कोरोनाले विश्वलाई नै तर्साइरहेको बेला असरसँगै अवसर पनि आएको छ । नेपालमा पनि कोरोनाको भय त छँदै छ सँगै कृषिलाई निरन्तरता दिने अवसर पनि आएको छ । नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषिलाई व्यावसायिक र व्यवस्थित बनाउन सकिएको छैन । मुलुकमा ७० प्रतिशतभन्दा बढी मानिस कृषि तथा पशुपालन पेसामा भएको मानिए पनि नेपालीहरु खाद्यान्न, माछा, मासु, दाल तरकारी फलफूल आफ्नै देशमा पर्याप्त उत्पादन हुनसकेको छैन । यस्ता आफ्नै देशमा पर्याप्त रुपमा उत्पादन हुन सक्ने कुरामा पनि परनिर्भर हुनु कटु सत्य हो । विकसित देशमा कृषिमा १०–१५ प्रतिशत मानिसमात्र संलग्न हुँदा पनि मनग्य आम्दानी गरी आत्मनिर्भर हुन्छन् ।
हाम्रो देशमा पनि नीति तथा कार्यक्रममा र सरकारले बजेट विनियोजन गर्दा त कृषि क्षेत्रलाई उच्च प्राथमिकतामै राखेको हुन्छ । कृषिलाई आधुनीकरण र कृषकलाई सहुलियत ऋण र अनुदानको कुराले पनि त्यत्तिकै चर्चा पाउने गरेको छ ।
अहिले कोरोनाको कहरसँगै मानिसहरु बाध्य भएर पनि कृषिमा लाग्नु परेको छ । तर, अहिले सहर केन्द्रित भएर धेरैले आफ्ना खेतबारी बाँझै छोडेका छन् । तर, अब यस्ता खेतबारी बाँझोपन राखेर जीवन धान्न सकिँदैन । तिनमा माटो परीक्षण गरी उचित किसिमको बोट बिरुवा खाद्यान्न, तरकारी, फलफूल अन्य नगदे बाली लगाउने व्यवस्था स्थानीय सरकारले गर्नुपर्छ ।
अहिले कोरोनासँगै एकातिर भोकमरी पनि आउने जोखिम छ भने बेरोजगारी पनि बढ्ने सम्भावना छ । त्यसलाई समाधान गर्न पनि अब कृषि नै मुख्य पेसा बनाउन सक्नुपर्छ त्यसमा स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका रहन्छ । त्यसैले कृषिमा आकर्षण बढाउने रणनीति बनाउनेतिर स्थानीय सरकार लाग्नुपर्छ ।
कोरोनाको संक्रमण केही समय रहन सक्छ । त्यसलाई रोक्न अपनाउनुपर्ने सावधानी अपनाई खेती गर्न कसरी सकिन्छ, कुन समयमा कस्तो बाली लगाउने भन्नेजस्ता विषयमा जनचेतना मूलक सन्देश प्रवाह गर्न स्थानीय रेडियोहरुसँग सहकार्य गरी प्रसारण गर्न सकिन्छ । त्यसो गर्दा स्थानीय कृषकहरुले विभिन्न बालीनालीको ज्ञान पनि लिनसक्ने अर्थात् कृषिको प्राविधिक ज्ञान हासिल गर्न सक्ने अवस्था हुन्छ । रेडियो कार्यक्रमबाट नै उचित परामर्श दिन सकियो भने कृषि उत्पादनमा वृद्धि भएर किसानको आर्थिक स्थितिमा पनि सुधार आउँछ । साथै रोजगारी पनि सृजना हुन्छ ।
हाम्रो देशमा नपढेकाले मात्रै खेती गर्ने र शिक्षितले खेती गर्दा लाज हुने विकृत सोच छ । अब श्रमको उचित मूल्याङकन गरी आफैँले खेती गरेर देशको अर्थतन्त्रलाई बलिलो बनाउन एकजुट हुनु जरुरी छ । कृषि क्षेत्रको व्यवसायिकता र औद्योगिकीरण युवालाई कृषितर्फ आकर्षित उपाय हुनसक्ने हुनाले सरकारले ध्यान दिन जरुरी छ ।
समय अनुसारको बीउ, सहुलियत ऋण, बजारीकरण, मलखाद उपलब्ध गराउनुका साथै कृषकलाई कृषि सम्बन्धी शिक्षा, तालिम, रोग नियन्त्रणको ज्ञान दिन सरकारले ध्यान दिएमा कृषि रहरलाग्दो पेसा हुनेछ ।
कृषिका लागी नीतिगत सुधार पनि हुन जरुरी छ । अहिलेको कागजमा सीमित हुने रोगले भयावह परिस्थिति आउनसक्छ । कोरोनाको कहरले विदेशमा र स्वदेशमा पनि रोजगारी गुम्ने स्थिति छ । त्यसलाई सम्बोधन गर्नेगरी सन्दर्भिक बजेट ल्याई कृषिमा नै बढी लगानी गर्नुपर्ने अवस्थो छ । त्यसो गर्दामात्र अर्थतन्त्रमा टेवा पुग्न सक्छ ।
यस्तो विपतको समयमा सदनमा रहेका सबै दल मिलेर विपतको सामना गर्नुको विकल्प रहँदैन । संकटको घडीमा मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लान कृषि क्षेत्रलाई जोड दिऊँ । साथै सबै दल मिलेर देशलाई समृद्धि र आर्थिक उन्नतिको बाटोमा लाने परिस्थिति निर्माणमा जुटौँ ।