site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका नेवारी खाजाघर : जहाँ पाइन्छ विशेष परिकार
SkywellSkywell

तस्बिर तथा भिडियो : सुनिल प्रधान 


काठमाडौं । काठमाडौं उपत्यकालाई मन्दिरै मन्दिरको सहरको रुपमा चिनिन्छ । नेवार जातिहरुको उत्पत्ति र बाहुल्यता रहेको यो क्षेत्र कला र संस्कृतिका लागि मात्रै नभई नेवारी परिकारका कारण पनि लोकप्रिय छ ।

पछिल्लो समय अन्य समुदायका मानिसबीच पनि नेवारी परिकार चर्चित छ । अहिले जो कोहीले नेवारी परिकारको स्वाद लिन जात्रा, पर्व वा कुनै नेवार साथीको निम्तो कुर्नु पर्दैन । गोजीमा पैसा र मनमा इच्छा भए नेवारी खाजाघर जान सकिन्छ ।

KFC Island Ad
NIC Asia

आज तपाईंहरुलाई काठमाडौं उपत्यकाका केही नेवारी खाजाघरहरुको भ्रमण गराउँदै छौँ । यी खाजाघरहरुले नेवारी परिकारको स्वाद त पस्किरहेका छन् नै खाजाघरको निर्माण, सजावाटलगायत हरेक कुरामा नेवारी संस्कृति झल्काउने प्रयास पनि गरिरहेका छन् । जहाँ परालले बुनेको सुकुलमा पलेँटी कसेर मज्जाले नेवारी परिकारको स्वाद लिन सकिन्छ ।

Royal Enfield Island Ad

नेवाः सूली 
काठमाडौं उपत्यकाका नेवारी खाजाघरहरुमध्ये ‘नेवाः सूली’ एक पुरानो खाजाघर हो । तुलसीबहादुर महर्जनले सानो रुपमा सुरु गरेको खाजाघरलाई उनका छोरा दिनेशले अहिले एउटा ब्रान्डको रुपमा विस्तार गरेका छन् ।

“बुवाले म दुई वर्षको हुँदादेखि सुरु गर्नुभएको थियो । पछि मैले पनि अरुभन्दा आफ्नै पेसालाई निरन्तरता दिनुपर्छ जस्तो लागेर यसमै बुवा र आमालाई सघाउन थालेँ र समयसँगै यसलाई अपडेट गर्दै लगेँ,” सञ्चालक दिनेशले बताए ।

नेवारी परिकार पारखीहरुको जिब्रोमा नेवाः सूलीको स्वाद बसिसकेको छ । यहाँको विशेष परिकार भनेको सुकुटी हो । “यहाँको नेवारी परिकारको स्वादकै कारण ग्राहकहरु आउँछन् । तर, त्योभन्दा पनि विशेष परिकार भनेको हामी आफैँले बनाउने सुकुटी हो । सुकुटी बनाउने हाम्रो आफ्नै तरिका छ,” दिनेश भन्छन् ।

हरेक वर्षकोे जाडो महिनामा वर्षभरिका लागि पुग्ने गरी सुकुटी बनाइन्छ । गर्मीमा भन्दा जाडोको घाममा सुकुटी राम्रोसँग सुक्छ । गर्मीमा धेरै मासु काटेर राख्दा गन्हाउन सक्ने भएकाले जाडो मौसममा सुकुटी बनाउन उत्तम हुने उनको अनुभव छ ।

नेवाः सूलीको चिउरा, सुकुटी, छोइला, कचिला, ड्याकु ला, हाँसको छोइला भटमास, आलु साँधेकोलगायत १३ थरी परिकारको नेवारी खाजा सेट पनि चर्चित छ । पाँचजनाको समूहमा जाँदा १६ सय ३० रुपैयाँमा यो सेट पेटभरि खान सकिन्छ । यदि, तपाईं दुई–तीनजनाको सानो समूहमा मात्रै जानुहुन्छ भने हार्फ सेट मात्रै अर्डर गर्न सक्नुहुन्छ । ९३० रुपैयाँमा हार्फ सेट पाउनुहुनेछ ।

०६७ सालदेखि यो खाजाघर नेवाः सूली नामबाट परिष्कृत रुपमा सञ्चालनमा आएको हो । त्यसअघि, साधारण खाजाघरको रुपमा थियो । ‘नेवाः सूली’को अर्थ भट्टीपसल वा खाजाघर भन्ने बुझिन्छ ।

नेवाः सूली हरिसिद्धिमा रहेको छ । ललितपुरको सातदोबाटोबाट गोदावरी जाने बाटो हुँदै हरिसिद्धिको गुमज चोकबाट दायाँ मोडिएपछि हरिसिद्धि वडा नम्बर–२९ को कार्यालय भवन आउँछ । त्यहाँबाट केही पाइला अगाडि बढेर बायाँ मोडिएर सिधा जाँदा नेवाः सूली पुगिन्छ ।

नेवाः सूलीको घर पनि परम्परागत नेवारी शैलीमा निर्माण गरिएको छ । यसअघि, आफ्नै घरमा सञ्चालनमा रहेको यो खाजाघर यहाँ सरेको १५ महिना मात्रै भएको छ ।

नेवाः लहना
पछिल्लो समय कीर्तिपुरलाई नेवारी परिकारको ‘हब’ नै मान्न थालिएको छ । यहाँ नेवारी परिकार चाख्न हरेक दिन मानिसको ओइरो लाग्ने गरेको छ । नेवाः लहनाको स्वाद दिनहुँ फैलँदो छ ।

थाःबा टोलका राजमान मानवको अग्रसरतामा सोही टोलका ५७ परिवारको लगानीमा करिब १५ वर्षअघि नेवाः लहना सुरु भएको हो । नेवारी शब्द लहनाको अर्थ सभ्यता भन्ने हुन्छ ।

नेवाः लहनाको विशेष परिकार भनेको नेवारी समुदायको परम्परागत खानेकुराको समिश्रण हो । जसमा भटमास, मकै, छुस्या, गुन्द्रुक, हरियो लसुन, खर्थो (कालो छ्याङ) हो । यद्यपि, लहनाको लोकप्रिय परिकारमा समयबजी नै पर्ने राजमानले बताए ।

“प्रत्येक परिवारबाट कम्तीमा पाँच हजार र बढीमा जति पनि हाल्न पाइने गरी हामीले लहना सुरु गरेका हौं,” लहनाका प्रबन्ध निर्देशक राजमान भन्छन्, “सुरुमा बढीमा ६ महिना सञ्चालन होला नि भनेर सुरु गरेको आज १५ वर्ष भइसक्यो । लहनाले निरन्तर रुपमा नेवारी परिकारको स्वाद दिइरहेको छ ।”

सस्तो र मिठो दुईजनालाई पुग्ने समयबजी सेट यहाँको धेरै रुचाइने परिकार हो । लहनामा ३०० रुपैयाँमा एक बटुको थों (छ्याङ)सहितको समयबजीको स्वाद लिन सकिन्छ । ठिक्को (टपरी)मा बजी (चिउरा), कुखुराको उसिनेको अन्डा, कालो भटमास, साँधेको मसालेदार आलु, साँधेको साग, बोडी, बारा र छोइलासहितको समयबजी सेट तपाईंले पाउनुहुनेछ ।

समुदायस्तरबाट सञ्चालित लहनाले उक्त टोलका मानिसलाई रोजगारीसमेत दिँदै आएको छ । करिब ५०० जनाजतिको क्षमता रहेको लहनाले महिनामा ६० लाख रुपैयाँ बराबर आम्दानी गर्ने राजमानले बताए । उनका अनुसार लहनामा खानापारखीको भिड लाग्नुको कारण अथेन्टिक नेवारी परिकार, समुदायस्तरमा सञ्चालित र मिठो अनि सस्तो मूल्य नै हो ।

