काठमाडौं । मौसम बदली हुँदा सोमबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ ।
पश्चिमी वायुको सामान्य प्रभाव, स्थानीय वायु तथा पूर्वी भूभागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण वर्षा भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
अहिले देशैभर मौसम बदली भएको छ । महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । यस वर्ष वैशाख लागेदेखि नै मौसममा बदली आइरहेको र प्रिमन्सुन सुरु भएकाले वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाले अबको तीन दिन सामान्यदेखि पूर्ण बदली हुने र मेघ गर्जनसहित वर्षा हुने जनाएको छ । सोमबार दिनभर काठमाडौं उपत्यकासहित देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुनेछ । केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने र असिना र हावाहुरीसहित वर्षा हुनेछ ।
यस्तै मंगलबार पनि पश्चिमी भू–भागका धेरै स्थान र मध्य तथा पूर्वका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । राजधानीमा झरीसँगै चिसो पनि बढेको छ ।