बिहीबार बिहानै सामाजिक सञ्जालमा नवगठित मन्त्रिपरिषद्का प्रधानमन्त्रीलगायत उपप्रधानमन्त्री र मन्त्रीहरू कुनै ‘सन्त’को आशीर्वाद लिन पुगेका तस्बिर भाइरल भएको थियो । स्वाभाविकरूपमा उनीहरू उपहास व्यंग्यका पात्र बनेका थिए ।
हामी यही बेला एक जना अवतारी लामासँग उनको धर्म र कर्मका सम्बन्धमा कुराकानी गर्दै थियौँ । उनले रिम्पोछेले परम्परालाई थामेर पनि त्यसमा नयाँ अर्थ र आयाम दिन खोजेका रहेछन् । उनी मूलतः मानवताको सेवाप्रति उन्मुख भएकाछन् । उनको अवतारी लामाको कथालाई बिर्से पनि अपाङ्गता भएका व्यक्ति र असहाय बालबालिकाको सेवामा यिनले गरेको कामकै आधारमा पनि उनीप्रति श्रद्धा जाग्ने रहेछ ।
छोग्याल रिम्पोछेसँग बौद्ध दर्शन, बज्रयानी अवतार परम्परा र मानवताको सेवाका सम्बन्धमा हामीले कुराकानी गर्यौं ।
नेपालमा सन् १९८५ मा जन्मेका छोग्याल रिम्पोछे तिब्बतको ल्हासामा १४औँ शताब्दीमा जन्मिएका गाछा गोम्छिङका १३ औं अवतार हुन् । अर्थात्, यस परम्पराका उनी १३ औँ अवतारी लामा हुन् । गोम्छिङ अध्यात्मिक र धार्मिक गुरु थिए । पाँचसय चेलाहरूलाई अध्यात्म, बौद्ध जीवन दर्शन पढाउँथे ।
सिद्ध रिम्पोछेहरूले आफू समाधिमा लिन हुनुभन्दा पहिले नै आफू अर्को जन्ममा जन्मने ठाउँको बारेमा भष्यिवाणी गर्छन् । परिवारजन, नजिकका आफन्त, शिष्यहरूलाई आफू जन्मने ठाउँको जानकारी दिन्छन् । केही रिम्पोछेहरूले त मृत्युको केही दिन पहिले नै यस्ता सूचना कागजमा लेखेरसमेत शिष्यको हातमा थमाउँछन् । तर, छोग्यालको सन्दर्भमा त्यस्तो भएन । उनीभन्दा पहिलेका रिम्पोचे अर्थात् १२ औं अवतारी लामाले समाधिपूर्व केही संकेत छाडेनन् ।
अर्काथरी रिम्पोछेले आफ्नो पुनर्जन्मबारे पहिले नै नबताए पनि जन्मिएको एक डेढवर्षपछि नै संकेत गर्न थाल्छन् – म फलानो रिम्पोछेको अवतार हुँ । मेरो अगिल्लो जन्म त्यहाँ भएको हो । मेरा शिष्य यी यी हुन् । यसरी दाबी गर्ने बालक अनेकौँ परीक्षणपछि मात्र अवतारी भए नभएको किटान हुन्छ । यसक्रममा उनीहरूले अगिल्ला रिम्पोछेले प्रयोग गर्ने ग्रन्थ, लुगाफाटो, माला आदि पहिचान गरेर पनि आफू अवतारी भएको सिद्ध गर्छन् । त्यसरी ठहरिएका बालक पनि रिम्पोछे हुन्छन् । छोग्याल यसरी पनि रिम्पोछे भएका हैनन् । उनी आफैँलाई त्यस्तो पूर्वस्मृति भएको थिएन ।