कीर्तिपुर प्रवेशद्वारको गेटबाट दायाँ मोडिएपछि दुईवटा बाटो आउँछ । जसमध्ये बाघभैरव मन्दिरतिर जाने माथिल्लो बाटो लाग्दा मन्दिर नपुग्दै केही तल सानो गल्ली देखिन्छ । त्यही गल्लीभित्रको एउटा सानो चोकमा नेवाः लहना छ ।

ससःत्वा
काठको कलात्मक शैलीमा बनेको ठूलो ढोका । त्यसबाट भित्र प्रवेश गर्नेबित्तिकै दायाँपट्टि गणेशको सानो मन्दिर छ । त्यसको ठिक अघिल्तिर दायाँ छेउमा काठले बनाइएका बत्ती बाल्ने पाला र ढोकाको बायाँपट्टि ढुंगेधार र इनार । ती दृष्य नियाल्दै चार खुड्किलो ओर्लिएर अगाडि बढ्दा माटो र इँटाले बनाइएका पार्टीपौवाहरु देखिन्छ । अन्तिमको एउटा पार्टीमा नेवारी हाकुपटासीमा सजिएका महिलाहरु अन्डा, मासुलगायत राखेर बारा, चटामरी बनाउँदै गरेका देखिन्छन् ।

अझ अगाडि बढ्दै जाँदा वरिपरि बस्न मिल्ने दुईतले नेवारी शैलीमा बनेका भवनहरु र बीचमा ठूलो खाली स्थान आउँछ । कीर्तिपुरस्थित नेवारी खाजाघर ‘ससः त्वा’को परिवेश हो, यो ।

एघार वर्षअघि कीर्तिपुरका पाँचजना साथीहरु फिरोज सिंह, विनोद महर्जन, सुनील महर्जन, तिरोज महर्जन र सुदीप महर्जनले नेवारी रेस्टुरेन्टको रुपमा ‘सस’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका थिए । १५ महिनाअघिदेखि भने त्यो नयाँ नेवारी कलात्मक भवनमा ‘ससः त्वा’को नामबाट सञ्चालनमा छ ।

नेवारी शब्द ससःको अर्थ सुसुराली र त्वाको अर्थ टोल भन्ने हुन्छ । रेस्टुरेन्टको नामजस्तै यहाँको विशेष परिकार भनेको ‘जिल्ज कव्ला’ हो । ज्वाइँ पहिलोपटक सुसुराली आउँदा खुवाउने विशेष परिकारको रुपमा यसलाई लिइन्छ ।

जसमा पकाएको अन्डा, बारा, माछा, भुटन, न्हपु, तिस्य, छोइला, ऐलालगायतको परिकार हुने गर्छ । ससः त्वाको यो विशेष परिकारको स्वाद लिन ७२० रुपैयाँ भए पुग्छ ।

कीर्तिपुर, पाँगा दोबाटोदेखि ढल्पा चोक र त्यहाँबाट केही दूरी पार गरेपछि ओरालो बाटो आइपुग्छ । ओरालोमै बायाँपट्टि छ, ‘ससः त्वाः ।

“हामीले टिपिकल नेवारी स्वाद दिनका लागि यहाँ भोजभतेरमा सेफको रुपमा भान्छामा लामो समयको अनुभव भएका दिग्गज व्यक्तिहरु र पुराना खाजाघरहरु सञ्चालन गरिहेकाहरुबाट हाम्रो यहाँका सेफहरुलाई प्रशिक्षणको तयारी गरिरहेका छौँ,” सञ्चालकमध्येका एक विनोदले भने ।

जात्रा रेस्टुरेन्ट
नेवारी परिकारका पारखीहरुलाई सेवा दिने उद्देश्यले कीर्तिपुरमै अवस्थित अर्को नेवारी खाजा घर हो, जात्रा रेस्टुरेन्ट । नामजस्तै जात्रा रेस्टुरेन्टमा प्रवेश गर्नेबित्तिकै कीर्तिपुरलगायत समग्र नेवारी समुदायले मनाउने विभिन्न जात्राको झलक त्यहाँ भित्तामा सजाइएको तस्बिरहरुमा देख्न सकिन्छ ।

अन्य नेवारी खाजाघरहरुमा जस्तै यहाँ पनि बारा, छोइल, स्यपुमिह्चा, चटामरीलगायत सबै नेवारी परिकारको स्वाद लिन पाइन्छ । जात्राको समयमा पुग्नेले भने ‘जात्रा भ्वेय’ अर्थात जात्राभोज विशेष परिकार पनि चाख्न पाउँछन् । जात्रा हुँदा नेवारी भान्छामा पाक्ने विशेष भोजको परिकार यहाँको विशेष सेटमा पाइन्छ ।

यमरी, छोइला, भुटन, बारा, अचार, आलु, भटमास, बोडी, कचिला, चिउरालगायत १७ थरी परिकार पाइने यो सेटको मूल्य १५ सय रुपैयाँ रहेको छ । यो भोज सेट चार–पाँचजनाको समूहमा गएर खान सकिन्छ ।

सचिन्द्र महर्जनलगायत यसका ६ जना सञ्चालकहरु तीन वर्षअघि नेवारी खाजाघर खोल्ने सोचमा थिए । नाम के राख्ने भन्ने कुरामा उनीहरुले धेरै सोचे । अन्ततः आफूले सानैदेखि सुन्दै, देख्दै र मनाउँदै आइरहेको ‘जात्रा’ शब्दमा अडिए । सचिन्द्र भन्छन्, “हामी नाम खोज्दै थियौँ, जात्रा शब्द ठ्याक्क दिमागमा आयो । जात्रा भनेको संस्कृति र उत्सव दुवै हो । यो नाम अलि क्याची पनि लाग्यो । त्यसैले हामीले यही नाममा रेस्टुरेन्ट राख्यौँ ।”

उनका अनुसार जात्रा भन्नेबित्तिकै मिठा–मिठा नेवारी परिकार र बाजागाजा पनि पर्छ । त्यसैलाई देखाउन ‘जात्रा’का हरेक भित्तामा कीर्तिपुरको मौलिक जात्रामा बजाइने विशेष बाजाहरु सजाइएका छन् । नेवारी पोसाक र गरगहनाहरु त्यहाँ सजाइएका छन् ।

यहाँको विशेष परिकार जात्रा सेट भए पनि सञ्चालक सचिन्द्र स्वयंलाई भने यहाँको चटामरी र आलुतामा मन पर्छ । उनी यहाँ आउने हरेकलाई यो परिकार चाख्न सुझाव दिन्छन् ।

जात्रामा करिब २०० ग्राहक क्षमता रहेको छ । ‘नेवाः लहना’कै बाटो पछ्याउँदै जाँदा लहना नपुग्दै ठ्याक्कै आधा बाटैमा दायाँपट्टि आउँछ, ‘जात्रा रेस्टुरेन्ट’ ।

बीकेएम नेवारी खाजाघर एन्ड कटेज
ललितपुरको सातदोबाटोबाट गोदावरी जाने बाटोतर्फ अगाडि बढ्दा हरिसिद्धिको पेट्रोलपम्पभन्दा केही घर पर ओरालाको बायाँपट्टि छ, बीकेएम नेवारी खाजा घर एण्ड कटेज ।

पछिल्लो तीन दशकदेखि बीकेएमले नेवारी परिकारप्रेमीहरुलाई सेवा दिँदै आइरहेको छ । दुई बुवा–छोरा (बाबुकाजी महर्जन र सुवास) मिलेर बीकेएम चलाएका हुन् ।

 

छोइलाको भेराइटी र सुकुटी बीकेएमको विशेष परिकार हो । छोइलाको भेराइटीमा हाँसको छोइला, बट्टाइँको छोइला, चिकेन छोइला, खसीको छोइला र सुकुटीको स्वाद यहाँ लिन सकिन्छ । कटेजको अवधारणामा सञ्चालन भइरहे पनि यहाँ पाइने भनेको नेवारी परिकार नै हो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २४, २०७७  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro