सीमावर्ती पुरानो सहर विराटनगरमा कोभिड—१९ को संक्रमण बढ्नु स्वाभाविकै हो । संक्रमण नियन्त्रणमा संघ र प्रदेश सरकारको भूमिका प्रभावकारी र जिम्मेवार नभएपछि स्थानीय सरकार अग्रसर हुनु पनि अस्वाभाविक होइन । यही क्रममा विराटनगर महानगरपालिकाले स्थानीय स्रोत संयोजन गरेर सम्पर्क पहिचान (कन्टयाक्ट ट्रेसिङ) र संक्रमणको सन्देह भएका व्यक्तिको परीक्षणका लागि स्बाव संकलन गर्न घुम्ती सवारी साधन (मोबाइल भ्यान) सञ्चालन गर्न थालेछ । यति नै बेला काठमाडौंमा भने पीसीआर परीक्षणका लागि जनसाधारणले अस्पतालबाहिर ओछ्यान लगाएर रात बिताएको समाचार आएको छ । विराटनगर महानगरपालिका तथा रोटरी क्लब अफ विराटनगरको संयुक्त प्रयासमा निर्माण भएको स्वाब भ्यान हुलास कम्पनीले ४ लाख रुपैयाँमा बनाएको हो । सेन्सर सेनिटाइजर, भित्रैबाट बाहिर निर्देशन दिन सकिने जस्ता सुविधा भएको यो भ्यान वातानुकूलित रहेको बताइएको छ ।
स्थानीय प्रयासबाटै सुविधा सम्पन्न मोबाइल स्वाब भ्यान निर्माण गरिएको सम्भवतः यो पहिलो उदाहरण हो । महानगरपालिकाले रोटरी क्लबसँग मिलेर भ्यान बनाउन लगाउनु आफैँमा समाचारको विषय होइन । तर, राजधानीमा संघीय सरकारले जनसाधारणलाई ‘भगवान भरोसा’ अलपत्र छाडेका बेला विराटनगर महानगरपालिकाले थालेको जनहितकारी प्रयास भने सराहनीय हो । यथार्थमा जनप्रतिनिधिको आवश्यकता वा स्थानीय सरकारको उपादेयता नै यस्तै जनताको सुविधा र सुरक्षाको ख्याल राख्ने विवेकपूर्ण कामबाट पुष्टि हुन्छ । नत्र, केन्द्र सरकारले दिएको रकम खर्च गरेर आदेश तामेलमात्र गर्न त कर्मचारीहरू नै पर्याप्त हुन्छन् । अरू महानगरपालिका, नगरपालिका र गाउँपालिकाले भने संक्रमणको रोकथाम गर्न र जनजीवन सहज बनाउन उल्लेख्य कुनै कार्य गरेको सार्वजनिक हुनसकेको छैन । विशेषगरी उपत्यकाका महानगरपालिकाहरू अकर्मण्यता र उदासीनताका लागि बढी नै आलोचित भएका छन् ।
अधिकांश स्थानीय तहहरू सरकारी आदेश तामेलमात्र गर्ने अड्डा भइरहेकै बेला विराटनगर महानगरपालिकाले कल्पनाशीलता र मानवीय विवेक देखाएर अरूलाई पनि बाटो देखाएको छ । कोभिड—१९ को संक्रमणको सुरुदेखि नै नियन्त्रणका उपया स्थानीय स्तरमै खोज्ने स्वतन्त्रता र प्रेरणा दिइएको भए अहिलेभन्दा धेरै सहजरूपमा प्रभावकारी काम हुनसक्ने रहेछ । अझै पनि पालिकामा निर्वाचित जनप्रतिनिधिहरूले कोभिड—१९ को संक्रमण नियन्त्रण र जनजीवन सहज बनाउन गर्नसक्ने धेरै छ । सहरी गरिबहरूको जीवन यस संक्रमणबाट निकै सकसपूर्ण भएको छ । महानगर र नगरपालिकाहरूले तिनका मानवीय आवश्यकता पूरा गर्न योजनाबद्धरूपमा कार्यक्रम सञ्चालन गर्नसक्छन् । सामाजिक संघसंस्थासँग सहकार्य गरेर तिनलाई आयमूलक काममा लगाउन वा तिनको जीविकोपार्जनको पुरानो पेसामा पुनःस्थापना गर्न सक्छन् । जनप्रतिनिधिमा कल्पनाशीलता, विवेक र मानवीयता भए विराटनगरको उदाहरणबाट अरूले पनि सिक्नुपर्छ । विवेक र मानवीय सोच देखाएर विराटनगर महानगरपालिकाजस्तै जनसाधारणको हितमा संलग्न हुन सबैलाई प्रेरणा मिलोस् !