
जनकपुर । प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । अघिल्लो आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७७-०७८ नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले नीति तथा कार्यक्रमको विपक्षमा अडान लिएपनि बहुमतले पारित भएको सभामुख सरोजकुमार यादवले बताए ।
नीति तथा कार्यक्रमलाई संशोधन गर्न नेकपाका पाँच, नेपाली कांग्रेसका दुई र जनता समाजवादी पार्टीका एक गरी सांसदले प्रस्ताव दर्ता गराएका थिए । ती मध्ये जसपाका बाबुलाल साह कानुले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिए भने नेकपाका सांसदहरु गोविन्द बहादुर न्यौपाने, दिलिप साह, सीता गुरुङ, रुबी कर्ण र सुन्दरबहादुर विश्वकर्मा तथा कांग्रेसका नरेश कुमार यादव र शिवचन्द्र चौधरीले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
एक सातासम्म निरन्तर छलफल चलेपछि मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रदेशसभा नियमावली २०७५ को नियम ३८ को उपनियम (३) बमोजिम नीति तथा कार्यक्रम पारितका लागि प्रदेशसभामा प्रस्ताव प्रस्तुत गरेका थिए ।
संसदमा पटक-पटक होहल्ला
नीति तथा कार्यक्रममाथि छलफल चलिरहँदा प्रदेशसभा बैठकमा पटक पटक सांसदहरु होहल्लामा उत्रिएका थिए ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामसरोज यादवले बोलिसकेपछि सत्तापक्षका दुई जना सांसदलाई बोल्न दिएको विरोधमा प्रतिपक्षी दलका सांसदहरुले हल्ला गरेका थिए । सचिवालयले त्यो कमजोरी सच्याउन लिखित रुपमै प्रतिबद्धता व्यक्त गरिसकेपछि सदन सुचारु त भयो ।
तर, फेरी नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियानको आलोचना गर्ने क्रममा तुलसी दास लिखित ‘महिलाको ओज घटाउने पंक्ति’ वाचन गरेपछि महिला सांसदहरुले होहल्ला गर्न थाले । उक्त हल्ला शान्त पार्न सभामुखले संघर्ष गर्नुपरेको थियो ।
प्रदेश २ सरकारले भोली (सोमबार) अगामी आर्थिक वर्षको बजेट प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख यादवले नीति तथा कार्यक्रम पारित हुने बित्तिकै सोमबार अपराह्न पाँच बजे अर्को बैठक आह्वान गर्दै उक्त बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले बजेट प्रस्तुत गर्ने जनाए ।