site stats
बाह्रखरी :: Baahrakhari
देश
अदालतको आदेशपछि मोरङ खेलकुद विकास समिति अध्यक्षमा तामाङको पुनः पद वहाली

विराटनगर । उच्च अदालतको आदेशपछि मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष इन्द्रकुमार योन्जन तामाङ पुनः पदमा फर्किएका छन् । उच्च अदालत विराटनगरको आदेशपछि तामाङले मंगलबार पुनः समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । 

तामाङ २०८० चैत २३ गते चारवर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त भएका थिए । तर, २०८१ भदौ ६ गते प्रदेश खेलकुद विकास बोर्ड, कोसीका सदस्य–सचिव पर्शुराम बस्नेत (कृष्ण)ले उनलाई पदमुक्त गरेका थिए । बस्नेतले आफ्ना निकट राजनीतिक कार्यकर्तालाई नियुक्त गर्न तामाङलाई हटाएको आरोप लागेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

तामाङलाई हटाइएपछि २०८१ माघ १७ गते सामाजिक विकासमन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले सुरज श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो । श्रेष्ठ नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा बस्नेतका नजिकका व्यक्तिका रूपमा चिनिन्छन् ।

पदच्युत भएपछि तामाङले उच्च अदालत विराटनगरमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय राजेन्द्र अधिकारी र केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले तामाङको पक्षमा आदेश जारी गर्दै पूर्वस्थितिमा पुनः बहाली गर्न निर्देशन दिएको थियो ।

अदालतको आदेशअनुसार तामाङले मंगलबार अध्यक्षको कार्यभार पुनः सम्हाले । कार्यभार ग्रहणपछि उनले आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको टिप्पणी गर्दै भने, “अदालतको आदेशले न्यायको जित र कानुनी शासनको प्रमाण दिएको छ । लोकतान्त्रिक व्यवस्थामा न्यायालयप्रतिको जनविश्वास अझ बलियो भएको छ ।”

उनले अब मोरङ जिल्लाको खेलकुद गतिविधिलाई पुनः सक्रिय बनाउने अठोट गर्दै भने, “सबै खेल संघ र खेलाडीहरूसँग सहकार्य गर्दै निष्पक्ष र पारदर्शी ढंगले नेतृत्व गर्नेछु । राजनीतिक हस्तक्षेपबिना समितिको काम अगाडि बढाउने मेरो प्रतिबद्धता छ ।”

यसअघि तामाङले सदस्य–सचिव बस्नेत र बोर्डविरुद्ध अदालतमा अपहेलना मुद्दा पनि दायर गरेका थिए, तर सो मुद्दा अदालतले खारेज गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्