site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
अन्तिम प्रश्न 

प्रश्नलाई सकेसम्म निषेध गर्ने र प्रश्न सुन्यो कि कन्पारो तात्ने महाप्रबन्धकज्यूले एक दिन दुनियाँलाई देखाउन आफ्नो कम्पनीको सभाहलमा कम्पनीका सबै कर्मचारीलाई उपस्थित हुन र मनमा लागेका प्रश्न निर्धक्क सोध्न सूचना जारी गर्नुभो ।

सूचनाअनुसार सानाठूला सबै कर्मचारी घोर अचम्म मान्दै उपस्थित भए । कार्यक्रमको नाम ‘जीएमसँग सवालजवाफ’ राखिएको थियो ।

महाप्रबन्धकज्यूले अनुमति दिएपछि कार्यक्रम सुरु भो ।

सुरुमा एकजना कर्मचारीले सोधे, ‘कम्पनीको घाटा अघिल्लो वर्षको भन्दा बढेर गयो । यसलाई न्यूनीकरण कसरी गर्ने हो हजुर ?’

महाप्रबन्धक : मैले बढाएको हो र घाटा ? यो सब मभन्दा अघिल्लाको काम हो । यस्ता वाहियात प्रश्न आइन्दा नसोध्नू ।

महाप्रबन्धकज्यूले ‘नेक्स्ट’ भनेपछि अर्का कर्मचारीले सोधे, ‘हाम्रो कम्पनीबाट राम्राराम्रा मिहिनेती कर्मचारीहरू धमाधम अर्को कम्पनीमा गइराखेका छन्, त्यसलाई रोक्नुपर्‍यो । त्यसका लागि महाप्रबन्धकज्यूबाट केकस्ता योजनाहरू आउँदै छन् ?’

महाप्रबन्धक : यो मेरो काम मेरो होइन । यसका लागि कम्पनीमा मानव संशाधन विभाग भनेर डल्लै एउटा विभाग खडा गरिएको छ । हो, त्यसका विभागीय प्रमुखलाई सोध्नू । कसको के काम हो जानकारी राखेर प्रश्न सोध्ने गर्नुस् ।

महाप्रबन्धकज्यू एकदम रिसाउनुभो । तैपनि भन्नुभो– नेक्स्ट ।

यत्तिकैमा अर्का कर्मचारीले महाप्रबन्धकज्यूसँग आँखामा आँखा जुधाएर सोधे, ‘विगतमा हाम्रा उत्पादनले बजारमा जुन प्रभुत्व जमाएको थियो त्यो खस्कँदै गएको छ । यसलाई सुधार गर्न हजुरका अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू केके छन् ?’

महाप्रबन्धक : मेरा योजनाहरू तपाईंलाई भन्नुपर्छ भन्ने छैन !

यतिखेरचाहिँ महाप्रबन्धकज्यूको चिड्चिडाहट उत्कर्षमा पुग्यो । प्रश्न मन नपराउने महाप्रबन्धकज्यूले प्रश्नोत्तर कार्यक्रम राख्नु नै आफैँमा अनौठो थियो । तैपनि, अरू कम्पनीको सिको गर्दै यो गर्नु उहाँको कर्पोरेट बाध्यता नै थियो ।

आफूअनुकूलका प्रश्नहरू आउँछन् भन्ने अपेक्षा पनि हुँदो हो । तर, लगातार तीनवटा प्रतिकूल प्रश्न आएपछि कार्यक्रम स्थगन गरेरै हिँडिदिऊँजस्तो पनि नलागेको होइन उहाँलाई ।

तर, अर्को मनले एकछिन धैर्य गर्न भन्यो । त्यसपछि कार्यक्रमलाई निरन्तरता दिनुभो र भन्नुभो– नेक्स्ट ।

उहाँको ‘नेक्स्ट’ शब्द सुन्नासाथ अर्का एक कर्मचारीले आफ्ना दुई हात मोल्दै सोधे, ‘हजुर जीएम भएपछि हाम्रो कम्पनीको नाम चारैतिर फैलिएको छ । कर्पोरेटजगत्मा जताततै हजुरकै चर्चा चलेको छ । हाम्रो उन्नति र प्रगति देखेर दुनियाँ चकित छ । यसको राज के होला हजुर ?’

यो प्रश्न सुन्नासाथ उहाँको अघिदेखिको चिड्चिडापन एकैचोटि शून्यमा झर्‍यो । कन्पारो तात्ने क्रम भंग भयो । जिउ चंगा भयो । मन हलुंगो भयो । अनि, जुँगामा ताउ लाउँदै जीएमसापले मुसुक्क हाँसेर फुर्तीसाथ बहुत लामो उत्तर दिनुभो ।

उहाँको उत्तर जारी रहुन्जेल दुईतिहाइ कर्मचारी हाइ काढिरहेका थिए भने एकाध कर्मचारी ‘न्याप’ लिन पनि भ्याइरहेका थिए ।

निकै बेरपछि यस्तै प्रश्न सबैले सोध्नू भन्ने भाव प्रकट गर्दै अन्तिम प्रश्नको उत्तरका लागि बिट मार्नुभो ।

यसपछि भने उहाँलाई यो कार्यक्रम अझै लम्ब्याउन मन लाग्यो । र, अरू प्रश्नको अपेक्षा गर्दै भन्नुभो– नेक्स्ट ।

उहाँले करिब दशपटकसम्म ‘नेक्स्ट’ भन्नुभो, तर कसैले प्रश्न सोधेन ।

जीएमसापले अर्को वर्ष पनि यस्तै कार्यक्रम राख्नुभो । त्यतिखेरचाहिँ अघिल्लो वर्षको अन्तिम प्रश्नझैँ थुप्रै प्रश्नहरूको बहार आयो । किनभने, अघिल्लो वर्ष अन्तिम प्रश्नबाहेक अरू प्रश्न गर्नेहरू, न्याप लिनेहरू र हाइ काढ्नेहरू कम्पनीबाट फायर भइसकेका थिए ।

महाप्रबन्धकज्यूलाई यस्तै कार्यक्रम अर्को वर्ष पनि राख्न मन थियो । तर, अर्को वर्ष त्यो इच्छा पूरा गर्न उहाँसँग कम्पनी नै थिएन । 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  ११:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro