कोभिड –१९ का कारण दुई जनाले ज्यान गुमाएको समाचार सार्वजनिक भएको छ । त्यसो त, संसारमा लाखौं जना कोभिड–१९ संक्रमित भएका छन् भने मर्नेहरूको संख्या तीन लाख नाघेको छ । यसैले नेपालमा कोभिड – १९ बाट मृत्यु भएको घटना दुःखद भए पनि अनपेक्षित होइन । तर, तिनको मृत्यु कोभिड–१९ को पहिचान नहुँदै भयो । उपचार पाउने त प्रश्नै भएन । अझ एक जना त क्वारेन्टिनमा राखिएपछि बिरामी भए । उपचारै नपाई क्वारेन्टिनमै मरे । यो ठूलो चिन्ता र आपत्तिको विषय हो । राज्यले क्वारेन्टिनमा राखेका बिरामी उपचारै नपाई मरेपछि नैतिकता भए स्वास्थ्यमन्त्रीले तत्काल राजीनामा दिइसक्थे । नेपालका शासकमा नैतिकता बिरलै देखिने गरेको छ । तर, सरकारको व्यवस्थापन पूर्णरूपमा विफल भएको यसभन्दा ज्वलन्त उदाहरण अरू के हुन्छ ?
काठमाडौंमा सुरक्षित रहेकाहरू सरकारी सूचना र विवरण पत्याएर सरकारले बन्दाबन्दी गरेकै कारण अहिलेसम्म महामारी नफैलेको हो र यसलाई यहीरूपमा भए पनि निरन्तरता दिनुपर्छ भन्ने प्रचारमा संलग्न देखिन्छन् । तर, बन्दाबन्दी जहाँ र जसरी हुनुपर्ने हो त्यहाँ प्रभावकारी हुन सकेको छैन भन्ने त भारतसँगको सीमा नाकाभित्र छिर्नेहरूको संख्या र अवस्थाबाट देखिइसकेको छ । राजधानीका सडकमा सेना तैनाथ गरेर नागरिक तर्साइए पनि संक्रमितहरू सीमापारिबाट लुकिछिपी आइरहेका छन् । त्यसरी आउनेको कतै विवरण वा अभिलेख हुने कुरै भएन । करिब दुई महिना बन्दाबन्दी गर्दा पनि यसको व्यवस्थापनका लागि सरकारले नागरिकलाई तर्साउने उर्दीबाहेक अरू केही गरेन । यसको जिम्मेवारी कसैले त लिनुपर्ला नि ! कि सर्वसत्तावादको अभ्यास यही बिन्दुबाट सुरु गरिएको हो ?
सरकारले अपनाएको बन्दाबन्दी लम्याई रहने तर अरू बन्दोबस्त केही नगर्ने रणनीतिले अन्ततः देशमा अकल्पनीय अनिष्ट अवश्यम्भावी छ । विनाशको कुनै न कुनै बिन्दुमा पुगेपछि जनता पनि आजित भएर सत्ताका विरुद्ध सडकमा उत्रन बाध्य हुनेछन् । त्यस बेला प्रधानमन्त्री केपी ओलीले आफ्नै स्वभाव र शैलीअनुसार ‘‘मलाई थाहा दिइएन’’ भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई बर्खास्त गर्ने त होलान् । आफूले जिम्मेवारी लिएर राजीनामा त पक्कै नदेलान् ! यसैले ठूलो अनिष्ट नहुँदै स्वास्थ्मन्त्रीलाई हटाएर सरकारले जवाफदेही किटान गर्नु उचित हुनेछ । अझै बेला छ । संकटका समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हाँक्ने क्षमता भएका व्यक्तिलाई जिम्मेवारी दिएर क्षति कम गर्ने प्रयास यथाशीघ्र गरियोस् ।