हिंसा जुनसुकै नाम वा निहुँमा भए पनि निन्दनीय र दण्डनीय नै हुन्छ । त्यसमाथि जातिका नाममा हुने गरिने हिंसा थप निन्दनीय हो । यस्तो विभेदजन्य अपराधमा कतिपय अवस्थामा कानुनमा नै थप दण्डको व्यवस्था गरिएको हुन्छ । केही दिन पहिले रुकुम पश्चिममा भएको दलित युवकको हत्या यसैले अत्यन्त निन्दनीय र दण्डनीय अपराध हो । कथित माथिल्लो जातिकी किशोरी र दलित किशोरबीच भएको प्रेम प्रसंग अन्ततः सामूहिक हत्यामा पुगेर टुंगिएको छ । दलित युवकको समूह अर्को गाउँमा किशोरीलाई भगाउन जाँदा गाउँले नै उल्टिएर कुटपिट गर्दा प्रेमी भनिएका युवकको मृत्यु भएको र उनका साथीहरू पनि मारिएको समाचारले सबैलाई स्तब्ध बनाएको हुनुपर्छ । एक्काइसौं शताब्दीको नेपालका लागि यो ग्लानि र क्षोभ उत्पन्न गराउने घटना हो ।
यस हिंसात्मक घटनाले अझै समाजमा विद्यमान मध्ययुगीन जातिगत भेदभाव त उजागर गरेको छ नै एक दशकसम्म मच्चाइएको हिंसा स्थानीय समुदायमा उत्तिकै क्रूर बनेर अवशेषका रूपमा रहेको पनि पुष्टि भएको छ । प्रकाशित समाचारहरू हेर्दा दुवै पट्टिका परिवारलाई उनीहरूको प्रेम प्रसंग पहिले नै थाहा भइसकेको देखिन्छ । अझै नेपाल र भारतका धेरै जनसंख्यामा जातीय भेदभाव चर्कै छ । यस्तो विभेद कानुनतः दण्डनीय अपराध भए पनि समाजले सहजरूपमा स्वीकार्न सकेको देखिँदैन । तर, समयसँगै विभेद धेरै कम पनि भएर गएको छ । कथित तल्लो र माथिल्लो जातमा परिवारकै सहमतिमा बिहावारी पनि चल्न थालेको छ । यसबाट परिवर्तनका लागि अपनाइएको हिंसात्मक उपाय प्रत्युत्पादक हुने स्पष्ट भएको छ ।
रुकुम पश्चिमको यस घटनालाई राज्यले कानुनी अपराधका वारदातको रूपमा गम्भीर छानबिन गरी दोषीलाई प्रचलित कानुनबमोजिम सजाय दिलाउनुपर्छ । प्रहरीले केही स्थानीय व्यक्ति पक्रेको समाचार छ । कारबाही देखाउनका लागिमात्र नहोस् भने निर्दोष पनि नफसाइयाेस् । दलित युवकमाथि समाजले अन्याय गरे पनि राज्यले न्याय दिन्छ भन्ने विश्वास सरकारले जगाओस् । पीडित युवकका आमाबाबुको आँशु त कसरी पुछिएला र तर समाजले अन्याय गरे पनि सरकारले न्याय दियो भन्न पाऊन् । परिवार, समाज र प्रेमको चेपुवामा परेकी किशोरीमाथि अन्याय हुन नदिने कर्तव्य पनि राज्यकै हो । ती किशोरीलाई यति बेला मनोसामाजिक विमर्श आवश्यक छ । यस प्रकरणमा बिर्सन नहुने के हो भने रुकुम माओवादी विद्रोहको आधारभूमि पनि हो । यसैले त्यो दशक लामो क्रूर हिंसात्मक कालखण्डको अवशेष पनि त्यहाँ बढी नै रहनु स्वाभाविकै हो । हिंसाचारीहरू पुरस्कृत भएको देखेर हुर्केको पुस्ताको सामूहिक अवचेतनमा हिंसात्मक प्रवृत्ति बढी नै हुनु आश्चर्यको विषय होइन । यसपटक जातीय विभेदका रूपमा प्रकट भएको हिंसा अर्कोपटक अर्कै निहुँमा देखा पनै सक्छ । यसैले अहिलेको हिंसालाई जातीय विभेदमात्र भनेर नपन्छाऊँ । दशक लामो हिंसामा संलग्नहरूलाई मानवताविरुद्धको अपराधका लागि दण्डित नगर्दासम्म यस्ता हिंसा रोकिँदैनन् भन्ने पनि नबिर्सौँ ।