site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डोनाल्ड ट्रम्पको व्यापार युद्ध : कहिले–कहिले के भए ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि धम्की दिँदै आएका आयात कर (भन्सार शुल्क) हरू लगाएपछि विभिन्न देशहरुले व्यापार युद्धको सामना गर्नुपरेको छ । तर नयाँ करहरू कहिले लागु हुने, कहिले रोकिने क्रमले अनिश्चितता अझ बढाइरहेको छ ।

हुनतः देशहरु ट्रम्पको भन्सार करसँग अपरिचित होइनन् । उनले यसको सुरुवात आफ्नो पहिलो कार्यकालमा गरेका थिए ।  खासगरी चीनलाई निसाना बनाउँदै उसका अधिकांश सामानहरूमा आयात कर लगाएका थिए । 
जवाफस्वरूप चीनले पनि अमेरिकी उत्पादनहरूमा प्रतिशोधस्वरूप आफ्नै आयात करहरू लगाएको थियो । 

यसैबीच, ट्रम्पले थप भन्सार शुल्क लगाउने धम्की दिँदै क्यानडा र मेक्सिकोलाई उत्तर अमेरिकी व्यापार सम्झौता  (अमेरिका– मेक्सिको– क्यानडा सम्झौता २०२०) लाई परिमार्जन गर्न बाध्य पारेका थिए ।

जब नयाँ राष्ट्रपति जो बाइडेनले पदभार सम्हाले, उनले पनि ट्रम्पले चीनविरुद्ध अघि सारेका अधिकांश भन्सार शुल्कहरू कायमै राखे, साथै केही नयाँ प्रतिबन्धहरू पनि लगाए ।

आजको दिनसम्म आइपुग्दा अर्थशास्त्रीहरूले ट्रम्पले यसपटक ल्याउने व्यापक भन्सार शुल्कहरूले विश्वभरिका व्यवसाय र अर्थतन्त्रहरूमा अझ गम्भीर असर पार्ने चेतावनी दिइरहेका छन् र उच्च मूल्यवृद्धिको भार उपभोक्ताहरूले बोक्नुपर्ने सम्भावना छ । 

पछिल्ला केही महिनाहरूमा ट्रम्पका भन्सार शुल्कका धम्कीहरू र त्यसपछि देखिएको जवाफी कदमहरूले पनि एक प्रकारको अस्थिरताको अनुभूति गराएको छ ।

ट्रम्पको भन्सार करको घटनाक्रम :

जनवरी २०– ट्रम्पले पद तथा गोपनीयताको शपथ लिँदै उनको प्रारम्भिक सम्बोधनमा विदेशी राष्ट्रहरूलाई आयात कर लगाएर नागरिकहरू धनी बनाउने वाचा गरे ।  उनले बाह्य राजस्व सेवा नामको एजेन्सी स्थापना गर्ने योजना पनि दोहोर्‍याए तर यो अहिलेसम्म बनेको छैन ।

पदभार ग्रहण गरेको पहिलो दिन, ट्रम्पले फेब्रुअरी १ देखि क्यानडा र मेक्सिकोमा २५ प्रतिशत भन्सार शुल्क लगाउने इच्छा पनि जताए । तर चिनियाँ आयातमा कर लगाउने योजनाको तत्काल विवरण भने दिएनन् ।

जनवरी २६– कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले उनको देशका प्रवासी नागरिकहरू बोकेर आएको दुईवटा अमेरिकी सैन्य विमानलाई अस्वीकार गरेपछि ट्रम्पले सबै कोलम्बियाली आयातमा २५ प्रतिशत आयात कर लगाउने र अन्य प्रतिशोधात्मक कदम चाल्ने धम्की दिए । 

उनले ट्रम्पलाई प्रवासीहरूलाई मानवीय व्यवहार नगरेको आरोप लगाए । फलस्वरूप, पेट्रोले अमेरिकी मालसामानमा २५ प्रतिशत आयात कर बढाउने घोषणा गरे । तर, पछि कोलम्बियाले यो निर्णय फिर्ता लिँदै प्रवासी लिएर आएका विमानहरू स्वीकार गर्‍यो । यसको केही समयपछि दुवै देशले व्यापार विवाद रोकियो ।

