
काठमाडौं । बेइजिङको यिजुङ हाफ म्याराथन प्रतियोगितामा २१ वटा रोबोटले दौडमा प्रतिस्पर्धा गरेर इतिहास रचिएको छ । मानिसहरूसँगै २१ किलोमिटरको दौडमा रोबोटहरूले सहभागिता जनाएको यो पहिलो प्रतियोगिता रहेको बताइन्छ ।
बेइजिङको दक्षिण–पूर्वी यिझुआङ जिल्लामा आयोजना गरिएका मानिस र रोबोटबीच हाफ म्याराथन दौडले रोबोट र प्रविधिको क्षेत्रमा चीनको प्रगति देखाएको छ । यो रोबोट र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासमा एक ठूलो फड्को भनेर विश्लेषण गरिएको छ ।
पहिलोपटक आयोजना गरिएको यस्तो प्रतियोगितामा चीनका ड्रायडअप, नोएटिक्स रोबोटिक्स, तियांगोंग अल्ट्राजस्ता ठूला प्रविधि कम्पनीले बनाएका रोबोट सहभागी थिए ।
यस प्रतियोगिताको मिडिया कभरेज पनि व्यापक भएको थियो । यसले ह्युमनोइड रोबोटहरूको विकासको उच्चतम नमुना प्रर्दशन गर्दै अन्य उद्योगमा भविष्यका सम्भावित प्रयोगहरूको झलक प्रस्तुत गरेको टाइम्स आफ इन्डियाले जनाएको छ ।
म्याराथन भने रोबोटले जित्न सकेनन् । युगान्डाका जेकब किप्लिमोले ५६ मिनेट ४२ सेकेन्डमा पूरा गरेर उपाधि जितेका थिए । २१ किलोमिटर निर्धारित दुरी पूरा गर्न रोबोटलाई दुई घण्टा ४० मिनेट लागेको थियो । मानिसहरूमध्ये अन्तिम स्थानमा रहेको धावकले एक घण्टा दुई मिनेटमा निर्धारित दुरी पूरा गरेको थियो ।
विभिन्न आकार र डिजाइनका रोबोटहरूले २१ किलोमिटरको ट्र्याकमा मानिसहरूसँगै दौडेका थिए । सहभागी रोबोटहरू चिनियाँ रोबोट निर्माता कम्पनीहरूले बनाएका हुन् ।
म्यारथनमा ड्रोइडभीपी र नोएटिक्स रोबोटिक्सजस्ता प्रख्यात कम्पनी समावेश थिए । रोबोटहरूको आकार र डिजाइन फरक–फरक थिए, जसले दर्शकहरूलाई विविधता देखाउन मद्दत गरेको बताइएको छ । केही रोबोटहरू १.२ मिटर अग्ला थिए । अन्य १.८ मिटरसम्म उचाइका थिए । उचाइ र बनावटमा भिन्नताले ह्युमनोइड रोबोटहरूको बहुमुखी प्रतिभा देखाएको र यसले रोबोट डिजाइन गर्न एउटै फर्मुला नभएको संकेत गरेको छ ।
टाइम्स अफ इन्डियाबाट ।