काठमाडौं । कलाकारहरूले आउँदो बजेटले कलाकारिता क्षेत्रलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । कलाकारिता क्षेत्र सधैं सरकारी उपेक्षामा परेको भन्दै आउँदो बजेटले सम्बोधन गर्नुपर्नेमा उनीहरूको जोड छ ।
कोरोना संक्रमणको महामारी तत्काल न्यूनीकरण भए पनि कलाकारिता क्षेत्रमा यसको असर लामो समय पर्ने भन्दै सरकारले यो अवस्थालाई मध्यनजर गर्दै कालाकारका लागि विशेष प्याकेज ल्याउन उनीहरूको आग्रह छ । सरकारको सहयोगको आवश्यकता भए पनि ल्याउनेमा भने कलाकारहरूले आशंका व्यक्त गरेका छन् ।
संगीतकार शम्भुजित बास्कोटा गीतसंगीत तथा कलासाहित्य क्षेत्रको शक्तिलाई सरकारले पहिचान गर्न नसक्दा उपेक्षामा परिरहेको बताउँछन् । संसारका अधिकांश देशले कला, साहित्य र संगीतमा ठूलो लगानी गरे पनि नेपालको भने यसतर्फ ध्यान कहिल्यै नभएको बताउँछन् ।
अबका केही वर्ष गीतसंगीत र चलचित्र क्षेत्रमा रहेका व्यक्तिलाई कठिन हुने भन्दै बजेटमार्फत् विशेष व्यवस्था गर्न उनको माग छ । “अबका केही वर्ष स्टेजमा गीत गाएर आम्दानी गर्ने कलाकारलाई पनि कठिन हुनेछ, संगीतकार र गीतकारलाई पनि सहज छैन । कलाकार तथा सर्जकका लागि अबका केही वर्ष निकै कठिन हुनेछन्,” शम्भुजित भन्छन्, “यस्तो अवस्थामा सरकारले सहयोग गर्नुपर्छ । नीति तथा कार्यक्रममा प्रतिलिपि अधिकार सुरक्षित गर्ने भनिएको छ । प्रतिलिपि अधिकार सुरक्षित गर्न कडा कानुन नै बनाएर अगाडि बढ्नुपर्छ ।”
उनी सरकारसँग संगीत बोर्ड स्थापना गर्न आग्रह गर्छन् । गीतसंगीतसम्बन्धी सबै काम गर्ने अधिकारसहितको स्वायत्त संगीत बोर्ड स्थापनाका लागि सरकारले बजेट विनियोजन गर्न आग्रह गर्दै शम्भुजित भन्छन्, “यही बोर्डले रोयल्टी उठाएर सर्जकलाई उलब्ध गराउँछ । चलचित्र क्षेत्रको नियमनका लागि चलचित्र विकास बोर्ड भए जस्तै संगीत बोर्डको पनि नेपालमा स्पष्ट आवश्यकता छ ।”
संगीतकार लक्ष्मण शेष सरकार सधैं कला, साहित्य र संस्कृति देशको अभिन्न अङ्ग भन्न पनि नछाड्ने तर व्यवाहारमा भने यसको संरक्षण र संवर्धनमा कहिल्यै अग्रसर नभएको बताउँछन् ।
कोरोनाको महामारीसँगै कलासाहित्य क्षेत्र थला परेको भन्दै लक्ष्मण भन्छन्, “गाउने, बजाउनेसम्बन्धी नयाँ काम कोरोनासँगै करिब बन्द भयो । यसको असर वर्षैभरि कलाकारलाई पर्छ । न उनीहरूसँग धेरै सञ्चित रकम हुन्छ, न सञ्चय कोष र स्थायी जागिर नै हुन्छ । यस्तो अवस्थामा सरकारले बजेटमार्फत् कलाकारलाई कुनै राहत वा विशेष प्याकेज घोषणा गर्नुपर्छ ।” कलाकारलाई कोरोना लागेमा उपचार, बिमा तथा अन्य सहयोग बजेटमार्फत् नै गर्नुपर्ने उनको माग छ ।
गायक रामकृष्ण ढकालले सांगीतिक क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउँदै अब अन्य क्षेत्र सरह व्यवहार गर्न आग्रह गरेका छन् । वार्षिक अरबौं रुपैयाँको कोरोबार हुने क्षेत्रलाई सरकारले बेवास्था गर्न नहुनेमा उनको जोड छ । “वार्षिक अरबौं रुपैयाँको कारोबार हुने यो क्षेत्रलाई सरकारले कहिल्यै पनि हेरेन,” रामकृष्ण भन्छन्, “सांगीतिक क्षेत्र अब व्यावसायिक भइसक्यो । यसलाई सरकारले बेवास्था गरेर अगाडि बढ्नु भएन ।”
सांगीतिक क्षेत्रलाई नियमन गर्दै यसबाट कर लिन र सरकारले पनि आवश्यक सहयोग तथा व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ ।
गायक सत्यराज आचार्य कलासाहित्य क्षेत्रमा रहेका व्यक्ति पनि मजदुर सरह नै भएकाले अहिलेको कठिन परिस्थितिमा राज्यले सहयोग गर्नुपर्ने बताउँछन् । एक महिना काम गरेर ११ महिना घरपरिवार चलाउन बाध्य कलाकार कोरोनाका कारण दुई महिनादेखि काम गर्न नपाएको र यो परिस्थिति अझै लामो समय रहने भएका कारण आगामी बजेटले कला क्षेत्रलाई पनि समेट्नु पर्ने उनको धारणा छ ।
“हामी स्थापित भइसकेका व्यक्तिलाई त यो समय रहिरह्यो भने गाह्रो हुने अवस्था छ,” सत्यराज भन्छन्, “सरकार चाहिने भनेकै अप्ठ्यारो अवस्थामा हो । सरकारले आफूलाई जनताको अभिभावक ठान्छ भने पक्कै पनि गीतसंगीत मात्रै होइन कलासाहित्यका हरेक विधालाई बजेटमार्फत् विशेष व्यवस्था गर्नुपर्छ ।”
अहिलेको विषम परिस्थितिमा रहेका नागरिकलाई कलाकारले आआफ्नो तरिकाबाट सहयोग गरिरहेको उनको तर्क छ । “स्वास्थ्यकर्मी तथा प्रहरीले प्रत्यत्क्ष कार्यक्षेत्रमा उत्रिएर सहयोग गर्नुभयो । तर, परोक्षरूपमा यो समय आम नागरिक कलाका विभिन विधा गीतसंगीत सुनेर, चलचित्र हेरेर बसिरहनु भएको छ । कति कलाकार सामाजिक सञ्जालमार्फत् आफ्नो कला प्रस्तुत गरिरहनु भएको छ । यसलाई परोक्ष रूपमा कलाकारको योगदान मान्न सकिन्छ,” सत्यराज भन्छन् ।
गीत रेकर्ड गरेर, कार्यक्रममा गाएर, चलचित्रमा अभिनय गरेर जीवन धान्नेहरूलाई पनि सरकारले बजेटमा भुल्न नहुने उनको सुझाव छ ।
गायक शिव परियार कलासाहित्य क्षेत्रको विकासका लागि सरकारले बजेटमार्फत् सम्बोधन गरे पनि त्यसका लागि छुट्टै असल नियत भएको सरकारी निकायको आवश्यकता रहेको बताउँछन् । गीतसंगीतको संरक्षण तथा प्रवर्धनका लागि छुट्टै सरकारी निकाय भएको खण्डमा मात्रै सरकारले राहत वा विशेष प्याकेज ल्याए त्यसको उचित व्यवस्थापन हुने अन्यथा निर्दिष्ट लक्ष्य प्राप्त हुन नक्ने उनको भनाइ छ ।
सरकारले नीति तथा कार्यक्रममा प्रतिलिपि अधिकार सुरक्षित गरिने प्रतिबद्धता जनाउनु सह्राहनीय पक्ष भएको भन्दै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिन्छन् ।
कलासाहित्य क्षेत्रका लागि अहिलेको विषम परिस्थिमा सरकारको सहयोग आवश्यक रहे पनि बजेटमार्फत सम्बोधन गर्नेमा संगीतकार वसन्त सापकोटालाई शंका छ । सांगीतिक क्षेत्र उद्योगका रूपमा स्थापित भइसकेको र यसमा ठूलो रकम कारोबार भइरहेको छ भन्ने सरकारलाई जानकारी नभएको उनी बताउँछन् । “हामी पनि करको दायरामा गएनौं, सरकारले पनि यसमा ध्यान दिएन,” वसन्त भन्छन्, “त्यसैले सरकारले हाम्रो क्षेत्रका लागि विशेष राहत प्याकेज ल्याउला भन्ने लाग्दैन ।”
सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा बजेट विनियोजन गर्ने भएकाले जीडीपीमा योगदान नगरेको कलासाहित्य क्षेत्र त्यसमा पनि सांगीतिक क्षेत्रलाई सम्बोधन गर्नेमा उनलाई विश्वास छैन ।
सांगीतिक क्षेत्रमा भइरहेको लगानीबारे अब सरकारले पनि चासो व्यक्त गर्नुपर्ने र यसबारे स्रष्टाले पनि सम्बन्धित निकायलाई बुझाउन सक्नुपर्ने उनी बताउँछन् ।
कलाकारहरूले सरकारले कलासाहित्यका कुनै पनि विधालाई उपेक्षा नगरी उनीहरूले पनि अपनत्व महसुस हुने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् । वर्तमान विषम परिस्थितिमा कसैलाई पनि काखा र पाखाको विभेदकारी व्यवहार नगर्न पनि उनीहरूको आग्रह छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते प्रस्तुत गर्दैछ ।