नेपाली चित्रकलाको बजार लामो समयदेखि अन्तर्राष्ट्रिय चित्रकला प्रेमीहरूबाट धानिएको छ । पछिल्लो केही वर्षयता भने नेपाली चित्रकलाको आन्तरिक बजारले पनि गति लिँदै गएको पाउन सकिन्छ ।
पछिल्लो समय नेपाली कलाप्रेमीहरूको चासो चित्रकलाप्रति बढेको कलाकरहरू पनि बताउँछन् । विस्तारै आन्तरिक बजारले गति लिइरहेको अवस्थामा चित्रकला पेसा कोरोना महामारीले भने थलिएको छ ।
मानवीय र आर्थिक पाटोलाई नराम्रोसँग पिरोलेको कोरोना महमारीले अन्य पेसा पनि ठप्प छन् । करिब ५/६ महिनादेखि कलाकारहरू शून्य आम्दानीमा बाँचिरहेका छन् । विदेशी ग्राहक नेपालमा कहिले आउने भन्ने अन्योल पनि उत्तिकै छ ।
अब अन्तर्राष्ट्रियभन्दा पनि आन्तरिक बजारमै कसरी आत्मनिर्भर हुने र कसरी यसलाई विस्तार गर्दै लैजाने भन्नेतर्फ जोड दिनुपर्ने चित्रकारहरूको पनि राय छ ।
०००
कलाकार गोपाल चित्रकार, चित्रकलामा पछिसम्मका लागि सोच्ने हो भने सरकारी तथा सार्वजनिक भौतिक संरचना निर्माण गर्दा केही प्रतिशत चित्रकलाका लागि छुट्याउनुपर्ने सुझाउँछन् ।
ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति पनि रहेका चित्रकारका अनुसार अन्य मुलुकहरुमा सरकारी तवरबाट २ प्रतिशत चित्रकलालाई छुट्याइन्छ । त्यही नीति नेपालमा पनि ल्याउन सके कलाकारलाई विपत्मा पनि राहत हुने उनको बुझाइ छ ।
यही सोचका साथ ललितकलाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित पत्रसमेत पठाइसकेको उनी बताउँछन् । “हामीले पहिलो चरणको लकडाउन हुनुअघि मात्रै हरेक सरकारी तथा सार्वजनिक भवन तथा पार्कमा २ प्रतिशत चित्रकलाका लागि छुट्याउने नीति ल्याउन आग्रह स्वरुप पत्र पठाइसकेका छौं,” उनले सुनाए ।
उसो त यसमा केही समय भने लाग्ने उनी स्वयं बताउँछन् । किनभने यो महामारीका कारण सरकारी ढुकुटी रित्तिरहेको हुँदा तत्काल यसो हुने सम्भावना नरहेको चित्रकार बताउँछन् ।
उनका अनुसार मन्त्रालयलाई पठाएको उक्त पत्रमा चित्रकला लिलामी (अक्सन) को काम गर्ने निकायको स्थापनको पनि माग गरिएको छ । जसले गर्दा सफल, अब्बल तथा दिग्गज कलाकारहरूको कलाले उचित मूल्य पाउनुका साथै गुणस्तर पनि कायम रहने उनले बताए ।
पहिले विदेशी बजार हाबी रहे पनि अहिले नेपाली र विदेशी गरी क्रमश: ५०-५१ प्रतिशतका हाराहारीमा चित्रकलाको बजार रहेको उनले बताए । उनीका चित्रकलाका नेपाली ग्राहक पछिल्लो समय निकै बढेका छन् ।
उनका भित्ते कला तथा चित्र नेपालका राष्ट्रपतिदेखि ठूलाठूला व्यवसायी, सेना प्रमुखका घर तथा कार्यलयका भित्तादेखि रेस्टुरेन्टसम्म सजिएका छन् । त्यसैले पछिल्लो समय वाल पेन्टिङ (भित्ते चित्रकला) पनि बढेकाले कलाकारलाई फाइदा भएको उनी स्वीकार्छन् ।
०००
कलाकार मुकेश मल्ल भने चित्रकलाको आन्तरिक बजार विस्तार गर्न चित्रकलाप्रतिको चेतना र झुकावको विस्तार हुनुपर्ने बताउँछन् । चित्रकला बिक्री हुनुमा विज्ञापन पनि मुख्य पाटो रहेको उनी बताउँछन् ।
ग्राहक बनाउनुभन्दा पहिला ती व्यक्तिमा चित्रकलाको महत्त्वको बुझाइ हुनुपर्छ भन्दै विदेशमा यसको बुझाइ फरक रहेको उनी बताउँछन् । “विदेशमा विद्यालय स्तरदेखि नै कलाप्रतिको सिकाइ र बुझाइ राम्रो छ । उनीहरू कुनै नाम चलेको कलाकारको पेन्टिङ आफ्नो कोठामा छ भन्ने कुरामा गर्व गर्छन्,’’ उनले भने, ‘‘त्यसैले हरेकले आफ्नो घर तथा कार्यालयमा कम्तिमा एउटा पेन्टिङ राख्छन् नै ।”
तर नेपालमा भने महँगो गलैंचा ओछ्याउँछन् । महँगो दराज राख्छन् तर भित्तामा कुनै कलाकारको पेन्टिङ राख्नेमा ध्यानै नदिने उनको अनुभव छ । यहाँ कलामा आम-समुदायको चासो र संलग्नता कम रहेको मल्ल बताउँछन् ।
आन्तरिक बजार विस्तार गर्ने अर्को महत्त्वपूर्ण पाटो विज्ञापन भएको पनि उनले बताए । जसमा कलाकरहरूले चासो दिन जरुरी भएको पनि मल्लले महसुस गरेका छन् । उनले सरकारी तवरबाट पनि चित्रकलाको विकास तथा प्रवर्द्धनमा ध्यान पुग्नुपर्ने बताउँछन् ।
०००
लामो समय बजार ठप्प भएसँगै कलाकार रवीन्द्र श्रेष्ठ आन्तरिक बजार विस्तार गर्नतर्फ अग्रसर भइरहेका छन् । अझै केही वर्ष विदेशी ग्राहक नेपालमा नआउनेमा उनी विश्वस्त छन् । जसले गर्दा प्रत्यक्ष हेरेर मात्रै बिक्री हुने यो पेसामा कोरोनाले प्रत्यक्ष असर गरिरहेको उनी बताउँछन् ।
यसैले पनि उनी अहिले बजार कुर्नुभन्दा पनि आफैं बजार निर्माण गर्ने तयारीमा जुटेका छन् । “अरुबेला लाखौंमा बेच्छौं भने अहिलेको समयमा पनि हामीले त्यही खोजेर हुँदैन । समय र परिस्थितिअनुसार हामी कलाकार अघि बढ्नैपर्छ । त्यसैले मैले मेरा सिर्जनाहरू कम मूल्यमा बिक्री गरी आफ्नै वरिपरिका छिमेकी, साथीभाइ र आफन्तलाई ग्राहक बनाउने अभ्यासमा छु ।”
उनका अनुसार डिजिटल प्रिन्ट गरेर हुन्छ वा सानो साइजको राम्रो पेपरमा कोरेर हुन्छ कम मूल्यमा दिने हो भने जो पनि किन्न तयार हुने उनी विश्वास गर्छन् । तर, त्यसका लागि कलाकारको काम भने (मास्टर पिस) गुणस्तरीय हुनुपर्ने पनि उनले जोड दिए । यसले चित्रकारहरू उत्पादन भयो तर बिक्री भएन भन्दै निराश हुनु नपर्ने श्रेष्ठ बताउँछन् ।
साथै उनी अघिल्ला कलाकारहरूले जस्तै सरकार तथा गैरसरकारी ठूला-ठूला भवन तथा सपिङ मलहरूजस्ता संरचनामा पेन्टिङको उपस्थिति हुन जरुरी ठान्छन् । यदि यस्तो भयो भने कलाकारहरू विदेशी ग्राहक मात्रै कुरेर बस्न नपर्ने र स्थायी आम्दानीको स्रोत पनि हुने उनले बताए ।
बजार बन्ला र बेचौंला भनेर हात बाँधेर बस्ने समय नभएकाले चित्रकारहरू आफैं अघि बढेर (डोर टु डोर) विज्ञापनमा जान पनि तयार हुनुपर्ने श्रेष्ठले बताए ।