
काठमाडौं । वैज्ञानिकहरूले पृथ्वीबाट एउटा टाढाको ग्रहमा जीवनको सम्भावना रहेको संकेत फेला पारेको बताएका छन् ।
बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको एक अनुसन्धान टोलीले के२–१८बी नामक ग्रहको वायुमण्डलमा पृथ्वीमा साधारण जीवहरूले मात्र उत्पादन गर्ने अणुहरूको संकेत पत्ता लगाएका छन् ।
यो नासाको जेम्स वेब स्पेस टेलिस्कोपले यस ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित रसायनहरू पत्ता लगाएको दोस्रो ‘बढी आशावादी’ घटना हो । तर, अनुसन्धान टोली र स्वतन्त्र खगोलविद्हरूले यी नतिजाहरू पुष्टि गर्न अझै धेरै डाटा आवश्यक पर्नेमा जोड दिएका छन् ।
अनुसन्धान प्रमुख प्रोफेसर निक्कु मधुसूधनले क्याम्ब्रिज विश्वविद्यालयको खगोल विज्ञान संस्थानको प्रयोगशालामा भने, “त्यहाँ जीवन हुनसक्छ भनेर यो हालसम्मको सबैभन्दा बलियो प्रमाण हो । हामी एकदेखि दुई वर्षभित्र यस संकेतलाई पुष्टि गर्न सक्छौँ ।”
के२–१८बी पृथ्वीभन्दा ढाई गुणा ठूलो छ र हामीबाट सात सय ट्रिलियन माइल टाढा छ । नासाको जेम्स वेब स्पेस टेलिस्कोप यति शक्तिशाली छ कि यसले आफ्नो सानो रातो सूर्यबाट आउने प्रकाशको विश्लेषण गरेर यस ग्रहको वायुमण्डलको रासायनिक संरचना पत्ता लगाउन सक्छ ।
क्याम्ब्रिज विश्वविद्यालयको समूहले यस ग्रहको वायुमण्डलमा जीवनसँग सम्बन्धित दुई अणुहरूमध्ये कम्तीमा एक डाइमेथाइल सल्फाइड र डाइमेथाइल डाइसल्फाइडको रासायनिक छाप फेला पारेको छ । पृथ्वीमा, यी ग्यासहरू समुद्री फाइटोप्लांकटन र जीवाणुहरूले उत्पादन गर्छन् ।
प्रोफेसर मधुसूधनले एकैपटक अवलोकन गर्दा यति धेरै मात्रामा ग्याँस पत्ता लागेकोमा आश्चर्य व्यक्त गरे । उनले भने, “हामीले अनुमान गरेअनुसार यस ग्रहको वायुमण्डलमा यस ग्यासको मात्रा पृथ्वीभन्दा हजारौँ गुणा बढी छ ।”
“यदि जीवनसँगको यो सम्बन्ध वास्तविक हो भने, यो ग्रह जीवनले भरिएको हुनेछ,” उनले भने ।
प्रोफेसर मधुसूधनले अगाडि भने, “यदि हामीले के२–१८बी मा जीवन छ भन्ने पुष्टि गर्न सक्यौँ भने, यसले मूलतः हाम्रो आकाशगंगामा जीवन धेरै सामान्य छ भन्ने पुष्टि गर्छ ।” यस चरणमा धेरै सर्तहरू रहेको उनले स्वीकार गरे ।
पहिलो कुरा, यसले नयाँ खोज आविष्कारको दावी पूरा गर्दैन । वैज्ञानिकहरूले आफ्ना नतिजाहरू ९९.९९९९९ प्रतिशतसम्म निश्चित हुनुपर्छ । वैज्ञानिक भाषामा यसलाई पाँच सिग्मा नतिजा भनिन्छ । तर, हालका नतिजाहरूले केवल ९९.७ प्रतिशत मात्र निश्चितता प्रदान गर्छ । यो वैज्ञानिक समुदायलाई विश्वास दिलाउन अपर्याप्त छ । यद्यपि, १८ महिनाअघि प्राप्त ६८ प्रतिशत सम्भावनाभन्दा धेरै बढी हो ।
एडिनबर्ग विश्वविद्यालयका प्रोफेसर क्याथरिन हेमन्सले भनिन् “पाँच सिग्मा नतिजा पनि ग्रहमा जीवनको निर्णायक प्रमाण होइन,” उनले बीबीसीलाई भनिन्, “त्यस्तो उच्च निश्चितता भए पनि, यो ग्यासको उत्पत्ति कहाँबाट भयो भन्ने प्रश्न बाँकी नै हुन्छ ।”
“पृथ्वीमा यो समुद्री सूक्ष्मजीवहरूले उत्पादन गर्छ, तर एउटा अन्य ग्रहमा यसको जैविक उत्पत्ति भएको निश्चित भन्न हामी उत्तम डाटा भए पनि सक्दैनौँ । किनभने ब्रह्माण्डमा धेरै अनौठो घटनाहरू घट्छन् र के२–१८बी ग्रहमा अन्य कुन भूगर्भीय प्रक्रियाहरूले यी अणुहरू उत्पन्न गर्न सक्छन् भन्ने हामीलाई थाहा छैन,” उनले थप भने ।
यो विचारसँग क्याम्ब्रिज टोली सहमत छ । उनीहरूले प्रयोगशालामा डीएमएस र डीएमडीएस अजैविक तरिकाले उत्पन्न गर्न सकिन्छ कि भनेर अन्य समूहहरूसँग मिलेर काम गरिरहेका छन् ।
अन्य अनुसन्धान समूहहरूले के२–१८बी बाट प्राप्त डाटाको वैकल्पिक (जीवनविहीन) व्याख्या पेस गरेका छन् । वैज्ञानिकहरूमा केवल डीएमएस र डीएमडीएसको उपस्थितिबारे मात्र नभएर ग्रहको संरचनाबारे पनि गहिरो बहस छ ।
धेरै शोधकर्ताहरूले यस ग्रहमा विशाल तरल महासागर छ भन्ने अनुमान गर्छन् । किनभने के२–१८बीको वायुमण्डलमा एमोनिया ग्यासको अभाव छ । उनीहरूको सिद्धान्तअनुसार एमोनिया तलको पानीले सोसिएको हुन सक्छ । तर, क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर ओलिभर शोर्टलले बताएअनुसार यसलाई पग्लिएको चट्टानको महासागरले पनि व्याख्या गर्न सकिन्छ, जसले जीवनको सम्भावना पूरै खारेज गर्छ ।
“अन्य ताराहरूको परिक्रमा गर्ने ग्रहहरूबारे हामीलाई जे पनि थाहा छ, त्यो तिनीहरूको वायुमण्डलबाट झल्कने सानो मात्रामा प्रकाशबाट आउँछ । केवल जीवनका संकेतहरूका बारेमा मात्र नभएर अन्य सबै कुराको लागि पनि अत्यन्त सूक्ष्म संकेत हामीले अध्ययन गर्नु परेको छ,” उनले भने, “के२–१८बीसँग सम्बन्धित वैज्ञानिक बहस अझै पनि ग्रहको संरचनाको बारेमा नै केन्द्रित छ ।”
नासाको एम्स रिसर्च सेन्टरका डा. निकोलस वोगनले भने उक्त तथ्यांकको अर्कै व्याख्या गरेका छन् । उनले प्रकाशित गरेको अनुसन्धानका अनुसार, के२–१८बी एक सतह नभएको सानो ग्यास हो ।
यी वैकल्पिक व्याख्याहरूलाई पनि अन्य समूहहरूले चुनौती दिएका छन् । किनभने यी जेम्स वेब स्पेस टेलिस्कोपबाट प्राप्त डेटासँग मेल नखाने देखिएको छ । यसले के२–१८बी वरिपरिको वैज्ञानिक बहस कत्तिको बलियो छ भन्ने देखाउँछ ।
प्रोफेसर मधुसूदन के स्वीकार्छन् भने उनीहरूले विज्ञानको सबैभन्दा ठूलो प्रश्नहरूमध्ये एकको उत्तर दिन अझै ठूलो वैज्ञानिक यात्रा पार गर्न बाँकी छ । तर उनी के विश्वास गर्छन् भने आफू र आफ्नो टोली सही मार्गमा छन् ।
“केही दशकपछि, हामी अहिलेको समयमा फर्केर हेर्दा जीवित ब्रह्माण्ड हाम्रो पहुँचमा आयो भनेर यो क्षणलाई सम्झनेछौँ,” उनले भने, “यो एउटा यस्तो मोड हुन सक्छ, जहाँ हामी ब्रह्माण्डमा एक्लै हौँ कि होइनौ भन्ने मौलिक प्रश्नको उत्तर दिन सक्ने क्षमतामा पुग्छौँ ।” बीबीसी
यो अनुसन्धान दि एस्ट्रोफिजिकल जर्नल लेटर्स मा प्रकाशित गरिएको छ ।