काठमाडौं । पछिल्लो पुस्ताले धेरै उतारचढाव देखे र अनुभव गरे । २०७२ वैशाख १२ को विनाशकारी भूकम्प, त्यसबाट सम्हालिन नपाउँदै छिमेकी राष्ट्र भारतसँगको सीमा विवादका कारण नाकाबन्दी र अहिले कोभिड-१९ को महामारी ।
यी सबैलाई नजिकबाट नियालिरहेकी कलाकार (चित्रकार) प्रमिला वज्राचार्यले आफूलगायत आफ्ना पुस्ताले भोगेका यिनै परिस्थितिलाई क्यानभासमा श्रृङ्खलाबद् उतारिरहिन् । उनले यी सबै उतारचढाव विशेषगरि पछिल्लो सात महिनादेखि विश्वलाई पिरोलिरहेको कोरोना कालको अवस्थालाई ‘मोमेन्ट्स अफ लाइफ’ अर्थात् (जिन्दगीका क्षणहरू) शीर्षकमा प्रस्तुत गरेकी छिन् ।
यही शीर्षकमा शुक्रबारदेखि अनलाइनमा एकल चित्रकला प्रदर्शनी पनि भइरहेको छ । क्यानभासको माथिल्लो भागमा एक महिला मास्क लगाएर एक्लै बसिरहेकी छिन् । उनको छेउमै कोरोना भाइस देख्न सकिन्छ । त्यसकै तलको आधा भागमा मास्क, सेतो तथा नीलो कोट, स्टेथोस्कोप लगाएर डाक्टर तथा नर्सहरू रगत परीक्षण गरिरहेका छन् । ‘आइसोलेसन र डेडिकेसन’ नाम दिइएको यो पेन्टिङले महामारीका कारण पैदा भएको दुई अवस्थालाई चित्रण गर्न खोजेको छ । जसमा मानिसहरू मानिससँगै डराएर एक्लिएर बस्न बाध्य छन् भने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरू दिनरात नभनीकन फ्रन्टलाइनमा खडा भएर मृत्युबाट मानिसहरूको ज्यान बचाउन कटिबद्ध छन् ।
उनले विशेषगरी महिला पात्रहरूलाई उभ्याएर सबैको जीवनमा आएको यी सजिलो तथा गाह्रो परिस्थितिलाई प्रस्तुत गरेकी छिन् । ‘क्लासिक ग्यालरी’को आधिकारिक युट्युब च्यालनबाट भइरहेको यो प्रदर्शनीमा वज्राचार्यले २५ वटा पेन्टिङ समावेश गरेकी छन् ।
यस्तै उनले कुनै पेन्टिङमा फूल त अर्कोमा क्याकटसलाई बिम्बका रुपमा प्रयोग गरेकी छन् । यसलाई निराशा र हतास अवस्थाबीच पनि आशावादी र सकारात्मकता पैदा गर्न खोजेको उनी बताउँछिन् । उनी भन्छिन्, “मैले एउटामा महिलालाई फूलअगाडि उभ्याएको छु भने अर्कोमा क्याकटस राखेकी छु । क्याकटसलाई हामीले भोगिरहेको अहिलेको गाह्रो परिस्थिति देखाउन खोजेकी छु । फूललाई भोलिको राम्रो दिनको प्रतीकका रुपमा चित्रण गरेकी छु ।”
उनका अनुसार दिन सधैं एउटै नहुने भएकाले आजको समय क्याकटसजस्तो काँडेतारको भए पनि भोलि अवश्य फूलजस्तो सुन्दर र सुगन्धित तरिकाले फूल्ने आशा व्यक्त गरेकी छिन् । महिला मात्रै किन भन्ने प्रश्नमा उनी आफू पनि महिला भएका कारण त्यही पात्रमार्फत आफ्नो मनमा भएका र भोगाइ प्रस्तुत गर्न अझै सजिलो हुने बताउँछिन् ।
प्रदर्शनीमा राखिएका पेन्टिङमा उनले धेरैजसो एक्रेलिक र एक-दुईवटामा भने नेपाली कागज र वुडन बक्सको प्रयोग गरेकी छन् । यस्तै उनले पेन्टिङमार्फत भूकम्पका कारण पैदा भएको डरलाई अनुहारको हाउभाउले, सामाजिक चेतना जस्तै सामाजिक दूरी र प्रकृतिको बचाउलगायत भावलाई पनि चित्रण गर्न खोजेकी छिन् ।
धेरै रङसँग खेल्न रुचाउने वज्राचार्यले यसमा पनि रातो, नीलोलगायत धेरै थरीका रङको समिश्रण गरेकी छिन् । उनको यो १३औं एकल कला प्रदर्शनी भए पनि अनलाइनमा भने पहिलो हो । यो लकडाउनकै समयमा सामूहिक अनलाइन कला प्रदर्शनीमा उनका अघिल्ला कलाहरू प्रदर्शनी भइसकेका छन् ।
करिब तीन दशकदेखि चित्रकलामै लागिरहेकी वज्राचार्य अनलाइन कला प्रदर्शनीमा कलाप्रेमीहरूको चासो बढिरहेको अनुभव गर्छिन् । “प्रत्यक्ष कला प्रदर्शनीभन्दा त केही फरक हुन्छ नै जस्तै हामी प्रत्यक्ष दर्शकसँग जोडिन पाउँदैनौं । तर अनलाइनमा पनि कलाप्रेमीहरूले सोधिराख्नुभएको छ । मलाई सामाजिक सन्जालमार्फत पनि धेरैले मेरो पेन्टिङबारे चासो देखाउँदा खुसी लागेको छ,” उनले भनिन ।
पछिल्लो समय नेपालमा कलाप्रेमीहरू बढ्दै गएको र यो पेसा हिजोभन्दा आज र आजभन्दा भोलि अझै राम्रो हुनेमा कलाकार वज्राचार्य आशावादी छिन् ।