site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘५० प्रतिशत अकुपेन्सीमा थिएटर चलाउन सकिँदैन’ 

काठमाडौं । रंगकर्मीहरूले ५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्न नसकिने बताउँछन् । शतप्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्दा पनि अधिकांश नाटक घाटामा गइरहेको भन्दै ५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्न नसकिने उनीहरूको भनाइ छ । 

५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्दा पूरै घाटा हुने रङ्गकर्मीहरू बताउँछन् । यद्यपि खुला ठाँउमा जनचेतनामूलक नाटक भने सञ्चालन गर्न सक्ने उनीहरूको तर्क छ । 

निर्देशक अशेष मल्ल सरकारले नाटकघर खोल्ने अनुमति दिए पनि आफैं सचेत हुनुपर्ने कुरामा जोड दिन्छन् । “संक्रमण शून्यमा अझै झरिसकेको छैन,” मल्ल भन्छन्, “जोखिम टरेको छैन । त्यसैले सरकारले अनुमति दिए पनि अहिले हामीले नाटकघर खोलिहाल्नु हुँदैन । हामी आफैं सचेत र सुरक्षित हुनुपर्छ ।” 

यस्तो समयमा नाटकघर खोलेर नाटक मञ्चन सुरु भइहाले पनि हेर्ने दर्शकको कमी हुने उनी बताउँछन् । 

५० प्रतिशत अकुपेन्सीमा नाटकघर सञ्चालन गर्नु भनेको कलाकारको समय, श्रम र मूल्य डुबाउनु मात्रै हुने निर्देशक केदार श्रेष्ठ बताउँछन् । अहिलेको अवस्थामा नाटक गर्नु भनेको ‘रिस्क’ लिनुरहेको उनको भनाइ छ । 
यदि सरकारले अनुमति दिइहाले पनि नाटक घरभित्रै सशक्त रूपमा मञ्चन गर्न नसके पनि ‘क्याम्पियन’ का रूपमा भने केही नाटकहरू गर्न सकिने श्रेष्ठको भनाइ छ । 

निर्देशक नवराज बुढाथोकी पनि ५० प्रतिशत अकुपेन्सीमा नाटकघर खोल्न आर्थिक पक्षबाट गाह्रो हुने बताउँछन् । “शतप्रतिशत अकुपेन्सी हुँदा त घाटामा जान्छ भने आधा दर्शक हुँदा कसरी सम्भव हुन्छ । यो नाटक मञ्चन गर्नका लागि मात्रै गरेका जस्तो हुन्छ,” उनी भन्छन्, “यद्यपि सरकारको अनुमति पाए घाटामा गए पनि सुरक्षित भएर नाटकघर खोल्न हामी तयार छौं ।”

रंगकर्मी सिर्जना सुब्बा भने सरकारले अनुमति दिए आवश्यक सुरक्षाका उपायहरू अपनाएर काममा फर्किनुपर्नेमा जोड दिन्छिन् । “पाँच महिना भइसक्यो सबै ठप्प भएको । तर बन्दाबन्दीबीच पनि हाम्रो नाटकघरको भाडा त तिर्नैपर्छ । त्यसैले केही नहुनभन्दा अलिअलि आम्दानी हुनु ठीकै हो जस्तो लाग्छ,” मण्डला थिएटरका अध्यक्षसमेत रहेकी सुब्बा भन्छिन् । 

कलाकारदेखि आमदर्शक सबैमा भएको कोरोनाको कहरलाई भुलाउन भए पनि केही दिन ५० प्रतिशत अकुपेन्सीमै नाटकघर सञ्चालन गर्नुपर्ने उनको बुझाइ छ । दर्शकलाई कोरोनाको मानसिक तनावबाट केही क्षण भए पनि टाढा राख्ने उद्देश्यले मण्डला थिएटरको टोली नाटक लिएर सातवटै प्रदेश जाँदै छ । 

“दर्शकलाई रिफ्रेस बनाउन हामी हाम्रो जुनकिरी थिएटर लिएर दसैंपछि देशको सातवटै प्रदेश पुग्ने तयारीमा छौं,” उनी अगाडि थप्छिन्, “यो नाटकको निर्देशन दया (दयाहाङ राई) ले गर्दै हुनुहुन्छ ।” (जुनकिरी नाटक गर्न मिल्ने मण्डला थिएटरको गाडी हो ।) काठमाडौंमा भने दसैंअगाडि नै उक्त नाटक मञ्चन गरिने बताएकी उनले केही समयमै रिहर्सल सुरु गर्ने जानकारी दिइन् ।
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १८, २०७७  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro