काठमाडौं । रंगकर्मीहरुको बलियो चिनारी भनेकै पात्रमा बाँधिएर अन द स्पोट चरित्रको भाव र मर्मलाई दर्शकलाई महसुस गराउनु हो । उनीहरुको त्यो क्षमताले नै हरेक रंगकर्मीलाई एक कुशल र दक्ष रंगकर्मी बन्न मद्दत मिल्छ । तर, पूरा विश्वलाई स्तब्ध बनाइराखेको कोरोना महामारीले रंगकर्मीहरुको यही औजारलाई तिखार्नुको सट्टा खिया पारिरहेको रंगकर्मीहरु महसुस गर्छन् ।
“लामो समय नाटक मञ्चन र रिहर्सलबाट टाढा हुँदा इन्द्रियहरु लक भएको जस्तो महसुस भएको छ,” रंगकर्मी विजया कार्की बताउँछिन् ।
उनका अनुसार कलाकारहरु २४ सै घण्टा काममा नै हुन्छन् । नाटकघर बाहिर हुँदा पात्र अवलोकन गर्नेदेखि आफूलाई हरेक पात्रका लागि शारीरिक र मानसिक रुपमा तयारी गरिरहेका हुन्छन् । तर लामो बन्दाबन्दीले हरेक व्यक्ति घरघरमै थुनिएर बसेका छन् । एकअर्काको समिप हुन पाएका छैनन्, कुनै नाटकको पात्रको बारेमा बुझ्न पाएका छैनन् । जसको प्रत्यक्ष असर आफ्नो कलाकारिता क्षमतामा परिरहेको उनको बुझाइ छ ।
मञ्चमा जाने कन्फिडेन्स पनि केही कम भएको हो की भन्ने महसुस उनीहरुले गरिरहेका छन् । हरेक रंगकर्मीका लागि नाटकघर आफ्नो पात्रको र व्यक्तिगत भाव पोख्ने ठूलो ताल हो । उनीहरु नाटकका पात्रमार्फत मन र दिमागमा भएका आफ्ना व्यक्तिगत भाव पनि पोख्ने गर्छन् । तर नाटक मञ्चन नहुँदा यो महामारीका कारण उत्पन्न भएका तनाव र उथलपुथल अभिव्यक्त गर्ने थलो उनीहरुले पाइराखेका छैनन् । नौ महिनासम्म ठप्प रंगकर्म अझै कहिले खुल्ने अनिश्चिता सँगै प्यासनले अघि बढिरहेको यस क्षेत्रलाई अब निरन्तरता दिन सकिन्छ ? भन्ने प्रश्न उब्जिन थालेको उनीहरु बताउछन् ।
रंगकर्मी अनुप न्यौपाने भन्छन्, “हाम्रो घरपरिवारले यो क्षेत्रलाई करिअरको रुपमा नहेर्दानहेर्दै पनि यो पेशामा यति लामो समयदेखि लागि रहयौं । तर अब भने आफैंले आफैंमा प्रश्न उब्जिन थालिसक्यो के साँच्चै यो बाहेक अब अरु केही सोच्नै पर्ने भएको हो ?” अनुप आफूलगायत आफ्ना अन्य रंगकर्मी साथीहरुमा रंगकर्म प्रोफेसन होइन की भन्ने सोच आएको बताउछन् । उनीहरु अब विकल्प सोच्दै छन् ।
अरु प्रोफेनमा भएको भए हरेक महिना आउने पारिश्रमिक बचतमा हुने थियो तर रंगकर्मलाई कर्म बनाएर अघि बढिरहेका उनीहरुको आज न गोजीमा आम्दानी छ न त रहर नै पूरा गर्न पाइरहेका छन् । यो अनिश्चितता अझै बढ्दै जाने हो भने धेरै रंगकर्मीहरु भोली पुनः नाटकघर खुल्दा मञ्चमा नदेखिने चिसो यथार्थ देखिने अवस्था आइसकेको उनी बताउँछन् ।
कलाकार अंकित खड्का लामो समय भइसक्यो अभिनयलाई नै आफ्नो करिअर बनाएर अघि बढाइरहेका । उनको दायरा नाटकघरको मञ्चमा मात्रै सीमित छैन । उनी चलचित्रभनय गर्छन् ।
यति हुँदाहुँदै पनि उनलाई यो करिब ९ महिनाकोे बन्दाबन्दीले आर्थिक भार परिसकेको छ । त्यो अन्य रंगकर्मीको तुलनामा कम होला । तर उनी यो नकार्दैनन् कलाकारितामा लागिरहेका उनको आम्दानी ठप्पै भएको छ ।
“म मण्डला नाटकघरको केही नजिक छु । यहाँका सिनियर कलाकारहरुसँग संगत छ केही समस्या परे सहयोग निर्धक्क माग्न सक्छु । तर रंगकर्ममा भर्खरै पाइला टेकेका र क्लास हुँदा वा केही नाटक मञ्चन हुँदा मात्रै आउजाउ गर्ने कलाकारहरु आर्थिक रुपमा कति मारमा छन् भन्ने म राम्रोसँग महसुस गर्न सक्छु,” अंकित समस्या सुनाउछन्, “किनभने म पनि कुनै दिन त्यही स्थाबाट आएको हुँ ।”
उनका अनुसार यो क्षेत्रमा लामो समय बिताइसकेका कलाकारलाई त्यत्ति गाह्रो नपरेपनि नयाँ कलाकारहरुलाई भने निकै पिरोलेको छ ।
अंकितका अनुसार सधैं कम महत्वमा परिरहेको यो पेशा कोरोना महामारीले थला परेको छ । अब पनि सरकारले केही नसोच्ने हो भने रंगमञ्च र रंगकर्मी हराउने हो की भन्ने डर उनले अनुमान गरिसकेका छन् ।
रंगकर्मीहरु, यो सरकारको संक्रमण रोक्न गरिरहेको ‘नाम मात्रको सावधानी’ अब हट्नु पर्नेमा जोड दिन्छन् ।
रंगकर्मी खड्का भन्छन्, “सिनेमा घर र नाटकघरहरु पनि खोल्नु पर्छ भन्ने पहल हामीले सम्बन्धित ठाँउमा बारम्बार गरिरहेका छौं । तर सरकारसम्म यो कुरा नपुगेको हो वा पुगेर पनि बेवास्ता भएको हो हामीलाई थाहा छैन ।”
सरकारको यो लापरबाहीले कुन दिन कलाकारहरु पनि माइतीघरमा जम्मा हुनु पर्ने दिन नआउला भन्न नसकिने बताउछन् । उनी भन्छन्, “के माइतिघर गएर आन्दोलन गर्नु मात्रै आवाज उठाउनु हो वा सरकारले यही आवाज मात्रै सुन्ने हो भने हामी कलाकार विशेषगरि रंगकर्मीहरु पनि त्यो गर्नुपर्ने दिनमा नपुगिएला भन्न सकिन्न ।”
उनीहरुका अनुसार आवश्यक सावधानी अपनाएर नाटक मञ्चन अब सुरु गर्नुपर्छ । अनुप भन्छन्,“सार्वजनिक यातायात चढ्ने हो भने त्यहाँ मास्क, स्यानिटाइजर बिना मान्छे कोचाकोच छ । क्लबहरु खुलिसके, पार्टी प्यालेसमा हेर्यो त्यत्तिकै भिड छ । कसैले सावधानी अपनाएको देखिदैन । यदि यसरी बन्द गर्ने हो भने मारमा हामी कला क्षेत्रका मात्रै परिहेका छौं ।”
अंकितका अनुसार बाहिरी जिल्लाबाट यहाँ कमाएर गाँस, बास कपासको जोहो यही पेशाबाट चलाइरहेका कलाकारहरुलाई दुई छाक खान धौधौ भैसकेको छ । तर पनि उनीहरु बाहिरबाट भने यो पीडा लुकाउन खोजिरहेका छन् ।
अभिनयमा मात्रै रमाउछु भन्ने कतिजना लेखनमा मात्रै लाग्छु भन्नेहरु निर्देशनमा पनि जोडिन थालिसकेका छन् । यो भनेको भोको पेटका कारण निम्ताएको बाध्यता भएको अंकितको बुझाई छ । बाध्यताले गरेको कामको प्रतिफल कहिले पनि शतप्रतिशत र उत्कृष्ट नहुने उनी बताउँछन् ।