फेब्रुअरी १– ट्रम्पले मेक्सिको, क्यानाडा र चीनविरुद्ध अवैध आप्रवास र मादक पदार्थ तस्करीको गरेको आरोपमा आयात कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरे । 
जस अन्तर्गत फेब्रुअरी ४ देखि चीनबाट सबै आयातमा १० प्रतिशत र मेक्सिको र क्यानाडाबाट आयातमा २५ प्रतिशत थियो । यसपछि तीनै देशबाट तीव्र प्रतिक्रिया आयो र प्रतिशोधात्मक कदमको चेतावनी दिए।

फेब्रुअरी ३– मेक्सिको र क्यानाडाले सीमा सुरक्षा र मादक पदार्थ तस्करीसम्बन्धी ट्रम्पको चिन्तालाई शान्त पार्न मिलेर अगाडि जाने बताएपछि ट्रम्पले उनीहरूविरुद्धको आयात कर लगाउने धम्की ३० दिनको लागि स्थगित गर्न सहमत भए ।

फेब्रुअरी ४–ट्रम्पले चीनबाट अमेरिकामा आयात हुने सबै मालसामानमा लगाएको नयाँ १० प्रतिशत आयात कर लागु भयो ।  चीनले त्यसैदिन प्रतिशोधस्वरूप विभिन्न अमेरिकी मालसामानहरुमा नयाँ कर लगाउने र गुगलको एकाधिकार विरुद्ध अनुसन्धान गर्नेलगायतका प्रतिकारात्मक उपायहरूको घोषणा गर्‍यो ।

चीनले अमेरिकाबाट आयात हुने कोइला, तरल प्राकृतिक ग्यास उत्पादनमा १५ प्रतिशत कर र कच्चा तेल, कृषि यन्त्र र ठूलो इन्जिन भएका कारहरूमा १० प्रतिशत कर फेब्रुअरी १० देखि लागु गर्‍यो ।

फेब्रुअरी १०– ट्रम्पले मार्च १२ देखि इस्पात र एलुमुनियममा आयात कर बढाउने योजना सार्वजनिक गरे ।  उनले सन् २०१८ को इस्पात आयात करबाट छुट हटाएर सबै इस्पात आयातमा कम्तीमा २५ प्रतिशत कर लगाए ।
साथै, एलुमुनियममा पहिले लागु १० प्रतिशत आयात करलाई २५ प्रतिशतसम्म बढाए ।

फेब्रुअरी १३– ट्रम्पले पारस्परिक आयात करको योजना घोषणा गरे ।  विश्वभरका देशहरूले आयातमा लगाउने कर दर बराबर गर्न अमेरिकी आयात कर बढाउने वाचा गरे ।  अर्थशास्त्रीहरूले यसले दशकौंदेखिको व्यापार नीतिलाई पल्टाएर विश्व व्यापारमा अराजकता फैलाउन सक्ने चेतावनी दिए ।

फेब्रुअरी २५–ट्रम्पले आया गरिने तामामा राष्ट्रिय सुरक्षा संरक्षणका लागि अयातकर आवश्यक छ वा छैन भन्ने विचार गर्न वाणिज्य विभागलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरे । उनले अमेरिकी रक्षा, पूर्वाधार र उदयोन्मुख प्रविधिहरूमातामाको प्रयोगलाई यो कदमको कारण बताए ।

मार्च १–ट्रम्पले अमेरिकी राष्ट्रिय सुरक्षा संरक्षणका लागि काठ र लुगामा पनि आयात कर आवश्यक छ कि छैन भन्ने विचार गर्न वाणिज्य विभागलाई निर्देशन दिने अर्को कार्यकारी आदेशमा हस्ताक्षर गरे । 
उनले निर्माण उद्योग र सैन्यले अमेरिकामा काठका उत्पादनको आपूर्तिमा निर्भर रहेको तर्क गरे ।

मार्च ४– ट्रम्पले क्यानाडा र मेक्सिकोबाट गरिने आयातविरुद्ध २५ प्रतिशत आयात कर लागु गरे ।  तर क्यानडाबाट आयात गरिने ऊर्जामा यसलाई १० प्रतिशतमा सीमित गर्छन् । उनले चिनियाँ आयातमा आयात कर २० प्रतिशतसम्म दोब्बर पार्छन् ।

तीनै देशले प्रतिशोधात्मक कदमको प्रतिबद्धता गरे । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले २१ दिनभित्रमा १०० अर्ब अमेरिकी डलरभन्दा बढी अमेरिकी मालसामानमा आयात कर लगाउने घोषणा गरे ।  मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शिनबामले तनाव नबढाउने  उद्देश्यले तत्काल पूर्ण विवरण नदिई अमेरिकी मालसामानमा प्रतिशोधात्मक आयात कर लगाउने बताइन् ।

यसै बीच चिनले मार्च १० देखि लागू हुने गरी अमेरिकी कृषि निर्यातका प्रमुख उत्पादनहरूमा १५ प्रतिशत सम्म आयात लगायो ।  साथै, अमेरिकी कम्पनीहरूमा लागेको निर्यात नियन्त्रण र प्रतिबन्ध लगभग दुई दर्जनले बढायो ।

मार्च ५– ट्रम्पले मेक्सिको र क्यानाडाबाट आयात हुने मालसामानमा नयाँ आयात करबाट अमेरिकी गाडि निर्माताहरूलाई एक महिनाको छुट दिए ।  यो निर्णय फोर्ड, जनरल मोटर्स र स्टेलान्टिसका निर्माताहरूसँग कुराकानीपछि आएको थियो ।

मार्च ६– ट्रम्पले मेक्सिकोबाट धेरै आयात र क्यानाडाबाट केही आयातमा  लगाएको २५ प्रतिशत कर एक महिनाको लागि स्थगित गरे । ट्रम्पले सीमा सुरक्षा र मादक पदार्थ तस्करीमा प्रगतिको श्रेय शिनबामलाई दिँदै आयात कर पुनः स्थगित गर्नुको कारण बताए । 

यसले क्यानडासँगको सम्बन्ध केही नरम बनायो । तर असन्तुष्टि र अनिश्चितता बाँकी रहँदा क्यानाडाले ३० अर्ब क्यानेडियन डलर (२१ अर्ब अमेरिकी डलर) को प्रतिशोधात्मक आयात कर लगाएपछि, १२५ अर्ब क्यानेडियन डलर (८७ अर्ब अमेरिकी डलर) को दोस्रो चरणको आयात कर भने स्थगित गर्‍यो ।

मार्च १०– चीनले अमेरिकी कुखुरा, पोर्क, सोयाबिन र गाईको मासु जस्ता प्रमुख कृषि उत्पादनमा लगाएको १५ प्रतिशत प्रतिशोधात्मक आयात कर लागु भयो । चीनको वाणिज्य मन्त्रालयको पूर्वघोषणा अनुसार, मार्च १० सम्म यातायातमा रहेका मालसामानहरूले अप्रिल १२ सम्म छुट पाए ।

मार्च १२– ट्रम्पले सबै इस्पात र एलुमुनियम आयातमा २५ प्रतिशतको नयाँ आयात कर लागु गर्छन् ।  यसअघि २०१८ मा लागु गरिएको इस्पात छुट हटाएर र एलुमुनियममा कर बढाएपछि दुवै धातुमा २५ प्रतिशत कर लागु भयो ।
युरोपेली युनियनले प्रतिशोधात्मक कदमस्वरूप अमेरिकी औद्योगिक र कृषि उत्पादनमा नयाँ कर लगाउने घोषणा गर्छ । 

