site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दसैँ-तिहारको माहोल व्यावसायिक क्यानभासमा किन  कैद हुँदैनन् ?’

काठमाडौं । चित्रकलाको विधामध्ये नेपाल लोककला र परम्परागत विधामा सम्पन्‍न छ भन्ने दाबी हाम्रा चित्रकारहरु गर्ने गर्छन् । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको परिभाषाअनुरुप लोक कलामा विभिन्न जातजातिका संस्कार, संस्कृति तथा भूगोलमा आधारित स्थानिय कलाहरु पर्छन् ।

तर नेपाली चित्रकलामा हेर्ने हो भने लोककलामा मिथिला कला अग्र स्थानमा रहेको लोक कलाकारहरुको बुझाइ छ । त्यसपछि दोस्रो स्थानमा नेवारी लोककला पर्छन् । तर यति हुँदा-हुँदै पनि तिहार पर्व हाम्रो चित्रकारहरुको क्यानभासमा कतिको अटेको छ त भन्ने प्रश्नको उत्तरमा आउँछ- छैन । यसको कारण चित्रकारहरु यसलाई व्यावसायिक भन्दा पनि भावनात्मक हिसाबमा जोड्नुपर्ने कुरामा जोड दिन्छन् ।

चित्रकार केके कर्माचार्य तिहारमा विशेषगरी नेवारी समुदायले बनाउने मण्डल, म्हःपूजालाई परम्परागत कलामा जोड्न सकिए पनि समग्र तिहार पर्वलाई नै कला (चित्रकला) सँग जोड्न नमिल्ने बताउँछन् ।

“तिहार भनेको धेरै गहन र यो भौतिक, अभौतिक संस्कृतिसँग सम्बन्धित छ । यसमा जन्मदेखि मरणसम्मको कुराहरु आउँछ । यसमा कलाको विभिन्न रुप छन्, जस्तै देउसीभैलो गीतसंगीत, नाचगानसँग जोडिन्छ, भने मण्डप बनाउने कुराहरु चित्रकलामा आउँछ,” कर्माचार्य थप्छन्, “त्यसैले यसलाई सिर्जनासँग जोडिएर भन्दा पनि विशुद्ध भावनात्मक कलासँग जोडिएर हेर्नुपर्छ ।”

तर अझै परम्परागत चित्रकलामा आउने मण्डलहरु पनि तिहारसँग नजोडिएको पनि उनले बताए । 

कर्माचार्यको कुरामा सही थाप्दै चित्रकार मुकेश मल्ल पनि हेर्दा कलात्मक भए पनि यसलाई क्यानभासमा मात्रै केन्द्रित राखेर सोच्‍न नहुने र विशेषगरी यी पर्वलाई जीवनसँग आबद्ध भएर हेर्नुपर्ने कुरामा जोड दिन्छन् ।

चित्रकार मल्ल भन्छन्, “क्यानभासमा नआए पनि तिहारमा हामी घरघरमा मण्डल बनाएर सजाउँछौं । हामी नेवारी समुदायमा त पूजाका लागि मण्डल नभई हुँदैन । यो परम्परादेखि चल्दै आएको हो । त्यसैले यो हामी प्रोफेसनल कलाकारहरुसँग मात्रै जोडिएर हेर्न केही नमिल्ला कि जस्तो मलाई लाग्छ ।” 

मल्लका अनुसार हामीमा कलाप्रतिको बुझाई निकै परम्परागत छ । तर यति हुँदाहुँदै पनि यदि कोरोनाको माहोल नभएको भए दसैँ, तिहारको वरिपरि कला प्रदर्शनीलगायत कार्यक्रमहरु हुने उनले बताए । 

दसैँ, तिहारको माहोल त्यत्ति व्यावसायिक कलामा नआउनुको कारण यसको बिक्रीको पाटो पनि भएको उनको बुझाइ छ । उनका अनुसार विदेशी पर्यटकहरुले धेरैजसो ल्यान्डस्केप पेन्टिङहरु किनेर लैजाने गर्छन् । 

