काठमाडौं । कुनै सुन्दर चित्रकला हेर्दा अवलोकनकर्ताको मुखबाट निस्कने ‘ओभिएस’ वाक्य भनेको ‘कस्तो आँखालाई शीतल पार्ने चित्र !’ वा ‘कस्तो जीवन्त चित्र !’ यो भन्नुको अर्थ क्यानभासमा उतारेको त्यो चित्रले अवलोकनकर्तालाई कुनै क्यानभासमा नभई प्रत्यक्ष त्यही ठाउँमा पुगेको वा आँखाअगाडि त्यो ठाउँ भएको अनुभूति हुनु हो ।
कलाकारले क्यानभासमा हुबहु उतारेको कुनै पनि ठाउँ, वस्तु वा व्यक्ति जीवन्त लाग्नु त्यसमा प्रयोग भएको रङको छनोट र लगाइ ठिक हुनुपर्दछ । “तपाईंले जतिसुकै समय लगाएर जतिसुकै निपूर्णताका साथ लाइन कोर्नुस् वा पेन्टिङ कोर्न्स्, त्यसमा सुहाउँदो कलर लगाउन सक्नु भएन वा अवलोकनकर्ताको आँखालाई शीतलता दिएन वा ट्रिगर भएन भने त्यो पेन्टिङ राम्रो भएन भन्ने नै बुझिन्छ,” कलाकार–कला लेखक मुकेश मल्ल भन्छन् ।
अर्थात चित्रकलामा रङको विशेष महत्व हुने चित्रकारहरु बताउँछन् । चित्रकलाको नौ फन्डामेन्टल (मौलिक) नियममा रङ सन्तुलन महत्वपूर्णमध्ये एक हो । एब्सट्रायक, पोट्रेट, ल्यान्डस्केपलगायत चित्रकलाको विधा जुन भए पनि रङको छनोट र प्रयोग महत्वपूर्ण भएको उनीहरुको जोड छ ।
आधुनिक चित्रकलामा रङ छनोटले त्यति फरक नपारे पनि परम्परागत चित्रकलामा भने रङ छनोट निकै गम्भीर विषय हो । शास्त्रमा जुन लेखिएको छ, त्यही प्रयोग गर्नुपर्ने कलाकार मुकेश बताउँछन् । “आधुनिक वा भनौँ, समकालीन कलामा रङ छनोट गर्दा कलाकारलाई केही स्वतन्त्रता छ । कुनै नियम छैन । तर, धार्मिक वा परम्परागत चित्रकलामा रङ छनोट गम्भीर कुरा हो,’’ परम्परागत चित्रकलामा रङको विशेष महत्त्वबारे उनी भन्छन्, ‘‘बुद्धधर्ममा आफ्नो प्रकारको रङ हुन्छ भने हिन्दु, जैनधर्ममा आ–आफ्नैखालको हुन्छ । चित्रकारले पनि त्यस्तै रङ प्रयोग गर्नुपर्दछ ।”
विशेषगरी एब्सट्रयाक्ट पेन्टिङमा रमाइरहेका दिग्गज चित्रकार किरण मानन्धर रङको छनोटबारे यसो भन्छन्, “सबैभन्दा पहिला रङ छनोट महत्वपूर्ण हुन्छ । कस्तो रङ छान्ने हो, कुन रङमाथि कुन रङ राख्ने हो, कुन विषयमा काम गरिरहेको छ भन्ने कुराले पनि रङ छनोटमा विशेष स्थान राख्दछ ।” उनका अनुसार पसलबाट ल्याएको रङ कलाकारका लागि अपूर्ण हुन्छ । किनभने, रङको टोन फरक–फरक हुन्छ । त्यसैले ती रङहरु ल्याएर कलाकारले आफूलाई कस्तो टोनको रङ चाहिने हो र कुन–कुन रङ मिसाएर त्यस्तो बन्छ भन्ने कुराको राम्रो ज्ञान हुनुपर्ने उनको भनाइ छ ।
रङका प्रकार
कलाकार मुकेश मल्लका अनुसार रातो, नीलो, पहेँलो रङ आधारभूत रङमा पर्दछन् । चित्रकलाका विद्यार्थीहरुले विश्वविद्यालयमा यी तीनवटा रंगहरुबाटै अन्य हजारौँ रङहरु कसरी निर्माण गर्न सकिन्छ भनेर सिकेका हुन्छन् । यी रङहरुबाटै हजारौँ अन्य रंगहरु बनाउन सकिन्छ । यसका साथै रङका दुईवटा परिवार हुने पनि मल्लले नै जानकारी दिए । पहिलो भनेको वार्म परिवार र दोस्रो कुल परिवार हुन् ।
यी दुईमध्ये वार्म परिवारमा रातो, पहेँलोलगायतका रङ पर्दछन् भने कुल परिवारमा नीलो, हरियोलगायतका रङ पर्दछन् । “यी दुईवटालाई मिसाएर ब्यालेन्स गर्न निकै गाह्रो हुन्छ । यसको मतलब यी दुई रङलाई मिसाउनु हुन्न भन्ने होइन । तर, यी दुई परिवारलाई मिसाएर राम्रो रङ निकाल्न सक्नु भनेको रङमा निपूर्णता र चित्रकलामा लामो यात्रा तय गरिसकेका कलाकारहरुले मात्रै सक्छन्,” रंगका दुई परिवारवारे मल्लले भने ।
चित्रकलामा रङका प्रकारहरु भनेको ट्रान्सपेरेन्सी रङ, ओपेड रङ र टेक्चर हुन् । छर्लंग देखिने रङहरु, ढाक्नेखालको वा भनौँ गाढा रङ र जीवन्त चित्रण गर्ने पत्रपत्र देखिने गरी लगाइने रङ, जसमा एउटा मात्रै रङ पूरै नलगाएर कुनै वस्तुलाई प्राकृतिक र जीवन्त देखाउन प्रयोग गरिन्छ ।
रङ र भाव
आकाश भन्नेबित्तिकै (सफ्ट ब्लु) हल्का नीलो रङ हाम्रो स्मृतिमा आउछ । त्यस्तै, प्रकृति शब्द सुन्दा हरियो, नीलोजस्ता रङहरु हामी सम्झन्छौँ । अर्थात रङ एउटा चिनारी पनि हो । कलाकार कृष्णागोपाल श्रेष्ठ रङले भाव प्रकट गर्ने बताउँछन् । उनी भन्छन्, “अध्याँरो हुँदा हामी सबैजना डराउँछौँ । त्यस्तै, आकाश कालो भएर बादल लाग्न थाल्यो भने हामी हावाहुरी आउन लागेको वा चट्याङ पर्न लागेको भन्ने बुझ्छौँ । त्यसैले चित्रकलामा प्रयोग गरिने रङले पनि त्यो चित्रकलाले के भन्न खोजेको भन्ने भाव प्रकट गर्दछ र गर्न जरुरी पनि छ ।”
चित्रकार मान्नधर पनि रङमार्फत भाव प्रकट गर्न कहिले घरमै पाइने कुचोको प्रयोग गर्छन् भने कहिले मलमलको कपडालाई रङमा डुबाएर त्यही क्यानभासमा भर्छन् । यसलाई जन्म र मृत्युको भाव देखाउन खोजेको बताउँदै उनी भन्छन्, “हामीलाई जन्मनेबित्तिकै पनि कपडाले बेर्छ भने मर्दा पनि हाम्रो मृत शरीरलाई कपडाले बेरेरै घाटमा लगिन्छ । यही देखाउन म मेरो प्रायः पेन्टिङमा मलमलको कपडालाई रङमा डुबाएर प्रयोग गर्छु ।”
रङको छनोट र प्रयोगले कलाकारको अनुभव चित्रण
चित्रकलामा प्रयोग गरेको रङको छनोटले त्यो कलाकार कतिको रङमा निपूर्ण छ र कतिको अनुभवी छ भन्ने कुरा चित्रण गर्ने कलाकारहरुको बुझाइ छ । रङ कस्तो छान्ने र कति, कसरी लगाउने भन्ने प्रक्रियालाई तरकारी बनाउने प्रक्रियासँग तुलना गर्दै चित्रकार मानन्धर भन्छन्, “अनुभवी सेफले तरकारीमा कति नुन हाल्ने, कति मसला हाल्ने, कुन–कुन मसला हाल्ने भन्ने राम्रोसँग जान्दछ । उसले पकाएको तरकारी पनि मिठो हुन्छ । त्यही तरकारी भर्खरै कुकिङ सिकेको व्यक्तिले बनायो भने नुन त्यही हाले पनि मसला त्यति नै हाले पनि स्वाद फरक हुन्छ र चाख्ने मान्छेले थाहा पाइहाल्छ । त्यस्तै, कुनै पनि कलाकारको पेन्टिङमा प्रयोग भएको रङ हेर्नेबित्तिकै त्यो कुन स्तरको कलाकारले बनाएको हो भन्ने थाहा भइहाल्छ ।”
एउटा अनुभवी कलाकारले रियलमा जुन रङ हो, क्यानभासमा पनि त्यही रङ उतार्न सक्छ । किनभने, ऊसँग कुन रङ मिलाउँदा कस्तो रङ आउछ भन्ने राम्रो ज्ञान हुन्छ ।
अवलोकन र अनुसन्धानको महत्व
रङमार्फत चित्रकलालाई जीवन्त बनाउन त्यही ठाउँ र वस्तुको निरन्तर अवलोकन गर्न जरुरी हुन्छ । कलाकार मानन्धर लेउ कसरी लागिरहेको छ अर्थात त्यसको रियल कलर कस्तो हुन्छ भनेर थाहा पाउन कहिले खोल्सातिर गएर घण्टौँ हेरिरहन्छन् भने कहिले राणाकालमा बनेका भवनहरुको उप्किएको भित्ता खोतल्दै त्यसमा कस्तोखालको कलर टोन छ, हेर्छन् ।
उनका अनुसार प्रकृतिसँग जति नजिक भयो, कलाकारका लागि त्यति नै फाइदा हुन्छ । उनका अनुसार किताबबाट जति रङको बारेमा सिके पनि यदि कलाकार फिल्डमा नै गएर अध्ययन गर्दैन भने उसले राम्रो पेन्टिङ बनाउन सक्दैन ।
कलाकार मुकेश मल्ल भने रङको राम्रो ज्ञानका लागि कलाकारले ल्यान्डस्केप र एब्सट्रयाक्ट गर्न जरुरी ठान्छन् । किनभने, एब्स्ट्रयाक पेन्टिङ भनेको त्यस्तो पेन्टिङ हो, जसमा अरुमा जस्तो स्पष्ट लाइन कोरेर सेप दिइन्न । यसमा कलाकारले रङमार्फत भाव पोख्छन् र यसैबाट सेप दिइन्छ ।
पहिले र अहिलेको रङ प्रयोग
इतिहासको हरेक कालखण्डमा कलाकारहरुले किसिम–किसिमका रङ प्रयोग गरेको देखिन्छ । आजभन्दा ५–६ सय वर्षअगाडि गाढा रङको प्रयोग गरिन्थ्यो । तर, आधुनिक युगसँगै कलाकारहरुले उज्यालो रङहरु धेरै प्रयोग गर्न थालेको मल्लले बताए । यस्तै, पहिले तयारी रङ (रेडिमेड) किन्न पाइँदैन थियो । त्यसैले कलाकारहरुले आफ्नो वरिपरि प्रकृतिमा भएका पात, माटो, ढुंगा आदिबाट आफैँ रङ बनाउँथे र प्रयोग गर्दथे । पहिलेका रङहरु प्राकृतिक हुने भएकाले त्यसको आयु लामो हुने तर अहिलेका रेडिमेड रङहरु समयसँगै खुइलिने वा फिक्का भएर जाने गरेको मानन्धर बताउँछन् ।
तर, रेडिमेड रङको गुणस्तरले रङको टोन र आयुमा फरक पार्ने कुरामा पनि उनी जानकार छन् । “रङ मात्रै भनेर हुँदैन, यसमा पनि धेरैथरीका (गुणस्तर)का रङ बजारमा पाइन्छ । राम्रो रङ भयो भने त्यसको टोन पनि राम्रो हुन्छ र फेड भएर नजानेखालका हुन्छन्,” उनी अगाडि थप्छन्, “तर, हाम्रा कति कलाकारहरलाई रङको गुणस्तरको ज्ञान नै छैन । मलाई रङ पसलेहरुले भन्छन्, ‘‘प्रायः कलाकारहरु रङ दिनुस् मात्रै भन्छन्, राम्रो गुणस्तरको दिनुस् वा कुन–कुन क्वालिटीका छन् भनेर सोध्दैनन् ।” उनका अनुसार रेडिमेड रङले कलाकारको समय बचाइदिएको छ भने विकल्प पनि धेरै भएका छन् ।