तेस्रो प्रकारका रिम्पोछेहरूमा बिस्तारै संस्कार र ज्ञान देखिन थाल्छ । उनीहरू बढ्दै जाँदा अरू समवयी बालकभन्दा विशेष संस्कार र प्रतिभावान देखिन थाल्छन् र उनीहरू अवतारी भएको थाहा हुन्छ । छोग्याल यसरी पूर्वजन्मको सिद्धिको सम्झनापछि रिम्पोछे हुनपुगेका रहेछन् । पाँच वर्ष उमेरतिर उनलाई पूर्वजन्मको केही सम्झनाको झझल्को आउन थाल्यो । पहिलो जन्मका घटना घुर्मैलोसँग ठोक्किन थाले ।
छोग्यालको पहिचान
छोग्याललाई उनका बाबुले वर्ष दिनका छँदा शाक्य लामा रिन्झिनकहाँ पुर्याए । लामा यो बालक सामान्य हैन भन्ने लामाले बताए । छोग्याल अवतारी नै हुन् भन्ने निधो भएपछि गुम्बा पसे । झन्डै दस वर्ष तन्त्रयानका प्रथा, परम्परा र ध्यान सिके गुम्बामा । त्यसपछिका पाँच वर्ष बौद्ध दर्शनको अध्ययन गरे । बौद्ध दर्शनमा खेन्पो उपाधि प्राप्त गरेपछि तीन वर्ष गुफामा (ओढार) बसे ।
“२० वर्ष लाग्यो मलाई पूर्णतया सम्झन,” उनी अहिले स्मरण गर्छन् ।
त्यसो त उनले आफ्नो विस्मृतिका बारेमा विभिन्न अवतारी लामाहरूलाई नसोधेका पनि होइनन् । कतिले कसैकसैलाई पछि सम्झना आउँछ भन्थे । शिक्षादीक्षा लिने बेलामा स्मृति फर्किएका उदाहरण पनि थुप्रै रहेछन् । यस्तो रहेछ नेपालमा जन्मेका र नेपाललाई नै कर्मभूमि बनाएर बसेका छोग्याल रिम्पोचेको व्यक्तित्व ।
० ० ०
सामान्यतः अवतारी लामाहरू अध्ययन सकेर बाहिर निस्केपछि शिष्यहरूलाई पढाउने र आफ्नो गुम्बा बनाएर सांसारिक दुनियाभन्दा बेग्लै आफ्नै संसारमा डुब्ने गर्छन् । पठनपाठन, शिष्य परम्परा, गुम्बा निर्माण । तर, छोग्याल भने सानैदेखि संसारभित्रै आफ्नो अस्तित्वको उपादेयताको खोजीमा रहेछन् । कालिम्पोङको गुम्बामै पढ्दै गर्दादेखि नै छोग्याल मानव सेवाप्रति समर्पित भइसकेका थिए । अहिले उनी अध्यात्ममा त डुबेकै छन् । मानव सेवामा पनि उनको समर्पण उत्तिकै छ । उनले पूर्वीय र पाश्चात्य दुवै दर्शनको अध्ययन गरेका छन् ।
....
ध्यान, शिक्षा, दीक्षा जटील प्रक्रिया हो । त्यसका केही निश्चित सीमाहरू हुन्छन् । अवतारी र साधारण लामाहरूबीच फरक झल्कन्छ । उनी भन्छन्, “अवतारीहरूले पूर्वजन्ममै शिक्षादीक्षा लिइसकेकाले उनीहरूले स्मरणमात्रै गरे पनि पुग्छ ।”
अवतारी लामा कति हुन्छन् त भन्ने प्रश्नमा उनी भन्छन् — कुनै गुम्बामा हजार जना लामाहरूले अध्ययन गरिरहेका छन् भने त्यहाँ दसपन्ध्रजना अवतारी हुनसक्छन् ।
उनीहरूको तीक्ष्णता, विलक्षणता र अध्यात्म–चेतले अनुमान गर्न गाह्रो पर्दैन– यिनीहरू अवतारी हुन् ।
० ० ०
अवतारी लामा । गुम्बामा चेला बनाएर, अध्यात्म–दर्शनका विविध आयाम पढाएर बस्नुपर्ने लामा हुन् छोग्याल । तर, उनी विभिन्न देशहरूमा आध्यात्मिक प्रवचनका लागि जान्छन् । देश विदेशमा बौद्ध धर्म र दर्शनको ज्ञान विस्तार गरिरहेका छन् । उनी अहिले स्विटजरल्यान्डमा दर्शनको अध्ययन पनि गर्दैछन् ।
छोग्याललाई अरू रिम्पोचेभन्दा बेग्लै र विशेष बनाउने भने अर्कै पक्ष छ । त्यो हो उनको मानवताको सेवा । उनी सन् २०१४ देखि ‘बोधिसत्व इन एक्सन’ नामक सामाजिक संस्था खोलेर नेपालमा अनाथ, असहाय, विपन्न, दीनदुःखीको सेवामा संलग्न छन् ।
करुणाको अभ्यास मानवताको सेवामा
अवतारी लामा । तपाईं त गुम्बा बनाएर, चेला जम्मा गरेर उनीहरूलाई ध्यान र दर्शन सिकाएर बस्नुपर्ने । किन यसरी समाजसेवामा होमिनु भएको त ? प्रश्न सुन्दा छोग्याल मुस्कुराए । र, भन्न थाले “जब म गुम्बा शिक्षा सिध्याएर तन्त्र विद्याको तयारीमा थिएँ । त्यतिबेला नेपालमा द्वन्द्व थियो । मानिसहरू मर्ने र मारिने क्रममा थिए । द्वन्द्वमा परेका परिवारहरूको विचल्ली थियो । तिनका बालबच्चा भोकै थिए । कयौँ बालबालिका असहाय अनाथ भएका थिए । समाजसेवाको भावना त्यसैबेलादेखि आएको हो ममा ।”
त्यसपछि उनले चाबहिलमा रहेको आफ्नै घरमा अनाथ बच्चाहरू जम्मा गरे । आश्रय र शिक्षाको काम सुरू गरे । पछि त्यसलाई शेरछाङ अनाथ आश्रम नामाकरण दिए । त्यहाँ पाँच वर्षदेखि सत्र वर्षसम्मका करिब ४८ जना बालबालिका छन् । “हाम्रो संरक्षणमा हुर्किएका बालबालिका कोही चिकित्सक, कोही इन्जिनियर हुँदैछन्, उनीहरू भोलिका दिनमा समाजकै सेवामा खटिनेछन्,” उनले खुसी व्यक्त गरे । (कुनै धर्म गुरुले पालेका बालबालिबालाई सामान्यतः उसको धर्म सिकाउने पढाउने गरिएको देखिन्छ । यिनले भने सांसारिक शिक्षा दिएका रहेछन् ।)
सेवामा पाइने सन्तोष र खुसीले उनलाई एकपछि अर्को सेवामा तान्दै लग्यो । संसारबाट बिस्तारै विमुख हुनुपर्ने अवतारी लामालाई झन् झन् मानवीय करुणा र संवेदनाले संसारतिरै उन्मुख गराइरहे । अनि त समाजका असहाय वर्गको सेवाको आयाम बढ्दै गयो ।
अहिले बीआईएका विभिन्न शाखा छन् ।
थाङ्का इन्स्टिच्युट छ । त्यहाँ थाङ्का पेन्टिङ सिकाइन्छन् र प्रशिक्षार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गरिन्छ । त्यसले थाङ्का पेन्टिङको संरक्षण र विकास पनि भइरहेको छ । साथै नेपाली मौलिक कला संस्कृतिको प्रवर्द्धन पनि ।
त्यस्तै बीआइए स्ट्याचु इन्स्टिच्युट छ । बीआईए टेलरिङ, बीआईए पस्मिना, बीआई अग्र्यानिक फार्मिङ, बीआइए सेलफोन रिपेयरिङ, बीआईए इन्सेन्स, बीआईए बेम्बो ह्यान्डिक्राफ्ट इन्ष्टिच्युट पनि फाउन्डेसन मातहतै छ । यी सबै माध्यमबाट प्रशिक्षार्थीहरूले सीप विकास र व्यवसायिक क्षमता अभिवृद्धि गरिरहेका छन् ।
बीआइए फाउन्डेसन मूलतः अपांगता ( विशेषगरी स्पाइनल कर्ड इन्जुरी) भएको व्यक्तिहरूको लागि स्थापना भएको संस्था हो । र, उनीहरूको उनीहरूको दैनिकी सहज बनाउन, सीप विकासका विभिन्न क्षेत्रमा काम गरिरहेको छ ।
“म अध्यात्मिक क्षेत्रमा छु । देश विदेशमा प्रवचनमा जानुपर्छ । तर, संस्थालाई आर्थिक सहायता माग्न मिल्दैन । त्यसैले संस्थाको दिगोपनका लागि सीपमूलक र आयमूलक तालिम केन्द्रहरू पनि खोलिएको हो,” उनले प्रष्ट्याए पनि ।
धर्मको रूप र अर्थ
हाँगाबिँगा जे भए पनि बौद्ध दर्शनको सार मानवता र करुणा नै हो भन्ने उनको निष्कर्ष छ । “बुद्ध–दर्शनले दुःखको कारक अज्ञानलाई मान्छ र मोक्ष ज्ञानलाई ठान्छ,” बुद्ध धर्मको सार सुनाए पनि ।
त्यस्तै बौद्ध धर्मभित्र विभिन्न यानहरू छन्, महानयान, हीनयान / थेरवाद, वज्रयान । त्यसमध्ये उनी वज्रयानअन्तर्गत पर्दछन् । तिब्बत र नेपालका रिम्पोछेहरू विशेष गरेर वज्रयानका अनुयायीहरू छन् । वज्रयान तन्त्र सम्प्रदाय हो । जसलाई बोधिसत्व तन्त्रयान पनि भनिन्छ । त्यसमध्ये हिमालय वज्रयान मूल बाटो ठान्छन् उनीहरू ।
० ० ०
बुद्ध धर्म–दर्शन समग्रमा एउटै धर्म–दर्शन हो । तर, जुन भूगोलमा यो विस्तार भयो । त्यहाँको जीवनशैली, कला, संस्कृति अझ भनौँ त्यहीँको माटो अनुकूल भयो । त्यही अनुरूप व्याख्या–विश्लेषण गरियो । त्यसको उदाहरण हो तिब्बती बुद्ध–दर्शन । तिब्बती बुद्ध–दर्शनमा राजनीति मिसिएको उनको ठम्याइ छ । भन्छन्, “सातौँ–आठौँ शताब्दीमा त्यहाँ बुद्ध दर्शन पुगेको हो । तर, त्यहाँको बुद्ध–दर्शनमा राजनीति घोलियो ।” जापान, कम्बोडिया, भियतनाम, म्यानमार, भुटान आदि देशमा पनि बुद्ध दर्शन र परम्परामा यस्तै फरक ै छ ।
छोग्यालले भने — बुद्धत्व प्राप्त नगरूञ्जेलसम्म मानिस यताउता गरिरहन्छ, भौँतारिरहन्छ, बुद्धत्व प्राप्त गरेपछि मानवताबाहेक उसँग अर्को धर्म बाँकी रहँदैन ।
अन्तिममा अवतारी लामाले गैरसरकारी संस्था चलाएर बस्नुको औचित्य पुष्टि गर्न खोज्दै उनले भने धर्मको लक्ष्य मानवताको सेवा र करुणा भएकाले उनले गरेका काम मानवताको सेवा हो भने धर्म त्यही हो ।
चीन, भारत एवं युरोपका विभिन्न देशमा ध्यान र धर्मको प्रवचन र प्रशिक्षणमा धेरै समय बिताउने यी युवा अवतारी लामाको लामाको मानव सेवाको बाटोमा अरू सन्तहरू पनि लाग्लान् ?