site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय

न्यायाधीश नियुक्तिका लागि बसेको न्याय परिषद्को बैठकसमेत सहमतिमा पुग्न नसकेको समाचारले प्रकारान्तरमा समग्र न्यायपालिकाकै साख गिराउँछ । यस्तो अभ्यासले न्यायाधीशको नियुक्ति निश्चित पारदर्शी मापदण्डको साटो तजबिजमा आधारित हुनेगरेको पुष्टि हुन्छ । 

न्यायालयको गरिमा मूलतः न्यायाधीशकै साखमा निर्भर हुन्छ । यसैले न्यायाधीशको नियुक्तिका लागि संविधानमा नै प्रधान न्यायाधीशको नेतृत्वमा न्याय परिषद्को विशेष व्यवस्था गरिएको हो । तैपनि न्याय परिषद्कै बैठक यसरी विना निष्कर्ष टुंगिनु दुर्भाग्य हो । 

अहिले सर्वोच्च, उच्च र जिल्ला अदालतमा ३० भन्दा बढी न्यायाधीशका पदहरू रिक्त छन् । तिनको समयैमा पूर्ति नहुँदा अदालतको कामकारबाहीमा असर पर्ने त छँदैछ न्याय परिषद्प्रति पनि विभिन्न टीकाटिप्पणी हुनेगरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विशेषगरी राजनीतिक दलका नेताहरूबीच भागबन्डामा पर्ने तथा न्याय परिषद्का सदस्यहरूलाई रिझाउन सक्ने व्यक्ति न्यायाधीशमा नियुक्त हुनेगरेको आरोप पूर्वन्यायाधीशहरूका साथै कानुन व्यवसायीले नै लगाउने गरेका छन् । नियुक्तिमा हुने अपारदर्शी विलम्ब र सक्रिय राजनीतिमा संलग्न व्यक्तिहरूको पनि न्यायाधीश नियुक्त हुँदा आरोप पूरै असत्य नभएको पुष्टि हुन्छ । 

यस प्रकारको सन्देह र अभ्यासलाई निरन्तरता दिइँदा नै न्यायालयप्रति जनसाधारणको विश्वास डगमगाउने हो । अहिले राज्यका अरू अङ्गप्रति जनतामा अविश्वास बढ्दै गएका बेला  न्याय पालिकाको साख र विश्वाससमेत कमजोर हुन पुग्यो भने राष्ट्रकै लागि दुर्भाग्य हुनेछ । 

न्याय सेवाका कर्मचारी र कानुन व्यवसायीहरूबाटसमेत नियुक्त गरिने भएकाले पक्कै पनि न्यायाधीश नियुक्तिको अभ्यास अपेक्षाकृत जटिल हुन्छ । तर, न्याय परिषद्का पदाधिकारीले इमान र विवेकमा सम्झौता नगर्ने हो भने त्यसलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन सकिन्छ ।

सम्भवतः अहिले न्यायाधीश नियुक्तिमा देखिने र धेरै आलोचना गरिएको पक्ष यसको अपारदर्शी अभ्यास नै हो । कुनै व्यक्ति किन न्यायाधीश नियुक्त भयो वा भएन भन्ने जानकारी अरू त के नियुक्त हुने र गर्नेहरूलेसमेत सार्वजनिकरूपमा बताउन सक्ने अवस्था छैन । नियुक्तिको स्पष्ट र पारदर्शी आधार बनाएमा यसरी व्यक्ति विशेषको नाममा विवाद गरिरहनुपर्ने पक्कै थिएन ।

लोकतन्त्रमा यस्तो अपारदर्शी तथा तजबिजी अभ्यास हुनु हुँदैन । कम्तीमा न्यायपालिकामा त हुँदै हुँदैन । यसैले कुनै न कुनै विन्दुमा त यस्तो अभ्यास बदल्नै पर्छ । लोकतन्त्र चरितार्थ गर्नैका लागि पनि न्यायपालिकाप्रति जनविश्वास कायम रहनु आवश्यक हुन्छ ।

यसैले न्यायाधीश नियुक्तिका लागि कम्तीमा निश्चित् मापदण्डको आधार लिएर पारदर्शी अभ्यास अपनाउन सुरु गरियोस् । नियुक्त गर्ने र हुने दुवैले को किन कुन मितिमा न्यायाधीश नियुक्त हुन्छ भन्ने सामान्य पूर्वजानकारी पाउने प्रणाली निर्माण गरिएमा विवाद धेरै कम हुनेछ । 

न्यायाधीश नियुक्तिमा न्याय परिषद्को सामूहिक जिम्मेवारी भए पनि नेपालको संविधानको धारा १३६ ले प्रधान न्यायाधीशलाई समग्र न्याय व्यवस्थासमेतकै लागि अन्तिम जिम्मेवारी दिएको  देखिन्छ । अहिलेसम्म प्रधान न्यायाधीशहरूले न्यायपालिकाको दीर्घकालीन हितमा काम गरेको देखिएन । के अहिलेका प्रधान न्यायाधीशले न्यायाधीश नियुक्ति पारदर्शी बनाएर इतिहास रच्ने आँट र जाँगर देखाउलान् ?
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्