काठमाडौं । झन्डै सात महिनादेखि बन्द रहेका विद्यालयहरु बिस्तारै खुल्ने क्रममा छन् । यसैबीच काठमाडौंको चन्द्रागिरि नगरपलिकामा रहेको प्रभात माविले पनि स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यालय नियमित गरेको छ ।
स्वास्थ्य सुरक्षा अपनाउँदै विद्यालय खोल्न सकिने भन्दै सरकारले निर्देशन दिएसँगै चन्द्रागिरि नगरपलिकाले पनि निर्णय गरी नगरभित्रका विद्यालयमा पढाइ नियमित गरेको हो । असोज १ गतेदेखि यहाँका विद्यालयमा पढाइ सुरु भएका छन् ।
यहाँ बिहान १० बजे र मध्याह्न १२ बजे गरी दुई सिफ्टमा पढाइ भइरहेको छ । विद्यार्थीहरु सातामा एकपटक मात्र विद्यालय पुगेर पढ्ने वातावरण मिलाइएको छ । जस्तै सातामा हरेक कक्षाको एकपटक मात्र कक्षा सञ्चालन हुन्छ । विद्यालयले विद्यार्थीलाई भने साताभरका लागि गर्ने गृहकार्य दिएर पठाउने गरेको छ ।
विद्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर पढाइ सुरु गरेको जनाएको छ । विद्यालयको मूल ढोकाबाट प्रवेश गरेपछि साबुनले हात धुने ज्वरो नाप्ने स्यानिटाइजर लगाउने र मास्क अनिवार्य लगाउने नियम बनाइएको छ । यसका साथै कक्षा कोठामा पनि सामाजिक दूरी कायम गरेर पठनपाठन गराइरहेको विद्यालयको भनाइ छ । तस्बिरमा हेरौं चन्द्रागिरि नगरपालिकामा रहेको प्रभात माविमा पुगेका विद्यार्थी त त्यहाँको थप माहोल :