site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
आम मानिस

डुङ्गा हिँडिरहेको थियो । 

बीच नदीमा पुगेपछि डुङ्गा चलाउने माझीले भन्यो, ‘डुङ्गामा मानिसको भार अधिक भयो । त्यसैले कोही एकजना मानिस कम भए राम्रो हुने थियो । हैन भने डुङ्गा बीचमै डुब्न सक्छ ।’

अब कम हुने त हुने, तर को कम हुने ? डुङ्गाबाट को झर्ने ? कतिपय मानिस त पौडी खेल्न पनि जान्दैनथे । जो पौडिन जान्दथे तिनलाई पनि पौडेर पारि पुग्न सजिलो थिएन । 

डुङ्गामा सबै किसिमका मानिस थिए– डाक्टर, अफिसर, वकिल, उद्योगपति, पुजारी, नेताका अतिरिक्त आममानिस पनि । डाक्टर, वकिल, व्यापारी सबै चाहन्थे आम मानिस नै पानीमा हामफालोस् । ऊ मात्रै पौडेर पारि जान सक्छ । हामी सक्दैनौँ ।

तिनीहरूले आममानिसलाई डुङ्गाबाट कुद्न भने । उसले मानेन । भन्यो, ‘यदि म डुब्न लागे भनेँ तपाईहरूमध्ये को मेरो मद्दतका लागि आउनुहुन्छ ? मैले तपाईंका कुरा किन मान्ने ?’

जब आममानिसलाई सम्झाउने प्रयत्न गर्दा–गर्दा डुङ्गामा रहेका मानिस थाके, त्यसपछि तिनीहरू नेतानजिक पुगे । जो अलग्गै एकातिर बसिरहेका  थिए । तिनीहरूले सबै कुरा नेतालाई सुनाए र भने, ‘आममानिसले हाम्रो कुरा मान्दै मान्दैन । हैन भने त्यसलाई समातेर नदीमा फ्याँकिदिन्छौं ।’

नेताले भने, ‘हैन हैन, यस्तो गर्नु गलत हुन्छ । आममानिसका साथ यस्तो हुनु भनेको अन्याय हो । म हेर्छु उसलाई । मैले केही बेर भाषण दिन्छु । तिमीहरू पनि ऊसँगै सुन ।’

नेताले जोसिलो भाषण दिन आरम्भ गरे, जसमा राष्ट्र, देश, इतिहास, परम्पराको गाथा गाउँदै देशका लागि बलिदान दिनेसम्मका कुरा थिए । नेताले बलिदानका लागि आह्वान गर्दै हात उठाएर भने, ‘हामी मरे मर्छौं । तर हाम्रो यो डुङ्गा डुब्न दिँदैनौ । डुङ्गा डुब्न दिँदैनौं, डुब्न दिँदैनौं ।’

यति सुन्नु के थियो, आममानिस यति जोसमा आयो कि ऊ यतायता नहेरेर नदीमा हामफाल्यो ! 

र उनी मरिन् 
सत्यले आमा नीतिनजिक गएर भने, ‘आज मैले एउटा ठूलो प्राणी देखेँ ।’ 

कति ठूलो...?’ नीतिले आफ्नो पेट फुलाउँदै देखाइन् । 

‘हैन योभन्दा ठूलो ।’ 

नीतिले फेरि त्योभन्दा बढी पेट फुलाएर देखाइन् । 

‘हैन योभन्दा पनि ठूलो ।’ नीतिले फेरि पेट फुलाइन् । 

‘हैन, योभन्दा पनि ठूलो आमा !’ सत्यले भने । 

नीतिले पेट फुलाउँदै गइन् र सत्यले भन्दै गए, ‘योभन्दा पनि ठूलो । योभन्दा पनि ठूलो ।’ 

सत्यले जुन प्राणीलाई देखेका थिए, त्यो भ्रष्टाचार थियो । 

नीतिले त्यसको दशगुणा बढी पेट फुलाउन सकिनन्, तिनको पेट फुट्यो । नीति विचरा मरिन् !

रोटी
भगवानले हामीसँग भने, ‘हाम्रो यो मन्दिर भत्काऊ । यो मन्दिर होइन, साक्षात भ्रष्टाचार उभिएको छ यहाँ ।’ 

हामीले भन्यौं, ‘मसँग त मात्रै कलम छ । यसले छिटो भत्काउन सकिँदैन भ्रष्टाचार । जोसँग सही हतियार छ, तिनीहरूलाई तपाईं किन भन्नु हुन्न ।’ 

यो सुनेर भगवानले भने ‘ती मूर्ख हुन्, तिनीहरूसँग शक्ति छैन ।’ 

यो सुनेर मैले भनेँ, ‘तपाईं तिनीहरूलाई रोटी दिएर तिनमा शक्ति किन भर्नुहुन्न ?’ 

भगवानले भने, ‘मैले तिनलाई रोटी दिएँ भने त्यो तिनको अधिकार होइन, भिख हुनेछ । भिखमा पाएको रोटीले मानिसलाई सुस्त बनाइदिन्छ  र सुस्त मानिसले जरा भत्काउन सक्दैन !’ 

(सन् १९२३ मा जन्मिएका शंकर पुणतांबेकरका कविता, व्यङ्ग्य, नाटकलगायत कृति प्रकाशित छन् ।)


 

प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ०७:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro