
काठमाडौं । नेपाली कांग्रेसको मौजुदा विधानअनुसार शेरबहादुर देउवा अब सभापति हुन पाउने छैनन् । उनको दोस्रो कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । विधानअनुसार उनी थप एक वर्ष सभापति हुन पाउनेछन् ।
त्यसपछिको सभापतिका लागि कांग्रेसमा अहिलेसम्म तीन गुट सक्रिय देखिएका छन् ।
शेखर कोइराला, गगन थापा र संस्थापन पक्षका ‘सात भाइ’ । सातमध्ये तीन नेता यसअघि नै सभापतिकै प्रत्यासी बनिसकेका छन् । बाँकी तीन महामन्त्री, उपसभापति चलाइसकेका नेता छन् । डा. शशांक कोइरालाले लोकतन्त्र दिवसको सन्दर्भ पारी आयोजित कार्यक्रममा पनि संस्थापन पक्षका सात नेताले एउटा सन्देश दिन खोजे ।
देउवा समूहको निरन्तरतासहित पार्टी नेतृत्व आफ्नै टिमभित्र राख्ने र त्यस निम्ति साझा उमेदवार बनाउने दुई मूल लक्ष्य सात नेताको छ । गत चैत १६ गते पूर्वउपसभापति विमलेन्द्र निधि निवासबाट सुरु भएको ‘सक्रियता’ यही बिहीबार पूर्वमहामन्त्री डा. शशांक कोइरालाको निवासमा देखियो ।
कांग्रेसका नेतात्रय बीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधि पुत्र डा. शशांक, प्रकाशमान र विमलेन्द्र निधि विरासतको ‘लञ्च मिटिङ’ गर्दै थिए । त्यसमा संख्या थपिँदै सात पुगेको हो । सो समूहमा देउवा पक्षबाटै चुनाव जितेका उपसभापति पूर्णबहादुर खड्का भने समेटिएका छैनन् ।
स्वास्थ्यका कारण आराम गरिरहेका खड्का त्यसअघि सभापति देउवा निवासको पदाधिकारी बैठकमा सहभागी थिए । तर, बाँकी नेताले उनलाई निमन्त्रणा गरेनन् । कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा. शशांक कोइराला पार्टीको महामन्त्री भइसकेका नेता हुन् ।
त्यसमध्येका प्रकाशमान र सिटौला दुवै एकसाथ सुशील कोइराला सभापति हुँदाका महामन्त्री थिए । जतिखेर निर्वाचित महामन्त्री प्रकाशमान सिंह थिए, तर पार्टीमा सिटौला हाबी भए । उनीहरुबीच व्यक्तित्वको टकराव थियो ।
त्यसबाहेक निधि पनि अलग समूहबाट महामन्त्री भएर काम गरिसकेका र देउवा टिमबाट एकीकृत कांग्रेसको उपसभापति बनिसकेका व्यक्ति हुन् । यी तीनैजना सभापतिको प्रत्यासी बनिसकेका छन् ।
उक्त समूहको नेतृत्वमा प्रयास गरिरहेका अर्का नेता, डा. शशांक । शशांक पनि सो समूहबाट नेतृत्वको आकांक्षी हुन् तर उनीसहित सबैजसो नेतृत्वमा पुग्न चाहन्छन् ।
“मेरो आमा सुशीला दैनिक पूजापाठ गरेर मात्र खानु हुन्थ्यो । मेरा बाबा बीपी कोइराला धर्मप्रति तटस्थ हुनुहुन्थ्यो । हामीले आमाको धार्मिक आस्थाअनुसार तपाईँ किन चल्नु हुन्न भनी प्रश्न गर्दा उहाँले भनेको भनाइमा आज पनि म उभिएको छु,” डा. शशांकले बिहीबार बीपीको भनाइ उल्लेख गर्दै भने, “धर्म न निरपेक्ष हुन्छ न त सापेक्ष हुन्छ, धर्म स्वतन्त्र हुन्छ ।”
उनले निरपेक्ष भन्ने शब्द आफैँ नकारात्मक अर्थ बोकेको भन्दै आफू हिन्दू राष्ट्रका पक्षमा नभएर धार्मिक स्वतन्त्रताका पक्षमा रहेको बताए ।
१३औँ महाधिवेशनमा सभापतिमा देउवालाई समर्थन दिएसँगै त्यही समूह नजिक मानिने पूर्वमहामन्त्री कृष्ण सिटौला संविधान कार्यान्वयनको मुद्दामा छन् । उनी संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नदिएर नेताहरुले संविधानको धज्जी उडाएको भन्दै पहिला संविधानको व्यवहारिक कार्यान्वयन गरेपछि मात्र संशोधनको मुद्दा उठाउनुपर्ने मुद्दा बोकेका छन् ।
राष्ट्रियसभा कांग्रेस संसदीय दलका नेतासमेत रहेका सिटौला सदनदेखि देशभर जहाँ पुग्दा पनि यही मुद्दा लिएर हिँडेका छन् । नेता विमलेन्द्र निधि समावेशी चरित्र, समानुपातिक, संघीयता, लोकतन्त्र, धर्मनिरपेक्षतासहित कांग्रेसको नेतृत्वमा जारी संविधानको सबैभन्दा बढी स्वामित्व कांग्रेसले लिनुपर्ने बताउँछन् ।
नेता प्रकाशमान सिंह नेपाल सरकारको उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री छन् । उनी संविधान कार्यान्वयन, नागरिक जिम्मेवारीसहितका विषय देशभर पुगेर बताउँदै आएका छन् ।
सातमध्येका अर्का नेता हुन् पूर्वउपसभापति गोपालमान श्रेष्ठ । नेपाली कांग्रेस प्रजातान्त्रिकको उपसभापति रहेका श्रेष्ठ एकतापछि पनि उपसभापति बनेका थिए । त्यसयता पदाधिकारी नरहेका उनी आफूले देउवालाई संकटदेखि सहज अवस्थासम्म सहयोग गरेकाले उत्तराधिकारी आफँै हुनुपर्ने दाबीमा छन् ।
समूहका अर्को नेता हुन्, विजय गच्छदार । प्रजातान्त्रिक कांग्रेसको महामन्त्रीसम्म भएका उनी कांग्रेस एकतापछि ०६४ सालमा मधेसवादी क्षेत्रीय पार्टीमा सामेल भएका थिए ।
१० वर्षपछि पार्टीसहित कांग्रेस फर्किएका उनी ०७४ देखि ०७८ सम्म उपसभापति भए ।
०७८ सालमा भएको १४औँ महाधिवेशनमा देउवा समूहबाट उपसभापति उमेदवार बनेका उनी धनराज गुरुङसँग पराजित भएपछि मनोनीत केन्द्रीय सदस्य छन् । उनले भने कांग्रेसको सभापतिमा आकांक्षा सार्वजनिक गरेका छैनन् ।
समूहका अर्का सक्रिय नेता हुन्, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत । देउवा समूहबाट महामन्त्री पराजित भएपछि केन्द्रीय सदस्य मनोनीत भएका उनलाई देउवाले प्रवक्ता बनाउँदै पार्टी पदाधिकारीकै भूमिकामा राखेका छन् ।
देउवाका विश्वासपात्र उनी १५औँ महाधिवेशनमा टिममा सहमति नजुटे सभापतिको उमेदवार बन्ने तयारीमा छन् । सबैजसो नेताले आफूहरुको समूहबाट एक जना महाधिवेशनमा नेतृत्वको आकांक्षी रहेको बताउँदै आएका छन् ।
देउवा समूहमै सक्रिय एक नेता भन्छन्– सबैजसो नेता सभापतिसँग नजिक बसेर काम गरिसक्नुभएको छ । त्यसैले उहाँको सहयोग रहनेमा विश्वस्त हुनुहुन्छ । सभापतिले अहिलेसम्म कसैलाई आश्वासन दिएकोजस्तो लाग्दैन ।”