site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिंहदरबारमै राप्रपा सांसदको प्रदर्शन : प्रहरीलाई झुक्याउन खोज्दा उठ्दैछ ‘गरिमा’मा प्रश्न ?

काठमाडौं । सिंहदरबाको दक्षिण गेट सांसददेखि सर्वसाधारणसम्मका प्रवेशद्वार हो । सांसदका कोटमा लोगो झुन्ड्याएपछि निर्वाध प्रवेश पाउँछन्, कार्ड देखाइरहनुपर्दैन ।

तर, आइतबार अलि फरक अवस्था बन्यो । अर्थमन्त्री विष्णु पौडेलसँग समय लिएर जाँदै गरेका नेपाली कांग्रेसका सांसदद्वय प्रतिमा गौतम र शान्ति परियार दक्षिण गेटमै केरकारमा परे । सधैँ लोगो लगाएपछि निर्वाध प्रवेश पाउने उनीहरुले त्यस दिन कार्ड देखाउनुपर्‍यो । पार्टीसमेत खुलेको परिचयपत्र देखाएपछि पनि उनीहरु दक्षिण गेटबाट प्रवेश पाएनन् । 

“मलाई सांसद भएपछि पहिलोपटक फरक अनुभव भयो । सांसदको लोगो मात्र होइन, परिचयपत्र देखाएपछि पनि उक्त गेटबाट हामी प्रवेश पाएनौं,” सांसद गौतमले बाह्रखरीसँग भनिन् ।

दक्षिणी गेटबाट प्रवेश नपाएपछि सुरक्षाकर्मीको निर्देशन मान्दै पश्चिमी मूल गेट जान बाध्य भए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेताकै नेतृत्वमा सिंहदरबारभित्र प्रदर्शन गरेपछि सांसदहरु समेत ढुक्कसँग हिँड्न नपाउने अवस्था सिर्जना भएको हो । गौतम सांसद पदकै गरिमा घटाउने कदमबारे आफू सदनमा पनि बोल्ने बताइन् । 

“राजनीतिक दलहरुलाई विरोध गर्ने अधिकार लोकतन्त्रले सुरक्षित गरिदिएको छ, लोकतन्त्रकै विरुद्धमा आवाज उठाउने अधिकार पनि उहाँहरुले यही लोकतन्त्रका कारण पाउनु भएको हो,” गौतमले भनिन्, “तर, विरोध गर्दै गर्दा उहाँहरुले आफ्नो मात्र होइन, सांसद पदकै गरिमा गिराउने काम गर्नुभयो ।” 

राप्रपाले आइतबार राजतन्त्र पुनर्स्थापनाको नारा दिएर गरेको आन्दोलनमा निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलनका लागि बिजुलीबजारमा उपस्थित हुन आह्वान गरेका थिए ।

तर, बिजुलीबजारमा आन्दोलनकारीको संख्या एकदमै न्युन भएपछि प्रहरी घेरा तोडेर निषेधित क्षेत्र प्रवेशको सम्भावना देखिएन । 

त्यसपछि लिङदेनसहितका छ राप्रपा सांसद सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगे । निषेधित क्षेत्र तोड्ने रणनीतिबारे पूर्वजानकार रहेको सुरक्षा निकायले लिङदेनसहितका नेतालाई संसदीय दलको कार्यालयमा समेत निगरानी राखे । 

त्यसक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसदीय दलमा प्रहरीले घेरा हालेको भन्दै मिडिया डाके । जब पर्याप्त संख्यामा संचारकर्मी त्यहाँ पुगे, तब राजेन्द्र लिङदेन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपक सिंह, बिना लामा र विना जैसवाल संसदीय दलको कार्यालयबाट बाहिरिए ।

संचारकर्मीकै घेरा जस्तैगरी बाहिरिने क्रममा सहरी विकास मन्त्रालय अगाडि पुगेपछि खल्तीबाट झिकेर पर्चा प्रदर्शन गरेका थिए । उक्त पर्चा खोसेर बाहिर जान दिएको प्रहरीले दक्षिण गेटबाट बाहिरिएसँगै नाराबाजी गरेपछि तीन नेतालाई प्रहरीले पक्राउ गर्‍यो । 

बाँकी राप्रपाका सांसदहरु प्रहरीकै स्कर्टिङमा आन्दोलनस्थल बिजुलीबजार पुगे । त्यसपछि सिंहदरबार प्रवेशका लागि पुगेका कांग्रेस सांसदहरु गौतम र परियार प्रहरी केरकारमा परेका थिए । 

राप्रपा संसदीय दलका उपनेता बुद्धिमान तामाङ आफूहरुले पूर्वघोषित रुपमै निषेधाज्ञा तोडेको भन्दै विरोधको अधिकार सांसदहरुलाई रहेको बताए । 

संसदीय दलको कार्यालयबाट आन्दोलन सुरु गरी सिंहदरबारमै पर्चा प्रदर्शनले सांसद पदको गरिमा घट्यो कि बढ्यो भन्ने प्रश्नमा उनले यो गरिमाको विषय नै नभएको बताए । 

“हामी जम्मा ५/७ जना सांसद त थियौँ । पाँचजना हिँड्न मिल्ने छ जना नमिल्ने भन्ने त हुँदैन नि, हामी छ जना सांसद त थियौं त्यहाँ !,” तामाङले बाह्रखरीसँग भने, “फेरि विरोध गर्नु हुँदैन भन्ने कहाँ छ ? विरोधको अधिकार त छ नि हामीलाई ।”

उनले राप्रपाको विरोधका कारण अरु सांसदलाई केरकार हुनुपर्ने कारण नरहेको र त्यस्तो पनि नभएको दाबी गरे ।  उनले सिंहदरबारभित्र प्रदर्शन गर्दा सांसदको गरिमा घट्छ भन्ने कुरा आफूहरुलाई स्वीकार नभएको बताए । 

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला राप्रपाले संसदीय दलकै कार्यालयबाट प्रदर्शन गर्नुलाई चरम अराजकता भएको टिप्पणी गर्छन् । 

उनले राप्रपा सांसदहरुले सांसद पदको गरिमामात्र नघटाएर भविष्यमा सुरक्षाका लागि सोच्न बाध्य पारिएको उनको भनाई छ । 

“यो त चरम अराजकता हो । यसका विषयमा केही न केही गर्नुपर्ने हुन्छ,” बर्तौलाले भने, “यो प्राथमिकरूपमा सम्बन्धित संसदीय दल र सांसदहरूमाथिको नैतिकताको प्रश्न हो । त्यसबाहेक सांसद पदको गरिमासँग पनि यसको सम्बन्ध हुन्छ । उहाँहरूले घटाउनु भयो कि बढाउनु भयो सोध्न आवश्यक छ ।” 

सिंहदरबारभित्र पर्चा प्रदर्शन गरी विरोध गर्दासमेत प्रहरीले पर्चामात्र खोसेर बाहिर निकालेको थियो ।  तर, गेटबाहिर निषेधित क्षेत्रमा नाराबाजी भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी दिनेश आचार्य अन्य सुरक्षा रणनीति माथिबाट बन्ने भए पनि प्रहरीले निषेधित क्षेत्रमा सबैलाई समान रुपमा कारवाही गर्ने बताए । 

आचार्यले भने, “निषेधित क्षेत्र तोकिएकोमा हामी जोसुकै व्यक्तिलाई नियन्त्रणमा लिन्छौँ, आइतबार त्यही नै गरिएको हो ।”

संघीय संसद सचिवालयका एक अधिकारी सिंहदरबारभित्र सांसदहरुकै प्रदर्शन हुने कुरा संसदको सरोकारको विषय भएको हुँदा सभामुखसहितले यसबारे धारणा बनाउने बताउँछन् । 

“सांसदहरुकै तहबाट सिंहदरबारभित्रै भएको विरोध प्रदर्शनका विषयमा संघीय संसद् सचिवालय तहबाट निर्णय गर्ने कुरा भएन,” ती अधिकारीले भने, “सभामुखको तहबाट  यसबारे निर्णय निर्देशन होला भन्ने अपेक्षा गरौँ ।”

सभामुखको ध्यानाकर्षण

राप्रपाको प्रदर्शनका विषयमा सभामुखको पनि ध्यानाकर्षण भएको छ । 

सचिवालयले सभामुखको भनाइ उद्धृत गर्दै कानुन बनाउने सांसदहरुले नै कानुन उल्लंघन गर्नु उचित नहुने भन्दै यस्ता विषयमा सांसद स्वयम्ले ध्यान पुर्‍याउनुपर्ने धारणा रहेको जानकारी दिएको छ ।

संसद् सचिवालयका पूर्वमहासचिव सूर्यकिरण गुरुङ राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गरेर पक्राउसमेत परेपछि अन्य सांसदलाई केरकार गर्नु पनि एक प्रकारको ज्यादती भएको बताउँछन् ।

“राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने भनेको थियो । सिंहदरबारभित्रै प्रदर्शन गरेवापत उनीहरु त पक्राउ परे, प्रक्रिया पुर्‍याएर छुटी पनि सके,” गुरुङले भने, “त्यसपछि सार्वभौम सांसदलाई अनावश्यक केरकार गर्नु पनि दुर्व्यवहार नै हो ।” 

कहाँ प्रदर्शन विरोध गर्ने भन्ने सम्बन्धित व्यक्ति वा पार्टीको कुरा भएकाले प्रदर्शन गरेरवापत हुने सजाय भने ठाउँअनुसार निर्धारित हुने उनको बुझाइ छ ।  
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro