैलाई किन नल्याउनु त भनेर लागेपछि मैले सुरु गरेको हुँ ।”
खानाकै अरु व्यवसायबाट पनि फ्ल्प भैसकेका उनलाई यसले पनि त्यति सफलता दिन्छ होला भन्ने लागेको थिएन । तर उनको सोच विपरीत ‘मकै घर’ ले उनलाई छोटो समयमै नसोचेको सफलता र माया दिएको छ ।
प्युठानकै वातावरण काठमाडौंमा सिर्जना गरेका उनलाई यहाँ आउँदा आफ्नै जन्मिएको घर जस्तो महसुस हुन्छ । त्यसैले त लकडाउनको समयमा उनी एक्लै बन्दै गरेको तर बीचमा रोकिएको आफ्नो यही मकै घरमा आएर दिनभरी बस्थेँ । मकै घरले दिएको सन्तुष्टि र माया उनी खुसी हुँदै यसरी सुनाइरहेका थिए, “एकदिन यहाँ ७७ वर्षको बा लौरो टेक्दै विस्तारै आउनुभयो । उहाँ खुसी हुँदै मकैको रोटी खानुभयो । उहाँ काठमाडौंमा यो गाउँले परिवेश र परिकार देखेर यति खुसी हुनुभयो कि उहाँको खुसी र मायाले हामी पनि खुसी भयौं । रोटी खाँदैगर्दा उहाँले भन्नु भयो, मेरो पाचनशक्ति अलिकति कमजोर छ रोटी थोरै पातलो भए अझै राम्रो हुन्थ्यो कि ।”
बुबा कै सुझाव पछि ‘मकै घर’ पातलो अनि अझै मिठो रोटी पाक्न थालेका छन् ।
थमन ‘मकै घर’ लाई छिटै नै पोखरामा पनि विस्तार गर्ने तयारीमा जुटिसकेका छन् । उनका अनुसार यहाँ बाह्यभन्दा पनि आन्तरिक पर्यटकको ओइरो लाग्छ र उनले खोजेको पनि यही नै हो । बाह्य पर्यटकमा निर्भर हुनुभन्दा आन्तरिक पर्यटकलाई प्राथमिकता दिने उनको योजना छ ।
यसका साथै उनी चलचित्र पेशालाई पनि निरन्तरता नै दिइरहेका छन् । अहिले उनलाई चलचित्रका व्यक्तिहरुसँग छलफल गर्न झन् सजिलो भएको छ । सबै यतै जमघट हुन्छन् । थमनको पाइपलाइन अहिले केही नयाँ चलचित्रहरु छन् जुन चाँडै दर्शकमाझ आउने सम्भावना उनले व्यक्त गरे ।