
काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनमा संयमित र अनुशासित हुन शिक्षकलाई आग्रह गरेको छ ।
आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन कायम राख्न महासंघले आग्रह गरेको छ ।
आन्दोलनलाई निर्णायक बनाउन अझै जोडबलसहित आन्दोलनमा जुटन् पनि महासंघले अनुरोध गरेको छ ।
“आन्दोलनका लागि तोकिएको स्थान र तोकिएको विधिबाहेक अन्य कार्यमा संलग्न नहुनु होला,” महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भनेका छन्, “आन्दोलन आफैँमा जटिल जिम्मेवारी हो । मनोगत र लहडी निर्णय तथा कुराप्रति सचेत रहनुहोला ।”
बजारमा चलेका अफवाह र गलत समाचारहरूमा विश्वास नगर्न पनि उनले आग्रह गरेका छन् । आन्दोलनलाई परिणाममुखी बनाउन धैर्यता, संयम र अनुशासन आवश्यक रहेको उनले बताएका छन् ।
आज पनि बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलन हुनेछ । पछिल्लो केही दिनयता महासंघले बिहान ९ बजेदेखि आन्दोलन गर्दै आएको छ ।
शिक्षकहरूको आन्दोलन चर्किएपछि शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । शिक्षकका मागप्रति सकारात्मक रहेकी उनले सोमबार राजीनामा दिएकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आन्दोलनप्रति कडा रूपमा प्रस्तुत भएपछि भट्टराईले राजीनामा दिएको बताइएको छ ।