site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सांसदले भने- प्रदेश २ को नीति तथा कार्यक्रम : चमत्कारी औंठी

जनकपुर । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई चमत्कारी औंठीको संज्ञा दिएका छन् । 

“यो औंठी लगाएर जे मागे पनि पूरा हुने भनेर सडकछेउमा जसरी सामान्य औंठी बेचिरहेका हुन्छन् र त्यो औंठी खरिद गर्नेको भिड लाग्छ त्यसरी नै यो सरकारले यो गरिदिन्छु त्यो गरिदिन्छु र सरकारलाई समर्थन गरे जे मागे पनि पाइन्छ भनेजस्तै देखावटी रूपमा मात्रै राम्रो नीति तथा कार्यक्रम ल्याएको छ,” नीति तथा कार्यक्रममाथि छलफल गर्न आइतबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै यादवले भने । 

प्रदेश सरकारले प्रतिपक्षी दलहरूको सहयोगलाई पनि उपयोग गर्न नसकेको आरोप उनको छ । “नयाँ अभ्यासको क्रममा रहेको संघीयता कार्यान्वयनका लागि सरकारलाई सहयोग गर्न खोजेको त गलत फाइदा पो उठाउन थाल्यो,” नेता यादवले भने, “पहिलो वर्ष सिक्दै छ भन्ने लाग्यो, दोस्रो वर्ष सचेत होला कि भन्ने लागेर सहयोग गरिरह्यौं । यो सरकारले त तेस्रो बजेट ल्याउने बेला आइपुग्दा पनि प्रतिपक्षी दलको सहयोगलाई कदर गर्न सिकेको छैन ।” सरकारको प्रतिपक्षमा बोल्ने धर्म भए पनि सरकारलाई निरन्तर सहयोग गर्दै आए पनि प्रतिपक्षीको सहयोगलाई उपयोग गर्न नसकेको उनको भनाइ थियो । 

यादवले कोरोना महामारीको अवस्थामा पनि प्रदेश सरकारले प्रतिपक्षी दलहरूलाई समेटेर सहयोग लिन नसकेकोप्रति आपत्ति जनाए । प्रतिपक्षी भूमिकामा हुँदाहुँदै पनि कोरोनाको बेला सबै मिलेर जनताको हितमा काम गर्ने सोच बनाएर बारम्बार सरकारलाई आग्रह गर्दा पनि सर्वदलीय संयन्त्र निर्माणका लागि पनि गम्भिर नहुनु दुर्भाग्य भएको जिकिर गरे ।

यादवले प्रदेशसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न पुरै पाँच वर्षको बजेट पनि अपुग हुने टिप्पनी गरे । भएभरको काम एकै वर्षमा गरिहाल्ने गरी नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन गर्ने आधार नभएको उनको भनाइ थियो । 

जनता समाजवादी पार्टी (जसपा) का सांसद अशोक यादवले नीति कार्यक्रममा सर्लाही जिल्लाको उपेक्षा गरिएको गुनासो गरे । सत्तापक्षकै सांसद यादवले भने, “सर्लाही जिल्ला यो प्रदेशभित्र छ कि छैन ? छ भने भौतिक पूर्वाधार विकासमा यो जिल्ला प्राथमिकतामा किन परेन ?” विगतका वर्षहरूमा पनि सर्लाहीलाई उपेक्षा गरिएको भन्दै बजेटमा सम्बोधन गर्न आग्रह गरे । 

जसपाकै अर्का सांसद परमेश्वर साहले भने प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको बचाउ गरेका छन् । शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासको दृष्टिकोणले पछि परेको प्रदेश २ लाई समृद्ध बनाउने सपना देख्नु गलत नभएको बताउँदै उनले नीति तथा कार्यक्रमलाई सर्वसम्मतले पारित गर्न आग्रह गरे । साहले प्रदेश २ का प्रतिपक्षी दलहरूले सत्तापक्षजस्तै बजेटमा अंश खोजिरहेको भन्दै प्रतिपक्षीको भूमिकामा कायम रहन आग्रह गरे । उनले भने, “छोरी कुटी बुहारी तर्साउने काम बन्द गर्नुस्, प्रदेशको स्थायी राजधानी र नाम टुंग्याउने बेला फुट्ने र बजेट ल्याउने बेला किन जुट्ने ?”

आइतबारै नीति तथा कार्यक्रमलाई टुंग्याउन प्रदेशसभामा छलफल जारी छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro