कीर्तिपुरमा भारी बोकेर गुजारा चलाउँदै आएका एक पुरुष सडक पेटीमा मृत भेटिए । बन्दाबन्दीका कारण काम नपाएपछि उनले खान नपाएको र भोकमरीबाट प्राण गएको अनुमान गरिएको छ । त्यसो त उनी कोभिड–१९ संक्रमित पनि हुनसक्छन् । उनी पाटीमा बस्दै आएको समाचारमा उल्लेख गरिएको छ । क्वारेन्टिनको दुरावस्थाका कारण संक्रमणको सन्देह भएकाहरू त पटक पटक भागेकै थिए जनकपुर अस्पतालबाटै संक्रमित भागेका छन् । यी सबै प्रतिनिधि दृष्टान्त हुन् । यी सबै घटनाले कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि भनेर अपनाइएका उपायहरूमा गम्भीर त्रुटि भएको संकेत गर्छन् । अर्थतन्त्र, मानवीय सहायता र महामारीको अहिलेको सरकारी व्यवस्थापन सही नभएको राय विशेषज्ञहरूले पनि दिइरहेका छन् ।
कोभिड–१९ को संक्रमण कम गर्नमात्र हैन मानवीय संवेदना देखाउन पनि सरकार नराम्ररी चुकेको देखियो । सरकार चलाउने र तिनका आसेपासेलाई स्वीकार्न गाह्रो होला तर देशमा कुनै समस्याको समाधानमा सरकार यति निकम्मा र अमानवीय भएको उदाहरण देखिएको थिएन । यी सबै घटना संयोगमात्र हैनन् । बन्दाबन्दीका कारण कतिपय बिरामी अस्पताल पुग्न नसकेर वा पुगेर पनि उपचार नपाएर छटपटाई रहेका छन् । तिनका सम्बन्धमा सरकारले उपचारको प्रबन्ध त परै रहोस् मानवीय संवेदनासम्म देखाउन सकेको छैन । लाग्छ, सरकारका लागि सबै ‘सामान्य’ छ । कीर्तिपुरको सडकमा मृत अवस्थामा फेला परेका पुरुषको शव परीक्षणमा मृत्युको कारण अरू नै देखिनसक्छ । तर, दुई महिनाको बन्दाबन्दीले उनीजस्तै दिनहुँ श्रम गरेर छाक टार्ने लाखौं व्यक्ति र हजारौं परिवारको अवस्था लगभग उनकै जस्तो भइसकेको छ । क्वारेन्टिन नाम दिइएका अधिकांश आश्रयस्थल यातना गृहको पर्याय भएका समाचार धेरैपटक सार्वजनिक भइसकेकै हो । मानवोचित सुविधा भए यसरी भाग्ने प्रयास यति धेरैले पक्कै गर्ने थिएनन् ।
यस्तो स्थिति धेरै लामो समयसम्म चल्न सक्तैन । चलिरहन दिनु पनि हुँदैन । खप्नै नसक्ने सास्तीले विद्रोह जन्माउँछ । देशलाई अराजक अस्तव्यस्तता र अकल्पनीय विद्रोह तथा महामारीको प्रकोपबाट जोगाउन सरकारका अहिलेसम्मका उपाय र नेतृत्व दुवैबाट सम्भव देखिँदैन । यसैले वैकल्पिक व्यवस्था हुनु अति आवश्यक देखिन्छ । अब एउटै उपाय छ – बन्दाबन्दीको स्वरूप र मानवीय सहायता तथा स्वास्थ्य सुविधाका सम्बन्धमा स्वतन्त्र विशेषज्ञहरूको राय लिएर त्यसको कार्यान्वयन गर्ने । जनस्वास्थ्य, अर्थतन्त्र र मानवीय सहायताका सम्बन्धमा स्वतन्त्र विज्ञहरूसँग सल्लाह लिइएमा तिनले शासकको चाहनाअनुसार हैन आफ्नो ज्ञान, विवेक र अनुभवले देखेको सत्य बताउनेछन् । सरकारी विज्ञहरूको अवस्था ‘रणबहादुर शाहको साँढेका गोठालाहरू’को जस्तो जो देखिएको छ । व्यक्तिको अहंकार तुष्टिका निम्ति कसैको ज्यानै लिने र मुलुक बर्बाद गर्ने हक कसैलाई हुँदैन । यसरी अनिर्णयको बन्दी बनाइरहने हो भने जनताले आफैँ निर्णय गर्नेछन् । त्यतिबेला धेरै कुरा सोचेजस्तो नहुनसक्छ । बेलैमा सजग होऊँ !