यसले २६ अर्ब युरो (२८ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी मालसामानलाई लक्षित गर्छ ।  यसमा इस्पात र एलुमिनियम बाहेक टेक्सटाइल, घरायसी उपकरण र कृषि उत्पादन पर्छन् ।  ट्रम्पको पहिलो कार्यकालमा भएको जस्तै मोटरसाइकल, बर्बन, पिनट बटर र जिन्समा पनि कर लाग्यो । 

२७ सदस्यीय युरोपेली समूहले यो प्रतिशोधात्मक कार्य अप्रिल मध्यसम्म स्थगित गर्ने घोषणा गर्‍यो । यसैबीच क्यानडाले २९.८ अर्ब क्यानेडियन डलर (२०.७ अर्ब अमेरिकी डलर) मूल्यका अमेरिकी मालसामानमा थप प्रतिशोधात्मक आयात कर लगाउने योजना मार्च १३ देखि लागु हुने गरी सार्वजनिक गर्‍यो ।

मार्च १३–ट्रम्पले युरोपेली युनियनले अमेरिकी ह्विस्कीमा ५० प्रतिशत आयात कर लगाउने योजना अगाडि बढाएमा युरोपेली वाइन, श्याम्पेन र मदिरामा २०० प्रतिशत आयात लगाउने धम्की दिए ।

मार्च २४– ट्रम्पले अप्रिल २ देखि दक्षिण अमेरिकी देश भेनेजुएलाबाट तेल वा ग्यास किन्ने कुनै पनि देशविरुद्ध २५ प्रतिशत आयात कर लगाउने घोषणा गरे । अमेरिकी ऊर्जा प्रशासनको सूचनाअनुसार सन् २०२३ मा भेनेजुएलाले निकालेको तेलको ६८ प्रतिशत चिनले किनेको थियो । तर अमेरिकासहित अन्य देशहरूले पनि भेनेजुएलाबाट तेल आयात गर्छन् ।

मार्च २६– ट्रम्पले अप्रिल ३ देखि कार आयातमा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरे ।  यो कर पहिले पूर्ण आयातित कारहरूमा लागू हुनेछ र मे ३ सम्ममा कार पार्ट्समा पनि विस्तार हुने बताए ।

अप्रिल २– ट्रम्पले आफूले धेरै पहिलेदेखि वाचा गरेका पारस्परिक आयात कर घोषणा गरे । अप्रिल ५ बाट लागु हुने गरी सबै आयातमा १० प्रतिशत आधारभूत कर लगाउने र अप्रिल ९ बाट अमेरिकासँग व्यापार घाटा गराउने दर्जनौँ राष्ट्रहरूका लागि अझ उच्च दरका भन्सार शुल्कहरू लागु गर्ने घोषणा गरे ।

यी उच्च दरका भन्सार शुल्कहरूमध्ये अब अमेरिका चीनबाट आयात हुने वस्तुहरूमा ३४ प्रतिशत कर, युरोपेली संघबाट आयातमा २० प्रतिशत, दक्षिण कोरियाबाट २५ प्रतिशत, जापानबाट २४ प्रतिशत र ताइवानबाट ३२ प्रतिशत कर लगाउने ट्रम्पले बताए ।

यी नयाँ भन्सार शुल्कहरू पहिले लागु गरिएका करहरूमा थपिएका थिए जसमा यसवर्षको सुरुमा ट्रम्पले घोषणा गरेको सबै चिनियाँ आयातमा २० प्रतिशत कर पनि समावेश थियो । यसैबीच, क्यानडा र मेक्सिकोका लागि ह्वाइट हाउसले अमेरिका–मेक्सिको–क्यानडा सम्झौता अनुरूपका आयातहरूमा अझै पनि कर–मुक्त रूपमा अमेरिका प्रवेश गर्न सक्ने स्पष्ट पार्‍यो । 

जब यी दुई देशहरूले आप्रवासन र लागूऔषध तस्करीसम्बन्धी ट्रम्पका मागहरू पूरा गर्छन् तब उनीहरूको बाँकी आयातमा लगाइएको २५ प्रतिशत शुल्क घटेर १२ प्रतिशतमा झर्ने अमेरिकाले बतायो ।

अप्रिल ३– ट्रम्पले पहिले नै घोषणा गरेका गाडीमा लाग्ने करहरू लागू भए ।  क्यानडाका प्रधानमन्त्री मार्क कर्नीले क्यानडाले पनि अमेरिकाबाट आयात गरिएका गाडीहरूमा २५ प्रतिशत शुल्क लगाएर जवाफ दिने बताए । 

अप्रिल ४– ट्रम्पको नयाँ पारस्परिक आयात करको जवाफस्वरूप चीनले सबै अमेरिकी उत्पादनहरूको आयातमा अप्रिल १० बाट ३४ प्रतिशत आयात कर लगाउने बतायो । 

बेइजिङस्थित वाणिज्य मन्त्रालयले चीनले कम्प्युटर चिप्स र इलेक्ट्रिक गाडीका ब्याट्रीहरू जस्ता उच्च प्रविधि उत्पादनहरूमा प्रयोग हुने दुर्लभ खनिजहरूको निर्यातमा थप नियन्त्रणहरू लागु गर्ने घोषणा गर्‍यो । साथै सरकारले थप २७ कम्पनीहरूलाई व्यापार प्रतिबन्ध वा निर्यात नियन्त्रण गर्ने सूचीमा राख्ने बतायो ।

अप्रिल ५–लगभग सबै देशहरू र भूभागहरू विरुद्ध ट्रम्पको १० प्रतिशत न्यूनतम आयात कर लागू भयो।

अप्रिल ९– ट्रम्पका उच्च पारस्परिक आयात करहरु मध्यरातपछि लागु भए ।  यसले दर्जनौँ देशहरूबाट अमेरिका आउने आयातमा कर बढायो ।  तर केही घण्टापछि ट्रम्प प्रशासनले यी उच्च दरमध्ये अधिकांशलाई ९० दिनका लागि स्थगन गरिने घोषणा गर्‍यो । तर लगभग सबै विश्वव्यापी आयातमा लागेको १० प्रतिशत कर भने यथावत रह्यो ।

तर यसमा चीन अपवाद बन्यो । चीनमाथि कुल १०४ प्रतिशत आयात कर बढाउने धम्कीपछि ट्रम्पले तुरुन्तै त्यसलाई १२५ प्रतिशत पुर्‍याउने बताए ।  ह्वाइट हाउसले पछि फेन्टानिल करको २० प्रतिशत जोडेर चीनमाथि कुल आयात करदर १४५ प्रतिशत बनायो । 

यो घोषणाअघि नै अप्रिल १० देखि अमेरिकी वस्तुहरूमा ८४ प्रतिशत कर लगाउने प्रतीज्ञा गर्दै चीनले बदला लिन आफ्नो योजना बढायो ।  त्यस्तै, युरोपेली संघका सदस्य राष्ट्रहरूले पनि ट्रम्पले पहिले लगाएका स्टील र एलुमुनियम करको जवाफस्वरूप २०.९ अर्ब युरो (४२३ अर्ब) बराबरका अमेरिकी वस्तुहरूमा आफ्नो प्रतिहोधात्मक करहरू स्वीकृत गरे । 

युरोपेली आयोगले तत्काल कुन वस्तुमा कति कर लगाउने नखुलाइ जवाफी करहरू अप्रिल १५, मे १५ र डिसेम्बर १ मा गरी चरणबद्ध रूपमा लागु गर्ने बतायो । क्यानडाको अमेरिकी गाडी आयातमा लगाइएको जवाफी कर पनि कार्यान्वयनमा आयो । 

क्यानडाले २०२० का अमेरिका क्यानाडा र मेक्सिको सम्झौतामा नपर्ने अमेरिकी गाडीहरूमा २५ प्रतिशत कर लगाउन सुरु गर्‍यो ।

अप्रिल १०– ट्रम्पको घोषणालाई मेल खानेगरी युरोपेली संघले स्टील र एलुमिनियममा लगाउने जवाफी करहरूलाई ९० दिनका लागि स्थगन गर्‍यो । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले अमेरिका सँग वार्ता गर्ने तर वार्ता सन्तोषजनक नभए भने जवाफी कदमहरू लागु हुने बताइन् ।

अप्रिल ११– चीनले अमेरिकी कदमको जवाफस्वरूप अमेरिकी वस्तुहरूमा लगाइएको कर ८४ प्रतिशत आयात करबाट १२५ प्रतिशत बनाएको घोषणा गर्‍यो । नयाँ दर एप्रिल १२ बाट लागु हुने पनि बतायो ।

त्यसपछि, ट्रम्प प्रशासनले स्मार्टफोन र ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानहरू पारस्परिक कर छुट हुने घोषणा गर्‍यो । तर केही दिनपछि अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले यो छुट अस्थायी मात्रै भएको र सेमिकन्डक्टरजस्ता क्षेत्रमा विशेष शुल्कहरू लाग्ने बताए । 

तर यसबाट चीनबाट आउने अन्य केही इलेक्ट्रोनिक्समा लागिरहेको करहरू भने कायम नै रहने बताए ।

अप्रिल १४– कार निर्माताहरूले आफ्नो आपूर्ति श्रृंखला समायोजन गर्ने समय पाउन भनेर ट्रम्पले पहिले नै लगाएको करबाट अटो उद्योगलाई अस्थायी रूपमा छुट दिन सक्ने बताए । 

आयात कर लगाउने संकेत दिँदै ट्रम्प प्रशासनले कम्प्युटर चिप, चिप निर्माण उपकरण र फर्मास्युटिकल्सको आयातमा पनि जाँच सुरु गर्‍यो । अमेरिकी वाणिज्य विभागले यी जाँचहरूको बारेमा सार्वजनिक सूचना पोस्ट गर्‍यो र अर्को तीन साताभित्रमा जनताको सुझाव माग्यो ।

रोकिएको मेक्सिकोबाट ताजा गोलभेडा आयातमा एन्टि डम्पिङ जाँच जुलाई १४ मा लागु हुने गरी वाणिज्य विभागले सन् २०१९ को सम्झौताबाट हट्ने घोषणा गर्‍यो । यसकारण मेक्सिकोको गोलभेडामा २०.९१ प्रतिशत आयात कर लाग्नेछ ।

ह्वाइट हाउसले सन् १९६२ को व्यापार विस्तार ऐनको धारा २३२ अन्तर्गत महत्वपूर्ण खनिज, रेयर अर्थ मटेरियल, प्रशोधित महत्वपूर्ण खनिज र तिनका उत्पादनहरूको आयातले अमेरिकी राष्ट्रिय सुरक्षालाई जोखिम दिने वा नदिने जाँच गर्न वाणिज्य विभागलाई निर्देशन दिने एक कार्यकारी आदेश प्रकाशित गर्‍यो ।

अप्रिल १७– अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (युएसटिआर) ले सन् १९७४ को व्यापार ऐनको धारा ३०१ अन्तर्गत, बाइडेन प्रशासनद्वारा सुरु गरिएको जाँचपछि अमेरिकी जहाज निर्माण पुनस्र्थापना गर्न र चीनले समुद्री, लजिस्टिक्स र जहाज निर्माण क्षेत्रमा प्रभुत्व जमाउने कार्यलाई समाधान गर्न कदम चाल्ने घोषणा गर्‍यो । 

युएसटिआरले चिनियाँ जहाज संचालकहरूमा क्रमिक रूपमा लागु हुने शुल्क, विदेशमा निर्मित कारवाहक जहाजमा शुल्क र विदेशी जहाजद्वारा तरल प्राकृतिक ग्यास ढुवानीमा प्रतिबन्ध लगाउनेछ ।  साथै युएसटिआरले जहाजबाट किनारमा सामान ओसारपसार गर्ने क्रेन र अन्य मालसामान व्यवस्थापन उपकरणमा प्रस्तावित आयात करको बारेमा सार्वजनिक सुभाव मागेको छ ।

एशोसिएटेड प्रेस तथा अन्य अखबारहरुबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०८:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro