
काठमाडौँ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा भनाइ भाइरल भएको थियो, जुन अझै प्रयोगमै छ, “नेपाली हो नि चान्स पायो कि गर्छ ।” अन्यको हकमा त भन्न सकिन्न, तर खोटाङका मनोज तामाङको लागि यो वाक्य दुरुस्तै मिल्छ ।
२२ वर्षीया तामाङ ३० जनाको टोलीसहित गरुड नामको रकेट बनाइरहेका छन् । विश्वविद्यालयदेखि संस्थाहरुमा इञ्जिनियरिङ विषय पढिरहेका छात्रछात्रा गरुड प्रोजेक्टमा सहभागी छन् । अगष्टदेखि उनीहरु दिनहुँ पुलचोक इञ्जिनियरिङ कलेजमा रहेको वर्कसपमा गई रकेट बनाउने काम गरिरहेका छन् । अमेरिकाको न्यू मेक्सिकोमा हुन लागेको स्पेसपोर्ट अमेरिका कप २०२१ मा सहभागिता जनाउन उनीहरु सो रकेट बनाउन लागेका हुुन् । सेना दिवस नपरेको भए उनीहरुले रकेटको परीक्षण गरिसक्थे । परीक्षणका लागि ठूलो ठाउँ चाहिने भएकाले उनीहरुले सेनालाई भनेका छन् ।
रकेट ८७ इञ्च लामो छ भने ६.१ इञ्च व्यास छ । रकेट इञ्जिनसहित २६ देखि २९ केजी हुनसक्छ । १० हजार फिट माथिसम्म उड्न सक्छ ।
रकेट भन्ने बित्तिकै स्पेसमा उड्ने, चन्द्रमा पुुग्ने या मंगल ग्रह जाने भन्ने धेरैको बुुझाइ छ । तर, यो त्यस्तो खालको नभई विश्वविद्यालयस्तरको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि बनाइएको राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाबीर पुनले बताए । पुनले ‘अमेरिकाको न्यू मेक्सिकोमा आउँदो जुलाईमा हुने विश्वविद्यालय स्तरको अन्तराष्ट्रिय रकेट प्रतियोगितामा भाग लिन जाने हाम्रा भाइ बहिनीहरुले “गरुड” नामक रकेटको सफलतापूर्वक ईन्धन परीक्षण आज राति आविष्कार केन्द्रमा गरे’ भन्दै सामाजिक सञ्जालमा भिडियोसहित लेखेका थिए । सो परीक्षणमा ५ केजी ईन्धन प्रयोग भएको थियो । संसारको सबैभन्दा ठूलो प्रतिस्पर्धाको रुपमा रहेको रकेट प्रतिस्पर्धामा नेपाल पहिलोपटक सहभागिता जनाउँदै छ । यो यात्रा सोचजस्तो सहजै सुरुवात भएको थिएन ।
सन् २०१९ मा तामाङको समूह उक्त प्रतियोगितामा सहभागिता जनाएको थियो । तर, प्रतियोगिताको लागि पठाउनुपर्ने प्राविधिक विवरणमा क्यालकुलेशन गलत हुुँदा उनीहरु प्रतियोगितामा छनौट नै हुन सकेनन् ।
अक्टोबरमा उनीहरुले रकेटको प्राविधिक विवरण पठाएका थिए । जसमा सिमुलेशन र क्यालकुलेश रहेको थियो । रकेट कत्रो छ, कति वेगले उड्छ ? सिस्टमहरु र त्यसले के काम गर्छ ? यी सबै कुरा सिमुुलेशन र क्यालकुलेशनको पाटो हो । यी सबै विवरण पठाएपछि उनीहरु छनोट भएका थिए । ६० देश सहभागी हुने प्रतिस्पर्धामा १५० भन्दा बढी टिम सहभागी हुँदैछन् । “यो स्पेसएक्स जस्तो ठुलठूला कम्पनीले आएर प्रतिभा खोज्ने प्लेटफर्म हो,” तामाङ सुनाउँछन् । इलन मस्कको कम्पनी स्पेसएक्सले सफलतापूर्वक रकेट परीक्षण गरेर नासा जस्तो सरकारी संस्थालाई पछि पारिदिएका थिए ।
तामाङलाई स्पेसमा केही गर्नुपर्छ भन्ने सोच थियो । टिम खोजिरहेका थिए । आफूजस्तै रकेटमा रुचि लाग्ने उनले अन्य ३ साथी भेटे । चारजनाको समूहले ओरस नेपाल नामक समूह बनाएर रकेटमा काम गर्न अभिरुचि लाग्नेलाई आह्वान गरे । देशभरिबाट आएको आवेदनका आधारमा अहिले उनीहरुको ३० जनाको समूह छ । सोही समूहले गरुडा रकेट बनाएको हो । उनीहरुले डिजाइनको पाटो अगस्ट देखि नै सुरु गरेका थिए । यो सलिड साउन्डिङ रकेट हो । साउन्डिङ रकेट स्पेसमा जाँदैन, वायुमण्डलमै रहेर अनुसन्धान गर्न मिल्ने हुन्छ ।
बाल्यकालदेखि नै विज्ञानमा रुचि राख्ने तामाङले पहिलोपल्ट जोसेफ हाइस्कुलमा कक्षा १० मा पढ्दा पानीबाट उड्ने रकेट बनाएर जापानमा प्रतिस्पर्धामा गएका थिए । त्यहाँ अरु देशको रकेट देखेपछि हाम्रो देशमा थोरै मेहनत गर्यो भने गर्न सकिने रहेछ भन्ने अनुभूति उनलाई भयो । त्यसलाई नै अहिले निरन्तरता दिएको उनी बताउँछन् ।
युट्युुबमा भिडियो देखेपछि त्यसबाटै प्रोत्साहित भएर उनले वाटर रकेट बनाएका थिए । उनी भन्छन्, “खासै गाह्रो थिएन । एउटा जम्बो कोकको बोटलमा १ तिहाई पानी हालेर साइकलको हावा हालेपछि, हावाको दबाब र पानीको कारणले गर्दा बोतल रकेट उडेझैँ करिब २ सय मिटर उड्छ ।” एसिया प्यासिफिक रिजन स्पेस एजेन्सी फोरमले आयोजना गरेको इन्टरनेशनल वाटर रकेट इभेन्ट प्रतियोगितामा उनी पाँचौं भएका थिए । प्रतियोगितामा १७ वटा देशका प्रतिस्पर्धी सहभागी थिए । त्यहाँ छँदा जापानको स्पेस सेन्टर र म्युजियम हेरेपछि रकेटमा उनको झन् अभिरुचि बढ्यो ।
यसपछि उनले लिभरपुल इन्टरनेशनल कलेजमा पढ्दापढ्दै २ वटा अन्य अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी भए । नेपाललाई प्रतिनीधित्व गरेर सन् २०१६मा इन्टरनेशनल एड्भान्स वाटर रकेट प्रतिस्पर्धामा सहभागी भए । प्रतिस्पर्धामा उनको समूह दोस्रो भएको थियो । पहिलो पाकिस्तान भयो भने तेस्रो जापान । प्रतियोगितामा १७ वटा देश सहभागी थिए । यस्तै, २०१७ मा कक्षा १२ पढ्दा क्यान स्याटेलाइट बनाएर प्रतिस्पर्धामा सहभागी भएका थिए । उक्त प्रतियोगितामा कोकको क्यानमा स्याटेलाइट बनाएका थिए । धेरै सेन्सर प्रयोग गरेको सो स्याटेलाइटले मौसम रिड गरेर तथ्यांक पठाउन सक्थ्यो । तामाङसहित ६जना साथीले मिलेर २ वटा स्याटेलाइट बनाएका थिए ।