यसको कारण उनीहरु नेपाल भ्रमणमा आउँदा नेपालको चिनारी वा भनौं कोसेलीका रुपमा लैजान पेन्टिङ छान्छन् । यसरी नेपालको चिनारीका रुपमा लग्दा धेरैजसो हिमाल, पहाड, गाउँघर र दृश्यहरु नै उनीहरुको प्रथम रोजाइमा पर्छ । अर्को भनेको कलात्मक र लोककला भनेको कलालाई माया गर्नेहरुले र कतै कार्यालयतिर सजाउन रुचाउँछन् जुन निकै कम संख्यामा बिक्री हुन्छ अन्य विधाको तुलनामा । 

ल्यान्डस्केप पेन्टिङपछि दोस्रो रोजाइमा एब्सट्रायक पेन्टिङहरु पर्ने चित्रकार मुकेशको अनुभव छ । किनभने यसलाई आर्ट थेरापीका रुपमा पनि लिइने भएकाले कलाप्रेमीहरु मानसिक व्यायामका लागि यो विधाको पेन्टिङ आफ्नो घरको कोठा र कार्यालयमा राख्‍न रुचाउँछन् । 

तर यति हुँदाहुँदै पनि तिहारको रमाइलो चम्किलो माहोलले क्यानभासमा प्रत्यक्ष बास नबसे पनि यो समयमा चित्रकारहरु यसको प्रतिनिधिका रुपमा रंगिन चम्किलो, उज्यालो रंगहरु बढी प्रयोग गर्ने गर्छन् ।

चित्रकार किरण मानन्धरका अनुसार यी परम्परागत र सांस्कृतिक कुराहरुलाई पनि क्यानभासमा कसरी फरक तरिकाले उतार्ने भन्ने कुरा हरेक कलाकारले अलग ढंगले सोच्‍न जरुरी भएको बताउँछन् । 

उनले यो दसैँको मौका छोपी शान्त र नम्र स्वाभावका रुपमा परिरिचत नारी रुपलाई देवी कालीका रुपमा प्रस्तुत गर्ने प्रयासमा छन् । उनले यसलाई सिरिजका रुपमा काम गरिरहेका छन् ।

“नारीहरु सधैं सबैलाई माया गर्न र जति हिंसा र दुर्व्यवहार भए पनि सहेर बस्नका लागि मात्रै जन्मिएका होइनन् भन्ने सन्देश मैले मेरो कलामार्फत दिन खोजेको छु । सानासाना नानीहरु पनि बलात्कारको सिकार भइरहँदा यो कुरालाई केही अलग रुपले प्रस्तुत किन नगर्ने त भनेर मैले दसैँदेखि कालीको सिरिजमा काम गरिरहेको छु,”मानन्धरले बताए ।

नारीले आफूलाई अन्याय गर्ने दरिद्रहरुलाई मायाको हात होइन विद्रोह र आक्रोशको भावना र हातले पनि हेर्छ र त्यसलाई समाप्त गर्न पूरा तयार हुन्छ भनेर देखाउन खोजेको उनी बताउँछन् । 

त्यसैले हरेक चाडपर्वसँग सम्बन्धित कुराहरुलाई कलाकारले केही फरक ढंगले सोच्ने हो भने क्यानभासमा उतार्न सक्ने । तर क्यानभासमा उतार्दैमा त्यसलाई व्यावासायिक पाटोले मात्रै नहेरी विशुद्ध सिर्जनाका रुपमा हेर्न सकिने कुरामा जोड दिन्छन् । 
यस्तै कलाकार गोपाल चित्रकार यो दसैँ र तिहारको कुराहरु व्यवसायिक चित्रकलामा सम्भवत: अहिलेसम्म नआएको बताउँछन् ।

यसको कारण भनेको यो समय व्यावसायिकभन्दा पनि व्यक्तिगत र पारिवारिक उल्लासमा रमाउने समय भएकाले यसलाई चित्रकलामा ल्याउने खासै चित्रकारहरुले नसोचेको उनको बुझाइ छ । दशमीको तस्बिरहरु परम्परागत नेवारी कलामा देखिने गरे पनि अहिलेको कलाकारको क्यानभासमा यी कुराहरु खासै नदेखेको उनको अनुभव छ । 

“परम्परागत नेवारी कलामा दसैँ र तिहारको कुराहरु तस्बिरमा उतार्ने गरिन्थ्यो । तर अहिले त्यो पनि खासै देखिँदैन । धेरै पहिलेको कुरा हो,” उनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro