कोभिड–१९ का परिणामस्वरूप नेपालका स्वास्थ्य संस्थामा बच्चा जन्माउने दर ह्वात्तै घटेको, बच्चा जन्मदैँमा मरेको जन्मने दर बढेको र शिशु मृत्युदर बढेको निष्कर्ष एउटा अध्ययनबाट निस्केको छ । यसले सम्पन्न र विपन्नबीच मातृशिशु स्वास्थ्यका क्षेत्रमा असमानता बढाएको अध्ययनको निष्कर्ष छ । उपासला विश्वविद्यालय, स्वेडेन र लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनसँग मिलेर नेपाली अनुसन्धाता डा. आशीष केसीको नेतृत्वमा भएको अध्ययनको निष्कर्ष हालै प्रतिष्ठित स्वास्थ्यका क्षेत्रको विश्वमै प्रतिष्ठित पत्रिका ‘द ल्यान्सेट ग्लोबल हेल्थमा’का प्रकाशित भएको छ । कोभिड–१९ को बन्दाबन्दीपछि अस्पतालमा भएको जन्म, जन्मजात मृत्यु र जायजन्मसम्बन्धी प्राथमिक तथ्यांकका आधारमा गरिएको यो पहिलो अध्ययन रहेछ । बन्दाबन्दीभन्दा पहिलेका तुलनामा स्वास्थ्य संस्थामा हुने जायजन्मको संख्यामा लगभग आधा (४९.९ प्रतिशत) कम भएको र त्यसमा पनि जातिगत असमानता बढेको देखिएको छ । अस्पतालमा भएको जन्मजात मृत्युको संख्या पनि प्रतिहजार १४ बाट ५० प्रतिशत बढेर २१ पुगेको छ ।
नेपालले मातृशिशु स्वास्थ्यका क्षेत्रमा सन् १९९० को दशक यता उल्लेखनीय प्रगति गरेको थियो । खोप सेवालगायत प्रजनन स्वास्थ्य र मातृशिशु स्वास्थ्यका क्षेत्रमा गरिएको लगानी तथा त्यसको उपलब्धिको प्रतिफल देखा पर्न थालिसकेको थियो । नेपालमा प्रजनन दरमा अपेक्षाकृत छिटो आएको कमी, मातृशिशु मृत्युदरमा हासिल उपलब्धि र खोपलगायत प्रतिरोधात्मक स्वास्थ्य सेवाको विस्तारको सराहना विश्वले नै गरेको थियो । दुर्भाग्य, राम्ररी संस्थागत हुन नपाउँदै सबै उपलब्धि गुम्ने डर देखियो । मातृशिशु स्वास्थ्यका हकमा नेपाल सन् २०३० भित्र ‘दिगो विकास लक्ष्य’ हासिल गर्ने क्रममा रहेको मुलुकमध्येमा पथ्र्यो । विगत तीन दशकमा नेपाल मातृ मृत्यु दर ७६ प्रतिशत र नवजात शिशु मृत्यु दर ६२ प्रतिशत घटाउन सफल भएको थियो । तर, यी सबै उपलब्धि अहिले जोखिममा परेका छन् । नेपालीमा एउटा भनाइ छ – भुईँको टिप्न खोज्दा पोल्टाको खस्यो’ । कोभिड–१९ पछि नेपालको स्वास्थ्य सेवाको अवस्था पनि त्यस्तै हुन पुगेको देखिएको छ । पोल्टाको खस्यो भुईँको टिप्न सकिएन ।
कोभिड–१९ को संक्रमण हेर्दाहेर्दै धान्न नसकिने गरी फैलन थालेको छ । जनस्वास्थ्यका क्षेत्रमा भएका उपलब्धिहरू भने गुम्ने जोखिम देखिइसकेको छ । कोभिड–१९ को संक्रमणपछि अरू रोग लागेका बिरामी उपचार नपाएर अकालमा मरेको समाचार दिनहुँ आइरहेका छन् । अस्पतालहरूले कोभिड–१९ को शंकामा भर्ना लिन र उपचार गर्न नमान्दा मर्नेहरूको संख्या क्वारेन्टिन वा आइसोलेसनमा उपचार नपाएर मर्नेहरूको भन्दा निकै बढी छ । जनस्वास्थ्य विशेषगरी मातृशिशु स्वास्थ्यका क्षेत्रमा भएको उपलब्धि गुम्दै जान थाल्नु पनि यत्तिकै गम्भीर चिन्ताको विषय हो । यसैले सरकारले सकेसम्म यो उपलब्धि गुम्न नदिन विशेष उपाय गर्नुपर्ने देखिन्छ । कम्तीमा उपचार नपाएर मातृशिशु मृत्यु नहोस् र खोपलगायतका प्रतिरोधात्मक सेवा नरोकिऊन् भन्नेमा सबै तहका सरकार गम्भीर हुनुपर्छ । कोभिड–१९ मा मात्र केन्द्रित भएर जनस्वास्थ्यका अरू समस्यामा पर्ने असरलाई बेवास्ता गरिँदा बढी क्षति हुनसक्छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रीले यस्ता समस्यामा ध्यान दिए जनताका आँखामा ‘मोतिबिन्दु’ पनि लाग्ने थिएन र ‘मति’ सप्रियोस् भनेर कृष्णको पुकारा पनि गर्नुपर्ने थिएन कि !