अमेरिकाको नासा जस्तै जापानिज एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ज्याक्सा भन्ने छ । सो संस्थाले स्पेसबारे प्रवद्र्धन गर्न विभिन्न प्रतिस्पर्धा गराइरहेको हुन्छ । तामाङले सोही संस्थाबाट सो प्रतिस्पर्धाबारे जानकारी पाएका थिए । प्रतियोगितामा पहिलो फिलिपिन्स भएको थियो भने १४ वटा देश प्रतिस्पर्धामा थिए ।
तामाङका बुुबा ८ वर्षदेखि दुवईमा काम गरिरहेका छन् । यसअघि उनी कतारमा काम गर्थे । प्लस टुु पछि उनले ३ वर्ष ग्याप लिई रकेट बनाउन र यसबारे अनुसन्धान गर्न व्यस्त भएका थिए । भर्खर कम्प्युटर इञ्जिनियरिङमा सीआईटी कलेजमा भर्ना भएका उनी भन्छन्, “अलिअलि सपोर्ट त गर्नुहुन्छ । साथीले ग्राजुएट गरिसक्यो, तँ कहिले गर्ने भन्नुुहुन्छ । असन्तुष्टि त छ ।”
“नेपालमा प्रमाणित नगरेसम्म पत्याउने चलन छैन,” उनले भने, “त्यही भएर चासो जगाउन वाटर रकेट बनाएँ । सरकार र सम्बन्धित निकायलाई झकझकाउन कोसिस गरेका छौँ,” उनले थपे ।
विज्ञानमा रुचि लाग्ने अस्विनी खरेल (२०) लाई प्लस टुपछि इञ्जिनियरिङ पढ्न थालेपछि रकेट बनाउनेतर्फ अभिरुचि जाग्यो । सम्पूर्ण प्रोजेक्ट हेर्नेदेखि सिस्टमको काम उनी हेरिरहेकी छन् । काठमाडौँ विश्वविद्यालय(केयू)मा इलेक्ट्रोनिक इञ्जिनियरिङमा पाचौँ समेष्टरमा पढ्ने खरेलसहित ७ जना छात्राहरु गरुडा रकेटटमा काम गरिरहेका छन् । संस्कृत नाम गरुड अर्थात् चराबाट लिएको प्रोजेक्टको नाम रकेटसँग विम्बको रुपमा मिल्ने हुँदा राखेको उनले बताए ।
प्रतियोगिताका लागि दुईजना विदेशी मेन्टर छन् भने नेपालबाट केयूूका इलेक्ट्रिकल विभाग प्रमुुख र मेकानिकल विभागका प्राध्यापकहरु– शैलेष चित्रकार र शैलेन्द्र कुमार झाले सहयोग गरिरहेका छन् । दिनभरि रसायन हालेर रकेट टेस्ट गर्न खोज्दा साइज ठिक नभएर च्याम्बर पड्किन्थ्यो । यसले कहिलेकाही हतोत्साही बनाएको खरेल बताउँछिन् ।
रकेटका पार्टपुर्जा बनाउने उद्योग नभएका कारण मान्छे नै उड्ने ठुलठूलो रकेट नेपालमा बनाउन सकिँदैन । तर, नेपालले १ केजीको जुन स्याटेलाइट लञ्च गर्यो, त्यस्तै सानोे स्याटेलाइट आफैँ बनाएर रकेट बनाउन सकिने तामाङ बनाउँछन् । फ्युुल कम प्रयोग गरेका कारण १० हजार फिट मात्र उड्ने हो । फ्यूल धेरै हाल्यो भने स्पेससम्मै पुुग्छ । तर, यो वायुमण्डलमा पुुगेपछि प्यारासुटबाट बिस्तारै ल्यान्ड हुन्छ । यो पुनः प्रयोग गर्न मिल्ने रकेट हो ।
प्रतियोगितामा ७ जनाको टिम जानैपर्ने हुुन्छ । यसका लागि रकेट बनाउनेदेखि अन्य खर्चको लागि ई–सेवा र खल्तीबाट पैसा क्राउउड फन्डिङबाट उनीहरुले जम्मा पारिरहेका छन् । प्रोजेक्टको लागि करिब १६ लाख लाग्नेमा हाल ५ लाख उठेको छ ।